Logo
Logo

तीजको नाममा भित्रिएको विकृति


उमेश बन्जाडे

2.6k
Shares

हरितालिका तीजको नाम सुन्नासाथ मनको पर्दामा एकाएक बुबाआमाको अनुहार झल्किन्छ । जसले सालभर लुगाफाटो नकिने पनि तीज आउँदा नयाँ कपडा किन्नका लागि केही महिनादेखि जोहो गरी राखेको पैसा निकाल्नुहुन्थ्यो ।

हुन त हामीकहाँ जम्मा गर्ने आयस्रोत पो के थियो र, यद्यपि आर्थिक स्रोत सीमित भए पनि बुबाआमाको मनको आकाश असीमित थियो । अलिअलि घरमा भएका बाख्रा–कुखुरा बेचेर वा सरसापट गरेरै भए पनि तीज भित्रिँदै गर्दा हामीलाई खुसी पार्नुहुन्थ्यो । त्यही मौकामा हामी केटाकेटीले पनि नयाँ लुगा लगाउने मेसो पाथ्र्यौं ।

त्यतिबेला हाम्रा लागि नयाँ कपडा भनेकै स्कुल पोशाक हुन्थ्यो, जसले एक वर्षसम्म स्कुल तथा यताउता जाँदा हाम्रो शरीर ढाक्थ्यो । एउटै स्कुल ड्रेस, त्यो पनि तीजमा नयाँझैँ देखिएपछि हामीभित्रको हर्षले आत्मा नै नाच्थ्यो ।

त्यो लुगा नयाँमात्रै थिएन, अभिभावकको माया र गहिरो कर्तव्यबोधले बनाएको ‘संस्कारको पहिरन’ जस्तै लाग्थ्यो । जेहोस्, ती अभावका दिनहरूमा तीज भन्नु नै एक प्रकारको उत्सवमात्र नभई परिश्रम, प्रेम र पारिवारिक समर्पणको साक्षात् प्रतीकजस्तै लाग्थ्यो ।

साउन महिना सकिनै लाग्दा तीजको उत्साहसँगै गाउँको मुटु धड्किन थाल्थ्यो । खेतमा फुर्सद, आकाशमा बादल, र मनमा उत्साह । दर्जी दाइको मेसिन गाउँको सिरान घरदेखि पुछारको घरसम्म नयाँ लुगा सिलाउँदै गुञ्जायमान हुन्थ्यो । जसको तालले गाउँमा नयाँ कपडाको जन्मोत्सव घोषणा गथ्र्यो ।

घरको खाँबोमा झुन्डिएको सानो रेडियोबाट बज्ने ‘नाचौँ नाचौँ लाग्ने’ तीज गीतहरू अहिलेजस्ता विज्ञापन थिएनन्, ती त हाम्रो रगतमा मिसिएका सांस्कारिक लय थिए । विशेषगरी नागपञ्चमीका दिनदेखि ऋषि पञ्चमीसम्म हरेक साँझ खाना खाइसकेपछि गाउँको कुनै एउटा घरमा तीज विशेष नाचगान हुन्थ्यो । त्यो सांस्कृतिक जमघट तीज विशेष नाचगान र उत्सवमात्र थिएन, त्यो त दिनभरको श्रमपश्चात शरीर र आत्मालाई पुनर्जीवित पार्ने औषधि थियो ।

त्यतिबेलाको रमाइलो संस्कार र सामाजिक ऊर्जा अहिलेका सौन्दर्य प्रतियोगिताहरूको तुलनामा साह्रै मौलिक र गहकिला थिए । दिनभरिको कामबाट थकित मस्तिष्क र शरीरलाई केही ऊर्जा प्राप्त हुन्थ्यो । उतिबेलाका केटाकेटी हामी संस्कार–संस्कृति बुझेरभन्दा पनि रमाइलोकै लागि कोही मादल र बाँसुरी बजाउने, कोही दोहोरी गाउने गथ्र्यौँ ।

रहरले आफ्नो गाउँमा मात्रै नभई रातारात छिमेकी गाउँहरूमा समेत पुग्थ्यौं । हाम्रो उस्तै–उस्तै उमेर समूहको एउटा टिम हुन्थ्यो । ‘त्यो टिम जुन गाउँमा पुग्यो, त्यहाँ नाचगानको रौनक अलिक बढी नै जोडदार हुन्छ’ भनेर गाउँमा चर्चा चल्थ्यो ।

यता हामीलाई भने त्यो चर्चा ठूलो र सम्मानित पुरस्कार पाए बराबर लाग्थ्यो । उतिखेर नागपञ्चमीपछि मात्रै बजारमा तीजका गीतहरू सुन्न पाइन्थ्यो । गीतहरू पनि सामाजिक रहनसहनमा आधारित र मर्मस्पर्शी हुन्थे, वेदना र चेतनाका सन्देश प्रवाह गर्थे ।

अहिले भने तीज आउनुभन्दा महिनौं पहिले नै तीजको ‘बलात्कार’ सुरु हुन थाल्छ । जेठ नलाग्दै सामाजिक सञ्जालमा ‘तीज स्पेसल’को बाढी आउँछ । तीज गीत भन्न पनि लाज लाग्ने दृश्य र शैलीमा उतारिएका विकृतिका घोषणापत्रहरूले बजारमा एकछत्र रजाइँ गर्छन् । जसले नारी मुक्तिका विषय होइन, नारीको वस्तुकरण गर्छन् । हाँसो होइन, तुच्छताले भरिएको कचिंगल सुनाउँछन् ।

यिनमा न समाज परिवर्तनको आकांक्षा भेटिन्छ, न त आत्मासंवादको चेतना । वास्तवमा, भ्यूजको चुलो ताप्ने दाउ र कलाकारको नाममा कोठा भरेर नचाइएको नांगोपन उदांगो पार्ने यस्ता विकृतिजन्य महामारीले तीजको मौलिक भावनाको चीरहरण गरिरहेका छन् । अझ होटेल, बार अनि रेस्टुराँमा तीन महिनाअघिदेखि चल्ने दरपार्टीको त झन के कुरा गरौं !

उतिबेला तीजका भाकामा दोहोरी वा झ्याउरे गीत गाउँदा पनि विकृति मानिन्थ्यो । झ्याउरे भाका सुन्नासाथ अलिक उमेर नाघेका अधबैँसे अभिभावकहरू लाखापाखा लाग्नुहुन्थ्यो, जसले हामीलाई पनि अलि खल्लो महसुस हुन्थ्यो ।

तीजकै भाकामा खरी झरेको मादल बजाएर जोसमा हातका औँला फुटेको होस् वा दोहोरी गाउँदा घाँटी बसेको होस्– अर्को दिन फेरि कतिबेला साँझ पर्ला भनेर कुरिन्थ्यो । सीमित मात्रामा सोमरस, केही केटाकेटीजन्य झगडा र झ्याउरे भाकाबाहेक उतिबेला तीजमा अन्य विकृतिहरू थिएनन् । त्यो बेला हामी समाजसँग एकाकार भएर बाँच्थ्यौँ । लाग्छ, हामी उतिबेला अहिलेभन्दा बढी सामाजिक थियौँ ।

कृष्ण जन्माष्टमी र तीजको दिन तल्लो गाउँ कान्तिपुरको मन्दिरमा नाचगान हुन्थ्यो । त्यतिखेरको गाविसभरिका आमा–दिदीबहिनीहरू भेला हुने दृश्य कुनै चलचित्रभन्दा कम हुँदैनथ्यो । त्यसले गर्दा बिहानैदेखि गाउँको व्यस्तता फरक देखिन्थ्यो ।

हामी केटाकेटीहरू बिहानैदेखि बस्तुभाउका लागि घाँसपातको जोहोमा लाग्थ्यौँ भने व्रत बसेका आमा–दिदीबहिनीहरू घरायसी कामका साथै पूजा सामग्रीको जोहोमा लाग्थे । हामीलाई फेरि गाई–गोरु र भैँसीलाई हरियो घाँसको जोहो गर्नुपर्ने चिन्ता दुई दिनअघिदेखि नै हुन्थ्यो । गीत र मादलको लयमा रमाउने सपना बोकेर बिहानभर डाँडा–पाखामा हरियो घाँस खोज्न डुल्नु हाम्रो कर्म थियो । तर त्यो काम बोझ थिएन, त्यो पनि तीजसँगै जोडिएको एउटा स्मरणीय हिस्सा नै थियो ।

आज पनि सांस्कृतिक कार्यक्रमहरू अझै भइरहेका छन्, तर रेडियोका ठाउँमा फेसबुक र युट्युबले लय दिएको छ । त्यो आत्मीयता, आफ्नोपन अनि रमाइलो पग्लिएर कहाँ हरायो कहाँ ? त्यो पुरानो रेडियो, मादल र दर्जी दाइको मेसिनको ताल अझै कानमा बज्छ, तर मनमा त्यो बेला जस्तो मिठास किन हुँदैन ? समय बदलियो वा हामी आफैँ ? प्रश्न अनुत्तरित छ ।

विकृति एउटा प्रक्रिया हो, जसमा सुरुदेखि अन्त्यसम्म हाम्रो मौनताले टेवा दिन्छ । अनि त्यो विकृति नयाँ पहिचान बन्छ । अहिले हामी यही अवस्थामा छौँ । हाम्रो कमजोरी के हो भने, एकातिर हामी यी गलत प्रवृत्तिको विरोध गर्दैनौँ, यदाकदा गरिहाले पनि त्यो हाम्रो मसिनो आवाज विकृतिको महासंग्राममा च्यापिएर धुलोपिठो हुन्छ ।

तर, यति हुँदाहुँदै पनि कम्तीमा वर्षको एकपटक भए पनि विष्णु माझीको मौलिक तीज गीत बजारमा आउँछ र त्यो गीत सुन्नासाथ मन एकछिनका लागि विगतको स्वच्छ रौनकतिर बग्छ । त्यो स्वरले हाम्रो स्मृतिको दैलोमा पुरानो गाउँ, दर्जी दाइको मेसिनको टकटक, मादलको गहिरो धड्कन र आमाबुबाको त्यो न्यानो माया एकसाथ ल्याइदिन्छ । लाग्छ अझै तीज मरेको छैन ।

सायद समयले होइन, हाम्रो सोचले विकृति भित्र्यायो । संस्कार बोकेको पर्वलाई तडक–भडकले ढाक्यो, मौलिकतालाई नक्कली आधुनिकताले विस्थापित ग¥यो । तीज अब महँगा लुगाको फेसन शो भयो । मादलको ठाउँमा डिजेले भरिएको कर्कशलाग्दो ध्वनि र संस्कारको ठाउँमा उत्ताउला गीतहरू चिच्याउन थाले ।

यद्यपि, स्मृतिहरू त जसरी भए पनि बाँच्छन् । बुवाआमाले जोहो गरेका ती नयाँ लुगा लगाएर नाच्न पाएको पहिलो साँझ, हात फुटाउने मादल र गला बसेको दोहोरी । त्यो सबै हाम्रो आत्माको एउटा कोठामा अझै जीवित छन् । र त, तीजको नाम सुन्नासाथ ती सबै अनुहार, आवाज र भाव झल्कन्छन्, जसले तीजलाई हाम्रो संस्कार बनायो र हामीलाई त्यसको अभिन्न अंश ।

अन्तमा, दुःखका साथ भन्नैपर्छ— तीज अब मौलिक पर्व होइन, विकृतिको महासंग्राममा भीड र ब्रान्डको तमासा बनेको छ । एकातिर चर्चामा आउन चाहने गायक–गायिकाहरूको भीड छ । जसले भ्यूज र चर्चाका लागि जे पनि गाउने अनुमति पाएका छन् । अर्कोतिर, मिडिया कम्पनीहरूको जथाभाबी लगानीले सस्तोपनलाई प्रवद्र्धन गरेको छ ।

न त स्रष्टाहरू सच्चा छन्, न त श्रोताहरू सजग हुन सकेका छन् । बजारमा पैसा फाल्नेहरू पनि यिनै विकृति बेचेरै मन बहलाउने तर स्वाभिमान गुमाउने पंक्तिमा छन् । अनि केही मिडिया नामका यस्ता विकृतिका प्रचारकहरू छन्, जसले तीजलाई ‘नांगो नाचगानको मौसम’ को नाम दिएर गम्भीर पवित्रतालाई मैलो बनाएका छन् । स्मरण रहोस्– आफ्नो संस्कृति र चाडपर्वको रक्षा गर्नको लागि कुनै विदेशी शत्रु आउनु पर्दैन । हामी आफैँभित्रको उपेक्षा, बनावटी चेत र फेसनवादी उन्मादले नै त्यसलाई सजिलै नष्ट गर्न सक्छ । हामी सबै सजग बनेर आफ्नो मौलिकता र त्यसको पहिचानलाई बचाउन हिम्मत गर्न सके मात्र तीजलगायत अन्य पर्वको आफ्नोपनलाई पनि सधैँ जोगाइराख्न सफल हुनेछौँ ।

– लमही दाङ, हाल साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्