Logo
Logo

आखिर भेट्नु नै थियो भने छुट्टिएको किन ?


1.8k
Shares

नेपालमा कम्युनिष्ट नामका अनेकौ पार्टी छन् । यी पार्टी शव्दजालमा अनेक फरक देखिए पनि खासमा फरक भनेको तिनीहरूका नेता अनि नाममा जोडिने पुच्छर र कोष्टक मात्र हो । यिनीहरू कहिले जोडिन्छन् त कहिले फोडिन्छन् । अझ कहिलेकाहीँ त जोसँग सत्तोसराप गरेर फोडिन्छन्, केही समयपछि उसैको देवत्करण गरेर जोडिरहेका पनि हुन्छन् । एक किसिमको बाह्रमासे तमासाजस्तै चलिरहन्छ यो क्रम । तर, यिनीहरू किन जोडिन्छन् र किन फोडिन्छन् ? त्यसको न आवश्यकता हुन्छ न औचित्य ।

तोडफोडको यो बाह्रमासे तमासा नेताहरूको तुष्टिकरण र उनीहरूको पद व्यवस्थापनकै लागि हो । कम्युनिष्ट पार्टीहरू फोडिने र जोडिने क्रम हेर्यो भने यो भन्दा भिन्न निष्कर्षमा पुग्न सकिन्न ।

यतिबेला फेरि एकपटक त्यही तमासाको मौसम सुरु भएको छ । २०७४ मा एकीकृत नेकपा भएर छुट्टिएको नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अनि नेकपा माओवादीबाट एक हैन, अनेकपटक छुट्टिएकाहरू फेरि एकपटक एउटै हुने भएका छन् ।

यसपटकको जोडिने खेलमा खेलाडी संख्या आठ पुगेको छ। आठमा पनि माओवादी आठपोल जतिको होला, नेकपा (एकीकृत समाजवादी) बोडीजतिको । बाँकी त लगभग छटाकवाला नै हुन् । अझ, त्यसमा पनि कुनै पनि पार्टीको पूरै अंश यो जोडिने खेलमा सहभागी होला जस्तो छैन । केही छटाक बाहिरिने र केही छटाक लगभग बिसौलीको कम्युनिष्ट दल, एमालेको ढोक्सातिर जाने छाँट देखिन्छ । यसका लागि ओलीले ढोक्सा पनि थापिसकेका छन्।

नेपालमा वामपन्थी ध्रुवीकरण कम्युनिष्ट ब्राण्डको आत्मरक्षाको लागि त आवश्यक छ नै, देशमा चाहिनेभन्दा बढी भएका दलहरूको बन्ध्याकरण गरी वैचारिक आधारमा दुईदलीय ध्रुवीकरणमा लैजान पनि अपरिहार्य छ । तर, नेपाली कम्युनिष्टहरूको मूलधार बनेको नेकपा एमाले वामपन्थी ध्रुवीकरणमा नआएसम्म भ्यागुत्ताको धार्नी पुग्नेवाला छैन । अनि यो पनि सत्य हो कि ओली बाँचुन्जेल त्यो सम्भव देखिँदैन । त्यसैले कम्युनिष्ट नाममा जतिसुकै भुरेटाकुरे पार्टीहरू जोडिए पनि त्यसबाट वामपन्थी ध्रुवीकरणले मूर्तरूप पाउँदैन । अधिकतम हुने भनेको वामपन्थी मतको ठाडो विभाजन हो जसले कांग्रेस वा अन्य प्रतिस्पर्धी दललाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज बन्छ ।

सामान्यतः नेपालमा वामपन्थी दलहरू जोडिएको वा तोडिएको खासै समाचार पनि बन्दैन । न जनताले किन मिले वा किन छुट्टिए भनेर चासो नै राख्छन् । यदाकदा त्यस्तो हुन्छ जतिबेला ठूला ठूला कम्युनिष्ट घटकहरू जोडिने वा तोडिने क्रमबाट गुज्रन्छन् ।

अहिले वाम एकीकरणमा सहभागी नेकपा माओवादी केन्द्र विघटित संसदको तेस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी दल पनि हो । नेपाललाई गणतन्त्र बनाउन अहम् भूमिका निर्वाह गरेको माओवादी जनयुद्धको नेतृत्वकारी दल भएकाले यो अझै असान्दर्भिक भैसकेको छैन । अझै पनि यसको नेतृत्व तत्कालीन जनयुद्धका सुप्रिमो प्रचण्डले नै गरिरहेका छन् ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) गत संसदीय निर्वाचनमा राष्ट्रिय दल बन्न नसके पनि संसदमा महत्त्वपूर्ण उपस्थिति रहेको दल हो । नेकपा एमालेका दुई पूर्वमहासचिव रहेको यो दलमा नेपालका दुई पूर्वप्रधानमन्त्री पनि छन् । त्यसैले पनि यो दल पूरै अर्थहीन भइसक्यो भनिहाल्नु हुँदैन ।

तर, अब यी दुवै दलहरू नरहने भए । दल मात्र हैन, दुवै दलले अंगिकार गर्दै आएका राजनीतिक मूल्य, मान्यताहरूमा पनि ठूलो परिवर्तन पनि हुने भयो । अझ, माओवादी त माओवाद नै छोड्न तयार भयो । यसअघि नै प्रचण्डपथ छोडेर भुत्ते भैसकेको प्रचण्डको माओवादी पार्टी अब माओवादको ब्राण्ड पनि छोडेपछि लगभग डा. बाबुराम भट्टराईकै नयाँ शक्ति पार्टी भएकै ठाउँतिर पुग्यो भने पनि हुन्छ । जगजाहेर नै छ कि कुनै समय माओवादीकै दोस्रो वरियताका नेता डा. भट्टराईले माओवादको मात्र हैन, नेपालमा कम्युनिष्टकै अर्थ र उपादेयता सकियो भनेर नयाँ शक्ति अभियान सुरु गरेका थिए ।

पछिल्लो वाम ध्रुवीकरणको समय जेनजी आन्दोलनको लगत्तै जुरेको छ । यो आन्दोलन कुशासन र भ्रष्टाचारलाई संस्थागत गर्ने खासगरी तीन ठूला दलका सुप्रिमोविरूद्ध थियो । ती तीनमध्ये एक माओवादी अध्यक्ष प्रचण्ड थिए । लामो समय एमालेको नेतृत्व गरेर प्रधानमन्त्री भैसकेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि अवकाश लिनुपर्ने नेताको सूचीमा परेका थिए । यद्यपि, विगत १० वर्षमा सत्तामा नरहेकाले उनीहरूविरूद्धको आक्रोश ओली, देउवा र प्रचण्डकै हाराहारीमा थिएन ।

विगत चार दशकभन्दा बढी समयदेखि विभिन्न नामको माओवादी पार्टीको बागडोर सम्हालिरहेका प्रचण्ड बाँचुन्जेल त्यो बागडोर छोड्नेवाला छैनन् । छोड्ने भएको भए माओवादी न यति टुक्राटुक्रा हुन्थ्यो न यति कमजोर । जेनजी आन्दोलनपछि पनि उनी छोड्नेवाला भएनन् । त्यसैले अहिले उनी अनेक टाला बटुलेर टालटुले समाधानमा लागेका छन् ।

यसअघि केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समितिको संयोजक बनेका थिए उनी । त्यो पनि पर्याप्त नभएपछि अब अरू कम्युनिष्ट घटकका सानातिना सटर बन्द गराएर त्यही ब्राण्डको ठूलो सटर बनाउन लागेका छन् ।

प्रश्न कतिवटा कम्युनिष्ट सटर बन्द गराएर ठूलो सटर बनाउने भन्ने हैन, तिनीहरूका बूढा र असान्दर्भिक साहु बदल्ने भन्ने हो । त्यो सूचीमा परेका एक महासाहू हुन् प्रचण्ड । त्यस्तै अलि साना सह–साहू हुन् माधव र झलनाथ । अर्को कित्ताका महासाहू ओलीको त झन कुरै भएन । तर, अहिले यो कित्ताका प्रचण्ड र माधव समस्याको समाधान हैन, समस्यालाई विषयान्तर गर्ने प्रयास गरिरहेका छन् । यो भनेको ‘टाउको दुखेको दबाई नाइटो मुनि लाई’ भनेजस्तै हो । फोहोर उनीहरूको अनुहारमा छ, अनुहारमा फोहोर देखायो भनेर ऐना लुटाइरहेका छन् । यो समस्याको समाधान हैन ।

अहिलेको एकीकरण प्रक्रियामा गएका प्रचण्ड र माधव नेपाल मात्र हैन, यो प्रक्रियामा जोडिन नचाहेका झलनाथ खनाललगायतका अधिकांश नेता पनि २०७४ पछि केही समय एमाले र माओवादी एकीकरण भएर बनेको नेकपामै थिए । यो वा त्यो नाममा ओलीले चाँदे लगाएपछि प्रचण्ड माओवादीमा फर्केका थिए भने माधव–झलनाथ नेकपा एस खोल्न बाध्य भएका थिए । अब माधव प्रचण्डसँग विलय हुने भएका छन् भने झलनाथ सीपी मैनाली हुने बाटोतिर लागेको देखिन्छ ।

अब यहीनेर यी शीर्ष नेताहरूसामु एक हैन, अनेक प्रश्नहरू फालिम लागेका छन् । तीमध्येको चुरो प्रश्न हो, आखिर यही गर्नु थियो भने तत्कालीन नेकपा र एमालेबाट चाँदे लगाइएका प्रचण्ड, माधव र झलनाथ किन एक ठाउँमा उभिएर त्यही नेकपामै कुनै पुच्छर जोडेर अगाडि बढ्न सकेनन् ?

अझ, माधव नेपालसामु त त्योभन्दा पनि संगीन प्रश्न तेर्सिएको छ । त्यो भनेको आखिर नाम जे दिए पनि प्रचण्डको माओवादीसँगै विलय हुनु थियो भने नेकपा एकीकृत समाजवादी गठन गर्नुको औचित्य के रह्यो ? सारा, पार्टीका नेता कार्यकर्तालाई चिल्लीबिल्ली बनाएर अन्ततः अर्कै गोठमा जानु थियो भने पार्टी कोरल्नुपर्ने कारण के थियो ?

यी पेचिला प्रश्नहरूको उत्तर अब उनीहरूसँग हुने छैनन् । किनकि, उनीहरू आफैँ कम्युनिष्ट रहेनन् । कम्युनिष्ट रहनका लागि आवश्यक हुन्छ, कम्युनिष्ट आचरण र चरित्र । अहिले उनीहरूसँग त्यो आचरण र चरित्र तिलको दाना जतिको पनि छैन । नीति त अब उनीहरूको कैदमा छ । उनीहरू जे भन्छन्, त्यही नीति हो ।

यस्तो अवस्थामा हुने भनेको अन्ततः कम्युनिष्ट पार्टीको पतन नै हो । त्यसको कारण खोज्न अन्त कतै जानै पर्दैन, उनीहरू आफैँ हुन् । संसारको दृष्टान्त हेर्दा पनि कम्युनिज्म कम्युनिष्टहरूकै गैरकम्युनिष्ट चरित्रले सकिएको छ । नेपालका कम्युनिष्टहरू पनि अहिले त्यही चरित्र स्खलनको लिगलिगे प्रतिस्पर्धामा छन् । जसले गर्दा उनीहरू त सकिन्छन् नै, नेपालबाट कम्युनिज्म पनि सकिनेछ । केही समय लाग्थ्यो होला, ओलीले त्यसमा उल्काको गियर लगाइदिए ।

नेपालमा कम्युनिज्मको यो हबिगत हुन केपी ओलीको अहम् योगदान छ । २०७४ मा नेकपा एमाले र माओवादीको एकीकरण भएपछि बनेको नेकपाका लागि ओली नेताबाट राजनेता भएको भए आज न नेपालका कम्युनिस्टहरूको यो हविगत हुन्थ्यो न देशकै अवस्था यस्तो हुन्थ्यो । न रवि लामिछाने र रास्वपाको उदय हुन्थ्यो, न स्वतन्त्र नामका बालेन, हर्क र गोपी हमालहरू । न नागरिक उन्मुक्ति पार्टी न जनमत पार्टी । यी सबै ओलीले नेकपा तुहाएपछि आइलागेका सहउत्पादनहरू हुन् । अझ, पछिल्लो समयमा भएको जेनजी आन्दोलन र त्यसमा भएको अथाह जनधनको क्षतिको मूल कारण पनि ओली नै हुन् ।

प्रचण्ड र माधव जोडिएको यतिबेला ओलीले त्यतिबेला प्रचण्ड र माधवमाथि गरेको अत्याचारलाई बिर्सन त सकिँदैन तर त्यति मात्रै भनेर चाहिँ प्रचण्ड र माधवले उन्मुक्ति पाउँदैनन् । यदि उनीहरूमा पनि नेताको क्षमता भएको भए त्यो दुस्कर दुर्घटनाबाट पार्टीलाई बचाउन सक्नुपथ्र्यो । त्यो अपराधमा ओलीको ७५ प्रतिशत जति योगदान होला, बाँकी २५ प्रतिशत दोषको भागबाट उनीहरू पनि मुक्त हुन सक्दैनन् ।

यो एकीकरणबाट बन्ने कम्युनिष्ट पार्टीको पक्कै पनि पहिलेको भन्दा केही ठूलो सटर हुन्छ । त्यसले चिरा चिरा परेका कम्युनिष्टहरूलाई थोरै भए पनि एकीकृत गराउँन योगदान पनि पु¥याउँछ । ‘एक थुकी सुकी, सय थुकी नदी’ भनेजस्तै डुब्न लागेकालाई सिन्काको सहारा पनि मिल्न सक्छ ।

अर्कोतिर यसले ओलीको ‘ओमाले’लाई केही मात्रामा भए पनि धक्का दिन्छ । ओलीले अहिलेभन्दा पनि अति गरे भने एमाले पनि चोइटिएर अहिले बन्न लागेको कम्युनिष्ट पार्टीसँग एकीकरणमा गयो भने त्यो घटक नेपालका कम्युनिस्टहरूको मूलधार पनि हुन सक्छ । त्यसपछि ओलीको अहम्मा बज्रपात हुन सक्छ । अहिले नै पनि एमालेमा ओली र ओली इत्तर कित्ता प्रष्टैसँग देखिन्छ ।

जेनजी आन्दोलनको म्याण्डेट भनेको कम्तीमा पनि ओली, देउवा र प्रचण्डको राजनीतिक बिदाइ थियो । त्यसपछि नै सुरु हुन्थ्यो, सुशासन र भ्रष्टाचारको अन्त्य । तर, सरकार आन्दोलनको म्यान्डेटभन्दा पनि संविधानको धारामा अलमलियो ।

सरकारको यही कमजोरीमाथि खेल्दै आन्दोलनका बेला भागेकाहरूको प्रेत जागिसकेको छ । त्यसको नेतृत्व सुपारीटार भागेका भगौडा ओलीले लिएका छन् । अहिले उनी गुण्डुमा ‘गुण्डादल’ बनाएर सरकारलाई नै लल्कारिरहेका छन् । नानाभातीका षडयन्त्रका सिद्धान्तहरूमाथि मिडिया ट्रायल जारी छ । आन्दोलनको तारो बनेका ओलीको मात्र हैन, प्रचण्ड र देउवा पनि बौरिसके । उनीहरूले प्रालि बनाएका पार्टीहरूमा पनि प्रतिगमन भइसक्यो ।

देश पेचिलो अवस्थामा छ । कुनै पनि बेला केही हुन सक्छ । अन्तरिम सरकारकी प्रधानमन्त्रीले छोडिदिइन् भने के हुन्छ ? सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदियो भने के हुन्छ ? जेनजी र ओलीका मुसण्डहरूबीच मुठभेड भयो भने के हुन्छ ? फागुन २१ मा चुनाव भएन भने के हुन्छ ? यी प्रश्नहरूको सहज उत्तर कोहीसँग पनि छैन । अनुमानको खेती गर्न सकिएला, त्यो बेग्लै कुरा हो ।

यस्तो बेला ससाना नै सही, ८ वटा कम्युनिष्ट घटकबीच एकीकरण हुनुलाई सकारात्मक समाचार नै मान्नुपर्छ । यो जोडको मोडमा आइपुगेका प्रचण्ड र माधवलगायतका नेता कार्यकर्तालाई शुभकामना नै भन्नुपर्छ । केही नहुनुभन्दा केही त भएको छ । त्यो केही पनि वामपन्थको पक्षमा भएको छ ।

यस्तो बेला बहुमतले गरेको एकीकरणको पक्षमा जानु नै अल्पमतमा रहेकाहरूको हितमा हुन्छ । आखिर, त्यसमा नगएर ओलीकै गोठमा जाने हो भने त न हिजो छुट्टिएको औचित्य पुष्टि हुन्छ, न भविष्यमा ओली र उनका लठैतहरूको सौतेलो व्यवहारबाटै बच्न सकिन्छ । रह्यो, बाहिरै बस्नेहरूको कुरा, त्यो भनेको सीपी मैनाली पथ नै हो, समयक्रममा एउटा दन्त्यकथाको नायक बन्नेजस्तै ।

नेपालको राजनीतिक भविष्य वैचारिक धरातलमा दुई दलीय ध्रुवीकरणमै छ । त्यसका लागि पहिला कम्युनिष्ट घटकहरूको बन्ध्याकरण हुनुपर्छ । प्रचण्ड–माधवको पछिल्लो प्रयत्न पनि त्यसकै एउटा शिविर हो ।

यतिबेला म कुनैबेलाका माले महासचिव तथा एमाले अध्यक्ष झलनाथ खनालभन्दा पनि मेरो प्रिय मित्र घनश्याम भुसाललाई सम्झिरहेको छु । म उनको बाध्यता पनि बुझ्छु र दिक्दारी पनि । यति हुँदाहुँदै पनि म उनको सुखद् राजनीतिक भविष्यको कामना गर्छु ।

प्रतिक्रिया दिनुहोस्