Logo
Logo

जीवन यात्रामा सन्तोषको एउटा पाटो



समयको छालले मान्छेलाई कहिले कहाँ कहिले कहाँ पुर्याउँछ । देशमा आइरहेको परिवर्तनले हामीलाई पनि आफ्नो जीवनको मार्गचित्र कोर्न बाध्य पार्दै थियो । २०४६ सालको जनआन्दोलनको छालले सरोजलाई देश फर्कायो । मेरो लेखन कर्मले मलाई भने त्यहीबेला जापान पुर्यायो ।

सरोज देश फर्केपछि अझै उत्साहित भएर ठूलै योजना बनाएछन् । नेपालमा अझै राजतन्त्र नै भएपनि, बहुदलीय प्रजातन्त्रको अभ्यास शुरू भइसकेको थियो । ‘कलिलो प्रजातन्त्र’को त्यो बेला ‘स्वास्थ्यसेवाको जिम्मा लिन राज्य अझै सक्षम भइसकेको थिएन । निजी क्षेत्रले सबै तप्काका आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । त्यसैले स्वास्थ्य सेवाका नयाँ मोडेलको आवश्यकता छ’ भन्ने निर्णयमा सरोज र उनका साथीहरू पुगेछन् ।

कुनै बेला एउटै भूमिगत संगठनमा संलग्न मेरो पुरानो साथी सुमनको जापानी साथीहरूसँग राम्रो सम्बन्ध बनिसकेको थियो । सरोज देश फर्के बित्तिकै अचानक सुमनसँग भेट भएछ र आफ्नो योजनाबारे उनलाई केही सुनाएछन् । सुमनले सरोजलाई उनका साथी कुराउचीसँग चिनापर्ची गराइदिएपछि ती जापानी साथीले पनि सहयोग गर्ने वचन दिएछन् ।

सरोजका सबभन्दा नजिकका साथीहरूमा डा. भरत प्रधान एक हुनुहुन्थ्यो । उहाँ र सरोजका बीच जीवनका हरेक महत्वपूर्ण निर्णय, भोगाई र सुखदुःख ‘शेयर’ हुन्थ्यो । उनीहरू साथीभन्दा पनि बढी दाजुभाइ जस्तै थिए ।

भरत दाइ ०४६ सालको आन्दोलनपछि बनेको मन्त्रीमण्डलका स्वास्थ्यमन्त्री डा. मथुरा श्रेष्ठका सल्लाहकार हुनुहुथ्यो । भरत दाइसँग आफ्नो योजनाबारे कुरा गर्ने नै भए ।

त्योबेला अन्यत्रजस्तै नेपालमा पनि गैरसरकारी संस्थाहरू धमाधम जन्मदै थिए । गौरी प्रधान आफ्नै भाइजस्ता थिए सरोजको । र, उनले ‘गैरसरकारी आन्दोलन’को महत्वपूर्ण अनुभव प्राप्त गरिसकेका थिए ।

उनीलगायत साथीहरूको सल्लाहअनुसार गैरसरकारी संस्थामार्फत नै स्वास्थ्यसेवाका काम गर्ने निर्णय भएछ । र, ‘जनस्वास्थ्य सरोकार ट्रष्ट’ (फेक्ट) नामको गैसस दर्ता गरेर सरोज आफ्नो थेसिस पूरा गर्न छोरीलाई घरमै छोडेर सांघाई फर्के ।

यसरी सरकारको महत्वपूर्ण ठाउँमा कार्यरत भरत दाइ, गैससका अनुभवी गौरी, र जापानी मित्रहरूका धनी सुमनको सहयोग पाएपछि आफ्नो परिकल्पना साकार हुनेछ भनेर ढुक्क भएर फर्किएका थिए सरोज । ०४६ को आन्दोलनले मलजल गरेको एउटा सकारात्मक सोँच र आशावादीता थियो त्यो ।

आज त्यही संस्था– फेक्टको छातामुनी ‘काठमाडौँ मोडेल अस्पताल’ र कीर्तिपुर अस्पताल मात्र हैन, ग्रामीण स्वास्थ्य, महिला स्वास्थ्य, जनस्वास्थ्यसँग सम्बन्धित अनेक कार्यक्रम सञ्चालन भइरहेका छन् ।

नर्सिङ स्कुललगायत स्वास्थ्यकर्मी उत्पादन गर्ने अनेक स्कुलहरू मात्र हैन, देशका लागि विशेषज्ञ डाक्टरहरू नै उत्पादन गर्ने काम भइरहेका छन् ।

संस्थाको सुरुवातका बेलादेखि नै अतिविकट र अविकसित गाउँहरूबाट हाइस्कुलसमेत पूरा गर्न नसकेकाहरूलाई समेत प्राथमिक स्वास्थ्य सेवाको तालिम दिएर पठाउने काम गरे सरोजले ।

अहिले त्यसको कुनै महत्व नदेखिए पनि त्यतिबेला स्वास्थ्य सुविधाको नाममा पटक्कै केही नभएको चितवनका चेपाङ गाउँदेखि लिएर म्याग्दीका विकट पहाडहरूमा प्राथमिक स्वास्थ्यका काम गर्न सक्ने ‘तृणमूल स्वास्थ्यकर्मी’ तयार भएका थिए ।

‘चिकित्सा सेवालाई रहस्यीकरणबाट मुक्त गराउने’ उनका सोँचले निकास पाउन थाले । र, ‘जनताको सशक्तिकरणका निम्ति स्वास्थ्य’ जस्ता नाराले फेक्टभित्र प्रवेश पाए । त्यही कामले पुराना मित्र महावीर पुनसँग उनको पुनर्मिलन गरायो । यहाँसम्म आइपुग्दा प्रत्यक्ष स्वास्थ्यसेवा बाहेक करिब हजार जनालाई काम माम दिन सक्ने भएको छ फेक्ट ।

यो सब एकजनाको प्रयासले सम्भव भएको हैन । हुन सक्ने नै थिएन । एकजना डाक्टरको सपना पूरा गर्ने काम घनिष्ठ सहयोगी मित्रहरूले नै गरेका हुन् । र, ती सहयोगीको लिष्ट लामो छ ।

फेक्टको वर्तमानमा ओझेल परेका धेरै साथीलाई सम्झने क्रममा सरोज भन्छन्– ‘ती साथीको अमूल्य सहयोग जसरी बिर्सिइएको छ, हामी पनि त्यसैगरी बिर्सिइने छौँ एकदिन । तर, संसार चलिनै रहनेछ । यही त हो संसारको नियम– अनित्य, अनात्म, दुःख !’

केही नयाँ निर्माण गरेपछि यथाशक्य छिटो आफ्ना मित्र र खासगरि नयाँ पुस्ताका सहकर्मीलाई जिम्मा लगाउने उनको पुरानै बानी हो । यो कुरा बुझ्न र पचाउन मलाई बेला बेलामा गाह्रै पनि हुन्थ्यो ।

तर, ‘अब म रिटायर हुने बेला भयो’ भनेर समय भन्दा अगाडि रिटायर्ड हुन हतारिए । उनी घर बसेका बेला पनि हरेक दिन आफुले जन्माएको संस्था र सर्जिकल डिपार्टमेन्टको गतिविधिलाई अनलाइन प्लेटफर्ममा हेर्दै हरेक सफलतामा मुसुक्क हाँस्छन् । मलाई उनको नयाँ पुस्ताप्रतिको विश्वास र पुस्तान्तरणको तदारूकताको औचित्यबोध हुन्छ, गर्व लाग्छ ।

आफैले हुर्काएका नयाँ पुस्ताका डाक्टरको तारिफ गरेर उनी नथाकेको देख्दा उनमा म एउटा ‘पिता’ देख्छु । एकजना संस्थापकको हैसियतमा उनको केही संलग्नता फेक्टमा अझै कायम छ । तर, नयाँ पुस्ताको नेतृत्व, व्यवस्थापन र निर्णयमा उनी कुनै हस्तक्षेप गर्दैनन् ।

उनी भन्छन्– ‘अबको मेरो काम सल्लाहकारको मात्र हो । र, सल्लाहकारको काम भनेको सल्लाह माग्दा दिने हो । नमागिएको सल्लाह दिनु हस्तक्षेप हुन्छ । म हस्तक्षेप गर्न चाहन्नँ ।’

‘जीवनमा असल सपना देख्नुपर्छ, देखेका सुन्दर सपना साकार पार्न प्रतिवद्ध हुने हो भने समयले एकदिन ती पूरा गरिदिन्छन’ भनेको साँच्चै हो रहेछ ।

आफू गर्भवती भएका बेला जब आर्थिक अभावले गाँजेको थियो, सपनामा मात्र दौडिरहेको आफ्नो लोग्नेप्रति आक्रोशित पनि हुन्थेँ । उनको हठ देखेर बेला बेलामा दिक्क र दुःखी हुन्थेँ । उनलाई अव्यवहारिक भनेर गाली पनि गर्थेँ ।

अहिले उनको सोँच र परिश्रमले सिञ्चित भएको संस्थाले जे गर्न सकेको छ । र, जे–जे गर्न सक्ने सम्भावना बोकेको छ, त्यो देखेर मलाई सन्तोष लाग्छ ।

भर्खरै मात्र फेरि एकपल्ट मेरो मिर्गौलाबाट पत्थर निकाल्ने अपरेशन भयो । अढाई महिनामा दुईचोटी फरक फरक अपरेशन भए । दुई भिन्न युनिटका क्षमतावान डाक्टरहरुले अपरेशन गरे । म हाँसीहाँसी थिएटरमा पसेँ । डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूकै जिम्मामा शरीरलाई छोडिदिएँ ।

आफ्नी श्रीमतीको अपरेशन आफ्नै भाई, छोरा–भतिजजस्ता आफैले हुर्काएका डाक्टरहरूले गरेको मेरो अपरेशनमा उनी त गर्व मान्ने नै भए । यी हरफहरू लेखिरहँदा मेरो पछिल्लो अपरेशन भएको ठीक एकहप्ता भएको छ । अपरेशनको भोलिपल्ट नै घर फर्केँ ।

पहिला पहिला घरको वास्तै नगरी रातभर काम गर्ने लोग्नेसँग उठ्ने रिस अहिले कता गयो कता । पैसा नकमाउने डाक्टरकी श्रीमती भएर आर्थिक अभावको भार बोकेकी म यति बेला आफै बिरामी भएर हेर्दा डाक्टरलाई बुझ्ने मौका पाएकी छु ।

‘मैले जस्तै सबै बिरामीले मायाँ पाउन’ भन्दा सरोज भन्छन्– ‘नयाँ पुस्ताका थोरै असल मानिस अहिले त्यही सपना पूरा गर्न लागिरहेका छन् …।’

प्रतिक्रिया दिनुहोस्