Logo
Logo

घर आएपछि त मेरो जगतै फेरियो



जीवनको नागबेली घुम्तिमा हिँड्दाहिँड्दै कहिले भूमिगत, कहिले अभावमा डुबेको एक्लोपन, कहिले चीन र कहिले जापान हुँदै फेरि नेपाल फक्र्यौँ र ‘घर’मा पुग्यौँ । काठमाडौँमा ओर्लिदा रात परिसकेको थियो । त्यहि रात नै हाम्रो जीवनको नयाँ अध्याय सुरु भयो ।

सबै सुत्नेबेला भइसकेको थियो । तर, सानी छोरी नसुतिकन पर्खिरहेकी थिई– मायालाग्दी भएर । परिवारको पुनर्मिलन ‘नयाँघर’ मा भयो । तर, छ–छ महिना छुट्टिँदा छोरी फरक भइसकेकी थिई । उसको निम्ति हामी पनि फरक आमाबुवा भइसकेका थियौँ ।

पहिले झैँ छोरीसँग मात्र बस्न पाउने स्थिति पनि भएन । मैले त पेटको बच्चाको समेत ख्याल राख्नुपर्ने बेला भइसकेको थियो । आएको भोलिपल्टदेखि नै सरोज नयाँ हस्पिटलको निर्माणमा दौडिनुपर्ने । हाम्रो निम्ति ठाउँ, समय, परिस्थिति, काम, ब्यबहार सबै नै कुरा फरक भइसकेको थियो !

मेरो निम्ति १० वर्षपछि ‘बुहारी’को रुपमा संयुक्त परिवार भएको नयाँ घरमा पस्नु सहज हुने कुरै थिएन । विदेशबाट आउँदा पैसा बोकेर आउँछन् भन्ने अपेक्षा हुन्थ्यो । साँच्चै पैसा बोकेर आएको भए सबै कुरा फरक नै हुन्थ्यो होला । तर, हाम्रो हात खाली थियो । हामी त परिवारको आर्थिक स्थिति राम्रो पार्न सक्ने हैसियतमा हैन, सपनाको रित्तो विद्यार्थी जीवनबाट अपेक्षाको वास्तविक संसारमा फर्केका थियौँ । घरपरिवारमा उल्टै बोझजस्तो भयौँ होला । परिवारले हामीबाट सहयोगको आशा गर्नु अस्वाभाविक थिएन ।

वृद्ध ससुरा बुवा लामो समय न्यायाधीशका रूपमा निर्मल र निष्कलङ्क भूमिका निभाएर उहिल्यै रिटायर्ड हुनुभएको थियो । छोराबुहारी फर्किँदा ‘कहाँ बसूँ’ भन्नु नपरोस् भनेर जसोतसो एउटा घरसम्म उठाएर थाक्नु भएको थियो । त्यो घर पनि फिनिसिङ पूरा भइसकेको थिएन ।

घरको आयस्रोत धेरै थिएन । ठूलो परिवार– दुईजना त सासु आमाहरू नै हुनुहुन्थ्यो ! म आफ्नै सासु आमालाई पनि भान्छामा सघाउन सक्दिन थिएँ । अरु बुहारीहरू पनि नभएको बेलामा भान्सामा सासु आमाले नै सधैँ पकाउनुपर्ने हुँदा बोझ थपिने नै भयो । आफू चुलो चौकामा पस्न नमिल्ने । म त ‘शरणार्थी’ जस्तो पो भएँ । परिवारको सदस्य जस्तै लाग्दैनथ्यो, आफूलाई । हरेक पल्ट भान्सामा गएर खानसमेत असजिलो लाग्ने । यस्तो हुन्छ भनेर पहिले कहिल्यै नसोचेकै त थिएन । र, पनि नयाँ बाध्यताले बेरिसकेको थियो ।

उता, माइतीमा आफ्नै आमाको अवस्था पनि धेरै फरक भैसकेको थियो । सोचेभन्दा दुब्ली पातली, त्यसमाथि अनुहारमा एउटा थप कालो कोठी बढिरहेको देखिएको थियो । फर्केर खुसी होइन, खिन्न खिन्न हुन थाल्यो मन ।

घरको ढोका त खुल्यो । तर, आफैलाई बस्न असजिलो । होस्टेलको जीवनबाट घरमा पस्दा, आफ्नो स्वतन्त्रता जति सबै विदेशमै छोडेर आएको जस्तो लाग्यो । छोरीलाई पनि चीनबाट घर आउँदा आमाबुवा बिना एक्लै बस्नुपर्दा कति असजिलो भयो होला ! त्यसैले त त्यति आत्तिएर चिठी लेखेकी थिई त्यो ९ वर्षकी बच्चीले । म नेपाल पुगेपछि आफ्नै ‘घरपरिवार’मा भने पनि बाँच्नै नजानेको जस्तो महशुस भयो ।

नयाँ अस्पतालको नामाकरण ‘काठमाण्डू मोडेल अस्पताल’ भएर त्यसलाई चलाउने संस्था ‘जनस्वास्थ्य सरोकार ट्रष्ट’ (फेक्ट) को कानूनी दर्ता भैसकेको थियो । त्यो दर्ताका निम्ति कानून पढेका मेरा देवर तारकले धेरै दौडधूप गर्नुपरेको रहेछ । डा. भरत प्रधान स्वास्थ्य मन्त्रालयमा अनि गौरी प्रधान गैरसरकारी संस्थाका अनुभवी भएकोले ठूलै मद्दत भएछ । सुमन श्रेष्ठको जापानी सम्पर्कले गर्दा अझै मद्दत भयो । अफिस खोल्ने कुरा भने बाँकी नै थियो । त्यतिबेलासम्म कतैबाट आर्थिक स्रोत जुटेको थिएन । सरोज फर्केपछि बागबजारमा एउटा भूईँतल्लाको फ्ल्याटमा अफिस बन्यो । अफिसको कोठा बहाल पनि कहिले सगोलमा तिर्ने त कहिले आफैले मात्र तिर्नु पर्ने अवस्था थियो ।

घर आएपछि त मेरो जगतै फेरियो । साथीहरूसँगको सम्पर्क बन्द थियो । लेख्ने काम पनि सुक्यो । एक किसिमको बन्दी जीवन जस्तै लाग्न थाल्यो । फेक्टको आफ्नो अफिस बनेपछि घरमा दिन बिताउनु भन्दा त्यही अफिसमै गएर काम गर्न थालेँ । जसरी भए पनि अस्पताल छिटो बनोस् भनेर तनमन उतै केन्द्रित हुन थाल्यो । अफिसमा पिउनको काम गर्ने मान्छे पनि राख्न सकेको थिएन । म आफैँ गएर चिया कफी बनाइदिने, ट्वाईलेट सफा गरिदिने आदि गर्न थालेँ ।

त्यतिबेला भरत दाई सांसद भइसक्नु भएको थियो । सुमनको आफ्नै व्यवसाय थियो । गौरी आफ्नै ‘सिविन’ नामको संस्थामा व्यस्त थिए । अरुहरू पनि आ–आफ्नै कर्ममा व्यस्त । औपचारिक शिक्षाका हिसाबले सबभन्दा बढी पढेर फर्केका सरोज भने बेरोजगार डाक्टर थिए ।

सानी छोरीलाई पढाउनु थियो । श्रीमतीको पेटमा अर्को बच्चा पनि हुर्किरहेको थियो । पैसाको सबभन्दा खाँचो भएको त्यो बेला कहिलेकाहिँ अरु डाक्टर साथीहरूको प्राइभेट ‘नर्सिङ होम’ मा अपरेशनको निम्ति त बोलाउँथे । तर, नियमित काम नहुँदा पैसाको नियमित स्रोत हुने भएन । म बेस्सरी चिन्तित हुन थालेँ ।

मनभरी सपना छ । पेटमा बच्चा पनि । तर, न स्वतन्त्रता थियो, न पैसा कमाउन सक्ने अवस्था । सुमनको सल्लाहमा ठमेलका एक व्यापारीका बच्चाहरूलाई ट्युसन पढाउन थालेँ– महिनाको एकहजार लिएर । पेट ठूलो हुँदै थियो । घरमा पनि सित्तै खान झन् झन् गाह्रो लाग्दै थियो । त्यही पैसाले बेलाबेला अलिअलि तरकारी, चामल ल्याउँथेँ । त्यति गर्न सक्दा पनि मनमा सानो खुसी हुन्थ्यो । आफ्नै निम्ति पनि पौष्टिक आहार चाहिने त्यो बेला भान्सामा खान जान अप्ठ्यारो लागेर ‘खाइसकेँ’ भनेर कतिचोटी ढाटेँ पनि ।

त्यो बेला घरमा पहिलेदेखि काम गर्दै गरेका एकजना चौधरी केटा थिए– कृष्णलाल । उनले जागिर चाहियो भनेर घरमा घुक्र्याईरहेका थिए । घरमा बुवाआमाले ‘दाइ आएपछि अस्पतालमा जागिर पाउलास्’ भनेर फकाइराख्नु भएको रहेछ । मेरै अगाडि घुक्र्याउन थालेपछि आश्वासन दिँदै सोधेँ– ‘सुरुमा काम पनि, पैसा पनि थोरै हुन्छ । पहिले अफिसमा काम गर्ने, पछि अस्पताल बनेपछि अस्पतालमा काम गर्ने… । हुन्छ ?’ उनले स्वीकृति जनाए ।

मैले ट्युसन पढाएर पाउने गरेको एक हजारमा पाँच सय उनैलाई दिन थालेँ । मैले फेक्ट अफिसमा दिन बिताउँदा गर्ने गरेको ‘काम’ पनि कृष्णलालको भयो । उनी खुसी भए । इमान्दारी साथ काम गरे । पछि अस्पतालकै पहिलो कर्मचारी पनि भए ।

म भने योग्य तर, गरिब डाक्टरकी श्रीमतीको रुपमा समय बिताइरहेँ । दिन गन्दै पाँच महिना यसरी नै बित्यो । ती दिनको तनाव भिन्दै थियो । पेटको बच्चा जन्मिने बेला झनझन नजिक आउँदैथियो… ।

प्रतिक्रिया दिनुहोस्