काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जेनजी विद्रोहलाई पुरै अस्वीकार गरेर अघि बढिरहेका छन् । अहंकारको आकार कति सुक्ष्म तर कति विराट हुन्छ भन्ने उदाहरणका लागि तत्कालिन प्रधानमन्त्री केपी ओलीले जेनजी विद्रोहलाई ललकार्दै दिएका विभिन्न अभिव्यक्तिहरुले प्रष्ट हुन्छ ।

विद्रोहअघिका वक्तव्य र गतिविधिमात्र होइन, ७६ जनाको ज्यान गएपछिका अभिव्यक्तिले त्यो अहंकार, दम्भ र घमण्ड प्रस्टै झल्किन्छ । कलिला विद्याथीहरुको रगतको आहालपछि संवैधानिक संरचनाको सुरक्षाका क्रममा अप्रिय स्थिति निम्तिएको भन्दै उनले जेनजी आन्दोलनकारीलाई चेतावनीको भाषा बोल्नु र मुलुकप्रति जिम्मेवार नबन्नु नै ओलीमा देखिएको अहंकारले मुलुक थप द्वन्दमा फस्ने निश्चित छ ।
देशको प्रमुख कार्यकारीको कुर्सीमा बसेर गोली कसले चलायो मलाई थाह भएन भन्दै पानी माथिको ओभानो बनेका ओलीले सार्वजनिक सञ्चार माध्यममा अन्र्तवार्ता दिदै पापकर्म धोइपखाली गर्न थालेका छन् ।
विद्रोहको अघिल्लो दिन प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई ‘ठगी खाने भाँडो’ र ‘कानुन त बुझेकै होला’ भन्दै धम्क्याएका थिए । उनले जेनजी पुस्ताको आन्दोलनलाई तुच्छ भाषामा उडाउँदै निकृष्टताको परिचयमात्र दिएका थिएनन्, सम्भावित परिणतिको चेतावनी पनि दिएका थिए जसले गर्दा भदौ २३मा आक्रोसको ज्वालामुखी नै विस्फोट भयो । ७६ जनाको हत्या, ऐतिहासिक धरोहरको विनास र संवैधानिक संकट निम्त्याउने जिम्मेवार पात्र ओलीले इतिहाँसको कठघरामा बसेर जवाफ दिनुपर्छ ।
ओली शासनकालमा भ्रष्टाचार र कुशासनका लागि नेपाल स्वर्णभूमि बनेको थियो । सूचकहरूले त्यो बोलेकै छन्। नयाँ पुस्ताले त्यो भोगिरहेकै छन । संसारले त्यो देखिरहेकै छ । सत्तासँग नयाँ पुस्ताको विरक्ति कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा पोखिँदा त्यसले हिजोसम्म ठूलो रूप लिने मौका पाएको थिएन ।
सामाजिक सञ्जाल जीवनशैली र आधारभूत आवश्यकता बनिसकेको थियो, सम्पर्कमा रहन, बोल्न र विरक्ति अभिव्यक्त गर्न जसले आक्रोशका आवाजहरूलाई रोकिरहेको थियो । तर नयाँ पुस्ताको हृदयलाई थोरैमात्र पनि बुझ्न नसकेको केपी ओली सरकारले उनीहरूको मुख बन्द गर्नेमात्र होइन, त्यसको औचित्य पनि पुष्टि गर्ने प्रयास गर्दै जाँदा विस्फोटको रूप लियो ।
त्यसपछि सरकारी निवासबाटै ओलीलाई हेलिकोप्टर चढेर भाग्ने अवस्थामा पुगेका ओलीले गल्ती महशुस गर्ने र जनतामाथि गोली दागेकोमा पश्चताप गर्ने कुनै पनि भाव देखिएन । पार्टीको भातृ संगठन युवा संघका नाममा जम्मा भएका केहीथान युवाहरुलाई सुरक्षा घेरामा राखेर विद्रोहको विरुद्ध आगो ओकलिरहेका छन् ।
मबाहेक संसारमा कोही पनि असल छैन, मभन्दा संसारमा कोही पनि जान्ने छैन भन्ने नार्सिसिस्ट सोच ओलीले नयाँ पुस्ताको विवेकलाई बन्धक बनाउन खोजिरहे । नार्सिसिस्ट त्यस्तो व्यक्ति हो जसमा आत्म–महत्वको अतिरंजित भावना, अत्यधिक ध्यान र प्रशंसाको गहिरो आवश्यकता र अरूप्रति सहानुभूतिको कमी हुन्छ । तिनीहरूसँग प्रायः समस्याग्रस्त सम्बन्धहरू हुन्छन् । तिनीहरू अरूको दृष्टिकोण र विषयवस्तुलाई हेर्न अस्वीकार गर्छन र आफूसँग विशेष र अद्वितीय छन् क्षमता छ भन्नेमा विश्वास गर्छन ओली पनि नेपाली सामाजका नार्सिसिष्ट हुन । उनमा कुनै मानवीय भाव र संवेदना छैन ।
सरल र स्पष्ट माग लिएर सडकमा उत्रिएका मायालाग्दा जेनजी पुस्ताहरूमाथि ततकालीन ओली सरकारले दागेको निर्मम गोली इतिहासको पानामा सबैभन्दा कलंकपूर्ण दिन हो । अब देश ओली र उनीजस्तै अहंकारीहरूको थप सिकार बनिरहनु हुँदैन भन्ने भावनाका साथ अघि बढे मात्रै निकास पाउनेछ ।
जतिबेला ओलीमा सत्ता र शक्तिको आकांक्षाले पुरै दम्भी बनेका छन् । जेनजी आन्दोलनपछि उनको हृदयमा केही पनि नयाँ ज्ञान उम्रन सक्दैन भन्ने प्रष्ट भैसकेको छ । उनको विभिन्न अभिव्यक्तिमा समानुभूति र विवेकको लागि हृदय शून्य रहेको प्रष्ट छ ।
‘जेनजी आ’न्दोलनमा जसरी आगो लगाइयो, यो राजनीति होइन । यो समाज परिवर्तनका लागिको आन्दोलन होइन, यो कसैले सिकाएर गरिएको एकदमै योजनाबद्ध, गुगल माप हेरिकन, खल्ती खल्तीमा म्याप बोकेर, हात हातमा हतियार र विस्फोटक चिज बोकेर हिँडेका मान्छेको योजनाबद्ध क्रियाकलाप हो । यो कुनै क्रान्ति होइन । विश्वमा यस्तो क्रान्ति कहीँ हुँदैन । यो उपद्रव हो,’ ओलीले यसरी नै ललकार्दै जान थालेकाछन् । यदि यसरी नै ललकार्ने हो भने ओलीको राजनीतिक अपराध कर्मलाई इतिहासले माफी दिदैन भने एमालेको राजनीतिक भविष्य समेत रसातलमा पुग्नेछ ।











