के व्यापार घाटा प्रधानमन्त्रीले भन्नुभए झैं सकारात्मक हो ? « Drishti News – Nepalese News Portal
Logo

के व्यापार घाटा प्रधानमन्त्रीले भन्नुभए झैं सकारात्मक हो ?


appharu




प्रधानमन्त्रीको वहुचर्चित संसद सम्वोधन (पुष २२)मा एउटा वाक्यले अर्थशास्त्रको आधारभूत मान्यतालाई नै चुनौति दिएकोछ । उहाँको सम्वोधनमा भनिएकोछ—“औद्योगिक वस्तु र निर्माण सामग्रीको आयातमा ४०.६ प्रतिशतले वृद्धि भएकोले शोधानान्तर बचतमा केही कमी आएको छ । तर यो उत्पादन र विकासका दृष्टिमा सकारात्मक हो ।”

औद्योगिक वस्तु र आयातमा ४० प्रतिशतले वृद्धि हुनु उत्पादन र विकासका दृष्टिले सकारात्मक हो भन्ने यस भनाई माक्र्सवादी अर्थशास्त्रका दृष्टिले मात्र होइन, बुर्जुवा अर्थशास्त्रका दृष्टिले पनि सही होइन ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको पहिलो तीन महिनामा १८.८७ प्रतिशतले व्यापार घाटा भएको थियो भने यस वर्ष सोही अवधिमा ४५.९२ प्रतिशतले व्यापार घाटा बढेको छ । गतवर्ष भन्दा अझ धेरै व्यापार घाटा हुनुलाई प्रधानमन्त्रीले “उत्पादन र विकासका दृष्टिले सकारात्मक हो” भन्ने निश्कर्ष दिनु भएकोछ । यो निश्कर्ष नितान्त गलत छ ।

प्रधानमन्त्रीको यस निश्कर्षलाई सरकारको निशर्त भक्त एक अर्थशास्त्री मित्रले यसरी विश्लेषण गरेर यो पंक्तिकारलाई सुनाए—गाडि आयात हुँदा यातायातको विकास हुनेभयो, खाद्यान्न आयात हुँदा जनताले खान पाउने भए, कपडा आयात हुँदा जनताले लाउन पाउने भए, निर्माण सामाग्री आयात हुँदा वाटो पुल आदि विकास हुने भयो, औषधी आयात हुँदा जनताले उपचार पाउने भए, आदि आदि ।

यस्तै तर्क गर्ने हो भने सबैमा केही न केही सकारात्मक कुरा हुने कुरालाई आधार वनाएर अनेकौ कुतर्कहरुको श्रृखला वनाउन सकिन्छ । जस्तै, नेपालवन्द हुनु पनि विकासका दृष्टिले सकारात्मक कुरा हो, किनभने जनता हिँडेर जान आउन पर्दा स्वास्थ्यको लागि राम्रो हुन्छ, वातावरण स्वच्छ हुन्छ, जनता स्वस्थ भएमा देशलाई स्वस्थ जनशक्ति मिल्ने र उपचारमा खर्च कम लाग्ने हुन्छ । नेपालवन्दको समाचारले धेरै स्कुले नानीहरु खुशी हुन्छन्, स्कुल विदा भयो भनेर ।

अब त्यसको मतलव नेपालवन्द ४० प्रतिशतले वढ्यो भने प्रधानमन्त्रीले “विकासका दृष्टिकोणले सकारात्मक हो” भनेर भाषण गर्न उपयुक्त हुन्छ ? हुँदैन ।

महको एक नाटकमा हरिवंश आचार्यको एक वयान छ, जसमा उहाँले चोरको भूमिका निभाएर भन्नु भएको छ—हामी चोरहरुले गर्दा वैंकहरुले काम पाएको छ, वैंकहरुको विकास भएको छ, चोरले लग्छ भनेर पैसा वैंकमा जम्मा गर्छन् जनताले, हामी चोरहरुले गर्दा चुकुल ढोका ग्रील उद्योगको विकास भएकोछ, चोर आउँछ भनेर सबैले किन्न वाध्य भएको हुन्छ, आदि आदि ।

यथार्थ यो हो कि संसारमा सबै वस्तु एवम् परिघटनाहरुमा सकारात्मक र नकारात्मक दुबै पक्ष रहेको हुन्छ । तर समस्या यो हुन्छ कि कतिपयले सकारात्मक मात्र देख्ने, नकारात्मक नदेख्ने गर्छन् भने कतिपयले नकारात्मक मात्रै देख्ने र सकारात्मक नदेख्ने गर्छन् । कुरा यतिमै टुंगीने हुन्न । संसारका वस्तु एवम् परिघटनाहरुका दुबै पक्ष केलाएर विश्लेषण गरेपछि संश्लेषण गर्नु पर्ने हुन्छ, निश्कर्ष निकाल्नु पर्ने हुन्छ । वस्तु एवम् परिघटनाहरुमा रहेका दुबै पक्ष केलाएर विश्लेषण गरेपछि त्यो वस्तु एवम् परिघटनामा सकारात्मक पक्ष प्रधान छ कि नकारात्मक पक्ष प्रधान रहेकोछ भनेर मुख्य पक्ष केलाउने र त्यही मुख्यपक्ष नै त्यस वस्तु एवम् परिघटनाको निचोड(संश्लेषण) हुने गर्दछ ।

जस्तै, चोरका नकारात्मक र सकारात्मक दुबै पक्ष केलाउँदा हाम्रो समाजले माथि उल्लेखित नाटकमा व्यंग्य गरिएको सकारात्मक पक्ष भन्दा नकारात्मक पक्ष नै वढी देखेकोले चोरलाई कानुनी सजाँय दिइन्छ र चोरीलाई कम गर्न हरसम्भव उपाय समाज र सरकारले गरेको हुन्छ ।

नेपालवन्दका पनि नकारात्मक सकारात्मक दुबै पक्ष केलाएर समाज र सरकारले नकारात्मक पक्ष नै वढी देखेकोले यसलाई नराम्रो मानिन्छ र कम गर्ने उपाय गरिन्छ । नेपालवन्द भनेको सरकार विरुद्ध आपतकालिन स्थितिमा मात्रै प्रयोग गरिन्छ ।

व्यापार घाटा पनि नेपाल वन्द जस्तै हो । आपात कालमा व्यापार घाटा सहेर भएपनि आयात वृद्धि गरेर जनताका आवश्यकता पूरा गर्ने हुन सक्छ, औद्योगिक क्रान्तिका लागि मेशिनरी आयात गरेर उद्योग विकास विस्तार गर्न आयात वढाउनु सही हुन सक्छ । तर नेपालको व्यापार घाटामा भैरहेको वृद्धि नेपालमा औद्योगिक क्रान्ति, कृषि क्रान्ति आदिका लागि भैरहेको छैन ।

आयातमा यस्तो वृद्धि उपभोग्य वस्तुहरुको अधिकताका कारण भैरहेकोछ । यसले नेपालका उद्योग र कृषि क्षेत्रमा विकास होइन विनास निम्त्याइरहेकोछ । नेपाली कृषि र उद्योग वाहिरको प्रतिस्पर्धामा टिक्न सकेका छैनन् । उनीहरुलाई सरकारी संरक्षणको आवश्यकता छ । विकसित देशले पनि आफ्नो देशमा अर्का देशका उत्पादन निर्वाध रुपमा आयात गर्न दिंदैन ।

गत चैत्रमा अर्थमन्त्रीले जारी गर्नु भएको स्वेतपत्रमा भनिएकोछ —“आर्थिक, सामाजिक र भौतिक पूर्वाधारका सबैजसो उत्पादनका साधन आयात हुने भएकोले उत्पादन लागत र व्यापार घाटा वढ्दै गएको छ । अर्थतन्त्रको समग्र संरचना परिवर्तन नगरी दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न र व्यापार घाटा नियन्त्रण गर्न सकिन्न ।” त्यो वेला आयात वृद्धि र व्यापार घाटालाई नकारात्मक देखेर सही विश्लेषण गरेको अर्थमन्त्रालयले प्रधानमन्त्रीको भाषणमा चाहिं आयात र व्यापार घाटा वढ्नु सकारात्मक हो भनेर अर्थशास्त्रको सामान्य सिद्धान्तहरुपनि उलंघन गर्नुको कारण प्रधानमन्त्रीले समय मै खोज्नु पर्दछ ।

व्यापार घाटालाई पूजा र प्रशंसा गर्न थाल्नुले सरकारको आर्थिक नीति उल्टो दिशामा गएको र अर्थतन्त्र पनि उल्टो दिशामा गएको देखाउँछ । समय मै आर्थिक नीति सच्याउन सकिएन भने समस्याले विकराल रुप लिनेछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्