काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा २०औं निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ट्रेड युनियन अधिकारको कुरा कटौती भयो भन्ने प्रश्न उठेको भन्दै विधेयकमा भइरहेको व्यवस्थालाई केही परिवर्तन नगरेको प्रष्ट पारेका हुन् ।

उनले अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप नै निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण रूपमा प्रतिबद्ध, राजनीतिक रूपमा तटष्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत कानूनी, संस्थागत संरचनागत र व्यवहारिक प्रबन्ध गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि प्रतिक्षारत संघीय निजामती सेवासम्बन्धी विधेयक बिहीबारको मन्त्रिपरिषद् बैठकले संसदमा पठाउने निर्णय गरेको बतथाए ।
उनले संघ, प्रदेश र स्थानीय तहबीच प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाइ प्रशासनिक संघीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा संघीय निजामति सेवा ऐन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।














