Logo
Logo
सम्पादकीय

लोकतन्त्र फेरि परीक्षाको कठघरामा


693
Shares

समयमै निर्वाचन हुन्छ कि हुन्न भन्ने द्विविधाका बीचमा राजनीतिक दलका नेताहरू उम्मेदवारी दर्ता गरेर प्रचार प्रसारमा लागेका छन् । सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाको मुद्दा कायमै रहेको र विभिन्न स्थानमा नयाँ र पुराना दलका कार्यकताहरुबीच झडप हुने सम्भावना कायमै रहेका बखत मुलुक फेरि निर्वाचनमा होमिएको छ ।

सार्पसुटरसहितका आपराधिक घटनामा संलग्न रहेर कैद भुक्तानी लागि जेलमा रहेका कैदीहरू जेलबाट भागेपछि चुनावमा प्रयोग हुनसक्ने खतरा रहेको भन्दै दलहरूले निर्वाचन आयोग र सरकारको ध्यानाकृष्ट गराइरहेका छन् । तर दलहरूले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर निर्वाचनमा होमिएका छन् । कतिपय दलका कार्यकर्ताहरू स्वयं आपराधिक क्रियाकलापमा संलग्न भएकोले बाहिरबाट होइन, दलभित्रैबाट पनि सुरक्षा चुनौती थपिएको छ ।

निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया र लोकतन्त्रको मेरुदण्ड हो । यो प्रक्रिया जनताहरू सहभागी भई आफूले चाहेको दल र उम्मेदवारलाई मत हाल्ने गर्छन् । तर यो केवल मतपत्र हाल्ने कर्मकाण्ड मात्र होइन, नागरिकको चेतनाको परीक्षा पनि हो भन्ने तथ्यलाई भुल्न मिल्दैन ।

हरेक निर्वाचनसँगै परिवर्तनको आशा बोकेर जनता मतदान केन्द्रसम्म पुग्छन्, तर विगतका अनुभवहरूले यो आशा पटक–पटक निराशामा बदलिएको यथार्थ जनताले भोग्दै आएका छन् । जेनजी आन्दोलनपछि अन्यौलता रहेका दलहरूलाई सरकारले निर्वाचन प्रक्रियामा लगेर जनताको सार्वभौम अधिकार प्रयोग गर्ने बाटो खोल्ने प्रयासमा लागेको छ ।

जेनजी आन्दोलनपछि उठेका केही प्रश्नमा अझै अलमल रहेको छ । के हामी यतिबेला साँच्चै सही विकल्प रोज्न सक्छौ कि कि फेरि उही अनुहार, उही सोच र उही कार्यशैलीलाई पुनः सत्तामा पु¥याउने चक्रमा निर्वाचन गर्दै छौ भन्ने कुरालाई ठन्डा दिमागले सोच्नुपर्ने बेला आएको छ ।

आन्दोलनको बेला जो मैदानमा थिए, उनीहरू अहिले पनि बाहिर छन् । जो मैदानमा थिएनन् उनीहरू निर्वाचनको दौडमा छन् । आन्दोलनभन्दा बाहिरबाट निर्वाचनमा होमिदा नयाँ र पुरानो पुस्ताबीच गाली गलौच नै सुरु भैसकेको छ । नयाँ र पुराना राजनीतिक दलहरू निर्वाचनको मैदानमा उत्रिँदा एजेन्डाभन्दा बढी नारामा केन्द्रित देखिन्छन् ।

विकास, सुशासन, रोजगारी र सामाजिक न्यायजस्ता विषय भाषणमा मात्र सीमित हुन्छन् । सत्ता पाएपछि जनताको आवाजभन्दा सत्ताको स्वाद प्राथमिक बन्ने प्रवृत्तिको पुनरावृत्ति गर्ने खतरा बढ्दै गएको छ । यही कारणले नागरिकमा राजनीति प्रतिको विश्वास कमजोर हुँदा विकास र समृद्धिमा समेत गहिरो असर परेको छ ।

निर्वाचनको बेला मात्र होइन युवापुस्ताको आवाज मुखरित भए, पिछडिएका वर्गको आवाज सुनिएन यस्ता गुनासाहरू सदाबहार छन् । आज पनि प्रश्न गर्न थालेको छ– हामीले दिएको मतको मूल्य किन देखिँदैन? देश छोडेर बिदेसिन बाध्य हुने अवस्थाको अन्त्य कहिले हुन्छ ?

शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यको भूमिका किन कमजोर छ? यी प्रश्नहरूको उत्तर दिन राजनीतिक दलहरू गम्भीर देखिँदैनन्, नयाँ भनिएका दलहरूले पनि यो विषयमा स्पष्ट खाका ल्याएका छैनन्, उनीहरू पुराना दलका नेताको कार्यशैली र व्यवहारप्रति सामाजिक सञ्जालमा गाली गरेर निर्वाचनमा जाँदै छन् । यस्तो बेला भने निर्वाचन केवल औपचारिकता बन्ने खतरा बढिरहेको छ ।

अहिलेको निर्वाचनले पुराना दलहरूलाई मात्र होइन, नयाँ दल र मतदातालाई पनि जिम्मेवार बनाउनुपर्छ । भावनामा होइन, विवेकमा आधारित निर्वाचन हो भन्ने विषयलाई बुझ्नुपर्छ । २०८४ सालमा हुनुपर्ने नियमित निर्वाचन अघि सार्नुको अर्थ व्यक्ति होइन, नीति र दृष्टिकोण हेरेर मत दिन सक्यौँ भने मात्र निर्वाचन परिवर्तनको माध्यम बन्न सक्छ । निर्वाचन देशलाई नयाँ दिशातर्फ लैजाने अवसर हो । तर त्यो अवसर उपयोग हुन्छ कि हुँदैन, त्यो हामी सबैको सामूहिक निर्णयमा निर्भर छ । अब प्रश्न केवल ‘कसलाई जिताउने’ होइन, ‘कस्तो देश बनाउन चाहन्छौ भन्ने हुनुपर्छ ।

लोकतन्त्रको आत्मा जनता हुन्, र त्यो आत्मालाई जीवन्त बनाउने सबैभन्दा सशक्त माध्यम हो—निर्वाचन । जनताको मतबाट शासन सत्ताको निर्माण हुने प्रणाली नै लोकतन्त्र हो भने, निर्वाचन त्यसको सौन्दर्य, शक्ति र पहिचान भएको तथ्यलाई संसारभर कसैले पनि अस्वीकार गर्दैन ।

निर्वाचनले केवल सरकार मात्र बनाउँदैन, यसले जनताको इच्छालाई राज्यसत्तामा रूपान्तरण गर्छ भन्ने विश्वव्यापी मान्यतालाई नेपालमा पनि रूपान्तरण गर्न जरुरी छ । निर्वाचन नागरिक चेतनाको परीक्षा पनि हो । मतदाताले उम्मेदवारको नारा होइन, दृष्टिकोण हेर्नुपर्छ, जात, धर्म वा भावनामा होइन, नीति र नैतिकतामा आधारित भएर निर्णय गर्नुपर्छ । जब जनता सचेत हुन्छन् ।

नेपालजस्तो संक्रमणकालीन लोकतन्त्रमा निर्वाचन अझै महत्त्वपूर्ण छ । यहाँ हरेक चुनावले शासनप्रणालीलाई परिष्कृत गर्ने अवसर दिन्छ । विगतका गल्ती सच्याउने, नयाँ नेतृत्व जन्माउने र जनताको भरोसा पुनः स्थापित गर्ने मौका निर्वाचनमै हुन्छ । तर यदि निर्वाचन पैसाको खेल, डर–धम्की र गलत प्रचारको सिकार भयो भने त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । जेनजी विद्रोहले ल्याएको यो निर्वाचन अन्य निर्वाचनभन्दा फरक भएकोले आमनागरिकको चेतना बुझ्ने मौका पनि हो ।

प्रतिक्रिया दिनुहोस्