शान्ति निर्माता हुने वाचा गर्दै जनवरी २० मा ह्वाइट हाउस प्रवेश गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प त्यसको १५२औं दिनमा आफैं इरानमाथि आक्रमण गर्ने निर्णयमा पुगे । यसले अमेरिकी जनताको मात्र हैन, सारा विश्ववकै चासो र चिन्ता बढाएको छ । यतिबेला उनीहरूको दिमाखमा एउटै मोटो प्रश्न छ, कतै यो आक्रमण कतै तेस्रो विश्वयुद्ध सल्काउने आगोको फिलिङ्गो त हुने हैन ?

‘अमेरिकाले संसारको सुरक्षाको ठेक्का लिएर धेरै लडाइँ लड्यो । धेरै धनजनको क्षति गर्यो । म त्यस्तो हुन दिन्न । त्यसमा पनि मध्यपूर्वको लडाइमा त अमेरिका संलग्नै हुन दिन्न ।‘ अमेरिकाको ४७औं राष्ट्रपतिको उम्मेद्वार हुँदा डोनल्ड ट्रम्पले यही वाचा गरे । जनताले पनि पत्याएर मत दिए । कलेज इलेक्ट्रोल मतको बहुमत मात्र हैन, लोकप्रिय मतकै पनि बहुमत दिए । गाढा नीला राज्यहरूको नीलो रङ उड्यो र फिक्का भए । सारा बैजनी राज्यहरू राता भए ।
लगभग असम्भव नै सम्भव भयो । रिपब्लिकन राष्ट्रपति उम्मेद्वारले चुनाव जित्दा यस्तो हुनु लगभग असम्भव नै हुन्छ अमेरिकामा । यसपटक ट्रम्पले त्यही असमम्भवलाई सम्भव बनाएर चुनाव जिते ।
तर, त्यस्तो भएन । ४७औं राष्ट्रपतिको रूपमा ‘शान्ति निर्माता’ हुने वाचा गर्दै ह्वाइट हाउसमा प्रवेश गरेको १५२औं दिनमै ट्रम्पले आफ्नो वाचा तोडे । इरानमाथि हवाइ आक्रमणको आदेश दिए । इरानका तीन महत्वपूर्ण आणविक केन्द्रहरूमाथि बम वर्षा भयो । इरानले आफ्नो सार्वभौमिकतामाथि अमेरिकी आक्रमण भएको र त्यसको रक्षा गर्ने सबै उपाय अपनाउने धम्की दियो । इजरायलसँग युद्धमा र अमेरिकासँग वार्तामा रहेको बेला भएको यो अनपेक्षित अमेरिकी आक्रमणबाट इरान घाइते बाघजस्तै भएको छ ।
इरान केही सातायता इजरायली आक्रमण झेल्दै थियो, अब त्यसमा अमेरिकी आक्रमण पनि थपिएको छ । इरानी कट्टरपन्थीहरूलाई जसरी भए पनि आफ्नो सत्ता जोगाउनु छ । नरमपन्थीहरू सत्ता परिवर्तन होला कि भन्ने झिनो आशा त पलाएको छ । तर, उनीहरू डरले मुख खोल्ने अवस्थामा छैनन् । देश युद्धमा गएको बेला सत्ताका विरूद्धमा बोल्न सहज हुँदैन । यस कोणबाट हेर्दा धेरैपछि इरानको आन्तरिक एकता नै बाध्यताले मजबुत हुन पुगेको छ । देशविरूद्धको आक्रमणबाट के नरमपन्थी, के गरमपन्थी सबै एकसाथ उभिएका छन् ।
अमेरिका इजरायलको पछाडि सत्तिसालझै उभिएको छ । यसको पछाडि कुनै बनेका अनि कुनै बनाइएका एक हैन, अनेक कारण छन् । हुँदाहुँदा त यसको प्रभाव अमेरिकी राजनीतिको जोडघटाउमै परिरहेको छ । चुनाव जित्न इजरायलको पक्ष लिनैपर्ने बाध्यता छ । अमेरिकी राजनीतिको यही आन्तरिक डाइनामिक्सले पनि अमेरिका वर्षौदेखि मध्यपूर्वमा नराम्ररी फसेको छ । त्यस क्रममा अमेरिकाले एक हैन, अनेक युद्ध लडेको छ । जनधनको अपूरणीय क्षति ब्यहोरेको छ ।
अमेरिका यतिबेला इरानसँग युद्धमा होमिनुको सिलसिलेवार कारण पनि यही हो । यसबाट अमेरिका र अमेरिकी जनतालाई कति पनि फाइदा छैन । नोक्सानै नोक्सान छ, त्यो सबैको भर्पाइ अमेरिकी जनताले नै गर्नुपर्ने हो । यसको फाइदा इजरायललाई पनि भएको छैन । यसबाट कसैले फाइदा लुटेको छ भने त्यो एक्लो पात्र हुन्, इजरायली प्रधानमन्त्री बेन्जायिन नेतान्याहु ।
प्रधानमन्त्री नेतान्याहुकै कारण इजरायल लगातार कसै न कसैसँग युद्धमा छ । उनको सत्तामा टिक्ने सूत्र नै युद्ध हो । युद्ध सकिएको दिन उनको सत्ता त तलमाथि हुन्छ नै, एक घोषित अन्तर्राष्ट्रिय ‘वान्टेड युद्ध अपराधी’का रूपमा उनको व्यक्तिगत जीवन पनि सहज हुँदैन ।
युद्ध सत्ताका खेलाडीहरूका लागि प्रिय होला, त्यस अतिरिक्त कसैका लागि पनि प्रिय हुँदैन । इजरायली जनता इजरायलको स्थापना हुनु पहिलेदेखि नै युद्धमा छन् । जन्मेकै युद्धमा मर्न वा मार्नका लागि जस्तो भैसक्यो । यो ‘अति’ अवस्थाका कारण उनीहरू पनि युद्धबाट वाक्कदिक्क भैसके । तर, नेतान्याहू जस्ता सत्ताका खेलाडीहरूले यस्तो बाध्यता सिर्जना गरिदिन्छन् कि युद्ध उनीहरूका लागि बाध्यता बनिदिन्छ । पछिल्लो युद्ध पनि एक किसिमले उनीहरूमाथि जबर्जस्ती थोपरिएकै युद्ध हो ।
अमेरिकी जनता पनि युद्ध चाहदैनन् । उनीहरूले आन्तरिक र वाह्य दुबै किसिमका अनेकौ युद्ध खेपिसके । आन्तरिक युद्धबाट बाहिरिएको धेरै वर्ष भए पनि बाह्य युद्धबाट अमेरिकाले मुक्ति पाउन सकेको छैन । पछिल्लो समयका धेरै युद्धहरू उसले आफ्नो लागि हैन, अर्कैका लागि लड्नु परिरहेको छ ।
अमेरिकी जनतालाई अरूका लागि लड्नुपर्ने युद्धबाट मुक्ति चाहिएको छ । त्यही मुक्ति दिलाउने वाचा गरेकाले पनि उनीहरूले यसपटक ट्रम्पलाई रोजेका थिए । तर, त्यस्तो भएन । अमेरिका फेरि एकपटक अर्कैका लागि लड्नुपर्ने अनपेक्षित युद्धमा होमिएको छ । यसबाट अमेरिकी जनताको त्रासको पारो एक्कासी बढाएको छ । कहाँ, कतिबेला के हुने हो ? निश्चितता छैन । ठूला सहरहरूमा सुरक्षा तैनाथी बढाइएको छ । विभिन्न देशहरूमा रहेका अमेरिकी नियोगहरूको सुरक्षा गम्भीर चासो र चिन्ताको विषय भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प इरानमाथि आक्रमण गर्नुको औचित्य पुष्टि गर्ने प्रयत्नमा छन् । उनको तर्क छ, ‘इरान यतिबेला इजरायली आक्रमणबाट ज्यादै कमजोर भएको छ । र, यो नै उसमाथि आक्रमण गर्ने सुनौलो अवसर हो ।‘ उनको थप तर्क यस्तो पनि छ, ‘इजरायललाई जोगाउन यो आवश्यक छ । अमेरिका र अमेरिकी जनताको सुरक्षाको लागि पनि यो नगरी नहुने थियो ।’
अझ, अमेरिकी उपराष्ट्रपति जे डी भान्सले त यसो पनि भने कि ‘अमेरिका युद्धमा छैन । अमेरिका इरानको आणविक शक्तिको विरूद्धमा मात्र छ ।‘ भान्स अमेरिकालाई बाह्य युद्धमा संलग्न गराउनु हुन्न भन्ने पक्षधर हुन् । ट्रम्पलाई राष्ट्रपति बनाउने ‘अमेरिकालाई फेरि महान बनाऔं’ भन्ने मागा मुभमेन्टको मूलमन्त्र पनि यही हो ।
राष्ट्रपति ट्रम्प र उनका उपराष्ट्रपति भान्सले जे भने पनि अमेरिकी जनताले यसलाई अमेरिका युद्धमै भएको ठानेका छन् । अनि, यो पनि सत्य हो कि उनीहरूलाई यो युद्ध पटक्कै मन परेको छैन । उनीहरूको लागि अहिलेसम्मका लागि राहतको विषय के मात्र हो भने अमेरिकाले निशानामा आक्रमण गरेको छ र अमेरिकाले मानवीय क्षति ब्यहोर्नुपरेको छैन ।
तर, उनीहरू युद्ध यतिमै टर्ने कुरामा विश्वस्त छैनन् । अमेरिकाले गरेको क्रियाको प्रतिक्रिया इरानले कसरी दिन्छ?, त्यसैले बाँकि कुरा निर्धारण गर्ने उनीहरूको बुझाइ छ । राष्ट्रपति ट्रम्प आफैंले पनि धेरै निशाना बाँकि रहेको र अमेरिकाले गतिपूर्ण, सटिक ढंगले र कौशलताका साथ तिनलाई पछ्याउने बताएका छन् । यसले पनि युद्ध सुरू मात्र भएको, नसकिएको संकेत गर्छ ।
हो, यो सत्य हो कि अहिलेसम्म यसले युद्धको आकार लिइसकेको छैन । किनकि युद्ध भनेको आक्रमण मात्र हैन, प्रत्याक्रमण मात्र हो । अहिलेसम्म अमेरिकाले आक्रमण मात्र गरेको छ, इरानले प्रत्याक्रमण गरिसकेको छैन । यस अर्थमा यो युद्ध हैन भन्न सकिने अवस्था छ ।
तर, युद्ध उठान हुनका केही कारण भए पनि यो कसरी अघि बढ्छ र यसको बैठान कसरी हुन्छ अनुमान गर्न सकिन्न । यसअघिका साना–ठूला सबै खाले युद्धहरूको उठान–बैठानको सिलसिला हेर्यो भने यस्तै निस्कर्षमा पुग्न सकिन्छ ।
अमेरिका राजनीतिक रूपमा रातो र नीलोमा ठाडो चिरामा छ । तर, यो आक्रमणको सन्दर्भमा भने त्यो चिरा केही मेटिएको हो कि जस्तो देखिएको छ । नीला त समर्थनमा नहुने नै भए, राताले पनि यस आक्रमणलाई खासै समर्थन गरेको देखिएको छैन । धेरैलाई यो आक्रमण अनावश्यक नै लागेको छ । स्वयं राष्ट्रपतिको मागा मुभमेन्ट पनि यसको पछाडि उभिएको देखिदैन । केही मागा अगुवाहरूले त मुख खोलेरै यो आवश्यक नभएको बताएका छन् । धेरै मागाहरू भने मौनतामा विरोधको भाषा बोलिरहेको जस्तो देखिन्छ ।
नीलाहरूले यो आक्रमण औचित्यहिन भएको र जबर्जस्त अमेरिकालाई युद्धमा होमेर अमेरिकी जनताको असुरक्षा बढाएको दाबी गरिरहेका छन् । उनीहरूले संसदको समर्थन नलिई राष्ट्रपति ट्रम्पले लिएको यो निर्णय असंवैधानिक भएको पनि तर्क गरिरहेका छन् । यो तर्कमाथि बहस मात्र सुरू भएको छैन, यसले समर्थन पनि पाइरहेको छ । यो पनि अमेरिकी जनता अब युद्ध चाहदैनन् भन्ने कशी नै हो ।
जे होस्, केही दिनयता मध्यपूर्वमा इरान–इजरायल युद्ध जारी थियो । त्यसमा अप्रत्यक्ष रूपमा अमेरिका इजरायलको पक्षमा रहेको जगजाहेर नै थियो । तर, अब अमेरिका पनि प्रत्यक्ष रूपमै युद्धमा सहभागी भएको छ । यसले यो युद्धको स्वरूप मात्र हैन, आयाम नै बदली दिएको छ । यसको पहिलो प्रभाव शक्ति राष्ट्रहरूको ध्रुविकरणबाट सुरू भएको छ । रूस, चीन, उत्तर कोरियालगायतका अमेरका विरोधीहरू इरानको पक्षमा उभिएका छन् । मध्यपूर्वमा इजरायलको प्रभुत्व नचाहने अरब राष्ट्रहरूले मुख नखोले पनि उनीहरूलाई इजरायलको पक्षमा उभिन सहज हुँदैन । युरोपलाई पहिलैदेखि नै इजरायलको युद्ध–प्रेम मन परिरहेको छैन ।
इरानका तमाम कुरा मन नपर्दा नपर्दै पनि विश्वका धेरै देशहरू एउटा कुरामा सहमत छन्; त्यो के हो भने इरानी भूमीमाथि आक्रमण भएको छ र त्यो उसको सार्वभौमिकतामाथिको हमला हो । स्वभाविक हो, कुनै पनि देशलाई अर्को देशमा गरिएको यस्तो आक्रमण प्रिय हुँदैन । र, यो पनि सत्य हो कि युद्धले कुनै पनि समस्याको समाधान दिदैन । हुनसक्छ, इरानको आणविक कार्यक्रम मध्यपूर्वका लागि मात्र हैन, विश्वकै लागि खतरा छ । त्यसो हो भने त्यसको समाधान वार्ताले नै दिने हो । स्वयं अमेरिकी राष्ट्रपति ट्रम्प पनि यो सत्यलाई अस्विकार गरिरहेका छैनन् । उनले भनेका छन्, ‘यो आक्रमणपछि इरान आणविक कार्यक्रम स्थगित गरेर वार्तामा आउँने छ ।’
तर, अन्तर्राष्टिय कूटनीतिका पण्डितहरू राष्ट्रपति ट्रम्पको यो आशा अलि बढी नै भएको बताइरहेका छन् । उनीहरूको भनाइ छ, यो आक्रमणले इरानका लागि कम विकल्पहरू मात्रै बाँकि राखिदिएको छ । धेरै लचक भएर लिए पनि उनीहरूले लिने विकल्प भनेको यो आक्रमण सहेर अगाडि बढ्ने मात्र हुन्छ । त्यसो गर्दा पनि उनीहरूले मौका छोपेर अमेरिकाविरूद्ध साइबर आक्रमण, आत्मघाती आक्रमणलगायतका आक्रमण जारी राख्ने सम्भावना बाँकि नै नरहला भन्न सकिन्न ।
मध्यपूर्वको यो पछिल्लो युद्धमा प्रत्यक्ष रूपमा अमेरिका, इजरायल र इरान संलग्न भए पनि अप्रत्यक्ष रूपमा सारा संसार नै संलग्न छ । भूमण्डलीयकरणका अनेकौ डाइनामिक्सहरूले जेलिएको अहिलेको विश्वमा युद्धजस्तो विषय अब कुनै अलग टापूको विषय हुनै सक्दैन । त्यसैले यसले सबैको ध्यानाकृष्ट त गरेकै छ, धेरैको निद्रा पनि चोरेको छ । यसको मूल कारण यो युद्धलाई लिएर बढिरहेको ध्रुवीकरण हेर्दा यसले कतै तेस्रो विश्वयुद्धकै खतरा निम्त्याउने त हैन ? भन्ने नै हो । अहिले धेरैको मस्तिस्कमा यही मोटो प्रश्नले घर जमाएको छ ।
विश्वको मानचित्रमा कोरिएको शान्तिकामी देश हो, नेपाल । तर, यो शान्तिकामी देश पनि आफ्नो भूगोलबाट हजारौ माइल टाढा भैरहेको यो युद्धको प्रभावबाट अछुतो छैन । युद्धका तीनै पक्ष अर्थात् अमेरिका, इरान र इजरायलसँग उसको द्वैते सम्बन्ध मात्र छैन, मानवीय सम्बन्ध पनि छ । तीनवटै देशमा ठूलो संख्यामा नेपालीहरू छन् ।
नेपालीहरू इजरायल र इरानमा कामको क्रममा पुगेका छन् भने अमेरिकामा त नेपाली–अमेरिकी भैसकेका वा स्थायी रूपमै बसोबास गर्ने नेपालीहरूको संख्या लाखौ छ । अमेरिका युद्धभूमी नभएकाले सुरक्षा चिन्ता खासै छैन तर इरान र इजरायलको अवस्था भने फरक हो । संख्याको हिसाबले इरानमा कमै नेपाली पुगेका छन् । इजरायलमा भने नेपालीको संख्या ठूलै छ ।
यस्तो अवस्थामा उनीहरूको सुरक्षालाई लिएर नेपाल सरकारको चासो र चिन्ता बढ्नुपर्ने हो । तर, चाहिनेभन्दा नचाहिने विषयहरूमा फसिरहेको ओली सरकारका लागि उनीहरू खासै महत्वका विषय हुन् जस्तो छैन । देशका युवा निर्यात गरेर उनीहरूको पसिनामा तर मारिरहेका असंवेदनशील शासकहरूका लागि मानिसको जीवनको खासै मूल्य पनि कहाँ हुन्छ र ?
यो स्तम्भकार, यो वा त्यो नामका सबै खाले युद्धको विरोधी हो । उसको मोटो विश्वास छ, युद्धले निम्त्याउने जीवन हैन, मृत्यु हो । मृत्यु छान्ने रहर कसैलाई हुँदैन र हुनु पनि हुन्न । कामना गरौं, मध्यपूर्वमा सल्केको आगोको यो फिलिङ्गोमा तेस्रो विश्वयुद्ध सल्किएर धेरैको मृत्युको कारण नबनोस् ।