एउटा व्यक्तिको दम्भ र अहंकारले देश क्षणभरमै खरानी भयो । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवाको मागका साथै, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै गत सोमबार हजारौँ विद्यार्थी स्कुल, कलेजको ड्रेसमै आन्दोलनमा उत्रिए ।
शान्तिपूर्ण रूपमा आफ्ना मागलाई लिएर सडकमा उत्रिएका युवा–विद्यार्थीहरूमाथि सरकारले बर्बर दमन गर्नुका साथै, स्कुले विद्यार्थीहरूलाई जथाभाबी गोली प्रहार गरे । नयाँबानेश्वरमा गोली प्रहारबाट तत्कालै १९ जना (हालसम्म ७२ जना) स्कुले विद्यार्थीहरूको ज्यान गयो भने, सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू घाइते भए ।

यति हुँदासम्म पनि प्रधानमन्त्री केपी शर्मा ओली सिंहासनमै विराजमान थिए । उनका लागि स्कुले विद्यार्थी मारिनु र सयौँ आन्दोलनकारी घाइते हुनु सामान्यजस्तै थियो । त्यत्रो सङ्ख्यामा विद्यार्थी मारिदा पनि उनीहरूको माग सम्बोधन नगरी प्रधानमन्त्रीले त्यही दिन बेलुका सर्वदलीय बैठक बोलाएका थिए । उनको मनस्थिति आन्दोलन दबाएरै छाड्नेमा थियो । मृतक विद्यार्थी र घाइतेहरूलाई एम्बुलेन्समार्फत धमाधम अस्पताल पु¥याइँदै थियो । सडकमा आन्दोलनकारी उग्र बन्दै थियो । प्रधानमन्त्री ओली भने बालुवाटारमा निरोजस्तै बाँसुरीको धुनमा रमाइरहेका थिए ।
कतिसम्म भने सोमबारको मन्त्रिपरिषद्को बैठकमा नेपाली कांग्रेसका मन्त्रीहरूले सामाजिक सञ्जाल खोल्न अनुरोध गर्दासमेत प्रधानमन्त्री ओलीले अटेर गरेका थिए । सामाजिक सञ्जालमाथिको प्रतिबन्धले करोडौँ नेपाली नागरिकलाई ‘विद्रोही’ बनाइरहेको थियो । आजका युवा सामाजिक सञ्जालविना एक मिनेट पनि ‘बाँच्न’ सक्दैनन् भन्ने कुरा सरकारले हेक्का नराख्दा यो स्थिति आइलाग्यो ।
ओलीको दिमागमा जेन–जी भनेका अल्लारे विद्यार्थी हुन्, तिनीहरूको आन्दोलनले केही लछारपाटो लगाउँदैनन्, एकै क्षण कराउँछन्, घाँटी सुकेपछि घर फर्कन्छन् भन्ने लागेको थियो । जब त्यो दिन आन्दोलनले उग्ररुप लियो र संसद् भवनको गेट फोडेर आन्दोलनकारी संसद् भवनभित्र पस्न खोजे । त्यतिबेला प्रधानमन्त्रीलाई आन्दोलनमा घुसपैठ भएको सूचना प्राप्त भयो र त्यही सूचनाको आधारमा उनले गृहमन्त्री रमेश लेखकलाई स्थिति नियन्त्रण गर्न आदेश दिए । उनको आदेशपछि प्रहरी ‘बौलाए’ र स्कुले विद्यार्थीमाथि जथाभाबी गोली प्रहार गरे ।
यो लोकतान्त्रिक भनिने सरकारले गरेको जघन्य अपराध थियो । यस घटनालाई कुनै पनि अर्थमा क्षम्य मान्न सकिन्न । भीड नियन्त्रण गर्ने अनेकौँ उपाय छाडेर प्रहरीले एकैपटक टाउकोमा ताकीताकी गोली हान्नु राज्य आतंक हो । राज्यद्वारा सिर्जित नरसंहार हो । यस घटनाले सिंगो देशलाई आन्दोलित बनायो र त्यसैको प्रतिक्रियास्वरुप मंगलबारदेखि देशव्यापी आन्दोलन चर्कियो । हेर्दाहेर्दै बंगलादेश, श्रीलंकाको अवस्थामा देश पुग्यो ।
यति भइसकेपछि मात्रै मंगलबार राजीनामा दिएर प्रधानमन्त्री राष्ट्रपतिसँगै शिवपुरी सैनिक ब्यारेकमा शरण लिन बाध्य भए । अर्थात् आफ्नै अहंकारले सत्ता छाडेर सेनाको हेलिकप्टरमा भाग्न बाध्य भए । सैनिक ब्यारेकमा पनि ओली गम्भीर छैनन् भन्ने कुरा उनको हस्ताक्षरसहित नानीबाबुको नाममा सार्वजनिक भएको एउटा विज्ञप्तिबाट स्पष्ट हुन्छ ।
माइतीघर मण्डलाबाट विद्यार्थीहरूको कलिलो हातले हतियार भिरेका प्रहरीहरूलाई फूलको गुच्छा दिएर हाँसाहाँसी सुरु भएको आन्दोलनको माग त्यही दिनमै पूरा गरेको भए राष्ट्रले यति ठूलो नोक्सानी व्यहोर्नुपर्ने थिएन । सामाजिक सञ्जाल सुचारु गर्ने माग लिएर ‘जेन–जी’सडकमा आउँदै छ भन्ने सूचना प्रधानमन्त्रीले समयमै नपाएको पनि होइन ।
जब हजारौँ विद्यार्थी सडकमा ओर्लिए तब विद्यार्थीहरूसँग तत्कालै वार्ताद्वारा समस्या समाधान गर्ने पहल पनि सरकारले गर्न आवश्यक ठानेन । सरकारलाई लाग्यो होला, यी केटाकेटीसँग किन वार्ता गर्ने ? यिनले भनेर किन सामाजिक सञ्जाल खोल्ने ? यही घमन्डले नेपालको इतिहासमा यति ठूलो जनधनको क्षति भयो ।
कुनै पनि घटना एकै रातमा घट्दैन र घटना घट्नु पछाडिका कारणहरू हुन्छन् । त्यसको विश्लेषण नगरी निष्कर्षमा पुग्न सकिन्न । बंगलादेश र श्रीलंकाको दुर्घटनापछि त्यो स्थिति नेपालमा पनि आउन सक्छ भनेर दृष्टि साप्ताहिकले एक वर्षदेखि मुख्य समाचार बनाएर छाप्दै आएको थियो । त्यसको कारण आम नागरिकमा चुलिएको विद्रोह भावनै हो ।
सडकमा शिक्षक आन्दोलन चर्किएको थियो । किसानहरू पनि सडक आन्दोलनमै थिए । लाखौँ सहकारी पीडितले दिनहुँ रत्नपार्कमा आन्दोलन गर्दै थिए । राजावादीहरू पनि सडक प्रदर्शनमा उत्रिएका थिए । यस पृष्ठभूमिका ‘जेन–जी’को एक घण्टे आन्दोलन निर्णायक बन्यो ।
भ्रष्टाचारको कुरै छोडौँ, देशमा को भ्रष्टाचारी हो भन्दा पनि को भ्रष्टाचारी होइन भन्ने अवस्था सृजना भएको थियो । सुशासनको गजेडी गफ गरेर नथाक्ने यिनै प्रधानमन्त्री ओली ठूलाठूला नीतिगत भ्रष्टाचारमा मुछिएका थिए । रातिराति बिचौलियाहरूले आफ्नो फाइल लिएर उनको बेडरुमसम्म पुग्थे ।
कमिशन लाखमा होइन, करोडमा होइन, अर्बमा मोलतोल हुन्थ्यो । त्यसैको आधारमा सरकारले नीतिगत निर्णय गरेका एउटा होइन, दर्जनौं उदाहरण प्रमाणका रूपमा साक्षी छ । अब ती फाइलहरू खोल्नुपर्छ र भ्रष्ट शासकहरूमाथि कारबाही अगाडि बढाउनुपर्छ ।
जब शासन सत्तामा बस्नेहरू लोकतन्त्रको आडमा नीतिगत भ्रष्टाचारमा रमाउन थाल्छन् तब देश ओह्रालो बाटोमा लाग्न थाल्छ । भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाउनेहरूलाई सत्ता प्यारो लाग्छ । सबै कुरा पैसा नै पैसा देख्न थाल्छ ।
प्रधानमन्त्री भइसकेपछि ओलीमा यो रोग स¥यो र नमरुन्जेलसम्म सत्तामा बस्ने लिप्सा जाग्यो । त्यसपछि उनले नागरिकलाई रैती देख्न थाले । उनको हरेक बोलीमा हेपाहा प्रवृत्ति देखिन थाल्यो । मैले जे गरे पनि हुन्छ, जे बोले पनि हुन्छ भन्ने भावनाले उनी अगाडि बढ्दा देशैभरि आम नागरिकमा विद्रोही भावना उत्पन्न भयो ।
अरू त अरू आफ्नै पार्टीभित्र पनि उनको विरुद्ध बोल्ने आँट कसैले गर्न सकेनन् । उनीबिना लगामको घोडा बने । आफैँले बनाएको विधान संशोधन गरेर आर्यघाट नपुग्दासम्म एमालेको अध्यक्ष र प्रधानमन्त्री बन्ने दुःस्वप्न देख्न थाले । त्यो के का लागि भने सत्तामा बसेर लुट्नका लागि मात्र थियो । नभए चार पटक प्रधानमन्त्री बनेका ओलीलाई सत्ताको प्यासले सताउने थिएन । आखिर परिणाम इतिहासमै नालायक भएर पदच्युत हुनुप¥यो ।
नेपाली नागरिकको संघर्ष र बलिदानीबाट पटकपटक राजनीतिक परिवर्तन भयो । ०४६ सालको जनआन्दोलनदेखि ०६२÷६३ सालको जनआन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन ल्यायो । गणतन्त्र स्थापना भयो । तर पनि नेता भ्रष्ट भएका कारण देश समृद्धिको बाटोमा हिँड्न सकेन । जसले जति लुटे पनि हुने देश बन्यो ।
भविष्यको आशा बोकेका लाखौँ युवा बिदेसिन बाध्य भए । देशमै केही गर्छु भन्ने आशा बोकेका युवाहरू पनि बेरोजगार बने । जति पढे पनि पहुँच हुनेले अवसर पाउने, पहुँच नहुनेका छोराछोरी जीवनभर निराश भएर बाँच्नुपर्ने अवस्था सृजना भयो । जसका कारण ‘जेन–जी’ जन्मियो । अब यही पुस्ता हो देश हाँक्ने । अन्ततः यही पुस्ताको एकदिने आन्दोलनले दुई तिहाइको ‘माकफुइँ’ झार्ने सरकार ढल्यो ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी सबैभन्दा बढी शासन गर्ने राजनीतिक पार्टी हुन् ।
यी पार्टीहरूलाई ३५ वर्षदेखि नेपाली नागरिकले साथ दिँदै आएका थिए । एउटा मौका थियो २०७४ सालमा । त्यतिबेला नेकपा एमाले र माओवादी पार्टी एकता गर्ने भनेर चुनावमा होमिए । स्थिर सरकार बिना विकास सम्भव छैन भन्ने कुरा बुझेर आममतदाताले एमाले–माओवादी गठबन्धनलाई दुई तिहाइ मत दिए । आखिर ओलीको दम्भले त्यो दुई तिहाइको सरकार पनि ढल्यो । ०७७ साल पुस ५ गते प्रधानमन्त्री ओलीले संविधानविपरीत दुई दुईपटक संसद् विघटन गरे । त्यहीबाट सुरु भएको राजनीतिक विग्रह जेन–जी आन्दोलनसम्म आइपुग्यो ।
यदि, ०७४ सालमा दुई तिहाइ मत ल्याएको एमाले–माओवादी गठबन्धन सरकार पाँचै वर्ष टिकेको भए देशमा धेरै कुरा गर्न सकिन्थ्यो । तर दुर्भाग्य, ओलीको हठ र तानाशाही प्रवृत्तिले दश वर्षमा देश भताभुंग बन्यो । त्यसैको जवाफ हो ‘जेन–जी’ आन्दोलन ।
यो ‘जेन–जी’ सुरु नभएको भए देश थप बरबाद हुने थियो । आलोपालो सत्ता चलाउने बहानामा देश लुटिने थियो । ‘वेटिङ’ प्रधानमन्त्री शेरबहादुर देउवाले कति लुटेका रहेछन् भन्ने कुरा उनको घरमा आगो लाग्दा जलेको करोडौँ नोटको विटा साक्षी छ । त्यो उनले भ्रष्टाचार गरेर आर्जन गरेको रकम हो ।
०४६ साल अगाडिसम्म डेरामा बस्ने उनीसँग त्यत्रो अकुत सम्पत्ति कहाँबाट आयो ? अब त्यसको पनि छानबिन हुनुपर्छ । प्रधानमन्त्री, मन्त्री र सांसदहरूलाई जनताले सेवा गर्न पठाएका हुन्, देश लुट्न होइन भन्ने कुरा बुझ्न यी नेताहरूलाई जति ढिलो गर्छन्, त्यति नै चाँडो यिनीहरूको पतन निम्तिन्छ । समय बलवान हुन्छ भन्ने कुरा ‘जेन–जी’को शान्तिपूर्ण आन्दोलनले देखाइदियो. । नत्र समय केही होइन, म नै समय हुँ, म नै राज्य हुँ भन्ने सोचले देशलाई कंगाल बनाएर छाड्थ्यो ।
यस्ता मूर्ख शासकहरूको पतन यसैगरी निम्तिन्छ भन्ने कुरा बंगलादेश र श्रीलंकाको घटना हाम्रो आँखा अगाडि ताजै छ । तर, यिनीहरूले त्यो घटना बिर्सिदा आज जनताको लात खानु प¥यो । भ्रष्टचार गरेर घरमा थुपारिएको करोडौँ रुपैयाँ आगोले जलेर नष्ट भयो । घर पूर्णरुपले क्षति भयो ।
पाप धुरीबाट कराउँछ भन्थे बुढापाकाहरू आखिर त्यो सत्य प्रमाणित भयो । यो दिन पनि आउँछ भन्ने कुरा यिनीहरूलाई थाहा नभएको पक्कै होइन, थाहा हुँदाहुँदै पनि अति गरेपछि जनताले सहन नसकेर यिनको घर जलाउनु परेको हो । सडकमा ल्याएर रामधुलाई गर्नु परेको हो । अब त चेत्लान् नि !











