Logo
Logo

विद्या भण्डारीको राजनीतिक जीवनको तेस्रो इनिङ


1.1k
Shares

विद्यादेवी भण्डारी नाम नै पर्याप्त छ । अब उनको सार्वजनिक परिचयका लागि कुनै पद वा साइनो जोडिरहन आवश्यक छैन । तर, पनि उनका लागि साइनोको परिचय र पदको परिचयले कहिल्यै साथ छोड्दैनन्, छायाझैँ पछ्याइरहेकै हुन्छन् ।

यसरी जोडिने साइनोको परिचय एउटै छ, एमालेका प्रभावशाली महासचिव स्व. मदन भण्डारीकी पत्नी । तर, पदको परिचय दुईवटा छन् । पहिलो, पार्टीगत पद, एमालेको उपाध्यक्ष । त्यही भएकै बेला उनी दोस्रो खाले संवैधानिक पदमा गइन् । त्यो हो, राष्ट्रपतिको पद । यी दुवै उनले मुकाम बनाएका पद हुन् ।

मदन भण्डारीसँग विवाह गरेर राजनीतिको पहिलो इनिङ छोडेकी उनलाई यी सबै साइनो राजनीतिको दोस्रो इनिङमा मिलेका थिए । २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा पति मदनको निधन भएपछि उनी रहरले हैन, कहरले राजनीतिमा होमिएकी थिइन् । उनको यो राजनीतिक इनिङ मदनको ‘बिडो’ थाम्नकै लागि भएको थियो र उनी त्यही ‘बिडो’ थाम्ने क्रममै पदका ती मुकामहरुमा पुगेकी थिइन् ।

नेपालको संविधानले चिन्ने सबैभन्दा माथिल्लो वरियताको पद हो, राष्ट्रपति । गणतन्त्र नेपालमा त्योभन्दा माथिल्लो कुनै वरियता नै छैन । उनी त्यही वरियतामा पुगिन् । त्यो पनि एकपटक हैन, दुई–दुईपटक । यद्यपि, त्यो पद अलंकारिक मात्र हो, कार्यकारी हैन । यस अर्थमा त्यो पद संवैधानिक रूपमा सर्वोच्च भए पनि कामकाजी रूपमा थिएन भन्न सकिने ठाउँ चाहिँ छ ।

अलंकारिक नै सही, उनी राष्ट्रको त्यही सर्वोच्च पदमा पुगेर फर्किन् । सामान्यतः मानिसहरू त्यो पदमा पुगेपछि सक्रिय राजनीति वा सार्वजनिक जीवनबाटै अवकाश लिन्छन् । उनले पनि त्यसै गर्लिन् भन्ने धेरैको अपेक्षा थियो । तर, शीतलनिवास छोड्नु अघि नै उनले त्यो स्वाभाविक अवकाश नरोज्ने संकेत दिइन् ।

त्यतिबेलाका उनका केही अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिबाट त्यस्तै लख काट्न सकिन्थ्यो ।
उनी राजनीतिमा फर्किने भनेपछि त्यो स्वभावतः एमालेको पार्टी राजनीति हुनेमा कुनै शंकै थिएन । त्यसको आधार भनेको राष्ट्रपति हुनुअघि उनको राजनीतिक पृष्ठभूमि नै हो । त्यसअघि उनी एमाले उपाध्यक्ष थिइन् । राष्ट्रपति हुन पार्टी राजनीतिबाट अलग हुनुपर्ने अनिवार्य शर्त पूरा गर्न उपाध्यक्षबाट राजीनामा दिएर एमालेबाट अलगाएकी थिइन् ।

एमालेमा फर्कने उनको चाहना भए पनि लामो समयसम्म त्यसले औपचारिकता पाएको थिएन । यस बीचमा उनी त्यसको पृष्ठभूमि बनाउन आन्तरिक तयारीमा लागिन् । देश भ्रमणमा निस्केर एमाले पार्टी कार्यकताहरूको राय बुझिन् ।

एमाले छोडेर अन्यत्र गएका आफ्ना पूर्व कमरेडहरूको आशय बुझिन् । अन्य कम्युनिष्ट तथा गैर–कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको नाडी छामिन् । सर्वसाधारण जनताको मत बुझिन् । यति मात्र हैन, चीन भ्रमणमा निस्केर चिनियाँ कम्युनिष्ट पार्टीको सदासयताको आकलन पनि गरिन् ।

सबैतिरको पृष्ठपोषणमा उनलाई राजनीतिमा फर्कन वाइल्डकार्ड मिलेन, मिश्रित प्रतिक्रिया मात्रै मिल्यो । सकारात्मक प्रतिक्रिया थियो, एमालेमा ओलीको विकल्प आवश्यक छ । र, त्यसका लागि उनी मात्रै विकल्प हुन सक्छिन् भन्ने एमालेमा लगभग स्थापित सत्य हो ।

ओलीको अत्याचारी नेतृत्वबाट एमालेलाई बचाउन खोज्ने एमालेजनका लागि उनी नै आशाको त्यान्द्रो हुन् । अर्कोतिर, एमाले नेतृत्वबाट ओली विस्थापित हुनु भनेको उनको बदलाको छुद्र राजनीतिबाट अरू दल र समग्र देशले पनि मुक्ति पाउनु हो । त्यो मुक्ति दिने अर्थमा पनि विद्याको आगमनलाई सकारात्मक प्रतिक्रिया मिल्यो ।

नकारात्मक प्रतिक्रिया चाहिँ गणतन्त्र नेपालको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति फेरि पार्टी राजनीतिमा फर्कँदा गणतन्त्रकै पक्षमा सकारात्मक सन्देश दिँदैन भन्ने नै थियो । यसलाई नाजायज तर्क भनेर सिधै खारेज गर्न मिल्दैन पनि । तर, यसलाई सर्वसाधारण जनताले खासै तुल दिएका छैनन् । यसलाई तुल दिने भनेका राजनीतिका लोभीपापीहरू नै हुन् जो पदका लागि शक्तिको पूजा गर्छन् र पदमा पुगेपछि रातदिन नभनी देशलाई लुट्छन् । अहिले ओलीका वरिपरि लगभग सबै यस्तै छन्, जो विद्यालाई रोक्न यो तर्कलाई तुल दिइरहेका छन् ।

यसमा सघाउन कांग्रेस र उसका अनुयायीहरू पनि न्वारानदेखिकै बल लगाइरहेका छन् । यसमा उनीहरूका दुईवटा स्वार्थ छन् । पहिलो स्वार्थ, ओलीसँगको सहमतिअनुसार देउवालाई छैटौपटक प्रधानमन्त्री बनाउनु । दोस्रो स्वार्थ, विद्याको आगमनबाट हुनसक्ने सम्भावित वामपन्थी सहकार्यलाई रोकेर २०८४ मा कांग्रेसलाई जिताउने ।

यी दुवै कोणका प्रतिक्रिया बीच अन्ततः विद्याले पूर्वराष्ट्रप्रमुखका रूपमा पाउने सबै सुविधाहरू त्यागेर एमालेको सक्रिय राजनीतिमा फर्कने निर्णय गरिन् । यसको औपचारिक घोषणाका लागि उनले आफ्नै स्वर्गवासी पति मदन भण्डारीको जन्मजयन्तीको दिन रोजिन् ।

२०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा पति मदनको निधन भएपछि उनकै ‘बिडो’ थाम्न राजनीतिक जीवनको दोस्रो इनिङमा उत्रिएकी उनका लागि यो दिनको ठूलो अर्थ र उपादेयता छ । यही राजनीतिक पुँजीलाई उनी आफ्नो तेस्रो राजनीतिक इनिङको सफलताको कडी बनाउन चाहन्छिन् ।

यसैबीच, उनले आफ्नो तेस्रो राजनीतिक ‘इनिङ’को एजेण्डा पनि सार्वजनिक गरिसकेकी छिन् । उनले भनी नै सकिन्, ‘म एमालेमा कार्यकर्ता मात्र हुन फर्केकी हैन ।’ यसको अर्थ प्रष्ट छ–. उनी पार्टी अध्यक्ष हुनकै लागि एमाले फर्केकी हुन् । अझ, उनी एमाले अध्यक्ष भएर मात्र पनि रोकिनेवाला जस्तो पनि देखिँदैन । उनको लक्ष्य त नेपालकै पहिलो प्रधानमन्त्री महिला हुने जस्तै देखिन्छ ।

त्यसो भयो भने पहिलो राष्ट्रपति महिलाको इतिहास बनाइसकेकी विद्याका नाममा अरू दुई इतिहास पनि थपिनेछन्, नेपालको पहिलो प्रधानमन्त्री महिला र एमालेको पहिलो अध्यक्ष महिला । लगभग असम्भव मानिने नेपालको पहिलो राष्ट्रपति महिलाको इतिहास बनाइसकेकी उनका लागि यी दुई इतिहास नबन्लान् भन्न सकिन्न ।

तर, यो असम्भव नभए पनि सहज चाहिँ छैन । उनलाई रोक्न सामुन्ने उभिएका छन्, नेपाली राजनीतिका चतुरतम् खेलाडी ओली । एमाले राजनीतिमा मदन भण्डारीको जबज र उनकै विरासत बोकेकी श्रीमती विद्यालाई आफ्नो कित्तामा पारेर एमाले कब्जा गर्न पुगेका ओलीले विद्यालाई रोक्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्छन् । त्यति मात्र हैन, उनी राजनीतिक बेइमानीका त मानक नै हुन् । उनले विद्यालाई रोक्न के गर्छन्भन्दा पनि के गर्दैनन् भन्ने एन्टी थेसिसबाट हेर्नुपर्ने हुन्छ ।

हुन त ओलीले विद्यालाई एमालेमा फर्कन नै रोक्न सारा जुक्तिहरू नलगाएका पनि हैनन् । तर, यसपटक उनको कुनै दैया चलेन । अहिले त उनले एमाले प्रवेश गरेर अध्यक्ष नै हुने बताइसकेकी छिन् । त्यति मात्र हैन, ओलीको ‘कक्षा नदोहो¥याउने’ वाचा–गफ पनि सम्झाउन भ्याइसकेकी छिन् ।

विद्याको पछिल्लो निर्णय र गतिविधिबाट सबैभन्दा धेरै स्तब्ध हुने केपी ओली नै हुन् । त्यसैले पनि अहिले उनी आफूलाई चुनौती दिने विद्यालाई खुइल्याउन न्वारनदेखिको बल लगाएर लागेका छन् । पछिल्लो समय आएका सार्वजनिक अभिव्यक्तिले त उनी बरबराउनै थालेको देखाउँछ । खासगरी, मदन भण्डारीका बारेमा आएका उनका पछिल्ला तुच्छ र अन्टसन्ट अभिव्यक्तिहरू त्यसैका दृष्टान्त हुन् ।

यही बिचमा ओलीले मदन भण्डारीलाई आफूले नै महासचिव बनाएको मात्र भनेनन्, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) मदन महासचिव हुनु १० वर्ष अगाडि नै आफूले प्रतिपादन गरेकोसम्म भन्न भ्याइसकेका छन् ।

योभन्दा बहुलठ्ठी र सफेद झुट अरू केही होला र ? उनी यतिमा मात्र रोकिएका छैनन्, २०४८ को आमचुनावमा मदनविरूद्ध कांग्रेसले लगाएको चुनावी फतुर सम्झाएर आफ्नो स्वार्थमा बाधा आयो भने ओली कति तल झर्न सक्छन् भन्ने पनि दृष्टान्त पनि प्रस्तुत गरेका छन् ।

विद्याको प्रवेशलाई लिएर एमालेको आन्तरिक पार्टी राजनीतिमा जबरजस्त तरङ्ग देखिएको छ । त्यसले एमाले कार्यकर्तालाई चार कित्तामा बाँडेको छ । पहिलो कित्ता ओली निर्विकल्प हुन् भन्ने छन् । दोस्रो कित्तामा, ओलीको दिन गए, अब विद्याका दिन भन्नेहरू छन् । तेस्रो कित्तामा ‘जता मल्खु उतै ढल्कु’ को अवस्थाका छन् । चौथो कित्तामा, ‘दुवै उस्तै हुन्, कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्नेहरू छन् । जो जुन कित्तामा भए पनि अहिले कुनै पनि एमाले कार्यकर्ता चुपचाप छैनन् ।

अबका केही समय एमालेका तेस्रो र चौथो कित्तामा रहेकाहरू मौन नै रहन्छन् । तर, पहिलो र दोस्रो कित्ताकाले केही समययता सुरू भएको एक अर्काविरूद्धको दन्तबजान कायमै राख्नेछन् । ओलीलाई निर्विकल्प ठान्नेहरू विद्यालाई नेतृत्वमा आउन नदिन साम, दाम, दण्ड, भेद सबै लगाउँछन् । पार्टी र सरकार दुवैको सत्तामा रहेको यो ओली कित्ता ‘बाइसाइकल सिण्ड्रोम’को चरम रूप हो । यसले सकभर आफू रहन र नसके अरू कसैलाई पनि रहन नसक्ने बनाउन ‘न रहे बाँस, न बजे बाँसुरी’कै अश्त्र प्रयोग गर्छ ।

यस क्रममा पहिला त उनीहरू विद्याको सदस्यता सक्रिय बन्न नदिन प्राविधिक प्रपञ्च गर्छन् । त्यो सकेनन् भने कुनै जुक्ति लगाएर वैधानिक रूपमै रोक्ने प्रयास गर्छन् । त्यो पनि सकेनन् भने पार्टी महाधिवेशन कहिले गर्दा आफूलाई फाइदा हुन्छ, त्यसको जोखाना हेर्छन् ।

त्यतिले मात्र पनि पुगेन भने जसरी पनि बहुमत जुटाउन लाग्छन् । त्यस क्रममा विद्याको पक्षमा भएकाहरूको राजनीतिक नियुक्ति खोस्ने, ढुलमुलेहरूलाई अवसर दिएर आफ्नो पक्षमा पार्ने त सामान्य खेलो नै भइहाल्छन् । त्यतिले नपुग्दा उनीहरू के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने अवस्थामा पुग्छन् ।

विद्याको कित्तामा रहेकाहरू पनि चुप लागेर बस्दैनन् । उनीहरू ७० वर्षे उमेरहद र तेस्रो कार्यकालमा पार्टीको कार्यकारी पदमा आउन नसक्ने विधानमा गरिएको व्यवस्थाको कुरा उछालेर ओलीलाई रोक्ने प्रयास गर्छन् । त्यति मात्र हैन, विगतमा ओलीले पार्टी नेतृत्वमा पुग्न बोलेका कुरा र गरेका व्यवहार सम्झाएर उनीमाथि नैतिकताको पासो पनि थाप्छन् ।

ओलीले जनताको बहुदलीय जनवाद लागु गर्न नसकेको मात्र हैन, अब त स्वयं मदन भण्डारीविरूद्ध नै अन्टसन्ट बोल्न थालेको विषय पनि उठाउँछन् । ओलीको वाम सहकार्य र एकता विरोधी व्यवहारको चर्को आलोचना गर्दै नेपालमा वामपन्थी सहकार्यका लागि पनि विद्या उपयुक्त पात्र हुने तर्क पनि गर्छन् ।

यो दन्तबजानमा को खह्रो उत्रेर अर्को पक्षमाथि भारी हुन्छ ?, अहिले नै केही भन्न सकिने अवस्था छैन । दुवै पक्षले एक अर्कालाई गलाउन हरसम्भव प्रयास गर्छन् । ती प्रयासहरूमा एमालेलाई खुइलाउन परे पनि उनीहरू पछि पर्दैनन् । कम्युनिष्ट राजनीतिमा आफ्नो कुर्सी खोस्न आउनेलाई के गरिन्छभन्दा के गरिँदैन भन्ने अनेकौ दृष्टान्त छन् । त्यस्तो चित्र सबैभन्दा प्रष्टसँग देखाउने ऐना त माले, एमाले हुँदै अहिले बनेको ओमाले नै हो ।

यो स्तम्भकार सैद्धान्तिक रूपमा गणतन्त्र नेपालको राष्ट्रपति÷उपराष्ट्रपति भैसकेको मान्छे फेरि सक्रिय राजनीतिमा आउनु ठीक हैन भन्ने पक्षधर हो । तर, उपराष्ट्रपति भैसकेका नन्द्बहादुर पुन माओवादीमा फर्केर उपाध्यक्ष भइसकेको अवस्थामा केवल विद्यालाई मात्र रोक्नु तर्कसंगत हैन भन्ने कुरामा असहमति पनि राख्न सक्दैन । उनले नचाहेको भए राम्रो हुने थियो तर, अब चाहेर आइसकेपछि रोक्नु ठीक हुँदैन ।

नन्दबहादुर पुन पुरूष भएकाले खासै कुरा उठेन, विद्या महिला भएकै कारणले तगारो लगाउने तहसम्मकै कुरा उठ्योभन्दा के जवाफ दिने ? कि संविधानमै त्यस्तो रोक्ने व्यवस्था गर्नुपथ्र्यो । त्यो नभएको अर्थमा व्यक्तिको मौलिक राजनीतिक अधिकार हनन् गर्ने कुरा शोभनीय हुँदैन । यो तर्कले त ओलीलाई नै सघाउने मात्र हो ।

ओली एमालेका लागि त भष्मासुर हुन् नै, गणतन्त्र नेपालका लागि पनि समस्या हुन् । यो समस्याको समाधान दिने भनेको एमालेले नै हो । एमालेमा त्यो समाधान दिनसक्ने सामथ्र्य विद्याबाहेक अरू कसैमा देखिएको छैन । यस अर्थमा विद्याको एमाले प्रवेश र तेस्रो इनिङको सक्रिय राजनीति एक किसिमको विशिष्ट परिस्थितिको उपज हो भनेर व्याख्या गर्न पनि सकिन्छ ।

विद्याले उनको राजनीतिको यो तेस्रो इनिङको औचित्य र उपादेयता पुष्टि गर्न सक्नुपर्छ । त्यसका लागि पहिला त उनले एमालेमै अर्को ओली अवतार हैन, मदन अवतार लिन सक्नुपर्छ । सबै एमालेजनको नेता हुनुपर्छ, कसैलाई पनि काखा र पाखा गर्न हुन्न । अनि पार्टीभन्दा माथि उठेर सिंगो वामपन्थी ध्रुवीकरणका लागि योगदान गर्न सक्नुपर्छ । त्यस क्रममा समयले पार्टी अध्यक्ष, प्रधानमन्त्री जे जे अवसर पनि उपलब्ध गराउन सक्छ । तर, ती सबै साध्य हुनु हुँदैन, साधन मात्रै हुनुपर्छ । त्यसो गर्न सकिन् भने अहिले ‘विद्याबाट गणतन्त्र बचाउ’ भन्दै हारगुहार गर्नेहरूको पनि बोल्ती बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्