Logo
Logo

अभाव र आत्मालाप


2k
Shares

फेरि डायरी पल्टाएँ– ३३ वर्ष अगाडिको उही डायरी । म ३६ वर्षकी थिएँ । चीनमा बसेको ४ वर्ष पुरा भएर पाँचौँ वर्ष लागिसकेको थियो । सन् १९९० को अक्टुबर । लेखेकी रहेछु– “प्यारो साथी, यी विभिन्न दुःख सुखमा तिमी मेरो साथमा छौँ ।

जस्तै दुःखमा पनि नआत्तिनु भन्ने सन्देश पाए जस्तो लाग्छ तिमीबाट । किन मलाई अभावले कहिल्यै छोड्दैन ? सरोज सर्जरीमा विद्यावारिधीका निम्ति तपस्यारत छन् । म पनि बच्चा हुर्काउँदै अध्ययनरत छु । लेख्दै पनि छु– हुन त अभावसँग जुझ्नकै निम्ति, पैसाकै निम्ति हो यति बेलाको मेरो लेखन …।’

कहिले कहिले मनमा प्रश्न उठ्थ्यो– यो सब नचाहिँदो दुःख त होइन ? म विगतलाई सम्झिन थाल्थेँ– मभन्दा एकवर्ष अगाडि चीन आउनु अघिसम्म सरोज ‘स्थायी’ डाक्टर भएर सरकारी अस्पतालमा काम गर्दै थिए । त्योभन्दा धेरै अघि नै उनले लोकसेवा पास गरिसकेका थिए ।

सरकारी सेवामा स्थायी भइसकेका उनी भक्तपुर अस्पतालमा काम गर्दा गर्दै “क्रान्तिका निम्ति“ भनेर भूमिगत रुपमा काम गर्न उदयपुरतिर लागेका बेला म दुई जीउकी थिएँ । त्यसबेला घरको निम्ति ‘अस्वीकार्य’ बुहारी काठमाडौँको नरदेवीमा एउटा सानो कोठामा एक्लै आफैले कमाएर अर्ध भूमिगत जीवनयापन गर्नु सजिलो थिएन । बच्चाको जन्म भएपछि पनि न घर न घाटको नै थिएँ ।

१५ दिन जति अर्काको घरको टहराजस्तो भुईँतल्ले चिसो कोठामा बास भयो, साथीको डेरामा कोठा खाली भएकोले । म पहिले बस्ने कोठामा अर्की भूमिगत कार्यकर्ता सुशीला श्रेष्ठ (अहिले सभासद) पनि सुत्केरी भएकोले उनलाई आफ्नो कोठा बुझाएर पार्टीकै निर्देशनअनुसार म ठाउँ सरेँ ।

दुईजीउ हुँदा हामी दुवै एउटै सानो कोठामा एउटै खाटमा बस्थ्यौँ । मेरोभन्दा दुई हप्ता अगाडि उनको बच्चा भयो । उनका श्रीमान अशोक राई पनि भूमिगत थिए । म सुत्केरी हुने बेला मलाई स्वागत गर्ने मित्रहरूबाट अत्यन्त आत्मीय व्यवहार पाएकी थिएँ । प्रा.डा. केदार बराल त्यसबेलासम्म अझ हेल्थ असिस्टेन्ट नै थिए । उनी आफ्ना भाइबहिनीसमेत बसेको डेरामा मैले आश्रय पाएकी थिएँ ।

सरोज पनि केही दिनको निम्ति सुत्केरी श्रीमती र बच्चा हेर्नको निम्ति पार्टीमा छुट्टी मिलाएर काठमाडौँ आएका थिए र म अस्पतालबाट फर्केपछि केही दिन त्यो चिसो कोठामा सँगै बस्न पाएका थियौँ । सुत्केरी भएको १५औं दिनदेखि आमाकहाँ गएर बसेँ । सरोज आफ्नै कर्म क्षेत्रमा फर्के ।

हुन त जीवनको त्यो बाटो आफैले रोजेकी थिएँ । कसैसँग गुनासो गर्ने कुरै भएन । पहिलो पटक बच्चा जन्माउन अस्पतालमा बस्दा त मेरो हैसियत एक डाक्टरकी श्रीमतीको पनि थिएन– भूमिगत कार्यकर्ताकी श्रीमती थिएँ ।

अरुलाई आफ्नो श्रीमान को हो भनेर चिनाउन नसक्दा, मेरो पेटको बच्चालाई समेत अवैध बच्चा भनेर शंका गर्ने र कुरा काट्नेहरू पनि थिए र यसले गर्दा सबै कुरा थाहा पाएको भए पनि मेरी आमालाई समेत गाह्रो भएको थियो ।

अस्पतालमा आमा, दिदी, साथीहरू धेरै नै भेट्न आए । तर म बसेको ठाउँमा भने आफन्तलाई पनि भेट्न सजिलो थिएन । पार्टीले मेरी पद्मा दिदी एकजनालाईसम्म भेटघाट सर–सहयोगको निम्ति आउजाउ गर्ने अनुमति दिएको थियो ।

त्यो बेलाको अवस्थाभन्दा चीनको बसाई धेरै नै फरक थियो । विद्यार्थी भएर बस्दा संसार नै आफ्नोजस्तो भएको थियो । संसारका धेरै देशका साथीहरू सँगको उठबस, सुख,दुःख साटासाट, एकापसमा सरसहयोग आदिका क्रममा आत्मियता बढ्यो । उनीहरूकै सहयोगमा लेखन फेरि अगाडि बढेको मात्र नभएर विभिन्न देशका पत्रिकामा समेत लेख छापियो ।

अझ लेखनबाट सोचेको भन्दा बढी पैसा समेत पाएकी थिएँ । यो सबलाई अवसर नै मान्नु पथ्र्यो । र पनि अभावको अनुभूति हुनु आफ्नै मानसिक अवस्था हो कि साँच्चैको अभावको जिन्दगी हो, छुट्याउन मलाई गाह्रो हुन्थ्यो ।

घरबाट ससुरा बुवाको चिठीमा छिटो पढाई सिध्याएर घर फर्क भन्ने नै ताकेता हुन्थ्यो । बुवा पनि उमेरले वृद्ध, तर परिवारको सबै आवश्यकता आफैले पुरा गरिदिनु पर्ने अवस्था । कमाउन सक्ने छोराहरू विदेशमा । माइला भाइ प्रज्वल पनि क्यानाडामा थिए ।

म बुझ्थेँ घरको अवस्था । तर त्यही घरको निम्ति नै म अन्तरजातीय बुहारी हुनुले काँडा बिझाएजस्तो हुन्थ्यो । सफल बुहारी हुनकै निम्ति पनि पैसाकै जरुरी हुन्छ भन्ने थाहा थियो । बच्चालाई भए पनि छिटो घर फर्काउनु भन्ने ससुरा बुवाको सन्देशको अर्थ मलाई पनि अब घरमा स्वागत छ भन्ने लाग्थ्यो । अझ पुरानो घरमा ठाउँ पुग्दैन भनेर “तिमीहरुको निम्ति भनेर नयाँ घर बनाउँदै छु, यो बुढेसकालमा पनि…’’ भनेर समेत लेख्नुभएको थियो बुबाले ।

मेरो युनिभर्सिटीकी मलाई मनपर्ने प्राध्यापक याङ् लाओश्र् ज्यादै शालीन, सुन्दर, बौद्धिक महिला थिइन् । उनीसँग मेरो दुःख, सुख र पढाइका समस्या आदिबारे खुलेर कुरा गर्न सक्थेँ । तर यस्ती असल मन भएकी विदुषीका समेत आफ्नै समस्याहरू थिए ।

त्यो बेलाको चीनमा सबै नागरिकहरूलाई घरको व्यवस्था राज्यले नै गरिदिने भएकोले घर किन्ने, बनाउने झन्झट त थिएन । तर सरकारले दिएका कोठाहरू प्रायः साँघुरा हुन्थे । कतिको भान्छासमेत अरुसँग मिस्सिएर चलाउनु पथ्र्यो । कति प्रोफेसर, डाक्टरहरूलाई समेत बस्ने राम्रो सुविधा थिएन ।

याङ् लाओश्र्ले मसँग भनेकी थिइन् “तिमीहरूलाई घरमा बोलाएर खुवाउने मन छ, तर म बस्ने ठाउँ ज्यादै साँघुरो छ, के गर्ने ? “दैनिकी धान्नका निम्ति उनी धेरै मिहिनेत गर्थिन् । वृद्ध आमालाई पनि आफ्नै साथमा राखेर हेरविचार पु¥याउनुपर्ने हुँदा उनलाई सजिलो थिएन । आर्थिक चुनौती झेल्नका निम्ति उनी विदेशीहरूलाई प्राइभेट शिक्षिकाका रूपमा पैसा लिएर चिनियाँ भाषा सिकाउँथिन् ।

त्यति व्यस्त हुँदाहुँदै पनि मेरा लेखहरू पढेर फिडब्याक दिइरहन्थिन् । उनीबाट प्रोत्साहन पनि उत्तिकै मिल्थ्यो । एकपल्ट अरु विदेशी विद्यार्थीले पनि नेपालको संस्कृति बुझुन् भनेर क्लासमा सानो गोष्ठीकै आयोजना गरिदिइन् र मेरो ‘तेस्रो विवाह’ नामक निबन्ध चिनियाँ भाषामा वाचन गर्न लगाएर प्रश्नोत्तरसमेत गराइदिइन् ।

यो लेख नेवाः जाति विशेषको संस्कृतिमा केटीहरूको “तीनपल्ट बिहे’’ हुने कुराबारे थियो– पहिलो बेलसँग, दोस्रो सूर्यसँग र तेस्रो मान्छेसँग साँच्चैको विवाह । मेरो आफ्नै उदाहरण दिएर लेखेको निबन्ध थियो त्यो । धेरै देशका विद्यार्थीलाई अचम्म लाग्ने लेख थियो त्यो ।

आफ्ना समस्या आफैसँग भएपनि अरुको सकेसम्म वास्ता राख्ने, सकेसम्म अरुलाई मद्दत गर्ने, प्रोत्साहन दिने ती गुरुआमालाई देख्दा भने आफैलाई सम्झाउँथेँ– “मैले यसरी गनगन गर्न मिल्छ र ?’’

प्रतिक्रिया दिनुहोस्