Logo
Logo
सम्पादकीय

ओलीको जित, एमालेको हार


882
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण मुलुक अहिले संक्रमणकालमा छ । एमालेमा तेस्रो कार्यकाल अध्यक्ष बनेपछि ओलीको अभिव्यक्ति सुन्दा थप मुठभेडको जोखिम बढेको छ । कांग्रेसको समर्थनमा ओली सरकारले भ्रष्टाचारीहरूलाई संरक्षण गरेपछि जेनजी युवाहरूले सुरुमा सामाजिक सञ्चारबाट विरोध गरेका थिए ।

युवाहरूको विरोध रोक्न तत्कालीन ओली सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल नै बन्द गरिदिए । सामाजिक सञ्जाल खुला गर्नुपर्ने, भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने माग गर्दै जेनजी युवाहरूले भदौ २३ गते शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए ।

जेनजी युवाका जायज माग सम्बोधन गर्नुको साटो सरकारले बर्बर दमन ग¥यो । ओलीकै कारण गत भदौ २३ र २४ गते देशमा ठुलो जनधनको क्षति भयो । ७४ जनाको ज्यान गयो भने, सिंहदरबार, संसद, सर्वोच्च अदालतदेखि व्यापारिक भवन र निजीमा समेत तोडफोड र आगजनी भयो ।

राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू लुकेर भाग्नुपर्ने स्थिति बन्यो । ओली स्वयंले पनि बालुवाटारबाट हेलिकप्टरमा भागेर ज्यान जोगाएका थिए । यस्तो परिस्थितिमा आयोजित नेकपा (एमाले)को ११औँ महाधिवेशनले जेनजी आन्दोलनको भावना सम्बोधन गर्नुको साटो जेनजी आन्दोलनमाथि बर्बर दमन गर्ने सत्ताच्युत प्रधानमन्त्री ओलीलाई नै तेस्रो पटक अध्यक्ष बनाएको छ ।

विधान नै संशोधन गरेर तेस्रो पटक अध्यक्ष बन्दै आजीवन अध्यक्ष बनिरहने ओलीको चाहनामा प्रतिनिधिले ब्रेक लगाउन सकेनन् । कार्यकर्तामा आधारित पार्टी एमाले अहिले नेताको हुकुममा चल्ने पार्टी बनेको छ । त्यही कारण जेनजी आन्दोलन र त्यसका मुद्दालाई एमालेले महत्त्व दिन आवश्यक ठानेन ।

जेनजी आन्दोलनलाई आत्मसात गरेर जानुपर्ने विचार राख्ने ईश्वर पोखरेल पक्षलाई महाधिवेशनमा सोतर पार्ने काम भयो । ओलीले गुण्डुबाट बाँडेका लिस्टबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन भए । पोखरेल पक्षले पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास गराउन खोजे पनि ओलीको षडयन्त्रको अघि उनीहरूको केही सिप लागेन । ओलीले प्राविधिक हिसाबले अध्यक्ष जिते पनि एमालेले वैचारिक निकास पाएको छैन ।

गिरीबन्धु टी–इस्टेट काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, यती–ओम्नी काण्डलगायतमा भएको भ्रष्टाचारलाई एमालेको महाधिवेशनले नजरअन्दाज गरे पनि नेपाली जनताले भुलेका छैनन् । जेनजी आन्दोलनले बदलिएको परिदृश्य अस्वीकार गर्नु ओलीको अराजनीतिक सोच हो ।

प्रधानमन्त्रीको रूपमा ओलीले गरेको गल्तीको भागिदार उनी स्वयं हुनुपर्ने थियो । कारबाही उनीमाथि हुनुपर्ने हो । तर, ओलीले सिङ्गो पार्टी पङ्क्तिलाई नै त्यसकै मतियार बनाइदिए र कारबाहीको भागिदार बनाउन खोज्दै छन् ।

यसले एमालेका प्रतिनिधिहरूको राजनीति चेतमाथि प्रश्न खडा गरिदिएको छ । एमालेले जनताको बहुदलीय जनवादलाई मार्ग निर्देशक सिद्धान्तको रूपमा मान्दै आएको छ । तर, व्यवहार भने निरङ्कुश व्यक्तिवादी छ । ओलीको आदेश नै एमालेको नीति बन्ने गरेको छ ।

इतिहास निर्दयी हुन्छ । त्यसैले ताली होइन, तथ्य लेख्छ । जब पार्टी नेता केन्द्रित हुन्छ, तब पतन सुरु हुन्छ । एमाले आज यही बाटोमा छ । ओलीले कलिला युवाको हत्यामा सामान्य पश्चात्तापसमेत गरेका छैनन् । भदौ २३ र २४ को हत्या र विध्वंसको जिम्मेवारी लिँदै नेतृत्व छाड्नुपर्नेमा ओली फेरि देशलाई मुठभेडमा लैजाने षडयन्त्रमा छन् । पार्टी भनेको सार्वजनिक सम्पत्ति हो । कुनै पनि पार्टीको भविष्य आमजनताको बुझाइमा निर्भर रहन्छ ।

अहिले आमजनता एकातिर र एमाले अर्कोतिर भएको स्थिति छ । जनताले गर्ने प्रश्नमा होइन, ओलीको आदेशमा एमाले चलेको छ । यसर्थ, एमाले इतिहासमै कमजोर बनेको छ । ओलीले अध्यक्षमा जिते पनि एमाले भने हारेको छ ।

प्रतिक्रिया दिनुहोस्