
मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस, हरेक वर्ष नेपाली पत्रकारहरूले मनाउँदै आएका छन् । हरेक वर्ष नेपालमा पनि पत्रकारहरूको हत्या हिंसाको घटना बढ्दो छ । प्रेस स्वतन्त्रताको ठूला–ठूला भाषण गर्ने सङ्गठनहरूले हत्याका तथ्यांक प्रस्तुत गरे पनि ती हत्याका विषयमा निरन्तर आवाज भने उठाएको पाइँदैन ।
पत्रकारको हत्या किन भयो, कसले ग¥यो, त्यसको कारण पत्ता लगाउनेतिर हामीले ध्यान नदिँदा गत चैत १५ गते हत्या गरिएका सुरेश रजकमाथि ठूलो अन्याय भएको छ । आगोमा जिउँदै जलेर उनको हत्या हुँदासमेत उनले न्याय पाउन सकेका छैनन् । सुरेश रजकलाई न्याय दिलाउनु हामी पत्रकार जगतको कर्तव्य हो ।
राजावादीहरूले चैत १५ गते तिनकुनेमा आयोजना गरेको आन्दोलनको रिपोर्टिङ गर्न उनी बिहानै श्रीमतीसँग बिदा भएर तीनकुने पुगेका थिए, त्यो दिन नै उनको अन्तिम दिन बन्यो । ‘भरे अलि ढिलो हुन्छ होला’ भन्दै श्रीमतीलाई भनेर घरबाट हिँडेका उनी कहिल्यै नफर्किने गरी हामीबाट बिदा भए । उनी टेलिभिजनको क्यामरा बोकेर कुनै युद्धको रिपोर्टिङमा गएका थिएनन् । त्यसैले उनलाई मर्छु भन्ने पनि लागेको थिएन होला ।
राजावादीहरूले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनको रिपोर्टिङ गर्न जाँदा उनी मारिए । यति संवेदनशील विषय सञ्चारकर्मीहरूलाई रहस्यमय हत्याको समाचारको विषय मात्र बन्यो । अनलाइन मिडियालाई ‘ब्रेकिङ’को मसला बन्यो । सामाजिक सञ्जालभरी अन्यले खिचेको भिडियो भाइरल बन्यो । तर, उनको मृत्यु कसरी भयो, किन भयो, कसले ग¥यो भन्ने कुरा आजसम्म खोज पत्रकारिताको विषय बन्न सकेन । उनको मृत्यु अझै रहस्यको गर्भमै छ ।
बिहानैदेखि तिनकुनेको रिपोर्टिङमा व्यस्त रजकसँग चैत १५ गतेको घटनाको धेरै तथ्यहरू उनको क्यामरामा कैद भएको हुनुपर्छ । उनी जलेर जुन घरमा उनको हत्या भएको थियो, त्यो घरबाट कार्यक्रमस्थल र वरपरको दृश्य स्पष्ट देखिन्थ्यो । त्यसैले सत्य तथ्य समाचार टेलिभिजनमा प्रसारण गर्ने उद्देश्यले उनले त्यो घरलाई सुरक्षित ठानेर रोजे, तर त्यही घर उनको लागि काल बन्यो ।
उनका परिवारका अनुसार रजकको शवलाई पत्रिकाले छोपिएको थियो । उनले बोकेको क्यामरा र उनीसँग भएको मोबाइल हराएको थियो र जहाँ उनको शव भेटियो, त्यो कोठा बाहिर ताला लगाइएको थियो । घटनाको यही प्रकृति र विवरणले उनको हत्या भएको पुष्टि हुन्छ । किनभने, घरमा आगो लागेपछि कोहीले पनि आगो तापेर बस्दैन । जतिसक्दो चाँडो भाग्छ । रजकले पनि भाग्ने कोसिस गरेका थिए होलान्, तर उनले जुन दृश्य कैद गरेका थिए, त्यसबाट धेरै कुराको पोल खुल्ने भएकाले उनको हत्या मात्र गरिएन सत्य तथ्य लुकाउन भिडियो क्यामरा, मोबाइल सबै लुटियो र उनको हत्या गरेर कोठामा ताला लगाइयो । यदि, घरमा आगो लागेर उनको मृत्यु भएको भए उनीसँग भएका सामग्री पनि जलेको अवस्थामा घटनास्थलमा भेटिनुपर्ने थियो ।
यति संवेदनशील विषयमा आज सिंगो प्रेस जगत मौन छ । फेसबुकमा उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेर आफ्नो दायित्व पूरा भएको ठान्दैनन् पत्रकारहरू । त्यो उनीप्रतिको अन्याय हो । यस घटनाको छानबिन गर्न सरकार किन डराइरहेको छ, संसदीय छानबिन समिति गठन हुँदैन किन भनेर गृहमन्त्रीले बोल्दैनन् ? यी बोलीहरू भित्रै उनको हत्याको रहस्य पनि लुकेको हुनुपर्छ ।
यो विषयमा पत्रकारहरू चुप लागेर बस्नु हुँदैन । अरूको अन्यायमा लड्ने पत्रकार जगत आफ्नै पेशाकर्मीको हत्या हुँदा समेत चुप लागेर बस्नु लाचारी हो । बोल पत्रकार मित्रहरू, कोही त बोल, किन तिम्रो मुख बन्द छ ? हत्याको विरोध गर्न तिमीहरू किन डराइरहेका छौँ ? यो रजकको आत्माले हामीलाई सोध्ने प्रश्न हो । यसको जवाफ हामीले दिनै पर्छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वर्गीय पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली छ ।