Logo
Logo

नेकपालाई फुटबाट जोगाऔं


- लक्ष्मण देवकोटा


  • लक्ष्मण देवकोटा

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निकै उत्साहजनकरुपमा भयो । नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकार भएको बेला राष्ट्रपति सीलाई स्वागत गर्न पाउनु बेग्लै आनन्दको कुरा थियो । चीनले आफ्नो छिमेकीहरुलाई प्राथमिकतामा राख्दै आएका छन् । सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्दै आएका छन् । त्यसमाथि नेपाल चीनको प्राथमिकतमा परेको छ ।

चीनसँगको लामो धार्मिक, सांस्कृतिक र व्यापारिक सम्बन्धका कारणले पनि नेपाल–चीन सम्बन्ध अत्यन्तै राम्रो छ । त्यसकारणले पनि चीनको सहयोगमा नेकपाको सरकारले जनताको पक्षमा राम्रो र प्रभावकारी काम गरेर देखाउने बेला हो यो । काम गरेर देखाए भने मात्रै जनता कम्युनिष्ट पार्टीको पक्षमा हुन्छन् भन्ने कुरा चिनियाँ राष्ट्रपति सीले नेकपाका नेताहरुलाई सोल्टी होटलमा पनि बताए । राष्ट्रपति सीले ‘चीनमा माओले गरेको एकपटकको क्रान्तिले मात्रै कम्युनिष्ट पार्टीले स्थायित्व पाएको होइन, चिनियाँ क्रान्तिपछि कम्युनिष्ट पार्टीको नेतृत्व निरन्तर देश निर्माण र जनताको सेवामा जुटेकोले चीनले आर्थिक समृद्धि हासिल गरेको हो ।’ यसको अर्थ नेपालमा पनि दुई कम्युनिष्ट पार्टी मिलेर दुईतिहाइ मत ल्याएका हुन् । नेपाली जनताको विश्वास नेपाल कम्युनिष्ट पार्टीले जितेको छ । त्यो विश्वासलाई टुट्न दिइएन भने मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पूरा गर्न सकिन्छ । अन्यथा, आजको जस्तो परिणाम भोलि आउने छैन । जनताले विश्वास गरेकै बेला जनताको पक्षमा काम गर्न सक्यौँ भने मात्रै नेपालमा कम्युनिष्ट पार्टीको स्थायित्व हुन्छ । तर दुर्भाग्य, चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गरेको दुई वर्ष बित्दा नबित्दै नेपाल कम्युनिष्ट पार्टी विघटनको संघारमा पुगेको छ । फुटबाट यसलाई जोगाउन सकिएन भने नेपाल कम्युनिष्ट पार्टीको पतनलाई रोक्न सकिन्न ।

 

जनवादी केन्द्रियता मान्नेहरु कोही पनि अनुशासनको लक्ष्मण रेखा नाघेर हिँड्न मिल्दैन । विडम्वना हामीकहाँ सबै कुरा उल्टो भैरहेको छ । कम्युनिष्ट पार्टीको नीति नियम, अनुशासन सब भद्रगोल छ । सबैभन्दा जो अनुशासनहीन हो उसैले अरुलाई हुल्लडबाज भनिरहेकोछ । यो लहड र सनकको मोल कम्युनिष्टहरुलाई धेरै महँगो पर्ने देखिन्छ । अहिले नेता, कार्यकर्ताको जिम्मेवारी नेकपालाई फुटबाट जोगाउनु हो ।

त्यति मात्र होइन, सत्ताले मानिसलाई कति अन्धो बनाउने रहेछ भनेर बुझ्न प्रधानमन्त्रीका सल्लाहकारहरुको ट्विटको कर्कश भाषा पढेपछि यत्तिकै बुझिन्छ । धेरै माथापच्चीसी गर्नुपर्दैन । के जनताले समृद्धिको भाषण सुनेकै भरमा मत दिएका हुन् ? होइन । जनतालाई कम्युनिष्ट पार्टीले केही गर्छ भनेर विश्वास दिलाउन यहाँ धेरै शहीदहरुको रगत बगाएका हुन् । धेरै कार्यकर्ताहरुले आफ्नो जीवन अर्पण गरेका छन् । राणाकालीन सामन्ती दबदबादेखि पञ्चायत हुँदै काँग्रेसी अतिवादसँग जुधेका छन् । दुई कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल भएपछि गाउँ गाउँ घरदैलो पुगेर दुईतिहाइ मत ल्याएका छन् । सगरमाथामा पुगेर झण्डा हल्लाएपछि झर्नुपनि पर्छ भन्ने बिर्सनु हुँदैन । अहिलेका सत्ताधारीहरुले यो बिर्सिएकाछन् ।

हुनुपर्ने अरु केही थिएन, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको योगदानमाथि कसैले औँला उठाएको छैन । समाजवादकै डंकासम्म नपिटे पनि कम्तीमा प्रगतिशील सुधारका कामहरु नेपालका कम्युनिष्टहरुले गर्लान् भन्ने आशाका साथ जनताहरुले मत दिएका थिए । जनताले मनमोहन अधिकारीको नौ महिना सम्झिएका थिए । सत्तामा पुगेपछि इमान्दार हुनेछन् भन्ने विश्वास थियो ।

वामदेव गौतमको घरमा पुगेर घण्टौँ बिताउन सक्ने प्रधानमन्त्री बालुवाटारकै एउटा कोठाबाट अर्को कोठामा जान आवश्यक सम्झेका छैनन् । तिकडमले जित्लान् तर हिजो पञ्चायती कालरात्रिका बेला भोकै प्यासै संगठनमा खटेको कार्यकर्तापंक्तिको मन ओलीले दुखाइदिएका छन् । पार्टीको निम्ति जीवन दिएर दुःख पाएकाहरुलाई चटक्कै छोडेर सत्ताका आसेपासेहरु र बिचौलियालाई छानीछानी जिम्मेवार निकायमा राख्ने काम भइरहेको छ ।

तर सरकारको अहिलेसम्मको गतिविधिले कहीँ कतै सीमान्तकृत जनताको मन जितेको छैन । सरकारलाई सुझाव र सल्लाह दिने पार्टीको जिम्मेवार निकायलाई अहिले पुरै तिरस्कार गरिएको छ । वामदेव गौतमको घरमा पुगेर घण्टौँ बिताउन सक्ने प्रधानमन्त्री बालुवाटारकै यौटा कोठाबाट अर्को कोठामा जान आवश्यक सम्झेका छैनन् । तिकडमले जित्लान् तर हिजो पञ्चायती कालरात्रिका बेला भोकै प्यासै संगठनमा खटेको कार्यकर्तापंक्तिको मन ओलीले दुखाइदिएका छन् । पार्टीको निम्ति जीवन दिएर दुःख पाएकाहरुलाई चटक्कै छोडेर सत्ताका आसेपासेहरु र बिचौलियालाई छानीछानी जिम्मेवार निकायमा राख्ने काम भइरहेको छ । यसो गर्नुहुँदैन भनेर बोल्नेहरुलाई भारतीय दलाल करार गर्ने काममा ओलीका सल्लाहकारहरु दिन रात खटिएका छन् । यो बडो दुखद पक्ष हो ।

कम्युनिष्ट पार्टीको जनवादी केन्द्रियतालाई मान्ने हरेक नेता कार्यकर्ताले पार्टीलाई नजरअन्दाज गर्न मिल्दैन । सत्तामा पुगेर पार्टीलाई बिर्सेर आफ्नै गतिमा चल्दा के हुन्छ भनेर बुझ्न त पश्चिम बँगालका कम्युनिष्टहरुको इतिहास हेरे पुग्छ टाढा जानै पर्दैन । घुमाइफिराइ एमसीसी पास त गरिएला । तर साम्राज्यवादीहरुले कसरी कम्युनिष्टहरु सिध्याएका छन् भनेर हेर्न अलिकति परको फिलिपिन्स हेरे हुन्छ । इन्डोनेशियाको संहार हेरे पुग्छ । कहिल्यै पनि सरकार पार्टीभन्दा माथि हुन सक्दैन । त्यो पनि कम्युनिष्ट पार्टीमा । भन्नलाई वेष्टमिनिष्टर प्रणालीमा सँसदीय दल र सरकार नै सबैथोक हो भनिएला । तर कम्युनिष्टहरुको हकमा जसले जनवादी केन्द्रियता मान्दछन्, उनीहरुको लागि पार्टीको नीति र नियम फलामे शैलीमा लागु हुन पर्दछ । पार्टीले तय गरेको कार्यक्रमलाई सरकारले दृढतापूर्वक लागु गर्ने र पार्टी त्यसको प्रतिरक्षामा उत्रिने गर्नुपर्छ । कम्युनिष्टहरु अहोरात्र जनताका निम्ति खटिएका छन् भन्ने अनुभूति जनतालाई दिलाउनुपर्छ ।

तर हामीकहाँ ठीक उल्टो भैरहेको छ । सरकारका कामहरु एकपछि अर्को गर्दै विवादमा आइरहेका छन् । ससाना पसलहरु बन्द हुँदा भाटभटेनी सुपरमार्केट खुल्ला गरेर पुँजिपतिहरुलाई पोसिएको छ । ओम्नी र यती समूहलाई दिइएको सुविधाका बारेमा प्रेसमा उठेका प्रश्नलाई जवाफ दिने सामथ्र्य सरकारसँग छैन । कोरोनाको कहरका बेला स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको दुखान्त खबरहरु सार्वजानिक हुँदा त्यसको खण्डन गर्न सरकारले सकिरहेको छैन । यिनै प्रश्नहरु बोकेर गएका स्थायी समितिलाई हुल्लडहरुको संज्ञा दिइएको छ । यो कम्युनिष्ट पार्टी संस्कृतिविपरीत काम हो ।

हिजो नेतृत्वले परे मुलुकका निम्ति शहादत दिन तयार हुन्थे । सरकार अस्थायी हो । तर पार्टी त स्थायी हो । यदि एकपछि अर्को गर्दै जनताको विश्वास टुट्दै जाने हो भने भोलि के हुन्छ पार्टीको हविगत ? के भनेर जनतासँग जाने पार्टीको कार्यकर्तापँक्ति ?

सरकारका जिम्मेवार व्यक्तिहरुले वास्तवमा पार्टी कमिटीमा उभिएर आफ्ना कामहरुको समीक्षा गर्नुपर्दछ । गल्ती गरेको भए आत्मालोचना गर्नुपर्दछ । पार्टीले दण्ड दियो भने त्यो सहनुपर्दछ । चिनियाँ कम्युनिष्ट पार्टीको माथिल्लै पंक्ति पनि कतिपय मामिलामा दण्डित भएका उदाहरणहरु छन् । जनवादी केन्द्रियता मान्नेहरु कोही पनि अनुशासनको लक्ष्मण रेखा नाघेर हिँड्न मिल्दैन । विडम्वना हामीकहाँ सबै कुरा उल्टो भैरहेको छ । कम्युनिष्ट पार्टीको नीति नियम, अनुशासन सब भद्रगोल छ । सबैभन्दा जो अनुशासनहीन हो उसैले अरुलाई हुल्लडबाज भनिरहेकोछ । यो लहड र सनकको मोल कम्युनिष्टहरुलाई धेरै महँगो पर्ने देखिन्छ । अहिले नेता, कार्यकर्ताको जिम्मेवारी नेकपालाई फुटबाट जोगाउनु हो ।

प्रतिक्रिया दिनुहोस्