Logo
Logo

पुराना गुन्टागान्टी लिएर काठमाडौं फर्किइयौं



…उबेलाका यथार्थ सम्झँदै यी हरफहरु लेखिरहेको छु । तर यो बेलाको यथार्थलाई उही बेलाको आँखाले हेर्ने हो भने अकल्पनीय परिवर्तन आइसकेको छ । तर कतिपय कुरामा भने त्यही बेला देखेका सपना साकार भएजस्तै पनि लाग्छ ।

अरु कतिपय सुन्दर, असुन्दर कुराहरुको पूर्वाभास उहिल्यै भईसकेजस्तो पनि अनुभव भइरहेको छ । पछाडि फर्केर हेर्दा लाग्छ– कतिपय विकृतिका बीऊ त्यतिबेला नै टुसाउन थालिसकेका रहेछन् ।

गणतन्त्र प्राप्तिपछिको यो परिवेशमा भर्खरै तेस्रो राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव भएर परिणाम पनि बाहिर आइसकेको छ । दुवै पदमा ‘राम’ नामका पुरुष पात्रहरुको विजय भएको छ ।

एउटा किनारामा बसेर चुपचाप सबै घटना हेरिरहेको दर्शक भएर हेर्दा कोही हर्षले गदगद भइ फूलमाला लिएर सिंहासनमा बसेको दृश्य देख्छु, कोही पराजयको खिन्नतामा डुबेको देख्छु । खेलमा कोही जित्छन् कोही हार्छन्– यो स्वाभाविक हो ।

सुरुमा राष्ट्रपतिको सम्भावित उम्मेदवारका रूपमा मेरी अनन्य मित्र अष्टलक्ष्मीको नाम पनि सुनिएको थियो । आफू त्यो बाटोमा नभए पनि उनको नाम देख्दा एकछिन् गर्व लागेको थियो ।

सानी छोरी, छोरीलाई अत्यन्तै माया गर्ने अर्की आमा मनु, र उनको भदै कुसुमसँगै, केही पुराना गुन्टागान्टी लिएर काठमाडौँ फर्किइयौं । थपिएका केही पुस्तक र नोटबूकहरु भने अरु कसैको जिम्मामा छोडियो । जीवनको अर्को एउटा महत्वपूर्ण अध्यायको पटाक्षेप यसरी भयो ।

एक जना पत्रकार मित्रले मसँग सोधेका थिए– ‘तपाईँ सँगसँगै राजनीतिमा हिँडेकी साथीको नाम राष्ट्रपतिको लाइनमा देख्दा कस्तो लाग्दैछ ?’ भनेर । मैले आफ्नो खुसी र गर्वानुभूति सुनाएकी थिएँ । पछि, राजनीतिक गठबन्धन र खिचातानीमा उनको नाम मेटिएर अरु नै उम्मेदवारहरुको नाम माथिमाथि आएको देखें ।

पछि फेरि उपराष्ट्रपतिको उम्मेदवारमा नाम देख्दा भने मेरो मन अमिलो भएको थियो । ‘किन फेरि त्यो लाइनमा उभिन पुगिछन् साथी’ भन्ने लाग्यो । पछि त झन् जित्ने कुनै सम्भावना नै नभएको भन्ने बुझेपछि किन लोभ गरिछन् भन्ने पनि लाग्यो ।

यो उमेर त आफ्नो सम्मान आफै गर्दै आनन्दसँग बस्ने बेला पनि हो । राजनीतिमा लाग्नेले कस्तो–कस्तो मान्छेसँग कस्ता–कस्ता खेल खेल्नु पर्छ, कस्ता अनावश्यक लडाइँमा होम्मिनु पर्छ, यसबारे त उनलाईनै बढी थाह होला ।

तर, आफ्नै विवेकको पनि त कुरा आउँछ ! अनेक चुनौतीसँग लडेकी थिइन्, मेरी वीर साथीले भन्दा मलाई सधैँ गर्व लाग्छ– तर यसपाली यो के गरिन्, बुझ्न सकेको छैन । जे होस्, यो सन्दर्भलाई यहीँ बिसाइदिऊँ ।

म भन्दै थिएँ– पुराना कुरा सम्झँदा आजका कतिपय परिस्थितिको भविष्यवाणी त्यो बेलाकै कतिपय घटना प्रवृत्तिले गरिसकेको भन्ने लाग्छ । त्यो बेला पार्टीमा भइरहेको आन्तरिक संघर्षले सीमा नाघेर भित्रको गोपनियता र असन्तुष्टि माथिबाट तल र भित्रबाट बाहिर जताततै पोखिन थालेको थियो ।

मैले छुट्टीका बेला काठमाडौं पस्दा अनुभूत गरेको चिसोपनबारे मैले आफ्नै मान्छेलाई सुनाउने मौका पनि पाएको थिइन । तर त्यो अन्तरकलहको खबर उनी कार्यरत पूर्वको गाउँ होस् या पश्चिमका शहरहरुमा कार्यकर्ताहरुबीच व्यापक रूपमा फैलिसकेको रहेछ ।

डा. भरत प्रधान र डा. सरोजको सम्बन्ध पेशागत रूपमा सहकर्मी र पार्टीगत रूपमा कामरेड मात्र नभएर व्यक्तिगत रूपमा समेत सहोदर दाजुभाइको जस्तो थियो । एकपल्ट कुनै कामको सिलसिलामा भरत दाइ विराटनगर पुग्दा विभिन्न च्यानल प्रयोग गरेर उनलाई भेटेछन् ।

पार्टीभित्र ‘दुई लाइन संघर्ष’ र काठमाडौँको चिसोपनको कथा मात्र होइन झण्डै पार्टी नै दुई चिरामा विभाजित हुनलागेको यथार्थबारे सुनाउँदै शहर फर्कन आग्रह गरेछन् ।

पार्टीको दिशाका बारेमा सरोजको आफ्नै मान्यता बन्दै गरेको त्यो बेला, भरत दाइका कुराले उनी झस्कनु स्वाभाविक थियो । अहिलेजस्तो धेरै डाक्टरहरु नभएको त्यो बेलाको परिस्थितिमा बरु डाक्टरी पेशामै रहेर जनताको सेवा र अर्ध भूमिगत जस्तो रहेर काम गर्नुमा कल्याण हुने कुरा भएछ दुईभाइका बीचमा ।

मैले पनि बच्चाकै निम्ति पनि दुःखसुख गरेरै काठमाडौंमा नै बस्ने सोच बनाइसकेकी थिएँ । स्कूलको त्यो शैक्षिक वर्षसम्म सिध्याइदिने मेरो नैतिक जिम्मेवारी ठानेकी थिएँ । एकजना मान्छेको मात्र कुरा थिएन, विद्यार्थीहरुको पनि पढाई र भविष्यसँग जोडिएको कुरा थियो ।

केही महिना त पर्खिसकेकी थिएँ जस्तै दुःख काटेर पनि…। अरु शिक्षकहरु पनि बस्न सक्ने अवस्था रहेन । सुरुमा भएको दार्जिलिङको जङ्गबहादुर भन्ने शिक्षक छुट्टीमा घर गएका थिए, फर्केनन् । पछि साथीहरुकै माध्यमबाट विचारमा मात्र हैन र व्यवहारमा पनि नजिक भएका एक युवा विद्यार्थी शिक्षकको रुपमा आए ।

वैचारिक निकटता समेत भएकाले हामी दिदी भाइकै रूपमा बस्यौं । अब त उनी जिम्मेवार न्यायाधीश नै भइसके । अझै पनि त्यो बेलाको हार्दिकताको कारण काठमाडौँमा हुँदा भेटघाट र फोनमा कुराकानी भइरहन्छ ।

आखिरमा आफूले पर्खिरहेको त्यो दिन आयो । स्कुलको शैक्षिक सत्र सिद्धियो । र काठमाण्डौं जाने दिन पनि नजिक भयो । सबैलाई थाहा थियो, अर्को सत्रसम्म म हुँदिन भन्ने कुरा । बच्चाहरुको परीक्षा र परिणामको कामहरु सबै सकेपछि, काठमाडौंमा खबर गर्नु थियो । चिट्ठी पठाउँदा समय धेरै लाग्थ्यो । अफिसमा फोन थियो, तर लामो दुरीमा फोन गर्न अलि धेरै पैसा लाग्ने भएकाले फोन गर्न वर्जित थियो । फर्किने भनेर तय गरेको दिन फर्किन पाइन ।

‘दाजु’ वा ‘प्रिन्सिपल सर’ पहिले नै काठमाडौँ गएका थिए । ऊनी अझै फर्कि नसकेकाले पर्खिनु बाध्यता भयो । दुईतिन दिन मात्र थप पर्खिनु पर्दा पनि साथीहरुलाई चिन्ता लाग्नु स्वाभाविक हुने भएकोले मेरो मन पोल्न थाल्यो– खबर गर्न पनि नपाउँदा ।

एकपल्ट घरकै मान्छेसँग फोनगर्न अनुमति लिने विचार गरें । ‘भाउजु’सँग सोधें, उनले अप्ठ्यारो मानेको देखेपछि त त्यो ठाउँमा एकछिन पनि बढि समय खर्चगर्नु वाहियात लाग्यो ।

‘केका निम्ति यो दुःख ?’ भन्ने प्रश्न पनि आयो । झनै पर्खिन गाह्रो भयो । केहिदिन पछि प्रिन्सिपल फर्केर आए तर मैले खुसीले स्वागत गर्न सक्ने कुरा भएन । मबाट असन्तुष्टि व्यक्त नै भयो ।

एकबर्षसम्म विकास भएको हामी बीचको सम्बन्ध– ‘दाजु बहिनी’को होस् कि सहकर्मी र कामरेडको, सबै नै खुकुलो हुँदै, ढल्दै गयो । गाउँमा गएर काम गर्ने मेरो इच्छा त त्यहाँबाट कुनै हालतमा पुरा नहुने करिब निश्चित नै भैसकेको थियो ।

भोलिपल्ट बिहानैको टिकट काटेर सानी एक वर्षकी छोरी, छोरीलाई अत्यन्तै माया गर्ने अर्की आमा मनु, र उनकी भदै कुसुमसँगै, केही पुराना गुन्टागान्टी लिएर काठमाडौँ फर्किइयौ ।

थपिएका केही पुस्तक र नोटबूकहरु भने अरु कसैको जिम्मामा छोडियो । जीवनको अर्को एउटा महत्वपूर्ण अध्यायको पटाक्षेप यसरी भयो ।

प्रतिक्रिया दिनुहोस्