Logo
Logo

कम्युनिष्ट एकता अपरिहार्य



सामूहिकता, बल प्रयोगको सिद्धान्त र गतिको नियम कम्युनिष्टहरूका मूल आचरण हुन् । कम्युनिष्टहरू सामूहिकतामा विश्वास राख्छन् । उनीहरूले बल प्रयोगको सिद्धान्त मान्छन् । गतिको नियमलाई अंगिकार गर्छन् ।

तर, नेपाली कम्युनिष्टहरूको वर्तमान अवस्था भने विचार र सिद्धान्तको खिलाफमा देखिन्छ । उनीहरू एकता र भातृत्वभन्दा टुटफुटमा रमाइरहेका छन् । सामूहिकताभन्दा व्यक्तिवादमा रमाइरहेका छन् । यसै कारण पछिल्लो समय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलन यति कमजोर बन्नुको नेतृत्वको नालायकी र गैरजिम्मेवार चरित्र र प्रवृत्ति हो । साथै, नेपाली कम्युनिष्ट आन्दोलन निरन्तर विभाजनमा लाग्नुका पछाडि मुख्य नेताका नालायकी मात्र नभएर अन्य कारणहरू पनि छन् । जसको चर्चा गरिनु आजको आवश्यकता हो ।

कम्युनिष्ट आन्दोलनको क्षयीकरण र यसको मारबाट आन्दोलनलाई बचाउने उपाय के हुनसक्छ ? भन्ने खालका सवालउपर पनि मन्थन गर्नुपर्ने भएको छ । साथै, वामपन्थी एकता सम्भव छ कि छैन ? भन्ने कुरालाई समेत दृष्टिगत गर्नुपर्नेछ ।

प्रचण्डको वामपन्थीबिचको ध्रुवीकरण पनि सत्ताकै लागि हो । तर, निरन्तर यसो किन भइरहेको छ ? किन नेताहरूले आफ्ना नालायकीहरूमाथि समीक्षा गरेर देश र आन्दोलनलाई निकास दिन चाहँदैनन् ? यो गम्भीर प्रश्न हो । विगतमा भए÷गरेका गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।

नेपाली कम्युनिष्ट नेताहरूबीचको मिलाप र विवादका कारणहरू हेर्ने हो भने अति सामान्यदेखि अति विशिष्ट छन् । राजनीतिक रूपमा केही जटिल पनि छन् । वैचारिक मतभिन्नता छन् । पछिल्लो घटनालाई हेर्दा समाजवादी संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी (२०७४) तत्कालीन नेकपा (नेकपा) ले प्राप्त ग¥यो ।

तत्कालीन नेकपाका मुख्य नेता थिए, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनीहरूका बिच भएको अराजनीतिक सत्ता साझेदारीले नेकपालाई धेरै बाँच्न दिएन । नेकपामात्र होइन, एमालेसमेत सग्लो रहेन । सत्ता नै पार्टी विभाजनको मुख्य कारण बनेको थियो । अहिले पुनः एकपटक ‘एक वाम र एक ठाम’ को पक्षमा माहोल बनेको देखिन्छ ।

नेपाली कांग्रेससँगको सम्बन्धविच्छेद (२१ फागुन २०८०) गरेर प्रचण्डले वामवन्थीबीचको एकताको थालनी गरेको बताएका थिए । तर, संशय रहने गरी एमाले अध्यक्ष ओलीले वर्तमान सरकारलाई सत्ता समीकरण हो र यसले जहिलेसम्म राम्रो काम गर्छ, त्यो बेलासम्म प्रचण्ड नै प्रधानमन्त्री रहन्छन् भन्ने खालको संकेत गरेका छन् ।

यसरी हेर्दा यो प्रचण्डको वामपन्थीबिचको ध्रुवीकरण पनि सत्ताकै लागि हो भनेर भन्नलाई आइतबार कुर्नुपर्दैन । तर, निरन्तर यसो किन भइरहेको छ ? किन नेताहरूले आफ्ना नालायकीहरूमाथि समीक्षा गरेर देश र आन्दोलनलाई निकास दिन चाहँदैनन् ? यो गम्भीर प्रश्न हो ।

विगतमा भए÷गरेका गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन । नेपाली कम्युनिष्ट आन्दोलनको विगत मात्र होइन, अन्तर्राष्ट्रिय त्यो पनि सोभियत संघको पतनलाई समेत स्मरण गर्नुपर्छ । सोभियत संघको विघटन जम्मा पाँच कारणले भएको थियो । अर्थतन्त्र, सिद्धान्त, राष्ट्रवाद, विवेक र नेतृत्वको गैरजिम्मेवारीका कारण सोभियत संघको विघटन भएको थियो ।

यतिबेला हाम्रो देशको अर्थतन्त्र पनि निक्कै नाजुक अवस्थातर्फ उन्मुख छ । यतिबेला सहकारी ठगीबाट ७३ लाख मानिसहरू पीडित बनेका छन् । संविधानले अंगिकार गरेको तीन खम्बे अर्थतन्त्रको खुट्टा भाँच्नेहरू सत्तामा छन् ।

व्यापार, व्यवसाय ध्वस्त छ । अर्थतन्त्र ध्वस्त पार्ने खालका गतिविधि नियन्त्रण गर्नुको साटो सरकारले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर सत्ताका लागि संरक्षण गरिरहेको छ । यसरी हेर्दा राज्य शक्तिको दुरुपयोग भइरहेको छ । राज्य स्रोतको अनावश्यक र अतिरिक्त प्रयोग हुँदा नेपाली अर्थतन्त्र धराशायी बनेको कुरा नकार्न मिल्दैन । अर्थतन्त्रलाई ग्रिन सिग्नलमा लैजाने सरकारसँग प्रभावकारी कार्यक्रमसमेत छैन ।

त्यस्तै यतिबेला मुख्य राजनीतिक दलहरूले बोकेको विचार सिद्धान्तले मुलुकको आर्थिक विकासमा पछिल्लोपटक खासै भूमिका खेल्न सकिरहेको देखिदैन । अझँ जोडले भन्दा हस्तक्षेपकारी भूमिकाबाट विचार सिद्धान्तको राजनीतिकले मूलबाटो छोडेको छ ।

यता एमाले जबज र माओवादी माओवादको जडतामा छ । कांग्रेस—रास्वपाको कुनै विचार नै छैन । उदार लोकतन्त्रको आवरणमा बाँचिरहेकाहरू वर्गीय समस्या वैज्ञानिक र व्यावहारिक ढंगले समाधान गर्न सक्दैनन् । विचार र व्यवहारबिचको तादात्म्यता मिलिरहेको छैन । माथि भनिएझैँ सामूहिक हितमा विश्वास राख्नेहरू नै व्यक्तिवादी बनेपछि विचार र सिद्धान्त कुन चराको नाम बन्न पुग्यो ।

अर्को कुरा आजको विश्वका निम्ति राष्ट्रवाद सबैभन्दा बलशाली विचारका रूपमा विकसित भइरहेको छ । आफ्नो देश र आफ्नो पहिचानका खातिर जस्तो सुकै कुर्वानी दिन तयार रहने देशभक्तहरूको संख्या बहुत ठूलो छ । कुनै बेला चुच्चे नक्सा संसदबाट पासगर्दा (सरिता गिरी) बाहेक सबै सांसद सदस्यहरूले मतदान गरेका थिए । आज पनि त्यो चुच्चे नक्सा विवादमै छ । खैर, भारतले भोकचलन गर्दै आएको लिम्पीयाधुरा क्षेत्रबारे आजका दिनसम्म पनि नेपाल सरकारले ठोस् धारणा अघि सार्न सकिरहेको छैन ।

नेताहरूले मुलुक चलाउने क्रममा गम्भीर खालका अपराध गरेका छन् । जसका कारण पछिल्लो समय पुराना पार्टीमा रहेका तर, राम्रो क्षमता भएका, स्वच्छ छवि भएका नेताहरू स्वतः बदनामी बन्नुपरिरहेको छ । नेतृत्वले समयमै उत्तराधिकारी जन्माउन नसक्दा मुलुकले सही दिशा लिन नसकेको हो ।

कम्युनिष्ट ध्रुवीकरणको वर्ष
२०८० सालको अन्तिममा ओली–प्रचण्डबीचको पुनर्मिलनले नयाँ सन्दर्भ अघि सारेको छ । २०८० लाई वामपन्थी एकताको आधार वर्षका रूपमा समेत विश्लेषण गरिएको छ ।

पूर्वप्रधानमन्त्री माधव नेपालको नाममात्र लिए पनि ‘मुख कुल्ला’ गर्नुपर्ने अराजनीतिक अभिव्यक्ति दिने गरेका ओली अन्ततः उनलाई नै गठबन्धनमा समेट्न कोटेश्वर धाएको देख्यौँ । झण्डै तीन वर्षपछि ओली, प्रचण्ड र माधवबीचको यो निकटले सकारात्मक सन्देश पक्कै दिएको छ । तर, यो सहकार्य कहिलेसम्मका लागि हो ? के का निम्ति हो ? भन्ने कुरा मुलुक र जनताले थाहा पाउन बाँकी छ । मुख्य नेताहरूबीचको सहकार्य मुलुकको सर्वोपरि हितमा हुनुपर्छ ।

त्यस्तै २०८० साल असार ४ गते राष्ट्रिय सभागृहमा तत्कालीन सत्ता गठबन्धनका चार वाम शक्ति मिलेर समाजवादी मोर्चा घोषणा गरे । नेपाली विशेषताको समाजवादी क्रान्तिको नारा अघि सारेर माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर मोर्चा बनाएका थिए । जो आजका दिनसम्म जीवित छ । समाजवादी मोर्चामार्फत भविष्यमा पार्टी एकता गर्ने गरी शीर्ष नेताहरू आन्तरिक र अन्तरपार्टीबीच निरन्तर छलफलमा भए पनि खास परिणाम भने दिन सकेका छैनन् ।

विचार मिल्नेसँग तत्काल एकता गर्ने, विचार नमिल्नेसँग कार्यगत एकता गरी बृहत्त वामपन्थी मोर्चा बनाएर जानका लागि चारै दलले वार्ता टोली बनाएका छन् । हाल मोर्चा संयोजकसमेत रहेका नेकपाका महासचिव विप्लव एमालेसहित सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने कसरत गरिरहेका छन् ।

यसरी हेर्दा २०८० को अन्त्यबाट सुरु भएका वामपन्थी एकता नामका केही प्रयासहरू सकारात्मक छन् । जसको सार्थकता प्राप्त गर्न बाँकी छ । जुन सार्थकता प्राप्तिका निम्ति शीर्ष नेताहरू निःशर्त र निःस्वार्थ रूपमा एक ठाउँमा उभिनुपर्छ । व्यक्तिगत, गुटगत कुण्ठा पालेर बस्ने हो भने एक वाम, एक ठाम होइन, आन्दोलन फकिर बन्ने छ । अन्त्यमा, नेतामा विवेक पलाओस् । जनता कर्तव्यवान् बनुन् नयाँ वर्ष २०८१ सालको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्