काठमाडौं । सिचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोप खेपेका ११ जनाले सफाइ पाएका छन् । विशेष अदालतले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे तथा उक्त गाउँपालिकाका उपाध्यक्ष सौमती रावल ऐडी लगायत ११ जनालाई सफाई दिएको हो । उनीहरुविरुद्ध तीन महिनाअघि मुद्दा दायर भएको थियो ।

विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनीहरुलाई सफाई दिने फैसला गरेको हो । गत फागुन १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकामा सिँचाइ आयोजना निर्माणका क्रममा अनियमितता भएको दाबीसहित मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा निमित्त प्रशासकीय अधिकृत पाण्डेका साथै गाउँपालिकामै इन्जिनियरका रूपमा कार्यरत मकरध्वज शाही, सब-इन्जिनियर जयराम छन्त्याल, योजना शाखामा कार्यरत मंगल भण्डारी र लेखापाल दीपक नेपालीलाई प्रतिवादी बनाइएको थियो ।
गाउँपालिकाको ढकनीकुनादेखि मुढेघट्टसम्मको सिँचाइ सम्झौतामा निर्धारित सर्त तथा मापदण्डविपरीत निर्माण कार्य भएको दाबी अख्तियारले गरेको थियो । सम्झौताविपरीत काम गराइ, झुठा नापी किताब र उपभोक्ता समितिको बिलका आधारमा भुक्तानी गरेको अभियोग लगाइएको थियो ।
आर्थिक वर्ष ०७४/७५ को उक्त आयोजनामा ४२ लाख २९ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो । यस मुद्दामा वडा नं. ३ का अध्यक्ष दत्त विष्टले पनि सफाइ पाएका छन् । यसैगरी, अनुगमन समितिका सदस्यहरू मानबहादुर टमटा र धनसरा टमटाका साथै उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीलाई पनि विशेषले सफाइ दिएको छ ।














