Logo
Logo

टेबलमा ड्याम्म हात ठोक्न पुगेछु !


7.4k
Shares

पहिलो पटक जापानमा घुमेका धेरै महत्वपूर्ण स्थान र व्यक्तिहरूकै नामसम्म पनि अहिले त बिर्सन थालिसकेँ । केही घटना र पाएको माया भने सम्झिरहेकी छु ।

ओसाका र कोबे नजिकैको अग्लो ठाउँमा भएको एउटा सुन्दर सहरमा रहेको अस्पतालमा पुगेको र त्यहाँ घटेको घटना कहिल्यै बिर्सिन्न । मलाई त्यहाँ पुर्याउने विचार र योजना तोजी सानकै थियो । त्यस अस्पतालका मुली–अस्पतालका डाइरेक्टरसँग मेरो भेट गराउनुको उनको उद्देश्य मलाई सहयोग गर्ने थियो ।

ती व्यक्ति ‘उदारमना सनककी’का रूपमा चिनिँदा रहेछन् । उनले हाम्रैजस्ता विभिन्न गरिब देशका अस्पतालहरूमा एम्बुलेन्सदेखि अनेक मेडिकल उपकरणहरू सहयोग दिएको कुरा त्यहाँका धेरै मान्छेलाई थाहा रहेछ । काठमाण्डूमा मोडेल अस्पताल बनाउने योजना थाहा पाएका साथीहरूले तोजी सानसँग आग्रह गरेपछि ती ‘उदारमना सनकी’ सँग भेट गराउने योजना बनेको रहेछ ।

‘सान्दा’ जस्तो लाग्छ त्यो अस्पताल भएको सहर । तोजी एक पाका र अनुभवी मान्छे थिए । उनका मित्रहरू स्थानीय सरकारमा काम गर्दा रहेछन् । उनीहरूकै मद्दत लिएर मलाई त्यहाँ भेट गराउन लगे ।

जापान छोड्न एकदिन मात्र बाँकी थियो । अस्पतालको निम्ति बनेको ‘प्रोपोजल’ पनि बोकेर गएकी थिएँ । त्यसपटकको जापान भ्रमणमा सम्भवतः त्यही नै सबभन्दा ‘औपचारिक’ भेटघाट थियो ।

उनलाई लिएर स्थानीय कार्यकर्ताहरू समेत तोजी सान र इशिजुका भएर दुईवटा कारमा गयौँ । म तोजीले चलाएको पछिल्लो कारमा थिएँ । अघिल्लो कारमा केही स्थानीय नेताहरू थिए । हाम्रो अघिअघि कुदिरहेको गाडी हाम्रो गाडीलाई पनि रोक्ने ईशारा गर्दै एक्कासी रोकियो । एकजना स्थानीय नेता गाडीबाट ओर्लेर हामी भेट्न जान लागेको त्यो ‘ठूलो मान्छे’को स्वभावबारे अलिकति पूर्व जानकारी दिन थाले ।

टेबलमा ड्याम्म हात ठोक्न पुगेछु ! भैले भने– ‘साथीहरुले तपाईँका बारे कुरा गर्दा ‘दानी मान्छे’ भनेका थिए । उनीहरूले नै भेटाउन ल्याएका हुन् । सकिन्छ भने सहयोग गर्नुस्, सकिन्न भने नगर्नुस् । मलाई चित्त दुख्दैन । तर ‘नेपाली यस्ता उस्ता’ नभन्नुस् । सबै मान्छे उस्तै हुँदैनन् पनि । अस्पताल त अवश्य बन्छ नै… !’

ती ‘ठूला मान्छे’को नाम, थर त बिर्सिसकेँ । तर तिनलाई सबैले मान्दा रहेछन् । डराउँदा पनि रहेछन् । मेरो दोभाषे भइदिएकी थिइन् इशिजुका । उनैलाई ती सहृदयी नेताले भने– “उहाँले ‘हुन्छ’ भने पछि जे पनि सम्भव हुन्छ । तर, केहीगरी चित्त बुझेन भने चाहिँ कसैको कुरा सुन्नुहुन्न । बोल्दा विचार पु¥याउनु भनिदिनु तपाईँको साथीलाई” ।

मैले बुझ्ने भाषामा इशिजुकाले बुझाई दिइन् । ‘उनले केही सहयोग दिएनन् भने पनि चित्त् नदुखाउनु पनि भनिदिनु, है ! यी मान्छेले के गर्छन्, थाह हुँदैन’ पनि भनेका रहेछन् । त्यति भन्नलाई गाडी रोकेका रहेछन् ।

उनको त्यो उत्तरदायित्वपूर्ण व्यवहारले म साँच्चै प्रभावित भएँ । मैले ‘हस्’ भनेँ । गाडी अगाडी बढ्यो । एकछिनपछि एउटा अस्पतालको अगाडि पुगेर रोकियो ।

पहिल्यै समय मिलाइराखेको भएर होला, हामीलाई स्वागत गर्न बसेका मानिसले भित्र एउटा ठूलो मिटिङ हलमा लगेर ससम्मान राखिदिए । एकछिनपछि ती मुख्य ‘नायक’ भित्र पसे । सबै उनको सम्मानमा उठे । म पनि उठेँ । उनले सबैलाई ‘बस्नु’ भनेर ‘खोई, मसँग भेट्न आएको को हो ?’ भनेर सोधे । उनै स्थानीय नेताले मलाई देखाइदिएपछि म ‘सानो मान्छे’ले फेरि सम्मानपूर्वक टाउको झुकाएँ र आफ्नै भाषामा नमस्कार गरें ।

नमस्कार फर्केन । फेरि उनीहरूसँगै प्रश्न गरे ‘उनी डाक्टर हुन् ?’ उनीहरूले नै भने, ‘डाक्टरकी श्रीमती हुन् । नेपालमा उनीहरूको अस्पताल बन्न लागेकोले यहाँबाट केही सहयोग हुन सक्छ कि भनी भेटाउन ल्याएको…’ आदि केही भने होलान् । मैले बुझिनँ ।

उनी त जुरुक्क उठेर ‘यो मान्छेसँग कुरा गर्ने इच्छा छैन । मेरो समय पनि छैन । नेपालमा त्यस्ता भन्नेहरू धेरै हुन्छन् । म नेपालीहरूलाई राम्रैसँग चिन्छु । सहयोग खोज्छन् तर, भनेको काम गर्दैनन्…’ आदि भनेर पड्केछन् । मलाई लिएर जाने सबैको अनुहार कालो नीलो भयो । उनी कुरै नगरिकन फर्किन लागेको देख्दा छाँटकाँट ठिक छैन भन्ने चाहिँ बुझेँ ।

जापानी भाषा आफूले बुझेको त होइन, साथीले चिनियाँ भाषामा सानो स्वरले उल्था गरिरहिन्, दोभाषेको धर्म निभाउँदै– जस्ताको तस्तै । कुरा बुझेँ । मलाई पटक्कै रिस उठेन । चित्त पनि दुखेन । तर, स्वाभिमान भने जाग्यो एकाएक ।

मलाई डर पनि थिएन । टेबलमा ड्याम्म हात ठोक्न पुगेछु ! आफ्नो अंग्रेजी पनि त्यति राम्रो थिएन । त्यही पनि मैले अंग्रेजीमै सोधेँ– ‘तपाई अंग्रेजी बुझ्नुहुन्छ ? बुझ्नुहुन्छ भने प्लिज, एकछिन् मेरो कुरा सुनेर मात्र जानुस् ।’

सबैको ध्यान मतिर तेर्सियो । मैले भने– “म यहाँ ‘माग्ने’ भएर आएको होइन । साथीहरूले तपाईँ असल मान्छे भनेर चिनाउन ल्याएकोले आएकी हुँ । म एकजना लेखक हुँ । लेखककै हैसियतमा जापान घुम्ने निम्तो पाएर आएकी हुँ । आफैँ आएकी पनि होइन । एकजना असल डाक्टरकी श्रीमती पनि हुँ । जापानमा बस्दाबस्दै मेरो श्रीमानको फोन आयो नेपालमा एउटा नयाँ अस्पताल र जनस्वास्थ्यबारे काम गर्ने योजना बनाएको रहेछ । यहाँ बस्दाबस्दै नै ‘प्रोपोजल’ पनि मेरो हातमा पर्यो । यहाँ यतिका शुभचिन्तकहरूले तपाईँका बारे कुरा गर्दा ‘दानी मान्छे’ भनेका थिए । उनीहरूले नै भेटाउन ल्याएका हुन् । सकिन्छ भने सहयोग गर्नुस्, सकिन्न भने नगर्नुस् । मलाई चित्त दुख्दैन । तर ‘नेपाली यस्ता उस्ता’ नभन्नुस् । सबै मान्छे उस्तै हुँदैनन् पनि । अस्पताल त अवश्य बन्छ नै… !”

म यसरी बोल्छु भन्ने कसैलाई लागेको थिएन होला । मेरै लागि पनि अप्रत्याशित थियो यो । उनको अनुहारको भावमा तुरुन्तै परिवर्तन आयो । उठिसकेको मान्छे फेरि बसे । र, भने ‘यी मान्छे फरक रहिछन् । म सहयोग गर्छु … ।’ यो सुनेर सबैको अनुहार फेरि उज्यालो भयो । अनि बल्ल प्रोपोजल हातमा लिएर भने– ‘तिम्रो श्रीमानलाई यहाँ आउन निम्तो छ । डाक्टरसँगै कुरा गरौँ …।’

सहयोग गर्ने वचन दिएपछि तुरुन्तै स्थानीय पत्रकारहरूलाई बोलाए । र, एकछिनमा त्यो सहरको राम्रो, नामी रेष्टुराँमा ‘लन्च’ अर्डर गर्न लगाए । अस्पताल पनि हेरेर जानु भनी आफै नै हामी सबैलाई घुमाउन लगे । ठूलो रहेछ अस्पताल । धेरै सफा । घुम्नका निम्ति त्यहाँकै चप्पल लगाउनु पर्ने रहेछ ।

घुमाइसकेपछि ‘तिमीलाई के–के चाहिने हो लिष्ट पठाउ र तिम्रो श्रीमानलाई पनि भन– एक्सचेन्ज प्रोगाम पनि गर्न सकिन्छ भनेर…।’ मैले ‘हस्, हस्’ मात्र भनेँ । उनले देखाएका कुनै उपकरण म चिन्दिन थिएँ ।

मलाई त्यहाँ लैजाने साथी र नेताहरू सबै खुसी थिए । साथीले मलाई कानमा सुटुक्क भनिन्– तिम्रो कारण हामीले पनि त्यो ठूलो मान्छेको निम्तोमा सँगै टेबुलमा बसेर खाने मौका पायौँ ! म त यसै पनि खुसी थिएँ । स्वाभिमानले मलाई थप आत्मविश्वास दिइरहेको थियो ।

तर, जापानीहरू बीचको डरलाग्दो अस्वस्थ प्रतिस्पर्धा हुँदोरहेछ, यसरी सहयोग गर्ने विषयमा पनि । कुनै बेला त्यो कुरा पनि गरौँला ।

प्रतिक्रिया दिनुहोस्