
राजनीतिक वृत्तमा केही समयदेखि एउटा शब्द चर्चामा छ– ‘झोले’ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘म झोले हो’ अभियानको थालनी गरेपछि यसको चर्चा र बहस व्यापक छ । सामाजिक सञ्जाल ‘झोले’ बहसले तातिएको छ ।
शब्दकोश पल्टाउँदा ‘झोले’ शब्दको मूल अर्थ त्यति अपमानजनक देखिँदैन । तर, नेपाली राजनीतिक भाषिक प्रयोगमा यो शब्द प्रायः तुच्छताको पर्यायवाची बनिसकेको छ । ‘झोले’ भन्नाले त्यो व्यक्ति जनाइन्छ, जसको समर्पण विचारप्रति होइन, व्यक्तिपूजाप्रति केन्द्रित हुन्छ । जसको आलोचनाबोध हुँदैन । नेताको इच्छा नै नीति हुन्छ । ‘झोले’ हुनु भनेको नेपाली राजनीतिमा ‘चाकडी संस्कृतिको क्लासिक रूप’ हो ।
राजनीतिक परिवेशमा ‘झोले’ प्रवृत्ति कुनै नयाँ होइन । तर, अहिले यो प्रवृत्तिलाई सत्ताको नेतृत्व गरिरहेको दल एमालेले अभियानकै रूपमा चलाइरहेको छ । जेठ १५ मा गणतन्त्र उत्सवका दिन एमालेको जुलुस भइरहेका बेला ट्राफिक जाममा परेका सर्वसाधारणले एमाले कार्यकर्तालाई ‘झोले’ भन्दै विरोध गरे ।
राजावादीहरूको जुलुसमा पनि ‘एमालेको झोले शब्द’ प्रयोग गरियो । सामाजिक सञ्जालमा पनि एमाले नेता तथा कार्यकर्तालाई ‘झोले’ को संज्ञा दिँदै आलोचना हुन थाल्यो । त्यसपछि एमालेले ‘झोले’ अभियान नै चलायो ।
यो अभियान भारतीय प्रधानमन्त्री मोदीको ‘म चौकिदार हुँ’ अभियानको नक्कल गरेको देखिन्छ । तर ओलीको ‘म झोले हो’ अभियानले सकारात्मक सन्देश दिनुको सट्टा पार्टीको वैचारिक दरिद्रता उजागर ग¥यो । एमाले नेतृत्वले यो अभियान पार्टीको ‘नियत सफा पार्ने औजार’ बनाउन खोजे पनि परिणाम उल्टो रह्यो । यो अभियान ‘सुपर फ्लप’ साबित भयो ।
नेपाली समाजमा ‘झोले’ शब्दले अन्धभक्त, विवेकहीन अनुयायी र आत्मसमर्पणवादी चरित्रको बिम्ब स्थापित गरिसकेको छ । यस्तो धारणालाई प्रचार शैलीको भरमा परिवर्तन गर्न खोज्नु केवल राजनीतिक अपरिपक्वता मात्र होइन, जनमानसको बौद्धिक अपमान पनि हो ।
आफूलाई जसले ‘झोले’ करार गरे, उनीहरू आलोचनाको सिकार बने । एमाले भित्रबाटै अभियानको आलोचना भयो । सकारात्मक सन्देश दिन सुरु गरेको झोले अभियानले एमालेलाई झनै नकारात्मक बनायो ।
‘झोले’ अभियानको आलोचना चुलिँदै जाँदा एमाले महासचिव शंकर पोखरेल सातबुँदे तर्कसहित स्पष्टीकरण दिन बाध्य भए । उनले पार्टीको झोलाभित्र माक्र्सवादी चिन्तन, जबजको सिद्धान्त र समाजवाद निर्माणको बाटो समेटिएको दाबी गरेका छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि एमालेको गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौँ’ उनले भनेका छन् ।
एमाले नेतृत्वले दाबी गरेजस्तै देश बनाउन ‘झोले’ हुनै पर्दैन । त्यो समृद्ध राष्ट्र निर्माणका उदाहरणहरू हेर्दा स्पष्ट हुन्छ । सिंगापुरका ली क्वान यु, दक्षिण अफ्रिकाका नेल्सन मन्डेला, चीनका देङ सियाओपिङ, मलेसियाका महाथिर मोहम्मद र अमेरिका अब्राहम लिंकनले न कसैको झोला बने न त ‘झोले’ अभियान नै चलाए । उनीहरूले राष्ट्रको भविष्यलाई दृष्टिगत गर्दै नेतृत्व गरे, निर्णय लिए ।
के सिंगापुरको कायापलट झोले प्रवृत्तिबाट सम्भव थियो ? के मण्डेलाले जातीय विभेदविरुद्धको लडाइँ झोले भएर लडेका थिए ? उनीहरू नेतृत्वमा थिए, लम्पसारवादमा होइन । उनीहरू जनताको सेवामा थिए, नेताको चाकरीमा होइन । उनीहरू सपना देखाउने मात्र थिएनन्, सपना पुरा गर्ने साहस र रणनीति दुवै राख्थे । उनीहरू विचार र मूल्यका पक्षधर थिए । देश र जनताप्रति समर्पित थिए ।
तर, हाम्रो देशमा भने उल्टो अभ्यास चलिरहेको छ । नेताहरू आफ्ना कार्यकर्तालाई विवेकशील नागरिक होइन, सगौरव ‘झोले’ बन्न आह्वान गरिरहेका छन् । ‘झोले’ शब्दलाई गौरवको वस्त्र ओढाउने प्रयासहरू गरिरहेका छन् । यसको अन्त्य नगरेसम्म राजनीतिक विमर्श विवेकको मार्गमा फर्कन सक्दैन ।
राज्य संयन्त्र, शिक्षा प्रणाली, न्याय व्यवस्था र समाज आज ‘झोले’ प्रवृत्तिको सिकार बनेका छन् । यसलाई वैचारिक समर्पण भनेर महिमामण्डन गर्नु राजनीतिक धोका हो । एमालेको नालायकीपन हो । ओलीले माक्र्स र लेनिनको विचार छाडेर मोदीको नाराको कपी पेस्ट गर्नतिर लाग्नु भनेको एमालेलाई वैचारिक अवसानको बाटोतिर लाग्नु हो ।
झोलेहरूका आफ्नै किसिम छन् । कोही नेताको हरेक शब्दलाई शास्त्र ठान्छन्, कोही नेताको कृपाभन्दा बाहिर जान सक्दैनन् । यी झोलेहरू ब्रान्डेड झोला बोकेका हुन्छन्, तर विचारको भार शून्य हुन्छ । कहिले त यस्तो लाग्छ– यी झोलेहरूले नेताको मलद्धारलाई पनि हरिद्धार देख्छन् !
अब प्रश्न उठ्छ– देश बनाउन झोले चाहिन्छ कि विवेक ? नेतृत्वमा नैतिकता, नागरिकमा उत्तरदायित्व, शासनमा पारदर्शिता र दीर्घकालीन रणनीति राष्ट्रनिर्माणका खम्बा हुन् । त्यसैले चेतनाको भार बोक्नुपर्छ, नेताको नाउँको ब्यानर होइन । झोले प्रवृत्तिले शासन व्यवस्थालाई कुप्रशासनमा परिणत गर्छ, समाजलाई दासत्वमा लम्काउँछ र आर्थिक समृद्धिको मार्गमा ब्रेक लगाउँछ ।
देश बनाउन झोले हुनुपर्छ भन्ने धारणा केवल एक विसंगति मात्र होइन, यो आत्मसमर्पणको औपचारिक घोषणा हो । यो केवल राजनीतिक होइन, सामाजिक रोग हो । जसको औषधि सामूहिक जागरूकता, नैतिक शिक्षा र जनउत्तरदायी व्यवहार मात्र हुन सक्छ । देशलाई अघि बढाउने शक्ति झोला होइन, विवेक हो ।
झोला बोकेर नेताको पछि लाग्ने होइन, विवेक बोकेर अघि बढ्ने हो । सत्ताका वरिपरि फन्को मार्ने झोले होइन, सवाल गर्न सक्ने नागरिक बन्ने हो । प्रश्न गर्न सक्ने आँट, गल्ती देख्न सक्ने दृष्टि, अनि सुधार खोज्न सक्ने सोच चाहिन्छ । अनि मात्र देशलाई परिवर्तनको यात्रामा डो¥याउन सकिन्छ ।
‘झोले’ प्रवृत्ति केवल राजनीतिक समस्या होइन । यो सामाजिक र नैतिक पतनको लक्षण हो । यसको अन्त्यको लागि केवल नेताप्रति प्रश्न होइन, आफूप्रति पनि उत्तरदायित्वको आत्मचेतना आवश्यक छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र नीति निर्माणमा दीर्घकालीन दृष्टिकोण र पारदर्शिता ल्याएर मात्र देश समृद्ध हुन्छ, झोले अभियानले होइन ।
‘झोले’ बन्ने हो भने विचारको बोझ बिर्सनुपर्छ । विवेक, आत्मसम्मान र आलोचनाको साहस झोलाभित्र अटाउँदैन । त्यसैले अब समय आएको छ– ‘झोले’ बन्ने होड छाडेर चेतनाको काँधमा राष्ट्रिय जिम्मेवारीको झन्डा फहराउने । राजनीतिक नेतृत्व र नागरिक दुवैले आत्ममूल्यांकन गर्न सिके मात्र देशको दिशा बदलिन्छ ।
अतः अब समय आएको छ, झोला होइन, विवेक बोकेर अघि बढ्ने । सत्ताको वरिपरि घुम्ने झोले होइन, समाजको प्रश्न उठाउने नागरिक बन्ने । देश बनाउन जनउत्तरदायी नेतृत्व, दीर्घकालीन योजनामा आधारित नीति, पारदर्शी शासन प्रणाली र नैतिक आधारमा उभिएको जनसंलग्नता बन्ने ।
झोले प्रवृत्ति हाम्रो सामाजिक, राजनीतिक र संस्थागत संरचनाका लागि विष समान घातक बनिसकेको छ । यसको निराकरण सामूहिक चेतना, शिक्षा र निर्णायक राजनीतिक इच्छाशक्तिबाट मात्र सम्भव छ । देश बदल्न ‘झोला’ होइन, जागरूक र जिम्मेवार नागरिकको आवश्यकता छ ।