काठमाडौं । आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर र पाँचको अवस्था सामान्य रहेको धादिङ अस्पतालले जानकारी दिएको छ ।

भाग्न खोज्ने कैदीहरूलाई नेपाली सेनाले रोक्नका लागि गोली प्रहार गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनको मौका छोपी बुधवार नख्खु कारागारबाट निस्किएका थिए । त्यसपछि देशभरका कारागारका कैदीबन्दीले ‘रविलाई छाडेको पुलिसले आफूहरूलाई पनि छाड्नुपर्ने’ भन्दै जेल तोड्ने प्रयास गरिरहेका छन् ।
धादिङ कारागारका कैदीबन्दीले पनि रविको रिहाइलाई उदाहरण दिँदै जेल तोड्न खोजेका थिए । एकाबिहानै जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको थियो । कारागार परिसरभित्रै कैदीबन्दीले आगजनी गरेका थिए । कैदीबन्दी छुटाउने उद्देश्यले कारागार बाहिर पनि हुलहुज्जत भएको थियो ।














