काठमाडौं । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकसाथ देखिए । तस्बिरमा उनीहरू एकअर्काको हात समातेका छन् ।
साथै, प्रधानमन्त्री मोदी द्विपक्षीय वार्ताका लागि रुसका राष्ट्रपति पुटिनको कारमा चढेर गए । दुवैले लगभग एक घण्टा गोप्य कुराकानी गरको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जसको चर्चा र चासो विश्वभर छ ।

पछिल्लो भूराजनीतिमा विकसित घटनाक्रमहरूका आधारमा यसलाई अमेरिका र युरोपेली मुलुकहरूले नियाल्नु स्वाभाविकै हो । रुससँग भारतको सम्बन्ध अगाडिदेखि नै राम्रो छ भने पछिल्लो समय भारतले चीनसँग पनि सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ । यता, अमेरिकासँग भने भारतको सम्बन्ध चिसिँदै गएको छ ।
भारतले रूसबाटै पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ । रुसको तेल किनेर उसलाई युक्रेनमा हमला गर्न सहयोग गरेको आरोप अमेरिकाले भारतलाई चर्को भन्सार लगाएको छ । त्यसबापतको कारबाही भनेर अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत भन्सार कार्यान्वयनमा ल्याइसकेको छ ।
त्यसको जबाफमा भारतले कुनै पनि निर्णय अहिलेसम्म गरेको छैन । बरु त्यसको बदलामा चीनसँगको सम्बन्ध सुधारमा लागेको छ । आइतबार चिनियाँ राष्ट्रपति सीसँग मोदीले एक घण्टा कुराकानी गरेका थिए ।
भेटवार्तामा दुवै राष्ट्रप्रमुखले एकअर्काको राम्रो छिमेकी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति सीले राम्रो मित्र बन्नु नै दुवै देशका लागि उत्तम विकल्प रहेको मोदीलाई भनेका छन् ।
‘आजको विश्व अभूतपूर्व परिवर्तनबट गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल छ । यस्तो अवस्थामा दुवै पक्षका लागि उत्तम विकल्प भनेको राम्रो छिमेकी र मित्रवत् साझेदार बन्नु हो, जसले एकअर्काको सफलता सुनिश्चित गर्छ । हात्ती र ड्रागनले सँगसँगै नृत्य गर्नु भनेको यही हो,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले उल्लेख गरेको छ ।
उनले दुई देश प्रतिद्वन्द्वीका रूपमा नभई साझेदारका रूपमा अगाडि बढ्दा सम्बन्ध दीर्घकालीन रूपमा स्थिर रहन सक्ने पनि बताए । राष्ट्रपति सीको कुरामा मोदीले पनि सहमति जनाएका छन् । उनले आपसी विश्वास र सम्मानका आधारमा सम्बन्धलाई अगाडि बढाउन भारत प्रतिबद्ध रहेको पनि बताए ।
‘‘सीमामा तनाव कम भएको र सम्बन्ध सुधारतर्फ अघि बढिरहेको छ । हाम्रो २८० करोड जनताको हित आपसी सहकार्यसँग जोडिएको छ,’’ मोदीले सीलाई भनेको कुरा उद्धृत गर्दै सिएनएनले लेखेको छ ।
सीसँग भेटका क्रममा मोदीले चीनमा सिधा हवाई उडान सुरु गर्ने घोषणा पनि गरेका छन् । चीनबाट सुरू भएको कोभिड महामारीका कारण सन् २०२० को सुरूमा दुई देशबीचका उडान बन्द भएका थिए ।
सोही वर्षको जुन महिनामा गलवान उपत्यकामा भिडन्त भएपछि सम्बन्ध बिग्रेकाले कोभिड महामारी सकिएपछि पनि उडान भएका छैनन्। मोदीले कहिले देखि उडान सुरु हुने भन्ने चाहिँ खुलाएका छैनन् ।
सम्बन्ध सुधार हुन थालेपछि भर्खरै चीनका विदेश मन्त्री वाङ यीले भारत भ्रमण गरेका थिए । सो भ्रमणमा भारत र चीनले एक अर्कालाई प्रतिद्वन्द्वी नभएर साझेदार ठान्नु पर्ने उनले बताएका थिए । भ्रमणका क्रममा चीनले दुर्लभ खनिज पदार्थबाट बनेको चुम्बक भारतमा, मल र सुरुङ खन्ने मेसिनहरूको भारत निर्यातमा लगाएको प्रतिबन्ध हटाउन पनि सहमत भएको थियो ।
त्यस्तै भारतसँगको सीमामा रहेको तनाव कम गर्ने लगायत विषयमा पनि दुई देशबीच सहमति भएको थियो । ब्लुमबर्गका अनुसार भारतमा युरिया मल निर्यात गर्न चीनले लगाएको प्रतिबन्ध अगस्ट महिनादेखि खुकुलो बनाएको छ ।
मोदी निकट व्यवसायी गौतम अदानीको समूहले भारतमा ब्याट्री उत्पादन गर्न चिनियाँ विद्युतीय सवारी निर्माता बिवाइडीसँग छलफल पनि गरिरहेको छ । मोदीले चिनियाँ नागरिकलाई टुरिस्ट भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसकेका छन् । चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ ।
चीन र रूस सम्बन्ध झनै गहिरिँदै
चीन र रुसको सम्बन्ध पुरानो हो । युक्रेन युद्धपछि दुई देशको सम्बन्ध अझै गहिरिएको छ । पश्चिमी प्रतिबन्धका कारण एक्लिएको मस्कोले ऊर्जा निर्यातदेखि सैनिक–रणनीतिक सहकार्य सम्ममा बेइजिङतर्फ ढल्किएको छ । चीनले पनि सस्तो रूसी तेल–ग्यास आयात र भू–राजनीतिक गठबन्धनलाई आफ्नो फाइदामा प्रयोग गरेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ’पुरानो साथी’ भन्दै स्वागत गरेका छन् । संयुक्त राज्य अमेरिकाका तर्फबाट आउने समान र केही भिन्न चुनौतीहरूको सामना गरिरहेका बेला यी दुई नेताबीच बेइजिङमा श्रृंखलाबद्ध भेटवार्ता शुरू भएको हो ।
गत केही वर्षयता चीन र रुसबीचको सम्बन्ध तीव्र गतिमा गहिरिएको छ । विशेषगरी, २०२२ को शुरूआतमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै मुलुकबीचको राजनीतिक र कूटनीतिक निकटता झनै बढेको हो ।
पुटिनले सीलाई ’प्रिय साथी’ भनेर सम्बोधन गरे र मस्को–बेइजिङ सम्बन्ध ’अभूतपूर्व उचाइमा पुगेको’ बताए । औपचारिक वार्तापछि शीर्ष सहयोगीहरू समेत सहभागी हुने गरी उनीहरूले चियापानमा अर्को बैठक गर्ने तय भएको छ ।
यो वार्ता, दुवै नेताले नजिकैको चिनियाँ शहर तिआनजिनमा सम्पन्न शाङ्घाई सहकार्य संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएको भोलिपल्ट र बेइजिङमा दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको भव्य सैन्य परेडको अघिल्लो भएको हो ।
इतिहासका पृष्ठमा हेर्दा, एसियामा युद्ध चलिरहेका बेला सोभियत संघ लामो समयसम्म तटस्थ रह्यो । तर, १९३० को दशकमा जापानी आक्रमणकारीविरुद्ध चीनलाई सहयोग गरेको थियो ।
दोस्रो विश्वयुद्धको अन्तिमतिर सोभियत संघले जापानमाथि युद्ध घोषणा गर्दै जापानी कब्जामा रहेको चीनको उत्तर–पूर्वी क्षेत्रमा सेना पठाएको थियो । युक्रेन युद्धबारे चीनले आफू तटस्थ रहेको बताउँदै आएको छ । तर, पश्चिमी प्रतिबन्धका बावजुद रुससँग व्यापार जारी राखेर आर्थिक जीवनरेखा दिएको आरोप पनि उसमाथि छ ।
यी परिप्रेक्ष्यमा पुटिन, सी र मोदीबीच भेटवार्ताले ठूलो अर्थ राख्ने भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकाको प्रतिक्रिया
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस र चीनका नेताहरूसँग नजिक भएकाप्रति आपत्ति जनाएका छन् ।
नभारोले भनेका छन्, ‘‘मोदी (चीनका राष्ट्रपति) सी चिनफिङ र (रुसका राष्ट्रपति) भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ । हामीलाई थाहा छैन मोदी के सोचिरहेका छन्, हामीलाई आशा छ–उनले आफू रुसको सट्टा हामीसँग हुनुपर्छ भनेर मनन गर्नेछन् ।’
यसअघि सोमबार नभारोले रुसबाट सस्तोमा तेल किनेर भारतका केवल ब्राह्मणहरूले नाफा कमाइरहेको र यसको मूल्य भने सिंगो देशले चुकाउनुपरिरहेको टिप्पणी गरेका थिए ।
यसैबीच अमेरिका अर्थमन्त्री स्कट बेसेन्टले पनि भारतले रुसबाट कच्चा तेल किनेर उसलाई युक्रेनमा हमला गर्न बल दिइरहेको आरोप लगाएका छन् । उनले भारत ‘खराब खेलाडी’ भएको पनि टिप्पणी गरेका छन् । यद्यपि, उनले अमेरिका र भारत बलियो लोकतन्त्र भएकाले मतभेद समाधान गर्न सक्ने बताए ।
सम्मेलनमा अमेरिकाको आलोचना
एसीओको शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिन अरू देशको धम्कीपूर्ण व्यवहारको आलोचना गरेका थिए । उनले पश्चिमाहरूलाई चुनौती दिने अभिव्यक्ति दिएको बेलायती समाचारसंस्था द गार्डिएनले जनाएको छ ।
यस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धलाई पश्चिमाले उक्साएको दाबी गरेका थिए । रूसले गरेको आक्रमणका कारण नभइ बरु युक्रेनमा भएको ‘कू’ लाई पश्चिमाले समर्थन र उक्साएको कारण रूस युक्रेन युद्ध शुरू भएको उनको दाबी छ । उनले युक्रेनलाई नाटोमा तान्ने पश्चिमाको निरन्तरको प्रयास नै मुख्य समस्या भएको पनि बताए ।











