माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका १० वाम दल मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ । दीर्घकालीन वैज्ञानिक समाजवादको लक्ष्यसहित वाम पार्टीहरूले एकता घोषणा गरेका हुन् । एकीकृत पार्टीले माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्त र नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई क्रान्तिको कार्यक्रम बनाएको छ ।

कम्युनिष्ट आन्दोलनमा विभाजन र विघटनको क्रम चलिरहेको बेला यो एकताले आशा जगाएको छ । छरिएर रहेका अन्य वाम घटकलाई समेत एकतामा ल्याउँदै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य र योजनाका साथ अघि बढ्नु आजको आवश्यकता हो । त्यसका लागि नेताहरूले विगतका गल्ती, कमजोरीप्रति क्षमायाचना गर्दै आगामी दिनमा नदोहो¥याउने प्रतिबद्धता जनाउनुपर्छ ।
२०७५ सालमा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरिएको थियो । त्यसअघि एमाले र माओवादीले २०७४ को निर्वाचनमा गठबन्धन गरेका थिए । जनताले त्यतिबेला दुई पार्टीलाई करिब दुईतिहाइ मत दिएका थिए । तर, त्यो एकता लामो समय टिक्न सकेन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुईतिहाइको संसद् असंवैधानिक रूपमा भंग गरेपछि २०७७ सालमा सर्वोच्च अदालतको आदेशमा नेकपा एकता भंग भएको थियो । सर्वोच्चले नाम अर्को पार्टीसँग मिलेको भन्दै नाम दर्ता गर्न आदेश दिए पनि ओली र प्रचण्डले एकताभन्दा विभाजन नै रोजे । नेकपामात्र विभाजन भएन एमाले पनि फुट्यो ।
माधवकुमार नेपाल, झलनाथ खनाललगायतले एकीकृत समाजवादी पार्टी गठन गरे । यो पार्टीसहित १० वाम घटक अहिले एकताबद्ध भएका हुन् । नयाँ परिस्थितिमा सबैले त्याग गर्दै कम्युनिस्ट एकता गरी व्यापक कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्छ ।
सबै उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्रको मुक्तिका लागि साझा धारणा बनाएर कम्युनिस्टहरू एकताबद्ध हुन आवश्यक छ । त्यसका साथै, कर्मचारीतन्त्रभित्र मौलाउँदै गएको बेथिति, भ्रष्टाचार, जनताको दैनिक कार्यमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न व्यापक नीतिगत परिवर्तन आवश्यक छ ।
विगतको कमजोरीका लागि जनतासँग आत्मालोचना गर्दै व्यापक रूपमा पार्टीको शुद्धीकरण गर्न जरुरी छ । अब दलाल, बिचौलिया हाबी हुने स्थितिको अन्त्य गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको जटिल भूराजनीतिक अवस्था, समय र विज्ञान प्रविधिको विकासको अवस्थासँग माक्र्सवादलाई आजको आवश्यकता हो ।
अबको नेपाली आन्दोलनको दीर्घकालीन रणनीति वैज्ञानिक समाजवाद हो । यो लक्ष्य हासिल गर्न अहिलेको संरचना र नेताहरूको कार्यशैलीबाट सम्भव छैन । सुशासन, सामाजिक न्याय र समृद्धिलाई तत्कालीन कार्यनीति बनाएर जानुपर्छ । कम्युनिष्ट पार्टी वर्गप्रति प्रतिबद्ध हुँदै उत्पीडित जाति र क्षेत्रप्रति इमानदार हुनुपर्छ ।
जेनजी विद्रोहपछि नेपाल नयाँ चरणमा प्रवेश छ । वामपन्थीहरूले यसको नेतृत्व गर्न सक्नेगरी जनतामा आशा र विश्वास दिन सक्नुपर्छ । समाजले कम्युनिष्ट पार्टी र नेतृत्वको कार्यशैलीमा आमूल परिवर्तनको माग गरेको छ । जेनजी आन्दोलनको भावना कदर गर्दै नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्न सक्नुपर्छ । त्यसले मात्रै नेपाली कम्युनिष्ट पार्टीलाई जनतासँग जोड्ने काम गर्छ । त्यसले मात्रै पार्टी एकताको औचित्य पुष्टि गर्न सक्छ । नेपाली कम्युनिष्ट पार्टी समयको आवश्यकता र जनताको माग सम्बोधन गर्दै अघि बढोस् ।











