Logo
Logo

झापा ५ मा ‘नायक’ र ‘खलनायक’ भिडन्त


2.2k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली संघीय संसदको निर्वाचनमा सहभागी हुन झापा पुगेका छन् । मतदाता नामावली भक्तपुर २ मा भए पनि झापा ५ बाट उनी निर्वाचन लड्दै आएका छन् । ओलीका लागि यो चुनावी अभियान, उम्मेदवारी सबै अन्तिम पटक हुन सक्ने सम्भावना रहेको छ । ओलीले आफू चुनाव लड्दै गर्दा मुलुकको वामपन्थी आन्दोलनलाई भने सिध्याउने अवस्था बनेको छ । ओलीको विरुद्ध बालेन साहले उम्मेदवारी दिने भएका छन् ।

जेनजी आन्दोलनका खलनायक ओली र जेनजी आन्दोलनका नायक बालेनबिचको चुनाव रोचक हुने देखिन्छ । रास्वपाले भावी प्रधानमन्त्री घोषणा गरेका बालेनसँग एमालेले पनि प्रधानमन्त्रीको रूपमा अघि सारेका ओलीले साँच्चै प्रतिस्पर्धा गर्न सक्लान् भन्ने जिज्ञासा छ ।

०७९ को निर्वाचनमा रास्वपाले झापा ५ मा दोस्रो धेरै समानुपातिक मत अर्थात् १८ हजार २०५ मत ल्याएको थियो । समानुपातिकतर्फ एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो । त्यतिबेला बालेन रास्वपामा थिएनन् । यसपटक ९ हजार ९० नयाँ मतदाता थपिएका छन् । त्यसमाथि बालेनको क्रेज छ ।

बालेनले ओलीसँग चुनाव लड्ने निर्णय हचुवाको भरमा भावनामा बगेर लिएका होइनन् । बालेनको टिम झापा ५ पुगेर रिसर्चसमेत गरेको थियो । उक्त रिसर्चले राप्रपासँग ओली मिल्दासमेत जित्ने निष्कर्ष निकालेपछि बालेन ओलीसँग भिड्न लागेका हुन् ।

जेनजी विद्रोहबाट सत्ताच्युत भएका ओलीले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे पनि उनीमाथि जेनजी विद्यार्थीहरूको हत्या गरेको आरोप छ । त्यसैले यो अपराधबाट उनी यस निर्वाचनबाट जोगिने स्थिति छैन । झापा ५ मा जेनजी विद्रोहका खलनायक ओली र नायक बालेनबिचको प्रतिस्पर्धा साँच्चिकै रोचक बन्ने पक्का छ ।

बालेनसँगको प्रतिस्पर्धा सँगसँगै वामपन्थी दलहरूसँग ओली आफै पनि सहकार्य गर्न अनिच्छुक भएको हुँदा थप कमजोर भएका छन् । वामपन्थी दलका नेताहरूसँग उनको भेटघाटसमेत हुन सकेन ।

नेपालको वामपन्थी आन्दोलन कुनै सामान्य राजनीतिक धार होइन, यो जनताको अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको लागि लड्दै आएको ऐतिहासिक संघर्ष भएको विषयलाई ओलीले यही चुनावबाट विर्सजन गर्दैछन् । ओलीको राजनीतिक शैली र निर्णयहरूले वाम आन्दोलनको आत्मा नै खोसिँदै गएको मात्र होइन पार्टीभित्रका लोकतान्त्रिक प्रगतिशील विचार राख्ने नेताहरूको समेत सफया अभियान चलाए ।

ओलीले आफूलाई एमाले र वामपन्थी नेताको रूपमा प्रस्तुत गरे पनि व्यवहारमा उनले पार्टी, सरकार र राज्यसत्ता सबैलाई व्यक्तिगत शक्तिको साधन बनाएर पार्टीभित्रका नेताहरूसहित वामपन्थी आन्दोलनमा लामो समयदेखि लागेका सबैलाई एकै साथ सक्ने र नयाँ भनिएका दक्षिणपन्थी शक्तिलाई राज्यसत्ता सुम्पन मनोवैज्ञानिक रूपमा सहजीकरण गरिरहेका छन् ।

पार्टीभित्र बहस, आलोचना र वैचारिक विविधतालाई स्वीकार गर्नुको सट्टा उनले असहमति आवाजलाई दबाउने, कारबाही गर्ने र किनाराकृत गर्ने नीति अपनाएन मात्र चुनावमा जनताबाट टाढा राख्न टिकट नदिने र जनता र कार्यकर्ताको भावनालाई कुल्चेर वाम आन्दोलनको आधारभूत मूल्य,सामूहिकता र लोकतान्त्रिक अभ्यासलाई नै कमजोर बनाउँदै लगेको छन् । प्राध्यापक कृष्ण पोखरेल र विश्लेषक पुरन्जन आचार्यको दृष्टिकोणमा ओली वामपन्थी होइनन्, उनी दक्षिणपन्थी हुन् ।

विश्लेषक तथा राजनीतिज्ञहरू पनि ओलीले चालेका कदम र उनले लिएका विचारहरूलाई नेपाली राजनीतिको ‘दक्षिणपन्थ कित्ताको मेरुदण्ड’ मान्दछन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘ओलीको पृष्ठभूमि कम्युनिस्ट तर कार्यशैली, सोच, निर्णय प्रक्रिया र चिन्तन दक्षिणपन्थी छ ।’

प्राध्यापक कृष्ण पोखरेलको धारणा पनि समान रहेको छ । ‘केपी ओली शक्ति केन्द्रीकृत गर्ने दक्षिणपन्थी स्वभावका व्यक्ति हुन जुन अहिले प्रकट भइरहेको छ, वामपन्थी आन्दोलनमा ओली प्रवृत्तिले दशकौँ पिरोल्नेछ’, पोखरेलले दृष्टिसँग भने ।

सबैभन्दा ठूलो धक्का त २०७४ मा बनेको नेकपा एकताको विघटन थियो । वामपन्थी शक्तिहरूलाई ऐतिहासिक रूपमा एक ठाउँमा ल्याएको त्यो एकता ओलीको सत्ताकेन्द्रित अहंकार र मनपरी निर्णयका कारण विभाजन भयो । संसद् विघटनजस्ता असंवैधानिक कदमले उनले न केवल लोकतान्त्रिक प्रणालीलाई चुनौती दिँदै वाम आन्दोलनलाई जनताको नजरमा अविश्वसनीय बनाए । जसका कारण अहिलेको रास्वपा, बालेन र हर्क साम्पाङ जस्ता लोकप्रियवादका उजपहरुको उदय भयो ।

जतिबेला ओलीको राष्ट्रवाद भाषणमा सीमित रह्यो, व्यवहारमा उनले संस्थागत गर्न सकेनन् । अरू दलहरू मात्र होइन वामपन्थी नेताहरूको साथ पनि लिन चाहेनन् । उनले आफ्ना कमजोरी सुधार्न सकेनन् । भ्रष्टाचार र कुशासनलाई रोक्न सकेनन् । वाम आन्दोलनको मूल उद्देश्य—श्रमजीवी, किसान, महिला र उत्पीडित वर्गको मुक्ति जस्ता विषय उनको कार्यकालमा झन् ओझेलमा प¥यो । परिणामतः वाम आन्दोलन जनताबाट टाढिँदै गयो ।

जतिबेला ओली सत्तामा रहँदा वाम आन्दोलनलाई जोगाए, कि आफ्नै सत्ता टिकाउन त्यसलाई सिध्याउने बाटो रोजे? यदि वामपन्थी आन्दोलनलाई फेरि जीवित बनाउनु छ भने, व्यक्तिकेन्द्रित राजनीति होइन, वैचारिक स्पष्टता, लोकतान्त्रिक अभ्यास र जनताप्रति जबाफदेही नेतृत्व आवश्यक भएपनि ओली एक्लो हठले अहिलेको निर्वाचनमा पनि वामपन्थीहरूको एकता हुन सकेनन् । आउँदो निर्वाचनमा वामपन्थीहरूसँग घोषित, अघोषित सहकार्य हुन सकेन ।

वाम आन्दोलन कुनै नेताको निजी सम्पत्ति होइन । यो इतिहास, बलिदान र जनताको भरोसाले बनेको साझा सम्पत्ति हो । त्यसलाई सिध्याउने होइन, पुनर्जीवित गर्ने जिम्मेवारी आजको पुस्ताको काँधमा आएपनि एमालेभित्रका फरक धारणा राख्ने नेताहरूलाई उनले देखिसहेनन् ।

सुरेन्द्र पाण्डेलाई चितवनमा टिकट दिएनन्, योगेश भट्टराई,गोकुल बाँस्कोटा, ठाकुर गैरे जस्ता नेताहरूका लागि ओली असहिष्णु बने । बिन्दा पाण्डे, अरुण नेपालहरू बाहिरिँदा, एकनाथ ढकालसँगको सम्झौताले एमालेभित्र ओलीलाई वामपन्थी नेता भन्ने कि वाम आन्दोलनलाई भित्रैबाट ध्वस्त पार्ने खलनायक भन्ने द्विविधा भएको नेताहरूले भन्न थालेका छन् ।

वाम आन्दोलन सामूहिक चेतनाको आन्दोलन भएपनि ओलीले यसलाई व्यक्तिकेन्द्रित सत्ता–यात्रामा झारेर अहिले पनि संसदीय दलमा आफूबाहेक अर्को कोहीले चुनौती दिन नसकोस् भन्ने चिन्तन राखेका छन् । जसले गर्दा पार्टीभित्र बहस होइन, हुकुम चलाए, नीति होइन निर्देशन चलाए ।

असहमति सह्य भएन, आलोचकहरूलाई शत्रुको जस्तै व्यवहार गरियो । यसरी ओलीले वाम आन्दोलनको लोकतान्त्रिक आत्मालाई मारे । ओलीको हातमा परेपछि क्रान्तिकारी सम्भावना होइन, सत्ताको सौदाबाजी बन्यो । संसद् विघटनजस्तो असंवैधानिक कदम चालेर ओलीको अहंकार, असहिष्णुता र सत्तालोलुपताले आन्दोलनलाई जोगाएन, बरु उल्टै सिध्याउने बाटो खोलेर हिँड्न थाले ।

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली, महेश बस्नेतको संरक्षणमा भक्तपुरको गुन्डुमा देखापरे र केही दिनपछि फेरि त्यही पुरानो सिग्नेचर स्टाईलमा सार्वजनिक दृश्यमा आएर पुरानै हाउभाउमा प्रकट मात्र भएनन तीन महिनासम्म कुनै पनि वामपन्थी दलका नेताहरूसँग उनको भेटघाट भएन । तर पछिल्लो पटक नेपाली कम्युनिष्ट पार्टीका नेताहरूसँग सामान्य भेटघाट गरे पनि फलदायी र उपलब्धि मूलक बनाउन सकेनन् । यहाँनिर उनी आफैले कांग्रेस फूटेको सन्दर्भलाई लिएर राजनीतिमा र सत्तामा कमब्याक हुने लालसा पैदा गराए ।

२०८२ भदौ २३ अघिसम्म प्रधानमन्त्री रहेका ओली चौथोपल्ट प्रधानमन्त्री बनेयता सबैभन्दा बढी अलोकप्रिय बने । तीन पटक प्रधानमन्त्री रहँदा ओलीको टिमले पब्लिक रिलेशन म्यानेजमेन्ट र इमेज बिल्डिङमा काम गरेका थिए ।

२०८१ असार ३० मा चौथो पटक प्रधानमन्त्री बन्दा नेपालको राजनीतिको डिस्कोर्सको सेन्टर स्टेजमा रबि लामिछाने, बालेन साह, हर्क साम्पाङहरूको उपस्थिति भइसकेको थियो । त्यसपछिका दिनमा कुलमान घिसिङ, मिराज ढुंगाना र व्यवसायी वीरेन्द्र बहादुर बस्नेतहरूले आफ्नै पार्टी खोलेर नयाँ राजनीतिक उद्यमी बन्दै छन् । अर्कोतिर, दुर्गा प्रसाईँ र उनका समर्थकहरूले हिन्दू राष्ट्रको माग अघि सारेका छन् ।

अब आउने दिनहरूमा, राजनीतिक अवस्था नेपालका लागि अझ चुनौतीपूर्ण छ । लामो समय राजनीतिक अनुभव र निवेश भएका पार्टी तथा ओली जस्ता नेतालाई अबको राजनीतिक यथार्थ र प्रभावको गम्भीरता नबुझ्ने छुट छैन । राजनीतिक पार्टीहरू र नेताले बदलिँदो सामाजिक अपेक्षालाई बेवास्ता गर्दा परिणाम फेरि असन्तुष्टिमा जानसक्छ । पुराना राजनीतिक संरचनाहरूको पुर्नसंरचना नहुने हो भने नेपाल गहिरो संकटमा फस्न सक्छ ।

नेताको कमब्याक, लोकप्रियता वा असफलतासँग कार्यकर्ताको गतिशीलता र संस्थागत प्रतिक्रिया गहिरो रूपमा जोडिएको हुन्छ । जब समाज र मिडीयाले नेताको निर्णय र शक्तिमा प्रश्न उठाउन छोड्छ, तिनीहरूको प्रभुत्व नैतिक रूपमा स्वीकार्य देखिन थाल्छ । कार्यकर्ताले जवाफदेहिताको सट्टा सुरक्षा, पहिचान वा स्वामित्व खोज्न थाल्छन् । तर ओलीलाई मिडिया र समाजले अस्वीकृत गरेको अवस्थामा कमव्याकको कोसिस गरिरहेका छन् ।

टक्सिक नेतृत्व शक्तिशाली नेताहरूको कारणले मात्र अस्तित्वमा हुँदैन यो मौन कार्यकर्ताहरूको कारणले बाँच्दछ । र जब मौनता संस्कृतिको हिस्सा बन्छ, परिवर्तनको आशा इतिहासमा हराउँछ भन्ने तथ्यलाई नबुझी ओलीले दक्षिणपन्थी धारका केही नेताहरूलाई पार्टीमा ल्याएर चुनावमा जाने नीति बनाए । वामपन्थीहरुसँग सहकार्यको कुनै सरोकार राखेनन् ।

नेपालमा जेन जी आन्दोलनले समाजका बदलिँदो आकांक्षा र अपेक्षालाई पनि अगाडी ल्याइदिएको छ । जेन–जी आन्दोलनको टेकअवे के हो भने नेपाली राजनीतिक प्रणाली अब पुराना ढाँचामा सीमित रहन सक्दैन ।

युवापुस्तासँगै समाजका अन्य स्टेकहोल्डरहरूले आफ्नो भूमिका दाबी गर्दै छन् । अब पुरानो राजनीतिक ‘रेटोरिक’ले काम गर्दैन र राजनीतिमा नयाँ खेलाडीहरू सक्रिय भइरहेका छन् । यी खेलाडीहरू क्रमशः वामपन्थी शक्तिहरूलाई सिध्याउने रणनीतिमा छन् । उनीहरूले सुरु–सुरुमा स–साना वामपन्थी दलहरूमाथि आक्रमण गरे भने अहिले एमालेमाथि निरन्तर प्रहार गरिरहेका छन् । जसका एमाले दिनानुदिन कमजोर बन्दै छ । यो निर्वाचनपछि एमालेको सिट खोसेर तिनै दक्षिणपन्थी धारका लोकप्रियवादी शक्तिले लैजाने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्