Logo
Logo

आइएमई लाइफको छैटौँ वार्षिक साधारणसभा सम्पन्न


378
Shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न प्रतिवेदन तथा प्रस्तावहरू पारित गर्दै छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा भएको साधारणसभाले आव ०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको हो ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव ०७८÷७९ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको जनाइएको छ ।

त्यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावहरूउपर छलफल गरी सर्वसम्मतिबाट पारित भएको कम्पनीले जनाएको छ ।

सभामा सभापति डा. अर्यालले आव ०७९÷८० को पुष मसान्तसम्मको अपरिष्कृत विवरणअनुसार बिमा कोष २२ दशमलव ३१ प्रतिशतले वृद्धि भई पाँच अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको जानकारी दिए ।

कम्पनीका अगाडि भएका चुनौतीबारे पनि सभापति डा. अर्यालले जानकारी दिएका थिए । सर्वसाधारणका निमित्त सेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको जानकारी दिँदै डा. अर्यालले जीवन बिमा कम्पनीहरूमाझ अब्बल कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्