Logo
Logo

अनिश्चित बन्दै गएको छ, यात्रा


-बिन्दिया प्रधान


जीवन यात्रा अनिश्चित भएको छ । हामी यात्रु हौँ एउटा नसकिने लामो र कठिन यात्राको । तर झन्झन् अप्ठेरो र कठिन हुँदै जाँदा यो टुंगियोस, छिटै सकियोस् जस्तो पनि लाग्दोरहेछ । त्यसैले नै आत्महत्या पनि बढिरहेको छ । संसारमा ठूला कुराहरु आविष्कार गर्ने वैज्ञानिकहरु एउटा सुक्ष्म भाइरसलाई तह लगाउन सकिरहेका छैनन । झन्ै भयावह बन्दै कतिको अविरल यात्रा असमयमै टुंग्याइदिएको छ यसले । अनि जो यात्रामा बाँकी छन् उनीहरु पनि यही सोच्न बाध्य भएका छन्् कि यात्रा असमयमै टुंगिने भो । किनभने, जीवनको अन्त घरआँगनमै घुमिरहेको छ ।

कोरोनाको उद्देश्य मानव जीवनको नाश गर्ने मात्र देखिएको छ । के संसारभरिका मान्छे सिध्याउने नै यसको लक्ष्य हो त ? कसैलाई यो थाहा छैन । अनुमान र अन्दाजको भरमा अहिलेसम्म यससम्बन्धी भनाइहरु आइरहेका छन् । तर यसले आफ्नो स्वरुप परिवर्तन गर्दा कतिपय अनुमानहरु गलत पनि साबित भइरहेका छन् ।

बिन्दिया प्रधान

जनताका जनजीविका झन्झन् कठिन यसकारणले पनि हुँदै जान्छ कि राज्य संयन्त्रको प्राथमिकता कतै अन्तै अल्मल्लिरहन्छ । जननायकहरु बिपी, पुष्पलाल, गणेशमान, मदन भण्डारीका आदर्श पच्छ्याउनेहरुले नै सत्ता र कुर्सीको होडमा बिचित्र नाटक र निर्लज्ज तमासा देखाइरहेका छन् । अनि जनताका लागि हाँसीहाँसी छातिमा गोली थाप्ने, पासोमा झुण्डिने र अधिकांश जीवन जेलको कोठरीमा बिताउने ती तमाम शहीदका सपनाहरु बिर्सेर आज राज्य व्यवस्थाका सञ्चालकहरुले यो अव्यवस्थित र अभावको भद्रगोल जेलमा बस्न निरीह नेपालीहरुलाई बाध्य बनाइरहेका छन् ।

ठूला अर्थतन्त्रहरु त्यति डग्मगाएका छैनन् । तर आश्चर्य, यस्तोमा पनि संसारभरि कुटिल राजनीति चलमलाएकै छ । कहीँ व्यापारको नाममा । कहीँ सिमानाको नाममा । कुनै स्वतन्त्र देशको प्राकृतिक स्रोतहरुमा आँखा गढेपछि अनेकौँ बहानामा निँहु खोजे पनि हुने । कतै स्वतन्त्रता, कतै प्रजातन्त्र, अनि कतै मानवअधिकारको नाममा आन्दोलन मच्चाइएकै छन् । रंगभेद, जातीय भेदभाव, लैंगिक असमानताका लडाइँहरु जो कहिल्यै अन्त्य भएनन् । आतंकवादको नाममा बमहरु बिस्फोट भइराखेका छन् । निर्दोष, निहत्थाहरु किरा कमिलासरी लासहरुमा परिणत हुनु दैनिकीजस्तै बनेको छ । अचानकै पड्कने बम गोला बारुदबाट जसरी निर्दोष मान्छेहरु मरिरहेका छन् । त्यो अर्को क्रुरता हामी हेरिरहन बाध्य छौँ । यो भद्रगोल संसार अहिले कोरोनाले थप भद्रगोल भएको छ । रोगले भन्दा पनि यसबाट बिग्रिएको परिस्थिति सम्हाल्न नसकेर मानसिक सन्तुलन गुमाइरहेका छन् मान्छेले ।

डाक्टर नर्सहरुको व्यक्तिगत जीवन तनावयुक्त र निराशाजनक बनेको छ । अस्पतालमा भाइरस संक्रमितहरुको उपचारमा खट्नपर्ने, सावधानी अपनाएरै काम गर्दा पनि कतिलाई ‘पोजेटिभ’ देखिएको भनाइहरु आइरहेका छन् । घरमा साना बालक भएका आमा डाक्टर वा नर्सलाई झन् कति गाह्रो पर्छ जब कहिले आमा आउला भनी एउटा अबोध बालक उसलाई पर्खिरहेको हुन्छ । सबै माया ममता, बात्सल्य कतै तिलाञ्जली दिई कठोर भएर बस्नुपर्ने वा जे होस् मरे पनि मरिएला भनी बालकलाई अँगालो हाली उसलाई ममताको छहारी प्रदान गर्ने ? कति गाह्रो समय भएको छ यसरी । हामी कल्पनासम्म गर्न सक्छौँ, अखबारका पानामा, सामाजिक सञ्जालमा आएका खबरहरु पढेर, हेरेर कठैबरी भन्ने जस्ता दुःख पोख्ने वा केही कमेण्ट लेखेर छाड्नेबाहेक केही गर्न सक्दैनाँै । तर, जसलाई परिरहेको र भोगिरहेका छन् कति गाह्रो होला सहन, भोग्न र पिल्सिन ।

विद्यालय कलेजहरु बन्द छन् । हुन त संसारभरि नै यस्तै छ अहिले । केटाकेटीलाई स्कूल पठाएर आफू अफिस जाने कामदार आमाहरुको बिजोग छ । जो स्थायी जागिरमा छन्, जे होस तलब आएकै छ अनि जसोतसो गरी बच्चाहरुको व्यवस्था मिलाइएको छ । तर कोरोना असरका कारण जसको काम वा जागिर खोसिएको छ, जो एक ठूलो शहरको एक वा दुई कोठे डेरामा जीवन गुजारा गरिरहेका छन् अनि विद्यालय बन्दका कारण बालबच्चा घरमा छन् तिनिहरुको बढी नै बिजोग भएको छ । आम्दानी घटेको छ वा लगभग शून्य नै भएको छ । यस्तोमा बच्चाहरुको चकचक, अबोधता अनि एक एक क्षणमा भोक लाग्यो भन्ने रुन्चे स्वरलाई एउटी आमाले कसरी थामिरहेकी होली ? एकातिर तिर्न बाँकी डेराभाडाको रकम बढ्दै छ । घरबेटीले एक महिनाको भाडा छाडिदिए पनि अरु त तिर्नपर्ने हो तर कसरी ? अहिले अधिकांश डेरावालहरुको समस्या यही छ ।

जे भएपनि बाँच्न त काम गर्नै प¥यो । कोही तरकारी बेचिरहेछन्, रात बिरात थोक बजारमा कुरेर सामान उठाइरहेका छन् । ग्राहकको घर आँगनमा सबैभन्दा पहिला पुगिएन भने अर्कै साथीले आफ्नो बिक्री खोसिसक्ने डर छ । त्याँहा पनि प्रतिस्पर्धा छ । हरियो मकै, तरकारी अनि फलफूल घरघरमा पु¥याएका छन् । साहुको उधारो तिर्नु छ । घरभाडा तिर्न बाँकी छ । बच्चाहरु भोकै छन् । स्कूलमा पैसा अर्थात शुल्क माग्न थालेका छन् आदि इत्यादि । अझ अर्को सानो बच्चा टुकुटुकु बाहिर जान खोज्छ, खेलाइरहने आफन्तहरुलाई नदेख्दा उ चिडचिडे रुन्चे भएको छ । लकडाउन र कोठा बासले आजित भएकाहरु यसरी बाहिर जान जिद्दी गरिरहन्छन् । ती अबोध बालबलिकाले कोरोना बुझ्दैनन । अनि कोरोनाले अबोधहरुको, निसहायहरुको अभाव र भोक बुझ्दैन ।

केही दशकयता तरकारी फल्ने काठमाडौ उपत्यकाका तीन शहरभरि हेर्दाहेर्दै धमाधम घर फल्न थाले । बाहिर लगभग सबै जिल्लाबाट पढाइको, कामको लागि काठमाडाँै आउने, डेराभाडा लिई बस्ने क्रम उहिलेदेखिकै हो । त्यसैले भाडामा लगाउन नै ठूलाठूला घर वा पुरानै घरमा पनि तला वा कोठाहरु थपिदै गए । बनाइ नसक्दै तुरन्तै भाडामा लागिहाल्ने भएकाले घरभाडा पनि आम्दानीको एउटा दिगो स्रोत नै बन्यो । अझ पछिल्ला समय सानो पुरानो घर भत्काएर अग्ला र निकै ठूला भव्य महलहरु, मलहरु बनाउन थालियो । अहिले यो कोरोनाले धेरैजसो व्यवसाय ठप्प नै भइदिँदा घरभाडामा बाँचेको शहर निर्जीव, खाली खाली भएर सुनसान बनेको छ ।

भ्रमहरुबाट मुक्ति शायद सम्भव छैन । यतिखेर ती तमाम परिवारहरुलाई भ्रम छ कि कतै आफ्ना प्यारा ती असमयमै छुटेर गएकाहरु आउने पो हुन कि ? किनभने लामो बिरामी भई मृत्यु हुनु र अचानक अप्रत्यासित यत्तिकै छैन वा म¥यो भन्नु पटक्कै पत्यार नलाग्ने हुन्छ । त्यसैले झझल्को छुट्दैन र भ्रमले बिहान साँझ र रात भन्दैन । यस्तो हुँदा कति आफन्तका आँखाहरु नटुट्ने भ्रमसँगै, यो वर्षादको झरीसँगै उस्तैगरि बर्षिरहेका छन् झर्रझरी ।

चाडबाड नजिकै आइरहेको छ । तर यस्तोमा के चाडबाड ? धेरैले अहिले यस्तै सोचिरहेका छन् । चाडबाड परम्परा धान्न न त रोगले अनुमति दिन्छ न त उकालो लागेको बजार भाउले नै । जनताका जनजीविका झन्झन् कठिन यसकारणले पनि हुँदै जान्छ कि राज्य संयन्त्रको प्राथमिकता कतै अन्तै अल्मल्लिरहन्छ । जननायकहरु बिपी, पुष्पलाल, गणेशमान, मदन भण्डारीका आदर्श पच्छ्याउनेहरुले नै सत्ता र कुर्सीको होडमा बिचित्र नाटक र निर्लज्ज तमासा देखाइरहेका छन् । अनि जनताका लागि हाँसीहाँसी छातिमा गोली थाप्ने, पासोमा झुण्डिने र अधिकांश जीवन जेलको कोठरीमा बिताउने ती तमाम शहीदका सपनाहरु बिर्सेर आज राज्य व्यवस्थाका सञ्चालकहरुले यो अव्यवस्थित र अभावको भद्रगोल जेलमा बस्न निरीह नेपालीहरुलाई बाध्य बनाइरहेका छन् । त्यसैले हाम्रो निरन्तरको कठिन यात्रा भोलि पक्कै सहज होला भन्ने आशा क्रमशः मर्दै गइरहेको छ । तर हाम्रै प्रयासमा यसलाई मर्न भने दिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्