Logo

‘प्रिन्ट मिडिया भनेको दस्तावेज हो’


Published On : 19 November, 2019

एमपी सुब्बा

‘परम्परागत प्रिन्टेट पत्रिकाको अब दिन जान्छ’ आममानिसमा इन्टरनेटको पहुचसँगै अनलाइन मिडिया प्रवेश गरेपछि यस्तै त्रास फैलियो । अझैपनि त्रास कायमै छ किनकि, भन्नेले भनिरहेकै छन्, ‘यो जमानामा पत्रिका कसले पढ्छ ?’

सोशल मिडिया तथा अनलाइनको बढ्दो लोकप्रियतासँगै झाँगिएको डिजिटल पत्रकारिताको नजरअन्दाज गर्दा ‘हो’ झैँ लाग्छ । तर, विडम्बना अर्कै छ । दिनानुदिन अनलाइन मिडिया थपिएपनि पत्रिकाहरु छापिएकै छन् । पाठक र बिक्री उस्तै छ । किन त ? कारण अनलाइन मिडियामाथि अझै विश्वासनीयता नहुनु हो ।

‘मलाई अनलाइन र फेसबुकमा आएका समाचारहरु विश्वास नै लाग्दैन’ टेलिभिजन प्रस्तोतासमेत रहेकी मोडल सुस्मा लामा भन्छिन्, ‘शोसल मिडियामा आएका समाचारको भेरीफाई गर्न पत्रिका पढ्नैपर्छ ।’

‘पत्रिकामा छापिएको कुरा दस्तावेज बन्छ’ फेसन डिजाइनर नेना राईले भनिन्, ‘अनलाइनमा आएको समाचार, समाचारजस्तै लाग्दैन ।’ त्यस्तै, अर्का कलाकार तथा मोडल मौसमी कन्दङ्वाले पनि अनलाइनमा आएका समाचारप्रति विश्वास नलाग्ने बताइन् । ‘अनलाइन आएका हेडलाइन हेरेर मान्छेहरुले प्रतिक्रिया दिन्छन्, भित्र खोलेर हेर्दैनन्’ उनले भनिन्, ‘तर अनलाइनहरुले समाचारको मर्मअनुसार हेडलाइन बनाएको पाइँदैन ।’

प्रतिस्पर्धात्मकरुपमा फस्टाएको अनलाइन मिडियामाथि पाठकले अझै विश्वास गर्न सकेका छैनन् भन्ने यो एक उदाहरण हो । विकसित देशहरुमा परम्परागत मिडियालाई विस्थापित गर्ने हदसम्मको पहुँचमा अनलाइन पत्रकारिताको विस्तार भएपनि नेपालको सन्दर्भमा त्यो अवस्था आएको छैन । केही ठूला अनलाइन मिडिया हाउसहरु आएपनि पाठकको प्राथमिकता परम्परागत प्रिन्ट मिडियामै बढी छ भन्ने बुझ्नलाई गाह्रो छैन ।

त्यसो त नेपालमा अनलाइन पत्रकारिता फस्टाएको खाश धेरै भएको छैन । तर, एक दशकको समयलाई कम भन्न मिल्दैन । दशकमा पनि पाठकको विश्वासनीयता जित्न नसक्नु अनलाइन पत्रकारिताका लागि सुखद् होइन । जसमा कमजोरी अनलाइन पत्रकारिता गर्नेबाटै हुँदै आएको पाठकहरुको बुझाइ छ । अनलाइन मिडियामा राजनीतिपछि धेरै पढिने र समेटिने मनोरञ्जन खुराक हो । तर, मनोरञ्जनसँग जोडिएका सेलिब्रेटीहरु अनलाइन मिडियाको विश्वास गर्दैनन् ।

‘अनलाइनमा आएका समाचारहरु क्लिक नै गर्न छाडेँ’ नेपाली सुगमसंगीतकी चर्चित गायिका अञ्जु पन्त भन्छिन्, ‘समाचारको हेडलाइन एउटा, भित्र समाचार अर्कै हुन्छ । सबै अनलाइनहरु त्यस्तो नहोला, तर धेरैजसोले आफ्नो अनलाइन लोकप्रिय बनाउन उछृँखल हेडलाइन राखेको पाइन्छ । अनलाइनहरुको त्यही पक्ष मलाई मन पर्दैन ।’

अञ्जु अनलाइन मिडियामा सबैभन्दा धेरै खोजिने गायिका पनि हुन् । तर, एकदमै कम मात्र अन्तर्वाता दिन्छिन् । कारण उनलाई अनलाइनमाथि भरोशा छैन । यहीबाट बुझिन्छ, ‘नेपालमा अनलाइन पत्रकारिता अझै स्थापित हुन सकेको छैन । ‘लोकप्रियता’ छुट्टै कुुरा ।

अनलाइनमा ‘बैकिङ’को लत

आमनेपालीमा स्मार्टफोन र इन्टरनेटको पहुँच पुगेसँगै लोकप्रिय बनेको सोशल मिडिया अनि सोशल मिडियासँगै फस्टाएको अनलाइन पत्रकारिता विकाशित राष्ट्रहरुमा समेत ‘ब्रेकिङ’को माध्यममात्र हुँदै आएको छ । यस्तै, नेपालमा पनि अनलाइन र सोशल मिडियाहरु ‘ब्रेकिङ’ गर्ने होडबाट अछुत रहन सकेको छैन । कुनै समय रेडियो र टेलिभिजनमा यस्तो प्रतिस्पर्धा थियो । पछिल्लो समय अनलाइन र सोशल मिडियाले तिनीहरुलई समेत माथ खुवाउन थालेको छ । यस्तो अवस्थामा ‘तथ्यपरक’ समाचार चाहनेहरु निराश हुने गर्छन् । त्यही निराशापनले लोकप्रिय अनलाइन पत्रकारिताको विश्वास गुमाइरहेको छ ।

मिडिया कभरेजमा पहुँच राख्ने तर, कम पढ्ने सेलिब्रेटीहरुकै धारणा बुझ्दा यस्तो लाग्छ, ‘सोशल मिडिया र अनलाइन मिडियामा केही फरक छैन ।’ फेसबुक, ट्विटरजस्ता सोशल मिडियाजस्तै अनलाइनमा पनि ‘शेल्फ सेन्सरशीप’ पाइन्छ । ‘शेल्फ सेन्सरशीप’मा पूर्वाग्रही र निष्पक्ष नहोला भन्न सकिँदैन ।

केही समयअघि बरिष्ठ हास्यअभिनेता हरिवंश आर्चायले आफ्नो फेसबुकमा लेखेका थिए, ‘फेसबुकमै शेयर हुने भए किन अनलाइनलाई अन्तर्वाता दिने ? त्यो अनलाइनको भन्दा मेरै पेजको बढी लाइक छ ।’ हुनपनि अनलाइनको बुस्टिङ फेसबुक पेजबाटै हुने हो । तर, अनलाइन मिडिया र फेसबुक तुलना गर्नुचाहिँ गलत हो । प्रशंग ‘शेल्फ सेन्सरशीप’कै हो । त्यो बेला अभिनेता हरिवंशले त्यही प्रवृतिको ब्यंग्य गरेका थिए ।

पत्रकारितामा सबैभन्दा कान्छोमात्र नभएर सबैभन्दा चाँडो विकास र लोकप्रियता पाउने पनि अनलाइन नै हो । तर, त्यो लोकप्रियता विश्वासनीय बन्न सकेको छैन । भारतलगायत अमेरिका र युरोपिय राष्ट्रहरुमा पत्रकारिताको मुख्य मिसनभित्र सेलिब्रेटी पर्छन्, जहाँ मूलधारका लिडर्स मिडियाले समेत सिनेमा, गीतसंगीत र मोडलिङलाई प्राथमिकता दिइएको पाइन्छ ।

नेपालको अवस्था त्यस्तो छैन । तर, अनलाइन मिडिया र पाठकले बढी उनीहरुकै खुराक बढी क्लिक गरिएको हुन्छ । तर, ती सेलिब्रेटीहरु अनलाइनमा आएका आफ्नै समाचारप्रति विस्वस्त हुन सकेका छैनन् अर्थात आफ्नोबारे पत्रिकामै प्रकाशित होस् भन्ने चाहन्छन् ।

‘पत्रिकामा छापिएको कुरा दस्तावेज बन्छ’ फेसन डिजाइनर नेना राईले भनिन्, ‘अनलाइनमा आएको समाचार, समाचारजस्तै लाग्दैन ।’ त्यस्तै, अर्का कलाकार तथा मोडल मौसमी कन्दङ्वाले पनि अनलाइनमा आएका समाचारप्रति विश्वास नलाग्ने बताइन् । ‘अनलाइन आएका हेडलाइन हेरेर मान्छेहरुले प्रतिक्रिया दिन्छन्, भित्र खोलेर हेर्दैनन्’ उनले भनिन्, ‘तर अनलाइनहरुले समाचारको मर्मअनुसार हेडलाइन बनाएको पाइँदैन ।’

अनलाइन पत्रकारिताको प्रारम्भ

हरेक कुराको इतिहास हुन्छ । अनलाइन पत्रकारिताको पनि आफ्नै इतिहास छ । अनलाइन पत्रकारिताको सुरुवात सन् १९६९मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञहरुले गरेका थिए । त्योबेला जम्मा चारवटा कम्प्युटरको नेटवर्क अर्पानेटबाट प्रयोगात्मकरुपमा सूचना आदान–प्रदान गर्न सुरु गरेका थिए ।

सन् १९७० मा यसले टेलिटेक्स र भिडियो टेक्सको रूपमा विकास हुँदै सन् १९९० मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइट बनाउनका लागि अत्यावश्यक एचटीएमएल कोडहरुको विकास गरेका थिए । तर, पहिलो अनलाइन पत्रिकाको प्रारम्भ भने सन् १९९० मा भएको थियो । सन् १९९२ मा अमेरिकाको शिकागो ट्रिव्यन अनलाइनको रूपमा इन्टरनेमा प्रकाशित भएको थियो । त्यसपछि नै अनलाईन पत्रकारिताको सुरुवात भएको हो । सन् १९९३ बाट अनलाइन पत्रकारिताको विकासले तिव्रता पाएपनि नेपालमा धेरै ढिलोमात्र भयो । नेपालमा अनलाइन पत्रकारिताको विकास पछिल्लो दशक तिव्र गतिमा भइरहेको छ तर, अझै परम्परागत मिडियालाई विस्थापित गर्ने पहँुचमा पुगेको छैन ।

‘दृष्टि’को अनलाइन संस्कण

साढे तीन दशकको छापा पत्रकारिता यात्राको क्रममा गत वर्ष ‘दृष्टि साप्ताहिक’ डिजिटल संस्करणमा सुरु भयो । समयको मागअनुसार ‘दृष्टिन्यज डककम’ सञ्चालमा छ । अनलाइन मिडियाले छोटो समयममै परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन थालेपछि डिजिटल संस्करणमा दृष्टिन्यूज प्रारम्भ भएको हो । तर, दृष्टि साप्ताहिकको प्रभाव उस्तै छ, जतिखेर दृष्टि पत्रिका पढ्न पाठकहरु मंगलबार कुर्थे ।

‘दृष्टि साप्ताहिक’मा प्रकाशित सामग्रीहरु अनलाइन संस्करणमा प्रकाशित हुने गरेको छ । तर, जसको सामग्री प्रकाशित भएको हुन्छ, उ पत्रिकाकै प्रभावबाट खुसी छ । केही महिनाअघि चर्चित गायिका मिलन नेवारको दृष्टि साप्ताहिमा जम्काभेट कुराकानी प्रकाशित भएको थियो । ‘पत्रिकामा जम्काभेट प्रकाशित भएपछि थुप्रैले प्रतिक्रिया दिए, कसैले बधाई दिए’ मिलनले भनिन्, ‘तर, त्यही अन्तर्वार्ता अनलाइन संस्करणमा आयो, तर, कुनै रेस्पोन्स आएन ।’ अझैपनि प्रिन्ट मिडिया प्रभावकारी छ भने यो पनि एक उदाहरण हो । मिलन भन्छिन्, ‘अनलाइनले जस्तो पत्रिकाले कुरा बंग्याएर लेख्दैन, त्यसैले पत्रिकाकै समाचार मलाई भरपर्दो लाग्छ ।’

मिलनमात्र होइन, अधिकांश सेलिब्रेटी पत्रिकासँग कुरा गर्न चाहन्छन् । पछिल्लो समय फस्टाएको यु–ट्युब च्यानलहरुदेखि उनीहरु दिक्क समेत मान्न थालेका छन् । यसो भन्दैमा अनलाइन मिडियाको पहुँच घट्ने होइन, अझ बढ्दो छ । तर, अनलाइन मिडियाले विस्तारै परम्परागत मिडियाहरु विस्तापित गर्छ भन्नेचाहिँ गलत हुनसक्छ । नेपालमा परम्परागत सञ्चारमाध्यमको तुलनामा अहिले अनलाइन पत्रकारिताको विकास र विस्तार तिव्र गतिमै छ ।

प्रतिक्रिया दिनुहोस्