Logo
Logo

असल पाठक बिना असल लेखक हुन सम्भव छैन




लेखक एक्लै बाँच्न सक्दैन । पाठक नहुने हो भने लेख्नुको अर्थ पनि आफ्नै निम्ति लेखेको ‘डायरी’मा सीमित हुन्छ । डायरी लेख्नेहरू सबै ‘लेखक’ हुँदैनन् ।

संयोगले भनुँ या आवश्यकताले म ‘लेखक’ बनेँ । खास त असल मित्रहरूकै सहयोले मैले लेख्ने काम थालेकी हुँ । मैले लेखेका कुरालाई विभिन्न देशमा पठाइदिने काम पनि ती आदरणीय पाठक मित्रहरूबाटै भयो । उनीहरूप्रति म सदा कृतज्ञ छु ।

टोकियो छोडेपछि म ओसाका, कोबे, क्योटो, ताकाराजुका आदि ठाउँमा मेरा पाठक साथीहरूले नै घुमाउन लगे । पाठक साथीहरूकै घरमा पालैपालो बसेँ । अपसोच, सबैको नाम अहिले सम्झेको छैन । मान्छेको गुण सम्झिन्छु, मान्छे सम्झन्छु, नाम भने भुलिसकेछु । त्यसैले सबै प्रिय पाठक मित्रहरूको परिचय दिन पनि सक्दिनँ ।

तीन दशक बितिसकेछन् । यादहरू छन्, मनको हरेक अन्तर कुन्तरमा । एक एक गुणहरू सम्झन्छु । नाम सम्झने कोशिस गर्छु, नाम र ठेगाना भएका नोटबुक पनि हराइसकेकी रहेछु । हुन त मान्छेलाई सम्झने पनि गुण त हो ! नाम मात्रै त खोक्रो हुन्छ ।

सुसुमुसँग बिदा लिएर बुलेट ट्रेनमा कोबे स्टेशनमा पुग्दा फुर्तिली, हँसिली इशिजुका पर्खेर बसेकी थिइन् । उनले आफ्नो अपार्टमेन्टमा लिएर गइन् । उनकी दिदी रहिछन् उस्तै ज्ञानी । सरकारी अफिसमा काम गर्दिरहिछन् ।

दुबै दिदी बहिनीबाट उत्तिक्कै सत्कार र माया पाएँ । अब मेरो हात समाएर डो¥याउँदै यताउता घुमाउन लाने साथी पनि यिनै बनिन् – इशिजुका ।

उनको चिनियाँ भाषा निक्कै राम्रो थियो । ‘दोभाषे’कै काम गर्न थालिसकेकी थिइन् । म पढेकै कलेजकी साथी– उनी पनि मेरो असल पाठक थिइन् । उनैले ताकाराजुका पनि लिएर गइन् । जहाँ अर्को साथी ओहारा बस्थे ।

ताकाराजुका अलि धनी मानिस बस्ने ठाउँ भनेर चिनिएको सानो सहर हो । कुराउचीको घर पनि त्यहीँ रहेछ । उनको फोन नम्बर र ठेगाना सरोजले पठाएका थिए ।

नेपालमा ‘फेक्ट’ नामको संस्था र काठमाण्डू मोडेल अस्पताल निर्माण गर्ने सिलसिलामा सुमनमार्फत सरोजको उनीसँग भेटघाट भएपछि सहयोग गर्ने वचन दिएर जापान फर्केको कुरा बुझेकी थिएँ । ‘मौका मिले एकपल्ट भेट्नु’ भनेर चिठीमा लेखेका थिए सरोजले । कुराउचीलाई खोज्न पटक्कै गाह्रो भएन मलाई । ओहारालाई फोन र ठेगाना दिएपछि तुरुन्तै खोजेर भेट गराईदिए ।

फोनमा सम्पर्क भएपछि कुराउचीले आफ्नै घरैमा बोलाए । ‘एकपन्थ दो काज’ जस्तो भयो । ओहाराको निम्तोमा ताकाराजुका पुगेकी मैले कति सजिलैसँग कुराउचीसँग पनि भेट्ने मौका पाएँ । ओहाराको साथमा उनकै गाडीमा ताकाराजुका घुमेँ ।

कुराउचीले पनि खुसी हुँदै सरोजसँग भेटघाट भएको र आफूले फेक्ट निर्माणमा सहयोग पुर्याउने वचन दिएको कुरा फेरि सुनाए । प्रोपोजल पनि देखाए । मलाई एक कपी दिने इच्छा पनि गरे । साथी ओहाराले त्यसको फोटोकपी र प्रिन्ट आफ्नै घरको पुस्तकालयबाट गरिदिए ।

जापानमा धेरै साथीहरूको घर घुमेँ । जापानमा जमिन धेरै महँगो भएकाले आम्दानी प्रशस्तै भएकाहरूको घर पनि सारै ठूलो हुँदैनथ्यो । ओहाराको घर भने निकै ठूलो थियो । उनका बाबु इतिहासको प्रोफेसर रहेछन् । घरमै ठूलै पुस्तकालयसमेत थियो ।

त्यो बेला नै प्रिन्टर, फोटोकपी मेशिन सबैको बन्दोबस्त थियो । त्यो पुस्तकालय देखेर भने मलाई पनि लोभ लाग्यो– ठूलो बगैंचा सहितको घरले भन्दा पनि पुस्तकालयले मन तान्यो । मनमनै एउटा कामना गरेँ–‘नेपालमा मेरो पनि आफ्नै घर बनेछ भने एउटा पुस्तकालय पनि होस् ।’

कुराउचीबाट फेक्ट र अस्पतालको निर्माण योजना भएको प्रोपोजल पाएपछि, बाँकी यात्रा त्यही बोकेर गर्न थालेँ । कुराउचीलाई धेरै धन्यवाद दिएँ । उनकी श्रीमतीले मलाई मलाई एउटा सानो अत्तरको सिसी पनि उपहारमा दिइन् ।

माया, उपहार र विश्वास बटुल्दै म धेरै ठाउँ डुलेँ । कृतज्ञताको आकार हुँदैन, सीमा पनि हुँदैन । सीमा नै नभएको कृतज्ञता एउटा पुस्तक वा लेखको सीमाभित्र अटाउँदैन । यो ‘नियात्रा’ हैन । भावुकता मिसिएको कृतज्ञताको अपूर्ण अभिव्यक्ति मात्र हो ।

साथीहरूले मलाई ओसाका घुमाउने क्रममा एकजना अर्का महत्वपूर्ण व्यक्तिसँग भेटघाट गराए– डा. इवा मुरा । उनको नामको एउटा अस्पताल पनि छ भक्तपुरमा ।

मैले भेट्दा नै डा. इवा दमुरा पाका भइसकेका थिए । नेपाली बोल्ने ती ज्यादै भद्र पाका डाक्टरका नेपालमा दसजना धर्मपुत्र धर्मपुत्री भएको कुरा उनैबाट सुनेँ । नेपालको गाउँपाखामा डुल्दै गुन्द्री सुकुल ओछ्याएर पनि बिरामीको सेवा गरेको कुराले म ज्यादै प्रभावित भएँ ।

मैले आफूले बोकेको काठमाडौं अस्पतालको प्रोपोजल पनि देखाएँ । उनले सिधै भने– ‘किन काठमाडौँमै फेरि अस्पताल बनाउने ? अरु विकट ठाउँमा सेवा पुर्याए हुँदैन डाक्टरहरुले !’

म त आफू एक डाक्टर पनि होइन । काठमाडौँमा भैरहेको योजनाको कुरा मात्र गरेकी थिएँ । डाक्टरको हैसियतले कुनै नयाँ सल्लाह मिल्छ कि भनेर । सरल र समाजसेवी डाक्टरले आफ्नै परिवारबारे पनि कुरा गरे । उनकी ९० वर्ष माथिकी आमा रहिछन् । नेपालमै रहेर अझै बढी बिरामीको सेवा गर्ने मन हुँदा हुँदै पनि वृद्धा आमाको सेवाकै निम्ति भनेर जापान फर्केको कुरा सुनाए ।

म भावुक भएँ, आँसु थाम्नै सकिनँ । ‘देश सम्झेर रुनुभयो ?’ भनेर सोधे । देश त सम्झिएकै थिएँ, देशसँगै अरु धेरै कुरा पनि सम्झेकी थिएँ । ‘अरु विकट ठाउँमा गएर सेवा गरे हुँदैन डाक्टरहरुले…’ भन्दा जनताकै सेवा गर्न भनेर गाउँगाउँमा गएर भुईँमा सुत्दै, बाढी आएको खोला तर्दै, टुकी बालेर मानिसलाई बिउँझाउने लेख लेख्दै, आफ्नासामु आएका बिरामीको उपचार गर्दै हिँडेको एउटा अर्को डाक्टरलाई पनि सम्झेँ– आफ्नै मान्छे सरोजलाई ।

डा. इवा मुराले आफ्नो देशभन्दा टाढा नेपालमा दसजना बच्चाहरू पालिरहेका थिए । आफ्नो भने आफैले जन्माएको सन्तानलाई पनि राम्रोसँग पालन पोषण गर्न र राम्रो शिक्षा दिन सकिन्छ कि सकिँदैन होला भन्ने चिन्ता पनि थियो कताकता …

त्यो भेट मेरो निम्ति विशेष र स्मरणीय रह्यो । भिजेकै आँखा लिएर मैले आफ्नो कुराकानी टुङग्याएँ । पछि नेपालमै भेट्ने आशा अभिव्यक्त गर्दै साथीहरूसँग फर्केँ । तर, डा. इवा मुरा जस्ता आदर्श मान्छेलाई नेपालमा कहिल्यै भेट्न सकिनँ ।

बरु उनकै एक धर्मपुत्री पूर्णिमा गुरुङसँग भने फोनमा कुराकानी भयो । उनकै बारेमा लेखेको एउटा लेखबारे छलफल पनि भयो । पछि उनकै नाम जोडेको अस्पताल बारे सुन्दा मनमा केही सन्तोष पनि थपियो । यस्तै असल मान्छे पनि छन् यो जटिल संसारमा, र त बाँच्न सम्भव भएको छ !

प्रतिक्रिया दिनुहोस्