Logo
Logo

विभाजनको ‘विषवृक्ष’ र खण्डित वाम जनमतको नियति


शरद् रिजाल

126
Shares

मुलुक निर्वाचनमय भएसँगै विद्यमान दलहरू चुनावी मैदानमा उत्रिएर आफ्नो विगतको साख जोगाउने भरमग्दुर प्रयत्न गरिरहेका छन् । आगामी फागुन २१ को निर्वाचनमा परम्परागत राजनीतिक दल र नयाँ भनिएका वैकल्पिक दलहरूले एक अर्कालाई प्रतिस्पर्धी ठान्दै चुनाव केन्द्रित गतिविधि अघि बढाएका छन् ।

यो निर्वाचन विशिष्ट परिस्थितिमा हुन लागेकोले विद्यमान दलहरूले यसलाई आफ्नो प्रतिष्ठाको विषय ठानेर मत परिणाम आफ्नो पक्षमा ल्याउने प्रयत्न जारी राखेका छन् भने, नयाँहरू तिनैको विरासत भत्काएर आफ्नो वर्चस्व कायम गर्न प्रयासरत देखिन्छन् ।

यस निर्वाचनले मुलुकमा विगतदेखि मौलाएको गठबन्धन संस्कृतिको अन्त्य गरेको छ । दलहरू पूर्णतया एकल रूपमा चुनावी मैदानमा होमिएका छन् । यद्यपि, केही निर्वाचन क्षेत्रमा भने घोषित रूपमै दलहरूबिच चुनावी सहकार्य भएको छ । यसले दलहरूको स्पष्ट जनमत परीक्षण हुने अवसर प्रदान गरे पनि वाम जनमत झनै खण्डित हुने र वर्तमान व्यवस्था प्राप्तिका लागि सङ्घर्ष गरेका शक्तिहरू कमजोर हुने संशय भने बढाएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले दलहरूलाई रूपान्तरणको सन्देश दिएको थियो । त्यसै कारण प्रमुख दलहरूभित्र रूपान्तरण र पुस्तान्तरणको मुद्दा प्रखरताका साथ उठेको पनि हो । त्यसकै उपज काँग्रेसका नेताहरूले विद्रोह गर्दै पार्टीमा नयाँ नेतृत्व चयन गर्न सफल भए पनि वामपन्थी दलहरूमा भने त्यसअनुरूप नेतृत्व परिवर्तन हुन सकेन ।

बरु उल्टै पुरानै नेतृत्व दोहोरिएर मनपरी तवरले अघि बढ्ने प्रवृत्ति हाबी हुँदा प्रमुख वाम शक्ति एमालेमा असन्तुष्टि चुलिएको छ । अर्को माओवादी, एकीकृत समाजवादी सहित दर्जनौँ वाम घटक मिलेर बनेको नेकपामा पनि रूपान्तरण र नेतृत्व हस्तान्तरणको बहसले मूर्तरूप लिन सकेन । जसका कारण निर्वाचित जित्न सक्ने प्रभावशाली नेताहरू नेकपाबाट बाहिरिए ।

यसका अलावा अन्य ससाना वाम घटकहरूमा पनि नेतृत्व परिवर्तन नभएर पुरानै नेतृत्व नै दोहोरिएका छन् । मुलुकमा चुनावी सरगर्मी बढेसँगै अहिले वैचारिक दृष्टिकोण सहितका पुराना वाम दलहरू आआफ्नै ढङ्गले पूर्ववत् नेतृत्व सहित चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी, अहिले नयाँ भनिएका दलहरूले राजनीतिक विचार, दृष्टिकोण, कार्यक्रम र एजेन्डा भन्दा पनि नयाँ सही र पुरानो खराब भएको भाष्य सिर्जना गर्दै पुराना दलको आलोचनामा दिलोज्यान लगाएका छन् ।

विद्यमान कांग्रेस, एमाले र नेकपा लगायतका दलहरू वैचारिक एवं राजनीतिक दृष्टिकोण प्रष्टता भएका संगठित शक्ति हुन् । तथापि, उनीहरूको विचार र व्यवहारको बिचमा तादाम्यता नमिल्दा नै जनताको विश्वास गुम्दै गएर वर्तमान परिस्थिति निर्माण भएको हो ।

अर्कोतिर, नयाँ र वैकल्पिक दाबी गर्ने शक्तिहरूले वैचारिक पक्षलाई प्राथमिकता दिने भन्दा पनि पुराना दलको असक्षमतालाई मत तान्ने माध्यम बनाउँदै राजनीतिक एजेन्डा गौण बनाएका छन् । राजनीतिक दलहरू आफ्नो एजेन्डा र कार्यक्रम मार्फत जनतालाई आकर्षित गर्नुपर्नेमा नयाँ र पुरानाको आधारमा चुनावमा सहभागी हुने विचारविहीन दृश्यले सचेत मतदाता असमञ्जसयतामा परेका छन् ।

यसको मुख्य कारण भनेको विगतदेखि शासन सत्तामा रहेका विद्यमान दलहरूको अकर्मण्यता र अनुत्तरदायी प्रवृत्ति नै हो । उनीहरूकै उपज नयाँ र वैकल्पिक दलको नाममा अमुक पात्रको राजनीतिमा उदय भएकोमा दुईमत छैन । यसले आगामी दिनमा नेपालको राजनीति विचार र कार्यक्रममुखी भन्दा पनि भावना, आवेग र उत्तेजनालाई प्रश्रय दिने प्रचारमुखी दिशातर्फ उन्मुख भएको संकेत दिलाएको छ ।

मुलुकमा गणतन्त्र स्थापनाको सुरुवाती चरणमा वाम दलहरूलाई जनताले विश्वास गरेर करिब बहुमत सहितको मत प्रदान गरेका थिए । तर पटक पटकको विभाजन र नेतृत्वको व्यक्तिवादी कार्यशैलीले त्यो जनमत परिणाममुखी हुन नसक्दा निरन्तर क्षयीकरण हुँदै गएको हो ।

अहिले प्रमुख वामशक्ति एमालेमा आन्तरिक नेतृत्वको दम्भ र अहंकारपूर्ण कार्यशैली र टिकट वितरणमा व्याप्त विभेदको उपज नेता कार्यकर्ताको असन्तुष्टि बढ्दै जाँदा त्यसले निर्वाचनको मत परिणाममा नकारात्मक प्रभाव पार्ने सम्भावना बढेको छ ।

विगत २०७४ को निर्वाचनमा तत्कालीन माओवादी र एमालेको चुनावी सहकार्य हुँदै भएको पार्टी एकताले आम जनतामा आशा पैदा भए पनि नेतृत्वको विभाजनकारी हर्कतले मूर्त परिणाम दिन सकेन । त्यसयता निरन्तर वामपन्थीहरू विभाजित रहँदा मुलुकमा राजनीतिक स्थायित्व समेत कायम हुन नसकेर आजको परिस्थिति निर्माण भएको जगजाहेर छ ।

अहिले सबै वाम शक्ति एकल रूपमै निर्वाचनमा होमिएकाले यस पटक पनि फेरि वामपन्थी जनमत निराश हुने र चुनावी परिणाम लोकप्रियतावादी शक्तिको पक्षमा जाने प्रबल सम्भावना छ ।

मुलुकमा विगतदेखि नै बहुसंख्यक जनता कम्युनिष्ट पार्टीकै पक्षमै लागेर हरेक आन्दोलनमा सामेल भए पनि आन्तरिक किचलोले त्यो जनमत निर्णायक नहुँदा सत्तामा गएर आशातीत परिणाम हासिल हुन सकेन । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ सैद्धान्तिक रूपमा जनपक्षीय एजेन्डा तर सत्तामा जाँदा त्यस विपरीत वर्गोत्थान हुने प्रवृत्ति नै वामदलप्रति निराशा बढ्नुको मुख्य कारण हो ।

वाम शक्ति जन्मजात न्याय, स्वतन्त्रता र समानताको पक्षधर शक्ति भए पनि नेपालको सन्दर्भमा भने वामपन्थीहरू सत्तामा जाँदा त्यस विपरीत दलाल पुँजीवादी र बिचौलियाको चङ्गुलमा परेर अकुत आर्जनमा लाग्ने प्रवृत्तिले अलग पहिचान कायम नभएर ‘सबै उस्तै’ भन्ने भाष्य खडा हुन पुग्यो । विगतका संघर्षकालमा सरल एवं सादगी जीवनशैली अपनाउने कम्युनिष्ट नेताहरू अहिले नवधनाढ्य भएको दृश्यले आम नेता कार्यकर्ता र मतदाताको विश्वास गुमाएको छ ।

यिनै वामपन्थी दलहरूले आफ्नो नीति तथा कार्यक्रमको केही हिस्सा मात्रै कार्यान्वयन गरेको भए जनताहरूमा यस तहको निराशा बढेर अन्य विचारविहीन अमुक दलतर्फ आकर्षण बढ्ने थिएन । तर आफ्ना घोषित एजेन्डा कार्यान्वयन गर्ने भन्दा पनि त्यसलाई मत आर्जन गरेर सत्तामा जाने साधनका रूपमा मात्रै प्रयोग गर्दा जनतामा निराशा बढेको हो ।

संविधानतः समाजवाद उन्मुख भनिए पनि व्यवहारमा नातावाद, कृपावाद र नीतिगत भ्रष्टाचारको आहालमा चुर्लुम्म डुब्ने विरोधाभासपूर्ण प्रवृत्तिले नै जनताहरू वाम दलहरूप्रति रुष्ट भएका हुन् ।

मुलुकको राजनीतिक व्यवस्था परिवर्तनमा निर्णायक भूमिका खेले पनि सत्तामा जाँदा त्यसलाई सही ढङ्गले जनताको पक्षमा सञ्चालन नगरी आफ्नै स्वार्थमा केन्द्रित हुने प्रवृत्तिले कम्युनिष्ट विरोधी जनमत बढ्दै गएको हो । यसकै उपज जनताले कम्युनिष्टहरु भनेका ‘एउटा भन्ने र अर्कै गर्ने’ अविश्वसनीय पात्रका रूपमा चित्रण गर्दै नयाँ र वैकल्पिक भनिने विचारविहीन शक्ति प्रति आकर्षित हुँदै जान बाध्य भएका हुन् ।

यसरी विद्यमान वाम दलहरूकै विचार र व्यवहारमा एकरुपता कायम नहुँदा मुलुकको आगामी राजनीति विचारविहीन लोकप्रियतावादी शक्तिको हातमा जाने परिस्थिति निर्माण हुँदै जाँदा देशमा अराजकता र अस्थिरताले जरा गाड्ने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्