
जननेता मदन भण्डारी भन्थे ‘जीवनमा थकाइ भन्ने शब्दावली हुँदैन ।’ प्रदीप नेपाल ठिक यस्तै नेता थिए, जो कहिल्यै थाकेनन् । पार्टीको आदेश कार्यान्वयन गर्न एक मिनेट पनि ढिलो नगरेर अघि सर्ने, लागेको कुरा प्रस्ट बोल्ने र फलामे अनुशासनमा विश्वास गर्ने, कडा स्वभाव उनको परिचय थियो
अहिलेको नेकपा एमालेको जगको एउटा इँटा थिए, प्रदीप नेपाल । तत्कालीन भूमिगत मालेमा लागेर देशव्यापी पार्टी बनाउनु, जेल पर्नु, जेल फोडेर भाग्नु कम चुनौतीको कुरा थिएन । तर उनी जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिसँग सामना गर्न सक्ने सामथ्र्य राख्थे, जसका कारण भोजपुरको एउटा गाउँमा जन्मिएको सामान्य परिवारको व्यक्ति आज देशकै सपुत भएर हामीबाट बिदा भए ।
जीवनभर कम्युनिष्ट आन्दोलनमा लागेका उनले मृत्युपश्चात पार्टीको झन्डा आफ्नो पार्थिव शरीरमा नओढाउन भनेका रहेछन् । कति दूरदर्शी नेता, जसले कम्युनिष्ट आन्दोलनमार्फत आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई समर्पण गरे र, तिनै नेताले मृत्यु पर्यन्त पार्टीभन्दा ठूलो राष्ट्र हो भन्ने सन्देश सबैलाई दिए । आखिर, जुनसुकै पार्टी विचार, सिद्धान्त भने पनि त्यो राष्ट्रको सम्पत्ति हो । राष्ट्र निर्माणमा आफ्नो जीवनलाई इमानदारपूर्वक समर्पण गर्नु नै राजनीति हो भन्ने अर्थ पनि यो शब्दबाट बुझ्न सकिन्छ ।
मानिसले राजनीति पैसा कमाउन होइन, गुमाउन गर्छन् भन्ने कुराको उनी एक उदाहरणीय नेता थिए । आजका कम्युनिष्ट नेताहरूमा उनको गुण कमै भेटिन्छ हिजो बलिदानीका लागि राजनीतिमा होमिन्थ्यो भने आज भ्रष्टाचार, लुट र कमिसन कमाउन राजनीति गरिन्छ । त्यसबाट उनी मुक्त थिए ।
मानिस बन्न सजिलो छ, तर सच्चा, इमानदार कम्युनिष्ट बन्न गाह्रो छ भन्ने कुरा उनको जीवनबाट सिक्न सकिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा त्यति ठूलो योगदान पु¥याएका नेपाल अस्वस्थ भएपछि पार्टीबाट उपेक्षित भए । सुने, स्वास्थ्य उपचार गर्न आर्थिक स्रोत जुटाउनसमेत उनलाई कठिन भयो ।
उपचारकै क्रममा डल्लुस्थित घर र बोर्डिङ स्कुलसमेत बिक्री गर्नुप¥यो । आफ्नै पार्टीको नेतृत्वमा पटकपटक सरकार बने पनि अन्य नेताहरू बैंकक, सिंगापुर जाँदा र सरकारी ढुकुटीबाट करोडौँ चन्दा लिँदा उनी भने काठमाडौँमै उपचारमा रमाए । यो पनि एउटा देशभक्तिको उदाहरण हो ।
भूमिगतकालदेखि नै म प्रदीप नेपालको सम्पर्कमा थिएँ । तत्कालीन माले चौथो महाधिवेशनमा जुटेको थियो । भित्रभित्र पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक माहौल तात्दै गरेको थियो । त्यतिबेला पार्टीले सञ्चालन गरेको छलफल साप्ताहिकमाथि पञ्चायती शासकहरूले प्रतिबन्ध लगाए । त्यसका सम्पादक रघुजी पन्त राजकाज मुद्दामा जेल परे । यो घटनाबाट प्रदीप नेपाल धेरै चिन्तित भए ।
किनभने, भूमिगत मालेले अघोषित रूपमा ‘छलफल’ सञ्चालन गरेको थियो । देशभरिका कार्यकर्तामाझ पार्टीको सूचना र विचार पु¥याउने एउटा मात्र माध्यम पत्रिका थियो, त्यो पनि बन्द भयो । त्यसपछि जसोतसो पत्रिकालाई निरन्तरता दिन जागृत भेटवालको प्रकाश साप्ताहिक प्रकाशित हुन थाल्यो । भेटवाल सांसद थिए, पत्रिकामा उनकै नाम छापिन्थ्यो । भेटवालले पार्टी हाइकमाण्डलाई ‘निरंकुश’ र ‘तानाशाही’ शब्दचाहिँ पत्रिकामा नछाप्नु होला मलाई अप्ठेरो पर्छ भनेका रहेछन् । त्यही दिनदेखि प्रदीप नेपाल मेरो खोजीमा थिए ।
‘दृष्टि’ मेरो नाममा दर्ता थियो, म पाल्पा बस्थे । पत्रिका नियमित थिएन । म काठमाडौँ आएको बेला एक दिन गोपाल गुरागाईँ मेरो सम्पर्कमा आए र भने– सहयोग गर्नुप¥यो, दृष्टिलाई अबदेखि नियमित रूपमा छाप्नुप¥यो । त्यसको जिम्मा हामी लिन्छौं ।
मैले हुन्छ भने । किनभने, प्रदीप नेपालले पाल्पा क्याम्पस पढ्दै गरेका घनश्याम भुसाल, अशोक शाही र झपेन्द्र जिसीलाई मेरोबारेमा बुझ्न पठाएका रहेछन् । उनीहरुले मेरो बारेमा सकारात्मक जवाफ दिएपछि ‘दृष्टि’ सुनकोशी छापाखानाबाट प्रकाशित हुने भयो । यो करिब ०४४ सालतिरको कुरा हो । त्यतिबेला प्रचार विभाग प्रमुख राधाकृष्ण मैनालीसँग सैद्धान्तिक, वैचारिक कुरा भयो, अन्ततः म सहिद हुन तयार भए र दृष्टिलाई नेकपा मालेको वैचारिक मुखपत्र बनाउँदै म पनि कम्युनिष्ट आन्दोलनमा होमिएँ ।











