देश र जनताका लागि दुर्भाग्य


Published On : 11 August, 2020

‘प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका बाचा, कबुल, प्रतिबद्धता र संकल्पलाई बिर्सदै जानुभयो वा अवमूल्यन गर्दै जानुभयो । मनोवैज्ञानिक ढंगले भन्ने हो भने प्रधानमन्त्रीले माओवादीलाई उपयोग गर्ने, भ¥याङ बनाउने र आफ्नो स्वार्थसिद्ध गरेर त्यसलाई कमजोर पार्ने रणनीतिअन्तर्गत जानुभएको महसुस हामीले ग¥यौं । सबभन्दा दुःखद् कुरा यही नै रह्यो । उहाँमा कहीँ न कहीँ ‘इगोसेन्टिक’ र आत्मकेन्द्रित कार्यशैली रहेछ भन्ने मैले बढी महसुस गरेँ । उहाँले सबैको सामूहिक सहयोगको परिणामस्वरुप अवसर प्राप्त गरेको भन्ने कुराको अनुभूति छोड्दै र बिर्संदै जान थालेजस्तो कार्यशैली देखाउनुभयो । साना–ठूला धेरै कुरामा आफैँ पूर्ण छु जस्तो स्थितिबाट उहाँ चल्न खोजेको मैले पाएँ । धेरै तिक्तता बढाउने हिसाबले धेरै कुरा भन्न त चाहन्नँ, तर प्रधानमन्त्रीले यो बीचमा भएका प्रतिबद्धता बिर्सेर आफ्नो इच्छाअनुसार सरकार चलाउन सक्छु भन्ने ढंगले गएको महसुस भयो । कहीँ न कहीँ उहाँको कार्यशैलीमा अहंकार र दम्भ बढी देखिएको महसुस मैले गरेँ ।’

शम्भु श्रेष्ठ

२०७३ साउन ७ गते तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त कुरा संसद्मा बोलेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउँदा प्रचण्डले जे जस्ता शब्द भनेका थिए, आज ओलीले प्रचण्डलाई फेरि त्यही ठाउँमा पु¥याइदिएका छन् । २०७२ सालमा प्रधानमन्त्री बन्दा ओलीको जस्तो बोली, व्यवहार र शैली थियो, आज पनि उस्तै व्यवहार र शैली छ । ओलीले त्यतिबेला माओवादीको समर्थनमा सरकार बनाएको कुरा बिर्संदा आफूले प्रधानमन्त्री पद गुमाउनुपरेको थियो । आज समय फेरिएको छ । माओवादी र एमाले मिलेर नेकपा बनेको छ । ओली र प्रचण्ड नेकपाका अध्यक्ष पदमा छन् । त्यसमाथि पनि ओलीले प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका छन् । तर, ओली अहिले पनि सुध्रिएका छैनन् । माओवादीसँग पार्टी एकता नगरेको भए ओली अहिले प्रतिपक्ष दलका नेता, प्रचण्ड प्रधानमन्त्री हुने थिए । नेपाली कांग्रेसले एमालेसँग पार्टी एकता नगर्न र पाँचै वर्ष प्रधानमन्त्री चलाउन भनेर शेरबहादुर देउवाले प्रचण्डलाई दुई पटक आश्वासन दिएका थिए । तर, प्रचण्डले विगतका तीता मिठा सबै कुरा बिर्सिएर ओलीसँग पार्टी एकता गर्ने सहमति गरे । संयुक्त घोषणापत्रको आधारमा चुनाव लडे । जनताले पनि खुशी भएर दुईतिहाइ मत दिए । त्यही दुईतिहाइको जगमा ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् । तर, उनले त्यो शक्ति कसको बलले आर्जन गरेको हो भन्ने कुरा बिर्सिएका छन् ।

२०७२ सालमा ओलीलाई पहिलोपटक प्रधानमन्त्री बनाउँदा जस्तो पछुतो प्रचण्डलाई लागेको थियो, त्यो भन्दा बढी पछुतो पार्टी एकता गर्दा उनलाई लागेको छ । जुन उत्साहका साथ ओली–प्रचण्डले पार्टी एकता गरेका थिए, त्यो उत्साहमा बालुवाटारभित्रकै विदेशी एजेन्टहरुले तातोपानी खन्याएका छन् । अब पार्टी फुटाएर दुवै जनालाई भुत्ल्याउन मात्र बाँकी छ ।

नेकपाको दुईतिहाइको सरकार बनेदेखि नै एकथरि विदेशी शक्ति दुईतिहाइको सरकार भत्काउने खेलमा लागेको थियो । नभन्दै त्यो शक्तिले पार्टी फोड्न प्रधानमन्त्री ओलीलाई उस्क्याउन सफल भयो । पार्टी फोडेको दोष आफूमाथि आउला भनेर प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीबाट आफूलाई हटाउन भारतीयहरु सल्बलाएको रहस्योद्घाटन गरे । ओलीलाई यो कुरा जसले बोल्न लगाएका थिए, तिनीहरुलाई प्रयोग गर्न भारतीय एजेन्ट सफल भए भन्ने कुरा ओलीले बुझ्न सकेनन् । न त बुझ्ने कोसिस नै गरेका छन् । एक सूरमा उनी प्रचण्ड–माधव नेपाललाई पार्टीबाट गलहत्याउने रणनीतिमा लागेका छन् । त्यसपछि आफ्नो हैसियत के हुन्छ भन्ने कुरा उनले विचार पु¥याएका छैनन् । यो नै देश र जनताका लागि दुर्भाग्य हो ।

प्रतिक्रिया दिनुहोस्