
मुलुकमा निर्वाचन जतिजति नजिकिँदै छ, उतिउति दल र उम्मेदवारहरू सामाजिक सञ्जालमा आउने होडबाजी नै चलेको देखिन्छ । अझ यसो फुर्सदमा ‘फेसबुक’तिर नियाल्ने हो भने असली चुनावी रौनकता त मैदानमा भन्दा सामाजिक सञ्जालमा पो देखिन्छ ।
खासमा राजनीति भीडको तालीबाट होइन, इतिहासको कठोर परीक्षणबाट प्रमाणित हुने यात्रा हो । हाम्रो देशमा राजनीति गरिरहेका पुराना भनिने दल र नेताहरूका आआफ्ना इतिहास र बलिदानका कीर्तिमानहरू हामीले देखे–सुनेकै छौँ । यद्यपि, पछिल्लो समय हाम्रो समाजमा केही अनुहारहरू यति चाँडो उदाउन थालेका छन् कि उनीहरूलाई देखेर लाग्छ कि यिनीहरूले नै अबको युगलाई बदल्नेछन् । यिनैले अब पुरानो संरचना भत्काउनेछन् ।
नेपालको राजनीतिमा एकाएक सामाजिक सञ्जालबाट उदाएका अनुहारहरूको भाषणहरू आगोझैँ लाग्छ । तस्बिरहरू झिलिमिली देखिन्छन् र चारैतिर समर्थकहरूको आवाज गुञ्जायमान हुन्छ । तर इतिहासले बारम्बार देखाएको छ कि जो धेरै चम्किन्छ, ऊ सधैँ टिक्न सक्दैन । जो चुपचाप काम गर्छ, ऊ इतिहासमा बाँच्छ । यहीँबाट एउटा गम्भीर प्रश्न उठ्छ, के चर्चा नै आजको लोकप्रियता हो त ? के सामाजिक सञ्जालको समर्थन नै जनमत हो त ? वा मतपेटिकाको मौन निर्णय नै लोकप्रियताको साँचो यथार्थ हो ?
वास्तवमा, भन्ने हो भने, चर्चित हुनु र लोकप्रिय हुनु दुई भिन्न विषय हुन् । चर्चा एउटा आँधीजस्तै हो भने लोकप्रियता मौसमजस्तै । चर्चा क्षणिक तरङ्ग हो भने लोकप्रियता दीर्घकालीन विश्वास । चर्चा रूपमा देखिने उज्यालो भएजस्तै लोकप्रियता सारमा महसुस हुने ताप हो ।
आजको सामाजिक सञ्जाल प्रधान युगले यी दुईको सीमारेखा धमिलो बनाइदिएको छ, जहाँ मन पराउनेको लस्कर, प्रतिक्रिया दिनेको जुलुस र पछ्याउनेको सङ्ख्यालाई नै जनमतको प्रमाणपत्र ठान्ने प्रवृत्ति बढ्दो छ । तर भर्खरै बंगलादेशमा सम्पन्न निर्वाचनले एउटा कठोर सन्देश दिएको छ । डिजिटल भीड सधैँ मतपेटिकामा परिणत हुँदैन ।
सामाजिक सञ्जालमा युवामाझ असाधारण आकर्षण कमाएकी, करिब ७५ लाखले पछ्याइरहेकी एक जेन्जी नेतृको अवस्था त्यहाँको मतगणनामा दयनीय देखिएको छ । उनी व्यापक चर्चा र कार्यक्रमका भीडबीच चम्किएकी थिइन्, तर मतदान केन्द्रको अंकगणितमा कमजोर साबित भइन् । यसको अर्थ स्पष्ट छ कि उत्साहको लहर र मतको नतिजाबिच दूरी हुन्छ र त्यो दूरी केवल स्वरले मात्रै होइन, संरचना र बलियो सुदृढताले मात्र पार गर्न सकिन्छ ।
हामीले हरबखत उपयोग गर्ने डिजिटल संसारमा देखिने सामग्रीहरू झट्ट हेर्दा आकर्षक त हुन्छन्, तर त्यहाँ देखिने सबै कुरा वास्तविक हुँदैनन् । मन पराउने संकेत र प्रतिक्रिया भावनाको तातोपनको मापन हुनसक्छ, तर त्यसले मतदाताको दीर्घकालीन भरोसा सुनिश्चित गर्दैन । पछ्याउनेको ठूलो सङ्ख्या प्रेरक हुनसक्छ, तर संगठनबिना त्यो सङ्ख्या मतदान केन्द्रसम्म पुग्दैन । सामाजिक सञ्जालको प्रसारणले एकैछिनमा हजारौँ मानिससम्म सन्देश पु¥याउन सक्छ, तर घरघर पुगेर मन जित्ने काम त्यसले गर्न सक्दैन ।
निर्वाचनमा निर्णायक हुने कुरा अन्ततः जनताको विश्वास हो । त्यो विश्वास दुःखका बेला साथ दिइएको हातबाट जन्मिन्छ, समस्या समाधानका लागि गरिएको ठोस पहलबाट बढ्छ र नीतिगत स्पष्टताबाट मात्रै स्थिर रहन सक्छ । निर्वाचन आउन मात्रै केही दिन बाँकी रहँदा नेपालमा पनि नयाँ भनेर प्रस्तुत हुने दलहरूमा सामाजिक सञ्जालको चर्चालाई एजेन्डा, मुद्दा र जनसम्बन्धभन्दा माथि राख्ने प्रवृत्ति देखिन थालेको छ ।
श्रव्य दृश्य, छोटा प्रस्तुति, तात्तातो टिप्पणी, क्षणिक प्रसिद्धि र प्रचारका तरिका राजनीतिक साधन बनेका छन् । तर राजनीति केवल प्रचार होइन, व्यवस्थापन पनि हो । केवल जोस होइन, योजना पनि हो । केवल आक्रोश होइन, समाधान पनि हो । यदि नयाँ दलहरूले सामाजिक सञ्जालको चर्चा नै पर्याप्त ठानेका हुन् भने उनीहरू आफैँलाई भ्रममा राखिरहेका छन् । भ्रममा उभिएको कुनै पनि आन्दोलन केही समयका लागि आकर्षक देखिए पनि अन्ततः दीर्घकालमा कमजोर बनेर जान्छ ।
लोकप्रियता भनेको एउटा सुमधुर सम्बन्ध हो । जनतासँगको स्थायी संवाद, समुदायसँगको निरन्तर उपस्थिति, संगठनभित्रको अनुशासन र नीतिमा स्पष्टता भएमात्र लोकप्रियताले मतदाताको मस्तिष्कमा घर बनाउन सक्छ । लोकप्रियता निर्माण गर्न समय लाग्छ, त्यो केवल भाषणले होइन, सत्कर्मबाट निर्माण हुन्छ । गाउँको चौतारोमा बसेर किसानहरुका समस्या सुन्नु र समाधानबारे पहलकदमी लिनु, श्रमिकहरूका वेदना बुझ्नु र सम्बोधन गर्ने हिम्मत राख्नु र आफ्नो क्षेत्रका अव्यवस्थित भौतिक संरचना निर्माण, पुनर्निर्माण तथा संरक्षणमा पहल गर्नु पनि सामान्य लोकप्रियताका आधारहरू हुन् ।
डिजिटल संसारमा देखिने चमकले यस्ता कामको स्थान लिन सक्दैन । सामाजिक सञ्जाल लोकप्रियताका लागि सहयोगी साधन हुनसक्छ, तर त्यो नै जनमत होइन । निर्वाचन मूलतः आशा भरोसाको परीक्षा हो । त्यसैले अहिलेका मतदाताहरू केवल उत्ताउला भाषणमा भरोसा गर्दैनन् । उनीहरू अब परिणाम देख्न चाहन्छन् । केवल आश्वासनमात्र होइन, व्यवहारमै परिणाम खोज्ने स्तरमा पुगेका छन् । बेरोजगारी, महँगी, कृषि संकट, शिक्षा र स्वास्थ्यको गुणस्तरजस्ता विषयहरू सामाजिक सञ्जालका चर्चाभन्दा गहिरा छन् ।
बंगलादेशको अनुभवले एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ, डिजिटल लोकप्रियता र मतको लोकप्रियता एउटै कुरा होइनन् । त्यहाँ चर्चित युवा नेतृले सामाजिक सञ्जालमा अत्यधिक समर्थन पाए पनि मतगणनामा अपेक्षित परिणाम ल्याउन सकिनन् । यसको कारण संगठनको कमजोरी, धरातलीय सञ्जालको अभाव र नीतिगत अस्पष्टता थियो । यो घटना नेपालका लागि शिक्षा हो ।
यदि, यहाँका नयाँ दलहरूले सामाजिक सञ्जालको आकर्षणलाई वास्तविक जनमत ठाने भने भविष्यमा निराशा अनिवार्य हुनेछ । सामाजिक सञ्जालले भावनालाई तीव्र बनाउँछ, तर निर्वाचनले विवेकलाई सक्रिय पार्छ । डिजिटल संसारमा प्रतिक्रिया तुरुन्तै आउँछ, तर मतदान निर्णय सोचविचारपछि हुन्छ । त्यसैले राजनीतिक दलहरूले तात्कालिक चर्चाभन्दा दीर्घकालीन रणनीति बनाउनुपर्छ ।
संगठन निर्माण, क्याडर प्रशिक्षण, स्थानीय नेतृत्व विकास र समुदायसँग निरन्तर संवाद आदि सबै बिना चुनावी सफलता सम्भव छैन । व्यक्ति–केन्द्रित चमक क्षणिक हुन्छ भने संस्थागत संरचना स्थायी रहन्छ । नेपालका मतदाताहरू चाहिएको परिवर्तन हो, अस्थिरता होइन । राजनीतिमा नयाँ अनुहार आउनु राम्रो कुरा हो, तर यसमा अनुभवको महत्त्वले पनि खास अर्थ राख्दछ । त्यसैले जुन दलले स्पष्ट नीति, पारदर्शी वित्तीय व्यवस्थापन, उत्तरदायी नेतृत्व र जमिनी संगठन प्रस्तुत गर्छ, उसैले दीर्घकालीन लोकप्रियता कमाउनेछ । बाँकीले केही समयका लागि चर्चा पाउन सक्छन्, तर इतिहासले लोकप्रियताको मापदण्डमा मात्र मूल्यांकन गर्नेछ ।
राजनीति सेवा हो भने सेवाको प्रमाण जनताको जीवनस्तरमा देखिनुपर्छ । नेतृत्व भरोसा हो भने त्यो भरोसा निरन्तरता र प्रतिबद्धताबाट जन्मिन्छ । सामाजिक सञ्जालको स्वरले केही समयका लागि ध्यान खिच्न सक्छ, तर मतपेटिकाको मौन निर्णय सधैँ गहिरो हुन्छ । अन्ततः चुनावमा निर्णायक हुने भनेको देखिने चमक होइन, विचारको गहिराइ हो । आगामी निर्वाचनमा जसले यो भिन्नता बुझ्छ, उसैले भविष्य निर्माण गर्नेछ । बंगलादेशले देशबाहिर रहेका नागरिकलाई समेत मतदानको अधिकार सुनिश्चित गरेपछि त्यहाँको चुनावी परिदृश्यमा डिजिटल सक्रियता र वास्तविक मतपरिणामबीचको दूरी निकै घट्यो ।
किनकि प्रवासी समुदायको राजनीतिक ऊर्जा सिधैँ मतपेटिकासम्म पुगेको थियो । तर नेपालमा अवस्था फरक छ । सोसल मिडियामा चर्को स्वर निकाल्ने, लाइभ बहस गर्ने, ट्रेन्डिङ ह्यासट्याग चलाउने ठूलो जमात देशबाहिर बस्छ र उनीहरू मतदान प्रक्रियाबाट वञ्चित छन् । त्यसैले डिजिटल चर्चा र भर्चुअल लोकप्रियताले मात्र निर्णायक शक्ति बन्ने सम्भावना कम देखिन्छ । यद्यपि, यसलाई पूरै खारेज गर्न पनि मिल्दैन, किनकि लोकप्रियता केवल लाइक र सेयरको गणित होइन, त्यो असन्तोषको सञ्चित भाव पनि हो । वैकल्पिक राजनीतिक चेतनाको उभार र स्थापित शक्तिप्रति जनविश्वास क्षयको संकेत पनि हो ।
लोकप्रियता छवि र विमर्शको स्रोत हो, संगठन परिणाम र निरन्तरताको आधार हो । यसले आमजनतासँगको प्रत्यक्ष संवादद्वारा ती दुवैलाई जोड्ने पुलका रूपमा भूमिका निर्वाह गर्छ ।
– लमही दाङ, हालः साउदी अरेबिया











