Logo
Logo

आवेग होइन, चेतनाको झिल्को


252
Shares

पछिल्लो समय नेपाली समाजमा साइबर हिंसा र चरित्र हत्या गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालहरूमा महिलामाथि गालीगलौज, चरित्र हत्या र मानमर्दनको विषाक्त प्रवृत्ति उग्र बन्दै छ । ती केवल डिजिटल अपराध मात्र होइन । सामाजिक संरचनागत विसंगति पनि हो ।

डिजिटल हिंसाहरू वास्तविक हिंसाभन्दा कम भयावह हुँदैनन् । किनकि, इन्टरनेटको असीमित सागरमा एकपटक फैलिएपछि यसलाई नियन्त्रण गर्नु असम्भवप्रायः छ । प्रविधि प्रयोग गरेर गरिने हिंसाले एकातिर पीडितको मानसिक अस्तित्व ध्वस्त पार्छ भने अर्कातिर सामाजिक चेतनाको गहिरो अभाव पनि उजागर गर्छ ।

यसै कुसंस्कारविरुद्ध गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले ‘एक्सपोज अभियान’ चलाइरहेका छन् । यो अभियानले सामाजिक सञ्जालमा मानसिक हिंसा, यौनिक दुराचार र स्त्रीद्वेषी मानसिकताविरुद्ध एकताको सशक्त सन्देश प्रवाहित गरिरहेको छ । प्रधानमन्त्रीदेखि कलाकार, लेखक र सर्वसाधारणसम्मले समीक्षा र एलिनाको पक्षमा आवाज बुलन्द गरेका छन् ।

समीक्षाले बाल्यकालमै बलात्कारविरुद्ध बोलेकी थिइन् । तर, समाजले उनलाई सहानुभूतिदायक पात्र होइन, निशाना बनायो । मञ्चमै बोतल र ढुंगा प्रहार गरियो । यो दृश्य केवल उनीमाथिको हमलामात्र होइन, हाम्रो सामाजिक चेतनाको नग्न प्रदर्शन हो । जहाँ अपराधीहरू चुपचाप स्विकारिन्छन्, तर प्रतिवाद गर्नेहरू दण्डित हुन्छन् ।

एलिनाले वैवाहिक सम्बन्ध टुंग्याएपछि रोजेको स्वतन्त्रता निजी निर्णय थियो । तर समाजले त्यसलाई आत्मनिर्णय होइन, स्वेच्छाचारिता ठान्यो । चरित्रमाथि औँला उठाएर उनलाई सार्वजनिक रूपमै लाञ्छित गरियो । समाजमा यस्ता निर्णय लिने महिलालाई अझै पनि ‘चरित्रहीन’ भन्ने मानसिकता हाबी छ । त्यसैले उनले सम्बन्ध टुटेको पीडाभन्दा बढी समाजको लाञ्छना बढी खेप्नुपर्छ ।

एलिनाको मामिला उदाहरण मात्र हो, यस्ता घटनाहरू नेपाली समाजमा अनेकौँ छन्, जहाँ महिलाको निजी निर्णयलाई सार्वजनिक आरोपमा रूपान्तरण गरिन्छ । उनीहरूले सम्बन्ध विच्छेद गरे भने ‘चरित्रहीन’ भनिन्छ  । महिलाको निर्णय सधैँ गलत ठहरिन्छ । किनभने निर्णय लिने अधिकार पुरुषको मात्रै हो भन्ने पुरानो सोच अझै समाजको रगतमै मिसिएको छ ।

यही दमनकारी संरचनाले एलिना र समीक्षालाई ‘सामाजिक अपराधी’ घोषित गर्छ, किनभने उनीहरूले लाज, डर र चुप्पीको साँघुरो घेरा च्यातेर आत्मस्वरको उदात्त घोषणा गरेका छन् । एकातिर उनीहरूले आफ्नो भय जितेर न्यायको संघर्षमा उभिए । अर्कातिर एकथरीले उनीहरूलाई नै दोषी ठह¥यायो ।

लामो समयदेखि यौनिक हिंसाका घटनाहरू लाज, डर र बदनामीको भयले गुपचुप रहँदै आएका थिए । तर, एलिना र समीक्षाको यो विद्रोहले मौनताको पर्खाल भत्काएर उद्घोष गरेको छ– ‘अब हामी चुप लाग्दैनौँ ।’ यो केवल व्यक्तिगत प्रतिकार होइन, सामाजिक विद्रोहको प्रज्वलन हो ।

एलिना र समीक्षाको विद्रोह केवल डिजिटल अधिकार वा नारी सम्मानको मात्रै लडाइँ होइन, यो त समग्र सामाजिक चेतनाको पुनर्जागरण र प्रणालीगत बेथितिविरुद्धको संघर्ष हो । जसले गर्दा अपराधीहरूको हिम्मत कमजोर भएको छ । समाजको आलोचक दृष्टि जागृत भएको छ । र, अन्य पीडितहरूमा पनि बोल्ने साहस पलाएको छ । तर, प्रश्न उठ्छ– समाजले यस्ता स्वरहरूलाई कसरी ग्रहण गरिरहेको छ ?

कतिपयले पीडितमाथि नै औँला ठड्याएर हाम्रो सामाजिक मानसिकताको कुरूप चेहरा उदांगो पारेका छन् । जहाँ अपराधी होइन, पीडित नै लज्जित हुनुपर्ने, बचाउनुपर्ने र मौन बस्नुपर्ने मानिन्छ । त्यस्तो प्रवृत्तिले न्यायलाई गिज्याउँछ, अपराधीको मनोबल बढ्छ । त्यसैले, समीक्षा र एलिनाको स्वरलाई सुन्ने मात्र होइन, गहिराइसम्म बुझ्ने संवेदनशील समाजको निर्माण अपरिहार्य छ ।

सामाजिक सञ्जालमा खुला गालीगलौज, यौनिक संकेत र चरित्र हत्यालाई स्वतन्त्रताको ढाल बनाउनु अपराध हो । अभिव्यक्तिको अधिकार होइन । तर, यो अपराधविरुद्धको संघर्ष केवल पीडितको काँधमा थोपरिनु अन्याय हो । राज्य, कानून र समाजको संयुक्त दायित्व अपरिहार्य छ ।

त्यसैले एलिना र समीक्षाको अभियान दबिनु हुँदैन । यो ज्वाला भोलिका दिनमा झन् प्रचण्ड बन्नुपर्छ । दबाइएका स्वरहरू बुलन्द हुनुपर्छ । यस्ता स्वरहरूलाई कुण्ठित गर्नु होइन, सशक्त साथ दिनु हाम्रो कर्तव्य हो । यो संघर्षले समाजका गहिरिएको विसंगतिहरूलाई उजागर मात्र गरेको छैन, पीडितहरूका पक्षमा चेतनाको नवीन आँधी पनि ल्याएको छ ।

नेपालमा साइबर अपराधको ग्राफ तीव्र उकालो लागिरहेको छ । तर, कानुनी संयन्त्र र अनुसन्धान प्रणालीको कमजोरीले पीडितहरू निराश छन् । प्रहरी प्रशासनको पुरातन शैली र ढिलासुस्तीले न्यायको आशालाई धमिलो बनाउँछ ।

साइबर अपराधविरुद्ध लड्न कानुन मात्र पर्याप्त छैन । डिजिटल साक्षरताको अभाव, यौनिकताबारे खुला संवादको कमी र पीडितमाथिको कलंकित दृष्टिकोणले समस्यालाई जटिल बनाएको छ । यसका लागि तत्काल कदमहरू आवश्यक छन् । विद्यालय तहदेखि साइबर अपराध, गोपनीयता र आत्मसुरक्षाबारे शिक्षाको जग हाल्नुपर्छ ।

पीडितमैत्री न्याय प्रणालीको स्थापना, उजुरीदेखि अनुसन्धान र अदालतसम्म पीडितलाई सुरक्षित महसुस गराउने संयन्त्रको खाँचो छ । प्रविधिमा दक्ष प्रहरी र अनुसन्धानकर्ता, डिजिटल प्रमाण संकलन र साइबर निगरानीको क्षमता वृद्धि गर्नुपर्छ । साथै, मिडिया र युवा समूहहरूले यस्ता विषयमा खुला बहस र संवादको संस्कृति विकास गर्नुपर्छ ।

एलिना र समीक्षाले उठाएको स्वर केवल आवेगको उच्छृङखलता होइन, यो त चेतनाको प्रदीप्त झिल्को हो । यो झिल्कोले समाजलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ । हिंसाविरुद्धको लडाइँ कानूनले मात्र जितिँदैन, चेतनाले जितिन्छ । र, चेतनाको यो दीपशिखा फैलाउन शिक्षा नै सर्वोपरि अस्त्र हो ।

एलिना र समीक्षाको विद्रोहले समाजको ढोका खोलेको छ । अब हाम्रो दायित्व यो ढोकालाई बन्द गर्नु होइन, फराकिलो बनाउनु हो । साहसले बोल्न थालेको छ, अब समाजले सुन्न सिक्नुपर्छ । ‘चरित्र’को नाममा उछालिएका अश्लील र अमानवीय आरोपमाथि उनीहरूले जुन दृढता र स्वाभिमानले जवाफ फर्काए, त्यो केवल व्यक्तिगत रक्षा थिएन– यो पितृसत्ताको उन्मत्त संरचनाविरुद्धको सामूहिक विद्रोह थियो ।

यो विद्रोह केवल व्यक्तिगत साहसको कथा होइन, सामाजिक रूपान्तरणको संकेत हो । यो चेतनाको झिल्कोले समाजलाई नयाँ दिशा देखाउनेछ, यदि हामीले यो स्वरलाई आत्मसात् गर्न सक्यौँ भने । यो लडाइँ केवल उनीहरूको होइन, हाम्रो साझा संघर्ष हो । अब समाजले यो ढोका फराकिलो बनाउनुपर्छ, किनभने साहस बोलिरहेको छ । र, हामीले सुन्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्