Logo
Logo

वामदेवले देखेको पाल्पा : गुल्टिएपछि चाल्पा


लक्ष्मण देवकोटा


  • लक्ष्मण देवकोटा

बडो तमासाका साथ नेपाल कम्युनिष्ट पार्टीको दूरीमा देखिएको बबण्डरको अन्त्य भयो । बिराउने प्रधानमन्त्री ओली, प्रधानमन्त्री हुन हतारिएको बात लाग्ने माधव नेपाल, टेबुल पदोन्नतिको दृश्यमा पर्दासिन प्रचण्ड र प्रधानमन्त्रीको उत्कण्ठाले आकुलब्याकुल वामदेव गौतमका बडाचित्र विचित्रका दृश्यहरु लोकले दर्शन गर्ने अवसर प्राप्त ग¥यो । जे–जसरी आरम्भ भएर यो फोहोरी खेलको आरम्भ र अन्त्य भयो, त्यसको साँगोपाँगो मूल्य नेपाल वामपन्थी आन्दोलनले भविष्यमा चुक्ता गर्नुपर्नेछ ।


कुरो सामान्य भएपनि हठ र लालचका पछाडि कसैको केही लाग्दो रहेनछ । बेला न कुबेला अध्यादेशको बाजा बजाइदिए खड्गप्रसादले । कोरोनाको डरलाग्दो दृश्यले संसार कामिरहेको बेला राजनीतिका कुटिल खेलाडी ओलीले राजनीतिक भूइँचालो ल्याइदिए । चौतर्फी दबाब भएपछि अध्यादेश फिर्ता पनि भयो । पार्टी पद्धति र अनुशासनमा बाँधिएको दल हुन्थ्यो भने उनले सचिवालयको अल्पमत बहुमतको खिचातानीको वामदेवलाई हरियो घाँस देखाएर नतानी यतिबेला स्थायी कमिटीको बैठकको सामना गरिरहेका हुन्थे ।

हिजोको विद्रोही माओवादीसँग सम्पूर्ण एकता नभइसकेको अवस्थामा सतहमा प्रधानमन्त्रीको राजिनामा भनिएपनि मलाई लाग्दैन, स्थायी कमिटीले उनलाई घोक्र्याएर बालुवाटारबाट निकाल्थ्यो । साँच्चिकै स्थायी कमिटीले गरेका निर्णय, आत्मलोचना सबै स्विकार्न सक्ने बलियो मुटु भएको कम्युनिष्ट नेताको रुपमा ओली स्थापित भएको भएपनि केही बिग्रनेथिएन । एक्लो ओलीको नाफा घाटाभन्दा पनि नेपालको सिँगो वामपन्थी आन्दोलनको भविष्य सोच्ने हो भने विधि र विधानको ख्याल गरिनुपथ्र्यो ।
सचिवालयको सहमतिपछि यी सबै कुरा अब साम्य भएका छन् । कर्मकाण्डी स्थायी कमिटीको बैठकले गर्ने निर्णय मानिसहरुले बुझिसकेका छन् । पछिल्लो झगडाले छोडेका केही प्रश्नहरुले अबको नेपालको कम्युनिष्ट आन्दोलनको बाटो तय गर्नेछ । जस्तो कि अध्यादेश जस्तो गम्भीर विषय फटाफट ल्याएर फटाफट पास भएर भूइँचालो उठ्ने सन्दर्भमा अरु त अरु कार्यकारी भनिएका अध्यक्ष प्रचण्डले किन थाहा पाएनन् ? किन सचिवालयमा छलफल भएन ? छलफल हुनुपर्छ कि पर्दैन ? अध्यादेश फिर्ता भयो, अध्यक्ष ओलीबाट सचिवालयमा आत्मलोचना भयो । वामदेवलाई उपयुक्त समयमा प्रधानमन्त्री बनाइने कुरा आयो ।

मानिसहरुको प्रश्न छ, के अध्यादेशपछि उठेको बबण्डरको चूरो वामदेव प्रधानमन्त्री किन भएनन् ? भन्ने थियो या ‘कू’ समयमा ल्याइएको गणतन्त्रको मूल चुरोलाई नै प्रभावित पार्ने अध्यादेश किन ल्याइएको हो ? पार्टीको शीर्ष नेता, केन्द्रलाई सरकार प्रमुखको जवाफदेहीताको खोजी थियो ? अनुशासनको खोजी थियो कि थिएन ? बारम्बार आर्थिक विवादमा फस्दै गइरहेको ओली सरकारसँग पार्टीको नेतृत्वले किन तपाइँले बदमासहरुलाई कारवाही गर्न सक्नुहुन्न ? किन उनीहरुको काखी च्याँपिरहनुभएको छ ? भन्ने प्रश्न गर्ने सान्दर्भिक मौका थियो या वामदेव विना यो नेपाल राज्यको अस्तित्व सकिन्छ भन्ने बहस थियो ? अझ माधव कुमार नेपालको प्रधानमन्त्री हुने हुटहुटीको रुपमा ब्याख्या गरिएपनि मूल कुरो पार्टीको अध्यक्षले पटक पटक विवादमा आउने गरेका कामको स्पष्टिकरण नेतृत्वले खोजिरहेको थियो । असल कार्यकर्ताहरुले खोजिरहेका थिए । उनीहरुले किन यो प्रश्न सोध्न खोजिरहेका थिए भने तिनै सहयात्री, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुको सामूहिक प्रयास, संगठन र मिलिमतोले नै खड्गप्रसाद ओलीको गद्दी प्रस्थान भएको थियो ।

राज्यमा कम्युनिष्टहरुको पहुँच सम्भव भएको थियो । झण्डै दुई तिहाईको संख्यामा संसदमा उपस्थिति, प्रदेशहरुमा नेतृत्व र स्थानीय निकायमा विजयको झण्डा गाडिन सम्भव भएको थियो । सुझबुझ निर्णयका साथ माओवादी र एमालेको एकताको कारण यो सम्भव भएको थियो । बालुवाटारको बार्दलीमा प्रधानमन्त्रीको वरिपरि बसेर कर्कश स्वरमा मनको तितो पोख्नेहरुले बुझेर बुझपचाए पनि ध्रुव सत्य यही हो ।
अर्को सत्य के पनि हो भने, भोली जनतासँग फेरि हजार प्रश्नहरुको सामना गर्न त यिनै नेता र कार्यकर्ताहरु जानुपर्नेछ । उपयुक्त समयमा नेतृत्वले बाटो बिरायो भने सही बाटो यसो हो है

भनेर भन्ने पनि त्यही स्थायी कमिटी, केन्द्रिय समिति हो । त्यो हुनाले पार्टीभित्रको लोकतन्त्र जीवन्त राख्न पनि त्यहाँभित्र बहस हुनुपर्ने त कम्युनिष्ट पार्टीभित्रको सामान्य कुरा हो ।
तर दूर्भाग्य विधि विधानको यो सबै पाटोलाई तपसिलमा राखेर वामदेव नामक अस्त्रको प्रयोगले पछिल्लो रडाको मथ्थर पार्ने प्रयास गरिएको छ । यो अर्को गलत अभ्यास हो । संयोग पनि कस्तो भने वामदेव गौतमलाई पाल्पा १ बाट जिताउने आन्तरिक समझदारीमा । यहाँनेर पाल्पालीको नाताले र आफ्नो पैतृक देवोभूमीको नागरिकको नाताले यति मात्रै भन्न सकिन्छ, वामदेव पाल्पा १ आएभने उनले इतिहासमै नदेखेको दृश्य देख्न पाउनेछन् । उनको लज्जास्पद पराजय हुनेछ । किनभने, वामदेव गौतमसँग आफ्नै हुँदोखाँदोको लगभग दुईतिहाइ भएर सरकारमा किन जानुपर्यो भन्ने प्रश्नको जवाफ नै छैन । देश यही हो ।

कर्मचारीतन्त्र यही हो । जनता यिनै हुन् । छिमेकी यिनै हुन् । वामदेव गौतमसँग केचाहिँ जादूको छडी छ जसले गर्दा उनी प्रधानमन्त्री भएको भोलिपल्टैबाट देशमा चमत्कार शुरु हुनेछ । पाल्पालीको नाताले र महाकाली सन्धी धोका हो भनेर वामदेवकै पछि लागेको कारण अनेकौँ यातना भोग्न विवश सामान्य भूइँमान्छेको नाताले उनीमाथि मेरा यी प्रश्न हुन् । के उनीसँग यसको जवाफ छ ?
बरु के भन्न सकिन्छ भने, केही गरी वामदेव पाल्पा आइहाले भने यसले नेपाली राजनीतिमा गलत संस्कृति, कम्युनिष्ट पार्टीभित्र पदलोलुप संस्कारको वैधानिकता प्रमाणित हुनेछ । भकुण्डोमा हारेपछि अर्को खेल राम्रो गर्न तयारी गर्ने हो, म फेरी पेनाल्टी हान्छु भनेर रेफ्रीसँग पाखुरा मिच्ने होइन । राजनीतिमा सबै चिज सम्भव हुन्छ भनिएपनि राजनीति भित्रको इमान र नैतिकता सर्वसाधारण मानिसले हेरिरहेका हुन्छन् ।
वामदेव उठ्ने भनिएको क्षेत्र अहिले कम्युनिष्ट भएको क्षेत्र होइन । यो त २०१५ सालमा समेत कमलराज रेग्मीलाई सूर्यचिन्हमा भोट हालेर संसदमा कम्युनिष्ट पठाएको क्षेत्र हो । सोझा मगरहरु छन्, लट्टिपट्टी पार्न सकिन्छ भनेर कसैले सोचेको छ भने त्यो उसको भ्रम मात्रै हुनेछ । शंकर पोखरेल, विष्णु पौडेलको कुटनीतिमा दलबहादुर राना बलिको बोका बनाइए भनेपनि इतिहासमा त्यो बडो गम्भीर दुर्घटनामा दर्ज हुनेछ । यदि कूर्ची नै अन्तिम सत्य र सत्ता नै अन्तिम अभिष्ट हो भने त्यस्ता नेताहरु अरुलाई त थाहा छैन, कम्तिमा पाल्पालीलाई चाहिएको छैन । कांग्रेस, कम्युनिष्ट या अन्य कुनै दलको आवरणमा ।
सिद्धबाबामा वर्षेनी सयौँ मानिसहरुको बलि चढाएर पाल्पालीहरु थाकिसकेका छन् । इतिहासमा चौदण्डी र उदयपुर, यता मकवानपुरमा बहादुरीका लडाइँ लडेका सोझा पाल्पालीहरु रिसाए भने सत्तालाई महँगो पर्न सक्छ । जल्पाका काइँलाबालाई अब वामदेवलाई भोट हाल्ने त होलानि बा ? भनेर सोध्दा उहाँले जवाफ दिनुभएको थियो, ‘बाउ ह्याँ जमाना काँ ट काँ पुगिसको, नेता कुर्चीकै वरिपरि रिंग्याछन् । वामदेवले देखेको पाल्पा, गुल्टिएपछि चाल्पा हुनसक्छ ।’

प्रकाशित मिति  : मंगलबार, २३ बैशाख २०७७

प्रतिक्रिया दिनुहोस्