दार्चुला । नेपाल-चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए ।

२०२० मा कोभिड-१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार ठप्पजस्तै बनेको छ भने रोजगारीका अवसर खुम्चिँदा सीमावर्ती बस्तीका नागरिक राज्यबाट उपेक्षित भएको अनुभूति गर्न थालेका छन् ।
नेपाल-चीन हिमालयन मैत्री समाजका केन्द्रीय सदस्य तथा व्यास गाउँपालिका–१ का स्थानीय व्यापारी योगेश बोहराले तिङ्कर नाका नियमित नहुँदा व्यापार व्यवसायमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष आंशिक रूपमा नाका सञ्चालन भए पनि १०-१५ दिनमा एकपटक मात्रै खुल्दा नियमित रूपमा सामान ओसारपसार हुन सकेन । “धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण यो नाका नियमित सञ्चालनमा आउनु आवश्यक छ”, बोहराले भने ।
व्यापारी अमितसिंह तिङ्करी चार वर्षपछि मात्रै तिङ्कर पुगेर समान रेखदेख गर्न पाएको सुनाए । उनले भने, “यस वर्ष थोरै सामान ल्याउन पाइयो, चार वर्षको क्षति त्यस्तै भयो, अहिले पनि कम्तीमा यो नाका नियमित सञ्चालन भएको भए हामीहरुको जीविका चलाउन सहज हुने थियो ।”
व्यास-१ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार तिङ्कर क्षेत्र केवल व्यापारिक मार्ग मात्र नभई कैलाश मानसरोवर यात्रासँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर हो । तिङ्कर र छाङरु क्षेत्रका बासिन्दा परम्परागत रूपमा मानसरोवर क्षेत्रका धार्मिक कर्मकाण्ड र पूजाआजामा नियमित मानसरोवर जाने गर्थे ।
कैलाश मानसरोवर हिन्दूहरुको प्रमुख आस्थाको केन्द्र हो । विसं २०६० सम्म नेपालकै पैदलमार्ग भएर स्थानीय कैलाश मानसरोवर दर्शन गर्न जान्थे । तर, कोभिडपछि भने यो नाकाबाट स्थानीयले कैलाश मानसरोवरको जलसमेत ल्याउन पाएका छैनन् । धार्मिक कार्यमा प्रयोग हुने जल ल्याउनसमेत बन्देज लाग्दा पूजापाठमै समस्या हुने अवस्था आएको बताए ।
चीनको ताक्लाकोटमा दार्चुलाका व्यासी सौका समुदायले सञ्चालन गर्दै आएका तीन दर्जनभन्दा बढी पसलसमेत चार वर्षभन्दा बढी समय बन्द रहे । यस वर्ष मात्र पसल खोल्न पाएको व्यापारी तेम्बा लामाले जानकारी दिए । “हाम्रो मुख्य व्यापार नै ताक्लाकोटबाट सामान ल्याएर नेपाल र भारतका मेला महोत्सव तथा खलङ्गामा बिक्री गर्नु हो”, उाले भने, “नाका नियमित नखुल्दा हाम्रो रोजीरोटीमै समस्या आएको छ ।”
सरकारले अध्यागमन कार्यालय राख्ने कुरा अलपत्र परेको छ । भन्सार मात्रै भइदिएको भए यो नाका नियमित सञ्चालनमा सहज हुने उनीहरुको विश्वास छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकबाट तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको थियो । तिङ्करमा अध्यागमन कार्यालय नखुलेका कारण राज्यले सीमा क्षेत्रलाई ध्यान दिन नसकेको व्यासीको गुनासो छ ।
तिङ्कर नाका नियमित सञ्चालन नहुँदा उत्पन्न समस्याका विषयमा दार्चुलाका स्थानीय समुदायका प्रतिनिधिले काठमाडौँ पुगेर अघिल्लो सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा तिङ्कर नाका नियमित सञ्चालनको व्यवस्था गर्न तथा कैलाश मानसरोवर यात्रामा सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायसँग राजनीतिक र कूटनीतिक पहलका लागि आग्रह गरिएको थियो ।
उनीहरूले कालापानी क्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारबाट आवश्यक कूटनीतिक तथा नीतिगत निर्णयका लागि पहल हुने विश्वास व्यक्त गरेका छन् । साथै व्यास वडा नम्बर–१ र २ जोड्ने घोरेटो बाटो निर्माण गरी सञ्चालनमा ल्याइएको थियो । साढे पाँच करोड लागतमा करिब एक दशकदेखि बन्द रहेको दुम्लिङदेखि छाङरुसम्मको पैदल घोरेटो बाटो यस वर्ष पुनः सञ्चालन भएको हो ।
उक्त बाटो सञ्चालनमा ल्याउन तत्कालीन प्रधानमन्त्री ओलीले विशेष भूमिका खेलेको भन्दै वडाध्यक्ष बोहराले बताए ।












