Logo
Logo

एआई मान्छेको लागि खतरा कि वरदान ?


252
Shares

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले गीत–सङ्गीत बनाउन थालेको कुरा अब कुनै ‘साइन्स–फिक्सन’ रहेन । केही सेकेन्डमै पूरै गीत तयार पारिदिन्छ । केही समयअघि एआईले रचना गरेको नेपाली गीत ‘पहिलो माया, पहिलो बोली’ सामाजिक सञ्जालमा भाइरल भयो । र, धेरैले त्यसलाई मन पराए ।

गीतका शब्दहरू ठिकठिकै छन् । तर, कतैकतै अर्थहीन पनि लाग्छन् । तर, यसको मेलोडी भने अत्यन्तै श्रुतिमधुर छ । सङ्गीत यति ‘क्याच्ची’ छ कि एक पटक सुन्नासाथ जो-कसैलाई मन पर्न सक्छ । एआईपछि केही गायक–गायिकाले आफ्नै आवाजमा पनि यो गीत रेकर्ड गरे । म्युजिक भिडियो त कति बने कति !

यस्तै, केही समयअघि एआईले ‘ड्रेक’ र ‘द विकेन्ड’ को आवाज हुबहु सिर्जना ग¥यो । त्यो आवाज कलाकारकै नभएको कुरा धेरैलाई पत्यारै लागेन । ‘हार्ट ऑन स्लिभ’ नामको उक्त गीत निकै हिट भयो । यो गीत गायिका सेलेना गोमेज र अर्का पप स्टारको प्रेम सम्बन्धलाई लिएर बनाइएको छ ।

एआईले गीत सिर्जना गर्न थालेपछि सङ्गीतका पारम्परिक क्षेत्र गायक–गायिका, सङ्गीतकार र रेकर्डिङ स्टुडियोप्रति केहीले गहिरो चिन्ता व्यक्त गर्न थालेका छन् । प्रविधिको यो तीव्र उछालले कलाकारहरूको पेसागत अस्तित्वमा प्रश्न उठाइरहेको छ । कतिलाई त एआईले आफ्नो रोजिरोटी नै खोस्न सक्ने चिन्ता पनि हुन थालेको छ ।

सङ्गीत मानव अन्तरआत्माको सबैभन्दा संवेदनशील भाषा हो । दुःख, उल्लास, तड्प, विद्रोह, प्रेम, बिछोड र आत्मानुभूतिको निस्सिम तरङ्ग, जसलाई शब्दभन्दा बढी धुनले भित्रसम्म छुन्छ । तर अहिले, सङ्गीत सिर्जनाको यही पवित्र क्षेत्र एआईको प्रयोगले नयाँ मोड लिएको छ ।

एआईका एल्गोरिदमले गीत बनाउँछन् । शब्द छान्छ । ताल मिलाउँछ । धुन बुन्छ । तर यसको ‘आत्मा’ हुँदैन । मानिस दुखेर गीत लेख्छन् । प्रेममा परेर लेख्छन् । समाजसँग रिस उठेर विद्रोह पोख्छ । तर, एआईले भावनाको अनुकृति गर्छ, तर वास्तविक अनुभूति कहिल्यै गर्दैन । यही नै हो मूल प्रश्न-अनुभूति नगर्ने प्रविधिले अनुभूतिको कला सिर्जना गर्न पाउने कि नपाउने ?

हरेक नवीन प्रविधिजस्तै एआईले पनि सुविधा ल्याएको छ । गीत बनाउन घण्टौँ स्टुडियो धाउनुपर्दैन । सिक्न वर्षौँ लगाउनुपर्दैन । केही क्लिकमै गीत ‘प्रोड्युस’ हुन्छ । सामान्य प्रयोगकर्ताका लागि यो आकर्षक खुड्किलो हो । तर, कलाकारका लागि भने संकटको संकेत हो । कलाकारले वर्षौँको साधना, भाषा र भावनामा बिताएको जीवन, सङ्घर्ष, मौलिकता सबैलाई एआईले एकै सासमा ‘टेम्प्लेट’मा परिणत गरिदिएको छ । यसले हाम्रो साहित्य, संगीत र सिर्जनाशीलताको भविष्यलाई कसरी प्रभावित गर्दैछ भन्ने प्रश्न गम्भीर छ ।

एआईले तयार गरेको गीत प्रायः पुराना हजारौँ गीतको ‘डेटा’बाट लिइएको संरचनामा भरिन्छ । यसले मौलिकताको बहसलाई नयाँ दिशातिर लगेको छ । तर अरूका शैली, स्वर, लय, भाव सबैको मिश्रण गर्छ । सोझो अर्थमा एआई मौलिकताको ‘समाधि’मा टेक्दै उभिएको छ, तर कानुनी रूपमा त्यसलाई चोरी ठहराउनै नसकिने गम्भीर पाटो छ ।

गीत केवल धुन होइन, मानिसको मनसोच्छ्वास हो । मानिसले आफ्नो समाज, परिवेश, समय, पीडा, स्मृति र इतिहासलाई गीतमा बुनिरहेको हुन्छ । तर एआईले सिर्जित गीतमा यी कुनै पनि मानवीय तहहरू हुँदैनन् । चेत, बन्धन, प्यास, परिपक्वता र पहिचान सबैको अभाव हुन्छ ।

एआई गीतको सबैभन्दा ठूलो कमजोरी आत्माको अभाव हो । मानवले गीत लेख्दा त्यहाँ व्यक्तिगत पीडा, प्रेम, विद्रोह वा आश्चर्य हुन्छ जुन उसले आफैँ भोगेको हुन्छ । तर एआईले यी सब अनुभव गरेको हुँदैन । ऊ केवल लाखौं गीतहरूको ढाँचा पढेर नक्कल गर्छ । त्यसैले एआईको गीत प्रायः “एकदम राम्रो” लाग्छ, तर सुन्दा–सुन्दै “केही कुरा हराइरहेको जस्तो” लाग्छ । त्यो हराएको कुरा नै आत्मा हो ।

एआईले बनाएको गीत सुन्ने क्षणमा रोबोटिक सौन्दर्य त होला, तर मनको गहिराइ छुन सक्ने सम्पूर्ण संवेदना हुँदैन । एआईले गीत बनाएको वास्तविकता स्वीकार्नैपर्छ, तर गीतको आत्मा अझै पनि मानव हृदयमै सुरक्षित छ । र, त्यही मानवताको किलाबन्दी रक्षा गर्नु आजको सबैभन्दा ठूलो कलाअनुकूल जिम्मेवारी हो ।

एआई ‘सहायक’ बन्नुपर्छ, ‘प्रमुख’ होइन । मानवीय सर्जकको अधिकार कानुनी रूपमा सुरक्षित हुनुपर्छ । एआईलाई रोक्नु सम्भव छैन, तर त्यसलाई मानवीय कलाको सीमा भित्र राख्नु भने सम्भव र आवश्यक दुवै छ ।

यद्यपि, एआईसँग एउटा अद्भुत क्षमता छ जुन मानवसँग कहिल्यै हुन सक्दैन । ऊ एकैचोटि लाखौँ परम्परा, भाषा र शैलीलाई मिसाउन सक्छ । सेकेन्ड भरमै गीत तयार पार्न सक्छ । जब एआईले पहिले कहिल्यै नसुनिएको जस्तो धुन वा शब्द संयोजन गर्छ, त्यो मौलिक हो कि होइन ? यदि हो भने, मौलिकताको श्रेय कसलाई दिने ? प्रशिक्षण डेटामा रहेका लाखौँ अज्ञात कलाकारहरूलाई कि एल्गोरिदमलाई ?

जसरी फोटोशपले सामान्य फोटोग्राफरलाई चुनौती दियो, तर वास्तविक कलाकारलाई नयाँ औजार प्रदान ग¥यो, त्यसैगरी एआईले पनि औसत गीतकारलाई विस्थापित गर्न सक्छ । एआईले सङ्गीत क्षेत्रमा त्यही प्रभाव पार्दैछ, जुन प्रभाव “फोटोकपी मेसिन”ले पुस्तक छपाइ उद्योगमा पारेको थियो ।

जसरी टाइपराइटर युगका क्लर्कहरू हराउँदै गए, तर साहित्यकारहरू भने उस्तै टिके । ठ्याक्कै त्यसरी नै औसत कम्पोजर र स्टुडियो सङ्गीतकारहरू क्रमशः ओझेल पर्न सक्छन्, तर साँच्चिकै प्रतिभाशाली, भावनायुक्त र मौलिक कलाकारहरू अझ झन् चम्किनेछन् । यो परिवर्तन रोक्ने कुनै उपाय छैन । तर यसलाई आफ्नो पक्षमा मोड्ने बाटो भने अवश्य छ ।

तर जसले एआईलाई आफ्नो सहायक बनाउँछ, ऊ अझ शक्तिशाली बन्छ । भविष्यमा साँच्चै ठूलो कलाकार त्यो हुनेछ जसले एआईलाई “आफ्नो आवाज” सिकाउन सक्छ । एआई गीतकार होइन, ऊ एउटा अत्यन्त कुशल “मिरर” हो । जसले हामीलाई हामीले पहिले बनाएका सबै गीतहरूको उत्कृष्ट प्रतिबिम्ब देखाउँछ ।

जबसम्म मानवले दुःख, प्रेम र मृत्यु भोग्न छोड्दैन, तबसम्म साँचो गीत मानवबाटै आउनेछ । त्यसैले डराउनु पर्दैन, बरु नयाँ युगको सिर्जनाको यो संयुक्त रूपलाई स्वीकार गर्नुपर्छ । जसले एआईलाई सहयोगी बनाउँछ, ऊ बाँच्छ; जसले लड्छ, ऊ इतिहास बन्छ ।

प्रतिक्रिया दिनुहोस्