Logo
Logo

‘लेखन केवल सिर्जना होइन, जीवनको दस्तावेज हो’


देवु लइँटेल, बालसाहित्यकार

567
Shares

नेपाली साहित्य क्षेत्रमा देवकुमारी लुइँटेल नौलो नाम होइन । बिशेषगरी, बालसाहित्यमा उनी कलम चलाउँछिन् । उनी साहित्यिक क्षेत्रमा ‘देवु लुइँटेल’का रुपमा चिनिन्छिन् । उनका थुप्रै कृति प्रकाशित छन् । बालसाहित्य लेखनसँगै शिक्षण पेसा अँगाल्दै आएकी देवु भन्छिन्, ‘मभित्र कुनै न कुनै रूपमा बसेको बालबालिकाप्रतिको सामीप्य र संवेदना बालसाहित्यका रूपमा अभिव्यक्त गर्छु ।’ देव एसओएस हर्मन माइनर विद्यालय, काभ्रेमा अध्यापन गराउँदै आएकी साहित्यकार देवुसँग दृष्टि संवाददाताको जम्काभेट ?

साहित्य लेखनको सुरुवात कसरी भयो ?

विद्यालय तहमा अध्ययन गर्दा विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत हुने सिर्जनात्मक लेखन तथा वाचन प्रतियोगितामा सहभागी हुने सन्दर्भमा लेख्ने प्रयास वा सिकाइ भयो । यसैगरी दाजु (डा. रमेश शुभेच्छु)ले लेख्नुभएको देखेर र उहाँबाट नै सिक्दै साहित्य लेखनको आरम्भ भयो ।

पहिलो रचना लेखेको याद छ ?

म विद्यालयमा आयोजना हुने विभिन्न प्रतियोगितामा कविता, कथा, निबन्ध प्रतियोगितामा सहभागी हुने गर्थेँ । मेरा सुरुका रचना तिनै हुन् । तर, त्यस समयमा आफ्ना सिर्जनाको संरक्षण गर्ने चेतना नआएर हुनसक्छ, अहिले ती रचना मसँग नै छैनन् । प्रकाशित भएको पहिलो रचना चाहिँ ‘नेपाल आमा’ शीर्षकको कविता हो । त्यो कविता पाँचथरबाट प्रकाशित हुने विद्यार्थी मञ्चपत्रिकामा वि.सं.२०६२ मा छापिएको थियो ।

बालसाहित्यमै कलम चलाउनुको कारण के हो ?

योजना नै बनाएर बालसाहित्यकार बन्छु भनेर लेखनमा प्रवेश गरेकी होइन । र, कुनै खास एउटा घटनाले प्रेरित वा प्रभावित भएर बालकेन्द्रित साहित्य लेखेकी पनि होइन । तर, मैले स्नातक तहमा पढ्दै गर्दा नै विद्यालय तहमा अध्यापन गर्न थालेँ । अहिले पनि विद्यालय तहका बालबालिकासँग शिक्षण सिकाइका क्रियाकलापमा कार्यरत छु । यसले गर्दा मैले ससाना बालबालिकाको रुचि र मनोभावनालाई नजिकबाट निरन्तर नियाल्न पाएँ । यसै आधारमा उनीहरूलाई मनपर्ने विषय तथा सन्दर्भ बुझ्न र त्यसैअनुसार कविता, कथा आदि लेख्ने प्रेरणा मिल्यो ।

बालबालिकाका लागि दर्जनौँ किताब निकालिन्छ तर, उनीहरूका हातमा किताब हुँदैन नि ?

पहिलो कुरा हामीले बालबालिकाका हातमा किताब हुँदैन वा छैन भन्ने दृष्टि राख्नु हुँदैन । कुनैपनि विषयवस्तुप्रति सबैभन्दा जिज्ञासा राख्ने समय नै बाल्यकाल हो । त्यसैले बालबालिकाहरू खेल्न, खान, रमाउन जति जिज्ञासा राख्छन् । पढाइ र साहित्यका कुरामा पनि त्यत्तिकै रुचि राख्छन् । बालबालिकामा लेख्नेपढ्ने कुरामा जिज्ञासा नहुने हो भने यस्तो हुन्थ्यो होला र ? अहिलेको समय कागजमा छापिएका किताबबाट मात्रै किताबी ज्ञान लिने प्रकारको पनि होइन । बालबालिकाका हातमा किताब पु¥याइदिने काम अभिभावकले गर्नुपर्छ ।

बालबालिकालाई साहित्यक किताब पढ्ने माहोल बनाउन के गनुपर्छ ?

विद्यालयका हकमा पाठ्यपुस्तकका अतिरिक्त बालबालिकाको कक्षा र उमेरअनुसारका अन्य पढ्ने सामग्रीप्रति रुचि जगाउने गतिविधि सञ्चालन गर्नुपर्छ । पुस्तकालयको पनि त्यसैअनुसारको व्यवस्थापन गर्नुपर्छ । घरमा अभिभावकले उनीहरूसँगै पढ्ने, आवश्यकताअनुसार आफूले पढेर बालबालिकालाई सुनाउने, साहित्य र सिर्जनात्मक गतिविधिमा जिज्ञासा जगाउने, पुस्तक मेला तथा प्रदर्शनीको भ्रमण गराउने, उपयुक्त पुस्तक तथा पत्रपत्रिका किनेर ल्याइदिने जस्ता काम गर्नुपर्छ ।

बालसाहित्यमा कलम चलाइरहने मान्छे छन्दमा मोह कसरी बस्यो ?

बालसाहित्य दुई प्रकारले लेखिएको हुन्छ । त्यसमा बालक स्वयम्ले आफ्नो स्तर र बुझाइअनुसार लेखिएको हुन्छ भने अर्को प्रौढ सर्जकले बालबालिकाको मानसिकता, रुचि, आवश्यकता बुझेर उनीहरूका लागि लेखिदिने साहित्य हुन्छ । स्वाभाविक रूपमा म बाल्यावस्था वा स्कुले उमेरमा हुँदा त्यसबेलाको स्तर र बुझाइअनुसारको साहित्य वा बालसाहित्य लेखेँ होला । तर, जहिलेदेखि म सचेत रूपमा लेख्न थालेँ, त्यसबेलादेखि बालकथा, बालकविता, बालनिबन्ध र तीबाहेक कथा, छन्दका कविता, निबन्ध, समालोचना आदिमा कलम चलाउने प्रयत्न गरिरहेकी छु ।

अहिले लेखकहरू छन्द कवितामा आकर्षित भएका छन् । किन होला ?

छन्दको आकर्षण अहिलेको मात्र होइन । पूर्वीय साहित्य साधनाको परम्परामा यो त ज्यादै पुरानो र महत्वका साथ अगाडि बढेको पाइन्छ । तर, समयको बहावले कहिलेकहीँ हामीलाई फरक बाटोमा धकेल्ने गर्छ । नेपाली कविता साहित्यको इतिहास हेर्नुभयो भने प्राथमिक कालमै कवि भानुभक्त आचार्यले नेपाली कविता साहित्यलाई फराकिलो रूपमा चिनाउन र उहाँ स्वयम् कविता साहित्यमार्फत् चिनिन सक्नुको मूल कारण भनेकै नेपाली लोक लवजलाई मिठो गरी पद्य वा लययुक्त छन्दमा भन्न सक्नु हो ।

लेख्ने समय कसरी मिलाउनु हुन्छ ?

अहिले तत्कालका लागि लेख्ने र पढ्ने समय मिलाउन मलाई असजिलो नै छ । म पेसाले शिक्षिका हुँ, घरमा स–साना छोराछोरी छन्, वृद्ध अवस्थामा पुग्न थाल्नुभएका आमाबुबा (सासूससुरा) र घरसँग जोडिएको जिम्मेवारी हुन्छ । त्योबाट टाढा हुनसक्ने कुरै भएन । त्यस कारण निश्चित समय छुट्याएरभन्दा पनि जिम्मेवारीबाट निस्किएका समयका टुक्राटाक्रीलाई लेख्न र पढ्नका लागि उपयोग गर्छु ।

तपाईँलाई लेख्दा के पाएँ जस्तो लाग्छ ?

लेख्नका लागि पढिन्छ । पढेपछि केही जानिन्छ । त्यसैले ज्ञान पाएजस्तो लाग्छ । केही लेखेर प्रकाशित गर्नु भनेको कालान्तरसम्मका लागि त्यो दस्तावेज आम मान्छेका बिच छोड्नु पनि हो । यसले मान्छेको परिचय दिन्छ । त्यसैले केही परिचय पाए जस्तो लाग्छ ।

लेखकमा हुनुपर्ने विशेष गुण के हो ?

लेखकमा धेरैभन्दा धेरै अध्ययन, मिहेनत, धैर्य, विनम्रता जस्ता गुण हुनुपर्छ । लेखनका लागि उपयुक्त सन्दर्भ सामग्री प्राप्त गर्न पाउनुपर्ने दुःख अनि छापिएको सामग्री कमजोर र आलोच्य भयो भने आउने प्रतिक्रिया आनन्ददायक नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्