Logo
Logo

रूपन्देहीमा अवैध सामान धमाधम पक्राउ


2.6k
Shares

भैरहवा । रुपन्देहीमा भारतबाट हुने अवैध चोरी–तस्करी नियन्त्रण हुँदै गएको छ । प्रहरी सक्रियताले तस्करहरु धमाधम पक्राउ परिरहेका छन् भने वर्षौंदेखि अवैध बाटोबाट सामान नेपाल भित्र्याउँदै आएकाहरु अन्यत्र जिल्लातर्फ लागेका छन् ।

विगतमा तस्करीको सामान पक्राउ गरे पनि प्रहरीले तस्करहरुलाई छाड्दै आएको थियो । पछिल्लो १० महिनायता प्रहरी चोरीतस्करीमा संलग्नलाई पनि पक्राउ गरेर भन्सार बुझाउने गरेको छ । यसले गर्दा तस्करहरुले रुपन्देहीका सीमा क्षेत्रबाट गर्दै आएको तस्करीको काम छाडेर कपिलवस्तु लगायतका जिल्लाबाट काम सुरु गरेका छन् ।

प्रहरी पछिल्लो समय अवैध तरिकाले नेपाल भित्र्याइएका करोडौं मूल्यमा अवैध समान पक्राउ गरी भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा ६ करोड ४५ लाख ९ हजार २९ रुपैयाँ मूल्य बराबरको अवैध सामाग्री बरामद गरेर भैरहवा भन्सार कार्यालय पठाइएको थियो ।

यस्तै, चालु आर्थिक वर्षमा करिब तीन करोडमो अवैध सामान बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

‘साउनदेखि कार्तिक मसान्तसम्म हामीले २ करोड ८० लाख ५३ हजारको समान प्रहरीले बरामद गरेको छ । यो सामान भन्सारमा बुझाइएको छ’, उनले भने, ‘रातदिन जुनियरदेखि माथिल्लो तहका अधिकृतहरु फिल्डमा खटेर काम गरिरहेका छौं, यसले पनि तस्करी नियन्त्रण हुँदै गएको हो ।’

उनका अनुसार चार महिनाको अवधिमा ३२ जना तस्करलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । ‘तस्करले विना भन्सार सामान भित्र्याउँदा एकातर्फ नेपाली व्यवसायी मर्कामा पर्ने गरेका छन् भने अर्कातर्फ भन्सार राजस्व समेत प्रभावित हुन्छ’, भट्टले भने, ‘यसैले सीमा क्षेत्रमा हामीले विशेष निगरानी बढाएका छौं, अवैध कार्यमा संलग्न जो कोही कानूनी दायरामा आउँछ ।’

प्रहरीले पछिल्लोपटक तस्करीमा संलग्न एउटा ट्रक, ७ वटा पिकअप, ४७ वटा मोटरसाइकल, २ वटा अटो पनि नियन्त्रणमा लिई कारवाही गरेको छ । यस्तै चालु आर्थिक बर्षमै ४१ लाख ७४ लाख रुपैयाँ बढीको अवैध कुखुरा र चल्ला तथा १० लाख बढीको अवैध माछा नष्ट गरिएको प्रहरी तथ्यांकले देखाउँछ । शुक्रबार मात्रै प्रहरीले ४ लाख बढीको अवैध कपडा बरामद गरेर भन्सार बुझाएको छ ।

‘मंसिर लागेयता पनि लाखौंको सामान बरामद गरेका छौं’, डीएसपी भट्टले भने, ‘नाकामा कडाई गरिए पछि र अवैध सामान धमाधम नियन्त्रणमा लिए पछि स्वदेशी व्यवसायीलाई पनि राहत मिलेको हाम्रो अपेक्षा छ ।’ व्यवसायीले पनि प्रहरी सक्रियताले व्यवसायीलाई राहत मिलेको जनाएका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले प्रहरी सक्रियता सह्रानीय रहेको जनाए । ‘खुल्ला सीमा हो, कहिलेकाही प्रहरीको आँखा छलेर थोरधेर सामान भित्रिनु फरक कुरा हो, तर प्रहरीकै मिलेमतो भएको हामीले थाहा पाएका छैनौं, यो सकारात्मक कुरा हो’, उनले भने, ‘रुपन्देही प्रहरी यस्तै सक्रियता रह्यो भने भोलिका दिन तस्करी निस्तेज हुन्छ ।’

रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विकले प्रहरीको क्षमता र ल्याकतले भ्याएसम्म अवैध कार्यलाई निस्तेज पार्न लागि परेको बताए । ‘हामीले सैब ठाउँमा प्रहरी खटाउने, गस्ती गर्ने, निगरानी बढाउने गरेका छौं’, उनले भने, ‘कतिपय अवस्थामा आमनागरिक र वयवसायीको पनि साथ लिएका छौं । यसले जिल्लामा तस्करी लगायत अवैध कार्य रोक्न सहज भएको छ ।’

एसपी विकले स्वदेशी उद्योगी व्यवसायीलाई साथ, सहयोग र शान्ति सुरक्षा दिनुका साथै व्यवसाय अभिबृद्धिमा साकारात्मक सहयोग गर्नु आफूहरुको दायित्व पनि भएकाले अवैध बाटोबाट भित्रिने सामान नियन्त्रण गर्न चौबीसै घण्टा प्रहरी परिचालन गरिएको जनाए ।

प्रहरी चोरी तस्करी रोक्नुका साथै विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि गरिरहेको छ । आमनागरिकको प्रहरी समक्ष सहज पहुँच पुर्याउन सचेतना कार्यक्रमले सहयोग पुगेको विकले जनाए । यस्तै, फरार प्रतिवादीहरुलाई पनि प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ । जिल्लामा आर्थिक बर्ष २०७९–०८० मा २ सय ९८ जना फरार प्रतिवादी पक्राउ गरि १ सय ७६ बर्ष २८ महिना कैद असुल उपर गरिएको छ । यो अवधिमा ६१ लाख ६९ हजार ५ सय ३ रुपैयाँ जरिवाना रकम समेत असुल गरिएको प्रहरी तथ्यांक छ ।

चालु आर्थिक वर्षमा १७ जना फरार प्रतिवादी पक्राउ गरिसकेको एसपी विकले जनाए । ‘यति मात्रै होइन्, हामीले जिल्लामा शान्ति, सुरक्षा र अमन चयन कायम राख्न, ठूला र जघन्य अपराधमा सुक्ष्म अनुसन्धान गर्न पनि सफल भएका छौं’, एसपी विकले भने । चोरी, हत्याहिंसा र बलात्कार जस्ता घटनामा संलग्न पनि प्रहरीले धमाधम पक्राउ गर्ने गरेको छ । यसले आमनागरिकलाई शान्ति र सुरक्षितसाथ बस्न सहयोग मिलेको छ ।

यस्तै, जिल्लाका विभिन्न ठाउँ र बढी संवेदनशील स्थानमा प्रहरी पोष्ट पनि राखिएको छ । देवदह नगरपालिका–२ ढेकावर र सियारी गाउँपालिका–४ छपिया बजारमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ ।

यस्तै हिट एण्ड रन घटना तथा भिड नियन्त्रण प्रयोगका लागि १८ वटा ब्यारिकेट निर्माण गरिएको छ । यस अतिरिक्त जिल्लाका बिभिन्न स्थानहरुमा दैनिक चेकजाँचको व्यबस्था मिलाइएको र फरार अपराधिहरु पक्राउ गर्न अभियान संचालन गरिएको छ । यसबाट प्रहरी साकारात्मक सफलता प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्