
यो पूर्वनिर्धारित योजना नै थियो, बेप्पुबाट पानीजहाजमार्फत कोबेसम्म पुग्ने । यो योजना र सल्लाह पनि निशिकावाकै थियो । म जापान पुग्नुअघि नै उनले हामी आमा–छोरी र आफ्नै निम्ति तीनवटा टिकट बुक गरिसकेकी थिइन् । जहाजको टिकट उनको उपहार थियो ।
जहाजको एउटा क्याबिन चारजनाको निम्ति रहेछ । उनले हामी तीनजनाको निम्ति त्यही रिजर्भ गरेकी थिइन् । बेलुकीपख चढेको जहाज बिस्तारै अगाडि बढ्यो । चीनबाट फर्केपछि पानी जहाज चढ्न पाएको पनि थिइन । धेरै समय पछिको जहाज यात्रा, त्यो पनि आफ्नी छोरी र प्रिय साथीसँगको– विशेष हुने नै भयो ।
पहिलो पल्ट चीनबाट जापान जाँदा र फर्कँदा होस् या चीनका विभिन्न ठाउँहरूमा घुम्न जाँदा कहिले दुई÷तीन दिन जहाज चढेको सम्झना फेरि ताजा भयो मलाई । मेरो मन प्रफुल्ल भइरहेको थियो । जहाज चढ्नुअघि नै साथीले भनेकी थिइन्– बिहान जहाजबाट सूर्योदय हेर्नु पर्छ । म त्यो क्षण पर्खेर बसेकी थिएँ । पहिले जहाज चढ्दा खासै याद नगरेको कुरा थियो यो । सहयात्री साथी अनुभवी भएमा यात्राको उपलब्धि नै फरक हुने रहेछ ।
पहाडबाट सूर्योदय हेर्न विभिन्न देशका पर्यटकहरू नेपाल आउने गर्छन् । पहाडको चुचुरोबाट सूर्य उदाएको मैले पनि धेरै पटक देखेकी छु । तर, समुद्रबाट कसरी जन्मिन्छ सूर्य भनेर हेर्न म ज्यादै लालायित भएँ । आधा रातदेखि नै बिउँझेर बसेँ– त्यो क्षण फुत्केला भनेर …।
सबै कुरा बिर्सेर सूर्यलाई पर्खेर बसें । बगिरहेको जहाजको बरण्डामा एक्लै पुगेँ । म पर्खिरहेको थाहापाए जस्तै गरेर सूर्यले मलाई दर्शन दियो । पानी नै पानीको बिचबाट रातो उज्यालोको डल्लो देखाप¥यो ! समुद्र एकछिनको निम्ति रक्ताम्य देखियो । वरिपरिको अँध्यारो सबै कता भाग्यो भाग्यो ! म त्यो दृश्य देखेर आल्हादित भएँ , ‘वाह…!’ भनेँ एक्लै ।
मनभित्र त उहिल्यै उदाई सकेको थियो सूर्य । मन उज्यालो भएपछि जगतै उज्यालो ! प्रकृतिलाई धन्यवाद भनेँ । निशिकावालाई पनि मनमनै धन्यवाद भनेँ । छोरीप्रति कृतज्ञ भएँ– यसपाली छोरीकै कारण यो यात्रा सम्भव भएको थियो । केही दिनपछि नै हामी टोकियो पुगेर ‘टोकियो युनिभर्सिटी’मा उसले विद्यावारिधीको टोपी लगाएको हेर्नु थियो । एउटा खुसीले अर्को खुसीलाई तान्दो रहेछ ।
हामी जहाजबाट ओर्लिदा अर्को खुसी अनुभूत गर्न पाएँ ! पुराना दुई प्रिय साथी तामायो र आशाही हामीलाई लिन आएका थिए । क्योटो घुमाउने जिम्मा अब उनीहरुमा स¥यो । एकदिन त्यहीं संगसंगै घुम्ने योजना रहेछ । मलाई पहिला सहयोग गर्ने साथीहरू सँगको मित्रता माया अझै पनि उस्तै गहिरो थियो ।
रूपमा भने हामी सबै अर्कै भइसकेका रहेछौँ । समय धेरै बगिसकेको रहेछ । शताब्दि नै फरक भइसकेको थियो । पहिलो पल्ट उनीहरुको घरमा बसेको बेला १९९१ थियो । यसपाली त २०१८ भइसकेको थियो । तर माया उस्तै । सहयोग गर्ने तत्परता उस्तै । त्यो बेला मेरी छोरी सानी थिइ । अहिले एक किसिमले ऊ समय बताउने देवीजस्ती भएकी छ । काठमाडौँ युनिभर्सिटीमा मेडिसिन पढेर, देशका विकट ठाउँमा सेवा गरेर, मास्टर्स र पिएचडीको निम्ति टोकियो युनिभर्सिटी पुगेकी । उसलाई देखेर साथीहरू धेरै नै खुसी भए । आशाहीले आफ्नो घरमा लिएर गइन् लन्चको निम्ति ।
आशाही र तामायो पनि मिल्ने साथी । उनी अगाडि नै आशाहीकहाँ पुगिसकेका रहेछन् । टोकियोदेखि हामीलाई भेट्नै भनेर उता पुगेको कुराले पनि मेरो मनलाई खुसी बनायो । हामी चीनमा भएकै बेला विश्व भ्रमणको क्रममा तामायो नेपाल पनि पुगेकी थिइन् । उनलाई नेपाल असाध्य मन परेको कुरा सुनेकी थिएँ । त्यसैले यो भेटमा अब फेरि कहिले नेपाल जाने भनेर सोधेकी थिएँ । फेरि नेपाल जाने बेलामा आशाहीलाई पनि लिएर अर्को वर्षतिर नेपाल पुग्ने इच्छा व्यक्त गरेकी थिइन् ।
अर्को वर्ष सन् २०१९ बाट त कोभिडको आतंक शुरु भइहाल्यो । उनीहरु नेपाल आउने कुरा त्यत्तिकै रोकियो । पछि फेरि अरु के के कारणले हो अझै नेपाल आएका छैनन् ।
कोबेबाट हामी पाँचजना क्योटोको निम्ति घुम्न हिंड्यौं । यसपालीको क्योटो अझै सुन्दर लाग्यो । ऐतिहासिक सहर क्योटोमा पुग्दा पुराना नेपाली साथीहरूलाई पनि सम्झें । तर यसपालि उनीहरूसँग यहाँ भेट हुने थिएन । डा. मोहन मूर्ति पन्त र योको दुबै नै नेपालमा थिए ।
क्योटोका विभिन्न प्रसिद्ध ठाउँहरूमा घुमाउन लगे साथीहरूले । साँझ एउटा साँस्कृतिक र ऐतिहासिक महत्वसमेत बोकेको पुरानो जापानी ‘बार’मा पनि लगे । धेरै महंगो रहेछ । साथीहरूसंग एकछिन् रमायौं, पुराना कुरा सम्झेर हाँस्यौं । त्यो बेला छोरी भने उसकै अर्कै साथी भेट्न गएकी थिइ । त्यो रात क्योटोकै एउटा बेट एण्ड ब्रेकफास्टमा बस्ने योजना थियो– निशिकावा र हामी आमाछोरी । तामायो र आशाहीले त्यही ठाउँसम्मै पु¥याइदिए । नेपालमै भेट्ने बाचा गरेर फर्के । कस्तो मित्रता थियो हाम्रो– कहिल्यै पुरानो नहुने ! तर अहिले यतिका लामो समयदेखि सम्झना मात्र भइरहेको छ । फोनमा पनि सम्बन्ध हुन सकिरहेको छैन ।
ती साथीहरूलाई अहिले सम्झिरहँदा क्यालेण्डरले सन् २०२६ मार्चको अन्तिमतिर पुगिसकियो भन्दै छ । वसन्तको याम छ । जापानमा यो सबैभन्दा सुन्दर र सुखद मानिने समय साकुरा फुल्ने समय हो । केही साथीका पोष्टमा साकुरा देखिसकेकी छु । भर्खरै रचनाको परिवार नाति शिवान पनि एकदमै खुसी भएर साकुरा वरिपरी घुमेको भिडियो हेर्न पाएकी छु । आफू टोकियोमा हुँदा बेस्सरी रमाएको कुरा पनि सम्झिरहेछु । केही समय पछि अप्रिलको बिचमा पुग्दा नपुग्दा त्यति राम्रो सुन्दर साकुरा झर्न थाल्छन् । त्यो पनि देखेकी छु , बाटोमा झरेका साकुरा देख्दा चित्त दुखाएको र अनित्यता बोध भएको कुरालाई बिर्सेकी छैन ।
साथीहरूले साकुराबारे भनेका कुरालाई पनि बिर्सन सकेकी छैन । साकुरा जीवन जस्तै अनित्य छ । फुलेको बेला अति सुन्दर हुन्छ, तर यसको आयु छोटो छ । त्यसैले महत्व अझै धैरै छ …। पछि नेपाल फर्केपछि मैले विश्वभाषा क्याम्पसमा नेपालभाषा पढाउँदा केही जापानी विद्यार्थीहरू पनि थिए । तिनीहरू पनि पछि मिल्ने साथी भएका थिए । उनीहरूबाट पनि पहिले सिक्न नपाएका जापानका बारेमा धैरै कुरा सिक्न पाएकी थिएँ ।
सुन्दर साकुरा, समुद्रबाट उदाएको सूर्य र सुन्दर मन भएका स्नेही साथीहरुलाई कहिल्यै भुल्न सक्तिन हुँला भन्ने लाग्छ ।











