Logo
Logo

आधुनिक सभ्यताको मुखुण्डोभित्रको ’बर्बरता’


0
Shares


हामी एक्काइसौँ शताब्दीको ‘सभ्य’ समाजको दुहाइ दिँदै आफूलाई सृष्टिको सर्वश्रेष्ठ र विवेकशील प्राणी भएको दम्भ पाल्छौँ । तर ‘लिटल सेन्ट जेम्स’जस्ता टापुहरूको कलङ्कित इतिहासले मानिसभित्र लुकेर बसेको आदिम ‘राक्षसी’ प्रवृत्तिलाई उदाङ्गो पारिदिएको छ ।

अझै पनि शक्ति र पहुँचको उन्मादमा रहनेहरूका लागि यो विशाल जगत केवल एउटा ‘आदिम शिकारगाह’ जस्तै देखिन्छ, जहाँ निर्धाहरूको अस्तित्वमाथि निरन्तर प्रहार गरिन्छ । सुटबुट र टाईको आवरणमा सजिएका कथित प्रभावशाली व्यक्तित्वहरूको भित्री कुरूपता र बीभत्सताको बहस ‘एप्स्टिन फाइल’ सार्वजनिक भएपछि विश्वव्यापी बनेको छ ।

जेफ्री एप्स्टिनसँग सम्बन्धित सार्वजनिक फाइलहरूले विश्व राजनीति, उद्योग र मनोरञ्जन क्षेत्रका अनेक दिग्गजहरूको नैतिक धरातलमाथि गम्भीर प्रश्न खडा गरेका छन् । नाम जोडिएको भनिएका पात्रहरूको ओजका कारण यस प्रकरणलाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो ‘हाई–प्रोफाइल’ काण्डका रूपमा चित्रण भएको छ ।

अमेरिकाजस्तो विश्व शक्तिको शिखरमा पुगेका बिल क्लिन्टन र डोनाल्ड ट्रम्पदेखि बेलायती राजपरिवारका सदस्य प्रिन्स एन्ड्रयूसम्म विवादमा तानिएका छन् । सीमित व्यक्तिको काण्डमा मात्र सीमित नरही, यसले विश्वप्रसिद्ध वैज्ञानिक स्टिफन हकिङ, प्रख्यात जादुगर डेभिड कोपरफिल्ड, उद्योगपति बिल गेट्स र एलन मस्क, चर्चित अमेरिकी वकिल एलेन डर्शोविट्ज, तथा लोकप्रिय सांगीतिक हस्ती बेयोंसे र जे–जेड जस्ता नामसमेत यस प्रकरणमा जोडिएका छन् । यसले यो कति गहिरो र जटिल छ भन्ने प्रस्ट हुन्छ ।

एप्स्टिनका ती फाइलभित्र कैद गरिएका लाखौँ तस्बिर र हजारौँ भिडियोहरू केवल निर्जीव डिजिटल भण्डारण मात्र होइनन्, ती शक्ति र विलासिताको आडमा निमोठिएका अबोध बालिकाहरूका ‘मौन चित्कार र जमेका आँसुका जीवन्त दस्ताबेज’ हुन् ।

निजी विमान ‘लोलिता एक्सप्रेस’ मार्फत एप्स्टिनले विश्वका शक्तिशाली राजनीतिज्ञ, धनाढ्य र उच्च पदस्थ व्यक्तिहरूलाई त्यो अभिशप्त, एकान्त टापुसम्म पु¥याउने गरेको उक्त फाइलमा उल्लेख छ । त्यहाँ ‘मसाज’को बहानामा कलिला बालिकाहरूलाई यौन दुराचारको सिकार बनाइएको विवरणहरू बाहिरिएका छन् । यसका छाया नेपालसम्म परेको छ । जसले धेरैलाई स्तब्ध बनाएको छ ।

विशेष गरी, २०७२ सालको विनाशकारी भूकम्पपछि सिर्जित मानवीय संकटको फाइदा उठाउँदै भएका इमेल संवादहरूले जोकोहीलाई झस्काउँछ । ती संवादहरूमा ‘नेपाली गलैँचा’ र ‘पेस्की’ जस्ता शब्दहरू केवल व्यापारिक संकेत मात्र नभई, प्राकृतिक विपत्तिको चपेटामा परेका ग्रामीण भेगका बालिकाहरूलाई ‘यौन वस्तु’ का रूपमा तस्करी गरिएको हुन सक्ने संकेत गर्छ ।

यति मात्र होइन, ह्यात होटलका पूर्व अध्यक्षले मुस्ताङका तत्कालीन राजालाई ‘मित्र’ का रूपमा सम्बोधन गर्नु र विभिन्न परोपकारी संस्थाहरूको आवरणमा एप्स्टिनको नाम जोडिनुले यो आपराधिक सञ्जालको जरा नेपालको सामाजिक र उच्च राजनीतिक तहसम्म कति गहिरोसम्म गढेको थियो भन्ने गम्भीर आशङ्का उब्जाएको छ ।

आधुनिकताको झिल्के आवरणभित्र लुकेको यस्तो बीभत्सता वर्तमान मानव सभ्यताकै सबैभन्दा क्रूर व्यङ्ग्य हो । यो केवल केही छिटपुट यौन विचलनको कथा होइन । ‘सभ्यताको खोल ओढेको आधुनिक बर्बरता’को कठोर चित्र हो ।

जहाँ एकातिर हामी प्रगति र नैतिकताको रटान लगाउँछौँ, त्यहाँ अर्कातिर शक्तिको आडमा मौलाएको यो नग्न नाचले मानवताको चरम नैतिक स्खलनलाई उजागर गरेको छ । मानिस भौतिक रूपमा विकसित भए पनि प्रवृत्तिगत रूपमा अझै आदिम र हिंस्रक रहिरहेकै हो कि भन्ने प्रश्न उब्जिन्छ ।

जेफ्री एप्स्टिनको कारागारभित्र भएको त्यो संदेहास्पद अन्त्यले एउटा भयावह र कटु सत्य उजागर गर्छ । जब अपराधीभन्दा अपराधका पर्दापछाडिका साझेदारहरू शक्तिशाली हुन्छन्, तब सत्यको श्वास नै थुनिन्छ । सत्यको मुख बन्द गर्न गरिने यस्ता कृत्यहरूले यही संकेत गर्छ ।

यदि एप्स्टिन न्यायको कठघरामा उभिएर मौनता तोड्ने अवस्थामा पुगेका भए, विश्व–राजनीति र शक्तिका कैयौँ सुसज्जित सिंहासनहरू बालुवाको महलझैँ ढल्ने निश्चित थियो ।
तसर्थ, उनको मृत्युलाई केवल ‘आत्महत्या’ थिएन, ‘सुनियोजित हत्या’ थियो । यस घटनाले विधिको शासन र कानुनको सर्वोच्चताको मुटुमै एउटा अमेट प्रश्नचिह्न खडा गरिदिएको छ ।

असीमित धन र अनियन्त्रित शक्तिले मानिसलाई ‘देवत्व’ होइन, ‘दानवत्व’ तर्फ धकेल्न सक्छ । सार्वजनिक भएका लाखौँ पृष्ठका फाइलहरू केवल कागजका थुप्रा मात्र होइनन्, ती निर्दोष सपनाहरूको सम्भावित चिहानजस्ता प्रतीत हुन् । प्रत्येक पृष्ठले सत्ता र सम्पत्तिको आडमा गरिएको त्यो भयानक नरमेध र मानवताको चीरहरणको कथा बोल्छ, जसले आधुनिक सभ्यताको मकुन्डोलाई नै कुरूप बनाइदिएको छ ।

एप्स्टिन फाइलमा ‘नेपाल’ शब्दको ११८ पटक पुनरावृत्ति भएका छन् । र, त्यो पनि विशेष गरी विनाशकारी भूकम्पपछिको सङ्कटपूर्ण घडीसँग जोडिनु, सामान्य चिन्ताको विषय मात्र होइन, यो एउटा गम्भीर राष्ट्रिय त्रासदी हो । यदि संकटको समयमा मानवीय सहायताको नाममा यदि ‘नेपाली गलैँचा’लाई अबोध कोपिलाहरूको अस्मिता लुट्ने ‘गुप्त सङ्केत’ बनाइएको सत्य हो भने यो हाम्रो स्वाभिमानको चीरहरण हो । यो हाम्रो राष्ट्रिय अस्मितामाथि लागेको सबैभन्दा ठूलो र अमेट कलङ्क हो ।

विपद्को विभिषिकामा सहाराविहीन बनेका निर्दोष नेपाली बालिकाहरूलाई यदि अन्तर्राष्ट्रिय यौन बजारको ‘उपभोग्य वस्तु’ बनाइएको हो भने यसले ‘मानवीय संवेदनाको चरम पतन’लाई विश्व रङ्गमञ्चमा नग्न रूपमा उभ्याइदिएको छ । यस भयानक अपराधमा राज्यको रहस्यमयी मौनता र उदासीनता केवल लज्जास्पद मात्र होइन, बरु सत्ता र शक्तिले संरक्षण गरेको एउटा ‘क्रूर र सङ्गठित अपराध’ तर्फको संशय हो । यो मौनताले कतै न कतै शक्तिशाली सञ्जालको संरक्षण र न्यायप्रतिको लाचारी हो ।

डोनाल्ड ट्रम्प जस्ता विश्वका शक्तिशाली नेताहरूले निर्वाचनको पूर्वसन्ध्यामा ‘एप्स्टिन फाइल’ सार्वजनिक गर्ने लोभलाग्दो वाचा गरेका थिए । सत्ताको बागडोर सम्हालेपछि उनले रहस्यमय मौनता साँधेका छन् । यसरी ट्रम्प मैन बस्नुको मुख्य कारण त्यो फाइल खोल्दा आफैँ नाङ्गिने त होइनन् ? प्रश्न गहन छ ।

एप्स्टिन प्रकरणले एउटा तितो सत्य स्मरण गराउँछ– अँध्यारो टापुमा गरिएका पापका पदचापहरू इतिहासको बालुवाबाट सजिलै मेटिँदैनन् । तसर्थ, एप्स्टिन फाइल अब केवल एउटा कानुनी दाउपेच वा यौन अपराधको फेहरिस्त मात्र रहेन, यो त विश्व राजनीति र आधुनिक नेतृत्वको ’नैतिक इमानदारिता’ जाँच्ने एउटा कसी बनेको छ ।

एप्स्टिन फाइल केवल कानुनी दस्ताबेज मात्र होइन, यो आधुनिक सभ्यताको ऐना हो, जहाँ शक्तिशालीहरूको अनुहार प्रस्ट देखिन्छ । ती पानाहरू तब मात्र बन्द हुनुपर्छ, जब पीडितहरूको दबाइएका चित्कारहरूले न्याय पाउनेछन् । जबसम्म शक्तिको आडमा नैतिकतालाई कुल्चिने छुट रहन्छ, तबसम्म यस्ता ‘अपराधका टापुहरू’ र ‘अँध्यारो सुरुङहरू’ जीवितै रहिरहनेछन् ।
०००

प्रतिक्रिया दिनुहोस्