Logo
Logo

मलाई नसोध कहाँ दुख्छ घाउ !


लक्ष्मण देवकोटा


  • लक्ष्मण देवकोटा

काठमाडौं, २८ बैशाख । नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यादेशले ल्याएको पराकम्पन शान्त हुन के लागेको थियो, भारतीय विस्तारवादले कोरोना र नेताहरुको झगडाबीच अन्तर्राष्ट्रिय मूल्य, मान्यता र विधानको धज्जी उडाउँदै नेपाली भूिममा सडक निर्माणका कारण सिँगो देश नै आन्दोलित हुन पुगेको छ । लामो समयदेखि नेपाली भूमि हडप्दै आएको भारतीयको चर्को विरोध गर्ने कम्युनिष्टहरु नै सत्तामा भएको बेला सरकारले केही बलिया कदम उठाउला भन्ने अपेक्षामा गृहमन्त्री बादलले पानी खन्याइदिएका छन् । उनले संसदको समितिमा बोल्दै पूर्व शासकहरुका कारण नेपाली भूमि लुटिएको तर्क पेश गरेर उम्किन खोजेका छन् । पूर्व शासकहरुको टाउकामा दोष थुपारेर होइन, मोदी सरकारको मिचाहा प्रवृत्तिका विरुद्ध गर्जन निस्केला भनेको लगभग पूर्वशासककै शैलीमा जनतालाई अल्मल्याउने खालको दलिल पेश भइरहेका छन् सत्तापक्षबाट ।
नेपाल सरकारको सहमतिबिनै चीन र भारतले लिपुलेकको विषयमा गरेको समझदारी कै निरन्तरता हुनुपर्छ, अहिले चीन पनि मौन छ । यी दुवै ठूला देशहरुको ब्यापारिक स्वार्थको लडाइँमा हाम्रो स्वाधिनता अलपत्र पर्ने खतरा त मोदीको बेइजिङ भ्रमणमै देखिएको थियो । बेइजिङमा बसेर सि जिन पिङलाई नेपालसम्म ल्याउने लिलामणि पौडेललाई फिर्ता बोलाएर सरकारले आफ्नो हुति प्रदर्शन त गरिसकेकोछ नै, चीन र भारतको रणनीतिले ल्याउन सक्ने सुनामीको अनुमान गरेर नेपालले कुटनीतिक तहमा काम गर्नुपथ्र्यो ।
त्यहाँबाट एक कदम अगाडि बढेर भारतले नेपालको सीमा नै हटाएर नक्शा जारी गरेर सामान्य झारा टार्ने बाहेक कुटनीतिक तहमा कुनै ठूला प्रयास भएनन् । मोदीलाई काठमाडौंको संसदमा र मिथिलामा खातिरदारी गर्दा पनि विस्तारवादी चरित्रको निरन्तरता उनीहरुले दिइरहे । सयौँ ठाउँमा सीमाका पिलरहरु रातारात सारिएकाछन् । सिँगो गाउँ नै सुत्दा नेपाल उठ्दा भारत भएका छन् । नेपाली सार्वभौमसत्तामाथि यति ठूलो ज्यादति भइरहँदा पनि त्यसको लागि नेपालका राजनीतिक दलहरुको एकीकृत आवाज सुनिएको छैन । न त सत्तापक्षबाट बलियो आवाज नै आएकोछ । दुई अध्यक्षको वक्तव्यले कुटनीतिक उपस्थिति जनाएपनि वर्षौदेखिको मिचाहा भारतीय पक्षलाई त्यसले रौँपनि हल्लाउने छैन ।
हाम्रो भूमिलाई निल्न सक्ने भारतीयले सामथ्र्य किन राख्छन् भने उनीहरुलाई नेपाली नेता, जनता सबैको नौनाडीको तागतको बरोबर यकिन छ । नेपाली नेताहरु तिनै हुन् जो सत्ता टिकाउनको लागि जे पनि गर्न तयार हुन्छन् । ०४८पछिका तमाम राजनीतिक बेथितिमा भारतीय पक्षको मसिनो हस्तक्षेपले नै बुझाउँछ कि नीति निर्माणदेखि लिएर हरेक राजनीतिक निर्णयमा उनीहरुले दखल दिनसक्छन् ।
बुझ्नुपर्ने के हो भने, नाकाबन्दीका विरुद्ध डटेर लड्ने हिम्मत गरेकै कारण अहिलेको यो नेतृत्वलाई जनताले पत्याएका हुन् । जयशंकर प्रसादको हस्तक्षेपलाई चुनौति दिएको हुनाले नै जनताले स्याबासी दिएका हुन् । तर, गम्भीर हुनुपर्ने कुरा के छ भने, खै त नेपालको स्वाभिमान र स्वाधिनताको रक्षा गर्ने नेपाली शासकहरुको दीर्घकालीन योजना ? जुन संवैधानिक छिद्रबाट छिरेर भारतीयहरुले यतिका वर्षसम्म नेपालमा अस्थिरता मच्चाइरहे, किन हिँड्न खोजेका हुन् प्रधानमन्त्री ओली त्यसको मर्मविपरीत ? यद्यपी, अध्यादेशको च्याप्टर बन्द भएको छ । प्रश्न यथावत के छ भने, किन भारत नेपाल प्रबुद्ध समूहले तयार पारेको रिपोर्ट समेत बुझ्न इन्कार गर्ने खुला सीमानाको छिमेकीविरुद्ध सामूहिक प्रतिबद्धता ? अरब र खरब नाफा आउँछ भनेर महाकाली सन्धीगरिएपछि ख्वै त त्यसको समीक्षा ? कोशी, गण्डकमा कांग्रेसलाई गाली गरेर सत्तामा पुगेका कम्युनिष्टहरुको देश बचाउने खै त तत्परता ?
यो मौनताले स्वर सम्राट नारायण गोपालले गाएको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ बोलको कालजयी गीतलाई नेताहरुले स्मरण गराएको छ जबकि, एकातिर कोरोना संक्रमणको त्रासले जनता आक्रान्त छ भने यसैबेला सीमा मिचिएको पीडा थपिएको छ । तर, देश चलाउने बागडोर पाएका नेता तथा मन्त्रीहरु भने आन्तरिक खिचलोमै अड्किएका छन् । उनीहरु देश दुखेको पीडा थाहा नपाएझैँ बसेका छन् ।
भारतीयहरुसँग लड्नको लागि नेपाली शासकहरु पहिला आफू एकजुट हुनुपर्छ ताकि ती खेल्न नसकुन् । कोरोनाविरुद्ध एकजुट भएर लड्ने बेलामा देखिएको सत्ताको दुर्गन्धी खेलले नै नेपाली नेताहरुको असली काबिलपन देखाइदिएको छ । वीरगँजले काठमाडौंसँग कीट माग्छ । काठमाडौंको केन्द्रीय सत्ता लोभ लालचको खेलले न कीट न सामाग्री, सेनाको मुख ताकेर बस्नुपर्ने अवस्थामा छ । यसले नै हाम्रो तयारी र हाम्रो असली व्यवस्थापन कौशल देखाइदिएको छ । अनि यही मौकामा भारतीयहरुले त्यत्रो बाटो बनाइसकेपछि बल्ल झस्किएर उठ्छ नेपाली स्वाभिमान । के नेपाली गुप्तचरहरुलाई यत्रो सडक निर्माण हुँदा केही थाहा थिएन ? कहाँ सुतिरहेकाछन् काँग्रेस र कम्युनिष्टका कार्यकर्ता भर्ति गर्ने गुप्तचरी निकायहरु ?
बडो बिडम्बना नै छ, पूर्ववर्ती सरकारलाई दोष लगाएरमात्र यत्रो संकटबाट उम्किन मिल्दैन, पाइन्न । त्यही पूर्ववर्ति सरकारले गर्न सकेन भनेर त कम्युनिष्टहरुलाई नेपाली जनताले शासनको साँचो सुम्पिएका हुन् । चिनियाँ र भारतीयहरु दुवैलाई आफ्नो बेपार र देश कसरी समृद्ध बनाउने भन्ने चिन्ता छ । उनीहरु आफ्ना स्वार्थका लागि जे पनि गर्न सक्छन् । त्यसको चेपुवामा नेपाली किन पर्ने ?
पहिला सत्तासीनहरु भित्रै एकता, त्यसपछि संसदीय शक्तिहरु बीचको एकता, विद्रोही धारमा रहेको विप्लप माओवादीको पनि साथ समर्थन र तीन करोड जनताको एक स्वर भएमात्रै छिमेकीले हेप्न सक्दैन । नत्र भारतीय दूतावासमा विरोध गरेरमात्रै यो समस्या पार लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्