Logo
Logo

गगन राजीनामा प्रकरण : नैतिकता हार्यो कि राजनीति ?


882
Shares

फागुन २१ गतेको चुनावमा नेपाली कांग्रेस पार्टी मात्र हारेन, पार्टी सभापति गगन थापा पनि हारे । चुनाव नजिकिँदै जाँदा घण्टीको पक्षमा देखिएको चुनावी लहरले कांग्रेस पछि पर्ने त लगभग तय नै थियो । तर, यति धेरै पछि पर्ला भन्ने पूर्वानुमान गर्न सकिन्नथ्यो । अझ, पार्टी सभापति थापा नै यति नमज्जाले हार्लान् भनेर सोच्नेको सङ्ख्या त धेरै न्यून थियो ।

यति मात्र हैन, कांग्रेसका सन्दर्भमा गरिएका अरू पनि धेरै अनुमान गलत साबित भए । कांग्रेस इतिहासमै सबैभन्दा नराम्ररी हा¥यो । रास्वपाको पक्षमा आएको चुनावी लहरले उसलाई ‘दुई कम दुई तिहाइ’ बहुमतको ‘भूतो न भविष्य’ जीत दिलायो भने कांग्रेस सभापति गगन थापालाई राजनीतिक जीवनकै एक गम्भीर मोडमा ल्याइपुर्यायो ।

गगनको राजीनामा
गगनले कांग्रेस पार्टीको हारको जिम्मा लिँदै सभापति पदबाट राजीनामा दिए । राजीनामा दिएको दिन उनी पार्टी सभापति भएको ६४ दिन मात्र भएको थियो । उनी कांग्रेस पार्टीकै जीवनमा दोस्रोपटक आएको एक विशिष्ट परिस्थितिमा आवधिक महाधिवेशनबाट हैन, विशेष महाधिवेशनबाट पार्टी सभापति भएका थिए ।

एकपटक कांग्रेसको सभापति हुने र पार्टीमा आमूल परिवर्तन ल्याउने गगनको सपना थियो । उनको त्यो सपना त पूरा भयो । तर, त्यो यस्तो परिस्थितिमा पूरा भयो कि उनलाई समयले नै ठग्यो । काम गर्ने समय नै नपाई राजीनामा दिनुपर्ने परिस्थिति आइलाग्यो ।

उनको राजीनामा पदका लागि सबै गर्ने नेपाली समाजमा एक किसिमको नैतिकताको बेञ्चमार्क थियो । तर, यसले त्यो किसिमको चर्चा र समर्थन प्राप्त गर्न सकेन । पुराना पार्टीको पदलोलुप संरचनाबाट त समर्थनको अपेक्षा गर्नु नै बेकार थियो तर नयाँ भनिएकाहरूले पनि यसको मूल्य आत्मसात् गर्न सकेनन् । चुनावी धङधङीबाट माथि उठ्न नसकेकै अवस्थामा कांग्रेस सभापतिले नैतिकताको आधारमा दिएको राजीनामा एक किसिमले भन्दा फासफुस नै भयो ।

नागरिक समाज र मिडियाले यसलाई सकारात्मक एजेन्डा सेटिङ गर्न सक्नुपथ्र्यो । त्यसो गरेको भए यो नैतिकता र मूल्यको राजनीतिको सन्दर्भमा एक दृष्टान्त बन्थ्यो । र, अरूलाई पनि त्यसो गर्न बाध्य बनाउँथ्यो । यसो हुँदा स्वभावतः नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि हुन्थ्यो । नेपाली समाजले चाहेको परिवर्तनको बीउ यो हुन सक्थ्यो ।

हरेक पुराना पार्टीभित्र दबाइएको अल्पमत पक्ष पनि बोल्न सक्ने अवस्थामा पुग्थ्यो । यसरी पार्टीभित्र र बाहिर दुबैतिर आवाज बुलन्द हुँदा हरुवा नेतृत्वविरुद्ध अर्को मौनक्रान्ति हुन सक्थ्यो । त्यसले चुनावमा हारेका सबै पार्टीका मुखिया राजीनामा दिन बाध्य हुन्थे ।

कांग्रेसका धन्धुकारी देउवा त गएकै थिए । शर्मनाक हारेर पनि एमालेमा टसमस नगरिरहेका ओली पनि जान्थे । आधार क्षेत्र रूकुम पूर्व गएर आफू जोगिए पनि पार्टीको शर्मनाक हार गराएका प्रचण्ड जान्थे । रौतहटमा पराजय भएका प्रचण्डका सहसंयोजक माधव नेपाल पनि जान्थे । उपेन्द्र यादव, महन्थ ठाकुरलगायका मधेसका मसिहाहरू जान्थे । राजावादी राप्रपाका लिङ्देन जान्थे । हारबाट कोही पनि नजोगिएको ‘बालेन बेग’ चलेको यो बेला लगभग सबै ठूला पार्टीका ‘टाउके’ जान्थे ।

यी सबै पुराना दलका टाउके जाँदा ती पार्टीले नयाँ अनुहारको नेतृत्व पाउँथे । त्यो नेतृत्व भनेको सापेक्ष रूपमा कम उमेरको र परिवर्तनको बाध्यकारी नियमलाई बुझ्ने नै हुन्थ्यो । त्यसले वैचारिक आधारमै पुराना दललाई समर्थन गर्ने ठूलो जनमतले परिवर्तित नेतृत्व पाउँथ्यो ।

यो भनेको नेपाली जनताले चाहेको परिवर्तनको अर्को श्रृङ्खला पूरा हुनु हो । त्यो श्रृङ्खलाबिना जेनजी आन्दोलनको र रास्वपाको दिग्विजयले मात्र नेपाली समाजले चाहेको परिवर्तन सम्भव छैन, हुँदैन । ती त क्रममा नजोडिएका श्रृङ्खला मात्र साबित हुन्छन् ।

अहिले नै पनि परिवर्तनको कोणबाट हेर्ने हो भने जेनजी आन्दोलन लगभग तुहिएकै अवस्था हो । यसले गरेको भनेको २०८४ को चुनाव २०८२ मै ल्याएर पुराना पार्टीलाई हराएर रास्वपालाई दिलाएको जीत मात्रै हो । अर्को शब्दमा भन्दा कांग्रेस–एमालेको ठाउँमा रास्वपा र ओली–देउवाको ठाउँमा बालेन–रवि ल्याएको नै हो ।

अहिलेका लागि यो एक किसिमको प्रतिस्थापनको टालटुले निकास मात्र हो । यतिले मात्र देशमा आकाश खस्नेवाला छैन । देशले चाहेको परिवर्तनको कार्यव्यापार पूरा गर्न त समग्र देश परिवर्तन हुनुपर्छ । त्यसका लागि पुराना राजनीतिक दल र वैचारिक आधारमै तिनको समर्थन गर्ने ठूलो जनमत पनि परिवर्तित हुन जरुरी हुन्छ ।

यसपटक त्यो जनमत पार्टी र विचार यथावत् राखेरै मत परिवर्तन गर्ने स्थितिमा मात्र पुगेको हो । उनीहरू आआफ्ना पार्टीको बूढो नेतृत्वको ‘घण्टी’ बजाउन रास्वपाको घण्टीको रालो समाउन पुगे र यति ठूलो आवाजमा घण्टी बज्यो ।

नेतृत्वको संकट
गगनको राजीनामा नेपाली समाजमा सकारात्मक एजेन्डा बन्न सकेन । बढीमा त्यो कांग्रेसभित्रको आन्तरिक डाइनामिक्समा एक पक्षलाई कमजोर र लगभग नेतृत्वविहीन बनाउने परिघटना मात्र बन्ने स्थितिमा पुग्यो ।

जब कुनै राष्ट्रिय परिघटना यथोचित महत्त्व नपाएर कुनै एक पार्टीको आन्तरिक जीवनको विषय मात्र बन्छ, त्यसको जोडघटाउ पार्टीको आन्तरिक शक्ति संघर्षको बहिखातामा मात्र हुन्छ । गगनको राजीनामा पनि काँग्रेसको आन्तरिक पार्टी जीवनको बहिखातामा त्यस्तै एउटा जोडघटाउको विषय मात्र बन्यो ।

उनको राजीनामा केन्द्रीय समितिले एक मतले अस्वीकृत ग¥यो । पार्टीको आन्तरिक जीवनमा ठूलो रस्साकस्सीपछि भएको विशेष महाधिवेशनबाट आएको नेतृत्वको पक्षमा यस्तो निर्णय हुनु अस्वाभाविक थिएन,भयो ।

अर्को महत्त्वपूर्ण पक्ष उनको नेतृत्व छान्ने विशेष महाधिवेशन र उनको सभापतित्वको वैधानिकता नै अदालतमा विचाराधीन छ । त्यसको छिनोफानो नभई पार्टी नेतृत्वबाट बाहिरिँदा त्यसले विशेष महाधिवेशनको औचित्यसँग सम्बन्धित प्रश्न मात्र थाँती राख्दैन थियो, पार्टीको आन्तरिक डाइनामिक्समा तलमाथि पनि पाथ्र्यो ।

यो सत्यलाई राम्रैसँग बुझेका कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा सुरुदेखि नै गगन थापाको राजीनामाको विपक्षमा थिए । उनको जोडबल चलेन, गगनको राजीनामा आयो । तर, त्यो राजीनामा उनकैमा आउँथ्यो, आयो । उनैले सभापतित्व गर्ने केन्द्रीय समितिको बैठकमा पेस भयो । उनले गगनको राजीनामा अस्वीकार हुनुपर्ने तर्क र तथ्य प्रस्तुत गरे । समग्र केन्द्रीय समिति उनको पक्षमा उभियो र गगनको राजीनामा अस्वीकृत भयो ।

यसको अर्थ गगन थापाको सभापतित्वले काँग्रेसमा निरन्तरता पायो । तर, अझै पनि उनी समग्र काँग्रेसको सभापति हुन सकेका छैनन् । बढीमा उनी विशेष महाधिवेशनवाला काँग्रेसको सभापति भएका हुन् । नियमित महाधिवेशनवाला विशेष महाधिवेशनकै विरुद्ध अदालत गएका छन् । आगामी चैत २२ गते पेशी तोकिएको छ । विशेष महाधिवेशनले मान्यता पाए सभापति गगन, नपाए देउवा । अहिलेका लागि भने विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाले कानुनतः गगन नै कांग्रेस सभापति हुन् ।

अझै पनि काँग्रेसका सबै ‘बूढा’ गगनलाई सभापति मान्न तयार छैनन् । त्यसो गर्न अरूलाई त सुहाउला पनि । तर अचम्म; सभापतिका रूपमा उनकै हस्ताक्षर लिएर चुनावमा गएका शेखर कोइराला, विमलेन्द्र निधि, विजय गच्छेदार, मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्कीहरू पनि लाज पचाइरहेकै छन् । यतिसम्म कि उनीहरू आफ्नो हारको दोष पनि गगनलाई नै दिइरहेका छन् । उनीहरूको तर्क छ, एमालेसँग गठबन्धन गरेर चुनाव लडेको भए कांग्रेसले यत्रो हार ब्यहोर्नुपर्ने थिएन । तर, चुनावी मतको तथ्यले त्यस्तो देखाउँदैन । उनीहरू हारेको क्षेत्रमा कांग्रेसले पाएको मतमा एमालेको मत जोड्दासमेत रास्वपाको आधा मत हुँदैन ।

पुरानो बनाम नयाँः पुस्ताको संघर्ष
कांग्रेस भित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनका नाममा जे जस्तो कित्ताकाट भयो, त्यो सबै पुस्ताको लडाइँ थियो, हो । कुनै बेला कांग्रेसमा कोइराला र कोइराला विरोधी खेमाको लडाइँ थियो, अहिले त्यो सकिएर पुस्ताको लडाइँ सुरु भएको छ । गगन थापा नयाँ पुस्ताको नेतृत्व गर्छन् । सबै ‘बूढा’ मिलेर तुलनात्मक युवा उनीमाथि चौतर्फी आक्रमण गरिरहेका छन् ।

गगन आफैँ र कांग्रेस यति धेरै नहारेको भए काँग्रेसी बूढाहरूको बोल्ती बन्द हुन्थ्यो । कांग्रेस पार्टीले नयाँ जीवन पाउँथ्यो । कांग्रेस यति नै जितेर पनि गगनले जितेको भए उनको निम्ति बोल्ने ठाउँ हुन्थ्यो । आफैँ हारेपछि केही भन्ने ठाउँ नै भएन ।

तर, सत्य के हो भने अहिले चलेको बालेन बेगमा गगन नेतृत्वकै कारण कांग्रेस यति जोगिन सकेको हो । यदि देउवाको नेतृत्वमा कांग्रेस चुनावमा गएको भए योभन्दा पनि शर्मनाक हार ब्यहोर्नुपथ्र्यो । तथ्यले नै प्रमाणित यो स्थापित सत्यका अतिरिक्त पनि आफैँ हारेपछि गगन नैतिक संकटमा परेका हुन् । तर, यो पनि सत्य हो कि अबको पाँच वर्ष गगनले काम गर्न पाए भने कांग्रेसमा आमूल परिवर्तन हुन्छ र त्यो परिवर्तनको समग्र देशको लोकतान्त्रिकरणमै ठूलो योगदान हुन्छ ।

केहीलाई लाग्दो हो, कांग्रेस कमजोर भएर देश बलियो हुन्छ । यो सरासर गलत हो । अनेकौँ कमी कमजोरी भए पनि नेपाली कांग्रेस विनाको नेपालको राजनीति न हिजो कल्पना गर्न सकिन्थ्यो, न आज नै सम्भव छ । भोलि पनि कांग्रेस नै नेपालको दक्षिणपन्थी लोकतन्त्रवादी कित्ताको मियो हो ।

यो पार्टीसँग नेपाललाई आजको दिनसम्म दोहो¥याएको इतिहास छ, ऐतिहासिक नेतृत्व छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय मान्यता छ, देशव्यापी रूपमा गाउँगाउँसम्म संगठन छ । अझै पनि पार्टी भनेकै कांग्रेस भन्ने पुस्ता जिउँदै छ । राजनीतिमा यो नै सर्वस्व पूँजी हो । यो काँग्रेसको मात्र पूँजी हैन, देशकै पूँजी हो ।

कांग्रससँग नभएको भनेको समयसापेक्ष नेतृत्व हो । गगनले त्यो नेतृत्वको खाडल कम्तीमा पनि अर्को पाँच वर्ष पूरा गर्न सक्छन् । यदि उनको नेतृत्वमा कांग्रेस गोलबद्ध भयो र उनलाई काम गर्न दिइयो भने गगनले कांग्रेस मात्र बदल्दैनन्, देश पनि बदल्न सक्छन् ।

यो स्तम्भकार गगनको माया लागेर वा उनको पार्टीको समर्थक भएर यसो भनिरहेको छैन । यसो भन्नुको पछाडि केही बस्तुनिष्ठ कारण छन् । गगन सर्वगुण सम्पन्न छैनन् तर भएका नेताहरूमध्ये उनी कम खराबी भएका एक कम्बो नेता हुन् । उनीसँग संघर्षशील इतिहास छ, जुझारू व्यक्तित्व छ, कांग्रेस जस्तो इतिहास भएको पार्टीको विरासत छ, देशव्यापी रूपमा एक नेताको रूपमा स्वीकार्य व्यक्तित्व छ । उनी एक अपडेटेड र अपग्रेटेड भर्सन हुन् । उनी आजको समय र समाज पढ्न सक्छन् ।

गगनको नेतृत्वमा कांग्रेस मात्र सुध्रिँदैन । यसको ‘टिकल डाउन’ असर अरू दलमा पनि पर्दा ती दलमा पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुन्छ । त्यसले सबै पार्टीको जीवन मात्र तन्नेरी हुने हैन, समग्र देशको राजनीतिक जीवन पनि तन्नेरी हुन्छ । युवाहरूले नेतृत्व गरेको देशमा आशा पनि तन्नेरी भएर ठिंग उभिन्छ ।

यो स्तम्भकारले धेरै अगाडि लेखेको थियो, ‘गगन थापा प्रधानमन्त्री र विश्वप्रकाश शर्मा कांग्रेस सभापति भएको हेर्ने रहर छ ।‘ यो मेरो प्रिय चाहना हो र अहिले पनि बर्करार छ । मैले उनीहरूको माया लागेर यसो भनेको हैन, उनीहरूको निर्णायक भूमिकाले कांग्रेस बदलिन्छ र देशमा केही हुन्छ भन्ने आशा र विश्वास बाँकी भएकाले नै त्यसो भनेको हुँ ।

नयाँ शक्ति, नयाँ परीक्षा
अहिले देशले गगन र विश्वभन्दा पनि नयाँ पुस्ताको नेतृत्व पाएको छ । देशको सबैभन्दा ठूलो पार्टी रास्वपाको सभापति रवि र हुन लागेका प्रधानमन्त्री बालेन दुबै उनीहरूभन्दा कान्छा छन् । आफूलाई नयाँ भन्दै पुरानालाई विस्थापित गरेर आएका उनीहरूले आफूलाई परिवर्तनको वाहक दाबी गरेका छन् । देश र जनतासँग १०० वाचा मात्र गरेका छैनन्, पाँच बुँदे करार नै गरेका छन् ।

बोलेर भन्नलाई योभन्दा बढी केही बाँकी हुँदैन, छैन । अब बाँकी भनेको गर्नलाई मात्र हो । पुरानाले गर्नका लागि पर्याप्त समय पाएकै हुन्, गरेनन् । त्यसैले जनताले नयाँलाई गर्ने मौका दिएका हुन् । उनीहरूले वाचापत्र र करारपत्रमा लेखेजस्तै गरे भने देश समृद्ध हुन्छ, जनता सुखी हुन्छन् । आखिर चाहिएको साध्य नै यही हो, साधक जो पनि हुन सक्छ । त्यसले तात्त्विक फरक पार्दैन । नेपाली जनताले यो सत्य राम्ररी बुझेका छन् ।

त्यसो भयो भने अहिले पार्टी नफेरी मत फेरेर घण्टी बजाउने जनता रास्वपासँगै रहन्छन् । रास्वपा दक्षिणपन्थी राजनीतिक दलको मियो बन्छ । त्यसले काँग्रेसलाई प्रतिस्थापित गर्छ । त्यसको अर्थ गगन र विश्वप्रकाशहरूलाई समयले पर्खँदैन, स्वतः असान्दर्भिक हुन्छन् ।

अहिलेका लागि गगन र विश्वप्रकाशलाई कांग्रेस पूरै सच्याउने मौका दिनुपर्छ । अनि, पाँच वर्षका लागि जनादेश पाएका रवि र वालेनलाई कम्तीमा पनि वाचापत्रका ११० वाचा र करारपत्रका पाँच बुँदा पूरा गर्ने समय दिनुपर्छ । यो समय अनेकौँ किसिमका षडयन्त्रका सिद्धान्तहरूको मिडिया ट्रायल गर्ने हैन, उनीहरूलाई काम गर्न सहजीकरण गर्ने हो । विश्वास लाग्दैन भने, शंकाको सुविधा दिऊँ, यो नै समयको आदेश हो ।

प्रतिक्रिया दिनुहोस्