Logo
Logo

गन्तव्य त अझै टाढा नै रहेछ



अपरेशन गराउँदा आफ्नो नजिकको मान्छेले ‘कन्सेन्ट पेपर’मा सही गर्नुपर्ने विश्वभरिकै चलन हो । अपरेशन गर्दा वा गरिसकेपछि विभिन्न जटिलता उत्पन्न हुनसक्ने र कुनैबेला त बिरामीको मृत्युसम्म पनि हुनसक्ने सम्भावना भएकाले डाक्टर र अस्पताललाई गाल नपरोस् भनेरै होला यो चलन बसाएको ।

झन् अचेल त अस्पतालमा ढुंगामुढा गर्न केही नचाहिने भइसकेकाले पनि यस्तो कागजमा सही गराउनैपर्ने भएको होला । मेरो अपरेशन गर्दा त्यो सहमतिपत्रमा सही गर्ने मेरो श्रीमान् आफैँ पनि सर्जन ।

सरोजलाई त त्यो कन्सेन्ट पेपरमा सही गर्न खासै अप्ठ्यारो भएन होला– उनकै मातहतमा वर्षौँ काम गरेका, ज्ञान र सीपबारे कसैसँग कुनै सोधखोज गर्नु नपर्ने सहकर्मीहरू मेरो अपरेशन गर्दै थिए । तर अरू बिरामीका अभिभावक, परिवारजन, आफन्तलाई यस्तो कागजमा सही गर्दा कस्तो लाग्दो हो ? समाजमा व्याप्त असुरक्षा भावले गर्दा त हो, यति असुन्दर कर्मकाण्डको आवश्यकता परेको !

यसपालिको अपरेशनबाट पनि म बाँचेरै फर्किएँ– सैद्धान्तिक वा तार्किक हिसाबले त्यहाँ ‘मृत्यको सम्भावना’ पनि थियो र कागजमा उल्लेख नै गरिएको थियो । आफैँलाई लाग्यो– मैले फेरि एकपल्ट पुनःजीवन पाएँ । अपरेशन आफैँमा ठूलो होइन, नयाँ प्रविधिहरुका कारण पनि पहिलेभन्दा अहिले धेरै सजिलो भइसकेको छ । तर केही घण्टा त बेहोसीमै थिएँ । अरूकै ‘शरण’मा थिएँ । मेरो नियन्त्रणमा केही पनि त थिएन, म ‘म’ थिइन !

अपरेशन थिएटरमा पसेपछि तयारी गरूञ्जेल म एउटा खाटमा पल्टिएँ । डाक्टरहरूले नशामा इन्जेक्शन दिँदै भने– ‘एकछिनपछि झप्प निद्रा लागेजस्तो हुन्छ, पीर नगर्नुस् है !’

आफूले चिनिरहेका डाक्टर, नर्स सबैले मेरो विशेष वास्ता पुर्याइरहेको देख्दा म कृतज्ञ थिएँ, कुनै चिन्ता थिएन । ३८ वर्ष अगाडि पहिलो पालीको अपरेशन पाटन अस्पतालमा भएको थियो । त्यो बेला पनि मेरो श्रीमान् त्यहीँ काम गर्ने डाक्टर थिए र अपरेशनभरि नै मेरै साथमा थिए ।

यसपालि त झन् आफ्नै दोस्रो घरजस्तो लाग्ने काठमाण्डू मोडेल अस्पतालमा सबै आफ्नै परिवारका सदस्य जस्ता लाग्ने मान्छेको बीचमा अपरेशन हुँदै थियो । म आफूलाई साँच्चै भाग्यमानी ठानिरहेकी थिएँ ।

पहिलोपालिको अपरेशनमा डा. एल्ड्रिजले गरेझैँ प्रार्थना गर्ने कोही पनि थिएनन् । तर भगवानलाई छुट्टै पुकार्नुपर्ने आवश्यकता नै थिएन । एल्ड्रिजले अपरेशन गर्दा सरोज जुनियर डाक्टर थिए । उनी भर्खर भूमिगत जीवनबाट फर्केको कुरा थाहा पाउने थोरै मात्र थिए । यतिबेला भने उनी सबैभन्दा सिनियर अनि चिकित्सकीय उत्तरदायित्वबाट बिदा लिँदै गरेका बुढा डाक्टर ।

मेरो अपरेशन गर्दा प्रमुख एनेस्थेटिस्ट डा. रिकल, सर्जनहरू डा. विजेन्द्रध्वज जोशी, डा. उदय कोइराला, डा. निकेश कर्माचार्य सबै नै सरोजका मात्र होइनन्, मेरा पनि प्रिय पात्रहरु थिए । सविना प्रजापति थिएटरकी प्रमुख थिइन् । हाम्रा दाइजस्तै नजिकका डाक्टर शान्तमान प्रजापतिकी छोरी हुन् सविना, आफूलाई पनि छोरीजस्तै लाग्ने ।

यसरी सबै आफ्नै परिवारजनजस्ता लाग्ने मान्छेलाई वरिपरि राखेर अपरेशन गर्न पाउनु मेरो निम्ति अहोभाग्य नै मान्छु । सरोज पनि त्यहीँ थिए । कतिबेला मलाई अपरेशन टेबलमा लगे, कतिबेला बेहोस भएँ, अनि के–के भयो मलाई केही थाहा छैन ।

मैले आँखा खोल्दा वरिपरि डाक्टर, नर्स र मेरा दुई छोरीहरु पनि थिए । म ‘पोष्टअप’ वार्डमा पुगिसकेकी थिएँ । सबैप्रति अझै कृतज्ञ भएँ । एउटा ठूलो परीक्षाबाट पास भएको बेलाजस्तो मन सञ्चो थियो । शरीर भने केही शिथिल । एकछिनपछि बोली पनि फुट्यो– मलाई सहयोग गर्ने र नजिकका सबैलाई धन्यवाद भन्दै कुराकानी गर्न थालेँ ।

भनिन्छ, सबै कुशल अकुशल कर्मको फल भोग्नै पर्छ । यसपालि कुशल र अकुशल दुवै कर्मको फल चाख्दै गरेको अनुभव भयो– एकातिर असह्य दुखाइ खप्नुपरेको थियो र तत्कालै अपरेशन गर्नुपर्ने स्थिति सिर्जना भएको थियो, अर्कोतिर सबैको विशेष स्नेह, प्रेम र वास्ता पाएकी थिएँ । यतिको वास्ता पाउँदा आफूलाई धन्य ठानिरहेकी थिएँ, खुसी र सन्तुष्ट थिएँ ।

काठमाण्डू मोडेल अस्पतालको गर्भावस्थादेखि नै प्रत्यक्ष, अप्रत्यक्ष रूपमा आफ्नो संलग्नता, पर्दापछाडिबाट आफैँले समेत भोगेको त्यो प्रसव पीडा, अस्पतालका सुरुवाती दिनमा श्रीमानसँगै आफूले पनि काटेका चिन्ताग्रस्त अनिँदा रातहरु, आर्थिक संकट र थकान… ती कुनै पनि भोगाई खेरै त गएको रहेनछ भन्ने लाग्यो ।

यो सन्तोष, खुसी र कृतज्ञताको भावसँगै मनमा केही प्रश्न पनि जन्मिए । सबै बिरामीले मैले जत्तिकै माया पाउँछन् कि पाउँदैनन् होला ? पाउँदैनन् भने किन नपाउने होला ? जनताको स्वास्थ्य अधिकार के गर्दा सुरक्षित हुने होला ? स्वास्थ्यसेवामा दिनरात खटिने स्वास्थ्यकर्मीहरू के गर्दा सुरक्षित हुने होलान् ? यी प्रश्नहरूको उत्तर मसँग छैन ।

चिकित्सा विज्ञानको विद्यार्थी हुँदाको समय समेत जोड्ने हो भने सरोजले आधा शताब्दी नै स्वास्थ्यसेवामा बिताइसकेका छन् । आफ्ना विद्यार्थीसँग, नयाँ पुस्ताका डाक्टर र स्वास्थ्यकर्मीसँग उनले लगातार भन्ने गरेका केही कुरा मलाई पनि थाहा छ । ‘बिरामीहरू बिग्रेका मेसिन होइनन्, डाक्टर पनि मेसिन बनाउने मेकानिक मात्र हैन…’ भनेर उनी पड्केको मलाई सम्झना छ ।

विकट गाउँका सीमित औपचारिक शिक्षा पाएका युवा युवतीलाई ल्याएर केही नहुने ठाउँमा आधारभूत स्वास्थ्य चेतना र स्वास्थ्यसेवा पुर्याउने उसले गरेका अनेक प्रयोग र कोसिसकै बारेमा पनि मलाई अलि–अलि थाहा छ । विभिन्न तालिमको अवसर मिलेका बेला आफ्नो ठाउँमा जुनियरहरूलाई पठाएको मलाई थाहा छ… अर्थात् जनताका स्वास्थ्य अधिकारको सुनिश्चितताका निम्ति, ‘जनसशक्तीकरणका निम्ति स्वास्थ्य’ भन्ने नाराका लागि उनले गरेका प्रयत्नका बारेमा मैले थाहा पाउन थालेकै दशकौँ भइसक्यो । तर उनीसँगै पनि यी प्रश्नका सटिक उत्तर होलान् कि नहोलान् ? जे उत्तर पाएका छन्, तिनलाई कार्यान्वयनकै तहमा पुर्याउन उनको बुताले भ्याउँदैन ।

संस्था, सरकार, प्राज्ञिक क्षेत्रको सहयोगबिना ती सम्भव हुँदैनन् । अपरेशनबाट तङ्ग्रिँदै गर्दा मेरो मनमा फेरि पनि तिनै प्रश्नहरू आउँदै थिए । म आफैँ स्वास्थ्यकर्मी नभए पनि किशोरावस्थादेखि नै मैले देखेका सपना र जानी नजानी होमिएका ‘क्रान्तिकारी’ गतिविधिको उद्देश्य साँच्चै प्राप्त भएको भए, जनताको स्वास्थ्य अधिकारबारे यति धेरै प्रश्न अहिले पनि सोधिरहनुपर्ने थियो होला र ?

दोस्रोपटकको अपरेशनबाट पुनर्जीवन पाएको खुसीकै बीच पनि लागिरह्यो– मेरो पुस्ताका अनगिन्ती अभियन्ताहरूले यति लामो यात्रा तय गरिसकेपछि पनि गन्तव्य त अझै टाढा नै रहेछ । कति टाढा छ त्यो ?

प्रतिक्रिया दिनुहोस्