
सरकारमा बस्नेहरूको नियत ठिक भएन भने देशमा बेथिति मौलाउँछ र त्यसले विद्रोह निम्त्याउँछ । अहिले देशको हरेक ठाउँमा देखिएको विकृति र विसंगतिले सचेत नागरिकलाई विद्रोही बनाइरहेको छ । सरकार पहिला आफू आफ्नो ठाउँमा बस्नुप¥यो ।
सरकारमा बस्नेहरू नैतिक र इमानदार भइदिए देश क्रमशः सुधारको बाटोमा अग्रसर हुने थियो । विगतमा आफ्ना कारणले नभई राजनीतिक अस्थिरताका कारण देशमा बेथिति मौलायो भनियो । २०७४ सालमा एमाले र माओवादीको गठबन्धनलाई जनताले राजनीतिक स्थिरताका लागि दुई तिहाइ मत दिए । त्यो मत पनि प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग गरे । असंवैधानिक रूपमा दुई–दुई पटक संसद् भङ्ग गरे । त्यहीँबाट सुरु भयो बेथिति र विद्रोह । त्यही विद्रोहले एमाले विभाजनसमेत भयो ।
यदि, दुईतिहाइको सरकारले चाहेको भए आजका दिनसम्म आइपुग्दा सुशासन कायम हुने थियो । आम नागरिकमा देश बन्छ भन्ने आशा जाग्ने थियो । तर, त्यसो हुन नसक्दा आम नागरिकमा निराशा छायो, व्यवस्थामाथि नै नागरिक आक्रोश बढ्न थाल्यो ।
यसबीच त्यही जनविद्रोहले राष्ट्रिय स्वतन्त्र पार्टी जन्मियो । काठमाडौँ महानगरपालिकामा बालेन शाहको उदय भयो । यी दुई उदाहरणले आम नागरिक कति असन्तुष्ट छन् भन्ने देखाउँछ । कांग्रेस–एमालेबाट अब देश बन्दैन भन्ने निष्कर्षमा पुगेका नागरिकहरूले विद्रोह गरेरै नयाँ पार्टी जन्मियो । त्यो विद्रोहलाई निर्वाचनले अनुमोदन ग¥यो । तर पनि कांग्रेस र कम्युनिष्टका नेताहरूले यसबाट पाठ सिक्न चाहेनन् ।
उल्टै विद्रोहबाट जन्मिएका रवि लामिछानेलाई सहकारी ठगको रूपमा उभ्याएर कांग्रेस, एमालेनिकट सहकारी ठगहरूलाई उन्मुक्ति दिने काम भयो । आम नागरिकको खर्बौँ रुपैयाँ सहकारीमा डुबेको छ । खाई नखाई जम्मा गरेको रकम डुब्दा कतिपय सहकारीपीडितहरु ‘आत्महत्या’ गर्ने अवस्थामा पुगेका छन् । तिनीहरूको रकम कसरी फिर्ता दिने भन्नेतिर सरकारको ध्यान गएको छैन । देशैभरि रवि लामिछानेलाई सहकारी ठगको रूपमा उभ्याएर आफूनिकट ठगहरूलाई संरक्षण गर्ने काम सरकारबाटै भएको छ । जब सरकार नै एउटा व्यक्तिप्रति पूर्वाग्रही बन्छ भने अन्य नागरिकले न्याय कसरी पाउँछ ?
नक्कली भुटानी शरणार्थीका नाइकेहरू झन्डा हल्लाएर हिँडिरहेका छन् । पीडितहरू बोल्न नसक्ने अवस्थामा छन् । नक्कली भुटानी शरणार्थी काण्डको थप छानबिन नहोस् भनेर अनुसन्धान प्रभावित पार्न प्रहरी अधिकृतहरू सरुवा गरिन्छ । नक्कली भुटानी शरणार्थीका नाइकेहरू जोगाउन अस्पतालमा सेटिङ गरिन्छ ।
थुनामा रहेकाहरूसँग पनि बयान लिन सरकार डराउँछ । एक प्रकारले भन्ने हो भने नक्कली भुटानी शरणार्थी काण्डमा स्वयं सरकारको संलग्नता देखिन्छ । ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थिए । उनकै योजनामा नक्कली भुटानी शरणार्थी काण्डको जन्म भयो ।
थापाका छोरा, श्रीमती मुछिए । थापालाई उन्मुक्ति दिने काम भयो । देश आफ्नो नागरिक बेच्ने तहसम्म पुगेपछि यी नेताहरूले देश बनाउँछन् भनेर कसरी पत्याउने ? त्यसैले आम सचेत नागरिकहरू नेताको चरित्रमा सुधार चाहिरहेका छन् । भ्रष्टाचार, अनियमिततामा संलग्न नेताहरूलाई जेल कोच्ने दिनको पर्खाइमा छन् । ‘विद्रोही’ चेत भएका सचेत नागरिक र मिडियाले यस विषयमा बारम्बार आवाज उठाइरहेका छन् ।
लोकतन्त्र भनेको कानुनी राज हो । सुशासनबिना लोकतन्त्र फस्टाउन सक्दैन । २००७ सालदेखि आजसम्म लोकतन्त्रका लागि लडेका आम सचेत नागरिक आज आएर सुशासनको आवाज उठाइरहेका छन् ।
भ्रष्टाचारीहरुमाथि कडा कारबाही गरिनुपर्ने माग गरिरहेका छन् । स्वयं राष्ट्रपति रामचन्द्र पौडेलले ‘अख्तियार दिवस’मा मधुर स्वरमा विद्रोहको भाषा बोले । यसको मतलब राष्ट्रपति पनि अहिलेको अवस्थाप्रति असन्तुष्ट छैनन् भन्ने बुझिन्छ । आशा गरौं, भ्रष्टाचारीहरू जेल जाने दिन टाढा छैन । त्यसका लागि दिनहुँ नागरिक खबरदारी भने आवश्यक छ । नभए, जनताले बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह गर्ने दिन आउनेछ ।











