
आजको युगमा कसैको अस्तित्व समाप्त पार्न रणमैदानमा युद्ध लड्नु पर्दैन, एउटा कोठाको कुनामा बसेर स्मार्टफोन चलाउन जान्ने ‘अन्धभक्त’ जमात नै काफी छ । भक्तपुरकी २० वर्षीया अमिशा पराजुली यसै पछिल्लो उदाहरण हुन् । उनको एक मात्र दोष थियो– आफ्नो राजनीतिक निष्ठा र निर्भीक अभिव्यक्ति ।
आफ्नो राजनीतिक आस्थाका आधारमा सडकमा उत्रिँदा उनले ठानेकी थिइन्, विचारको सामना विचारले नै हुनेछ । तर, हाम्रो समाजको डिजिटल चेतना यति रुग्ण र दुर्गन्धित भइसकेछ कि, उनको तर्कको जवाफ तर्कले होइन, बलात्कारको धम्की र चरित्र हत्याको भद्दा प्रहारले दिइयो । एउटा सभ्य समाजका लागि यो भन्दा लज्जास्पद विषय अर्को हुनै सक्दैन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिनु अमिशाको संवैधानिक र नैसर्गिक अधिकार हो । तर, त्यही अधिकार प्रयोग गरेकै कारण एक युवतीलाई ‘निर्मला पन्त’ बनाउने धम्की दिनुले हाम्रो समाजमा मरेको विवेक र मौलाएको आपराधिक मानसिकतालाई छर्लङ्ग पारेको छ ।
सामाजिक सञ्जालमा अमिशाको फोटो राखेर ‘दुई शब्द भन्नुहोस्’ भन्दै भिडलाई उक्साउनेहरूको पनि कमि छैनन् । यी उक्साउनेहरूलाई राम्ररी थाहा छ– यो अन्धभक्त र विवेकहीन भिडले तर्क गर्दैन, केवल आक्रमण गर्छ । उनीहरूका लागि एउटी युवतीको अस्मिता र आत्मसम्मान बजारमा बेचिने ‘सस्तो सामान’ भएको छ, जसबाट उनीहरूले केवल सस्तो मनोरञ्जन लिइरहेका छन् ।
असह्य मानसिक प्रताडनापछि अमिशाले साइबर ब्युरोमा न्यायको ढोका ढकढक्याएकी छन्। निवेदन दिएपछि उनले भनेकी छन्– “यसरी मानहानि हुनु मेरो मात्र व्यक्तिगत समस्या होइन रहेछ । महिलाहरूमाथि हुने डिजिटल दुव्र्यवहार विरुद्ध कानुनी लडाइँ लड्नुपर्छ भन्ने बुझेर मैले यो कदम चालेकी हुँ ।”
वास्तवमा, अमिशा त यहाँ एउटा प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजमा दिनहुँ सयौँ नारीहरू यस्तै ‘डिजिटल बलात्कार’ र मानसिक हिंसाको सिकार भइरहेका छन् । आजको समय यति भयावह बनेको छ कि कसैको अस्तित्व र भविष्य बर्बाद पार्न अब न कुनै खुकुरी चाहिन्छ, न त बारुद र बम । केवल एउटा मोबाइल, इन्टरनेट र एउटा विवेकहीन भिडको मानसिकता प¥याप्त छ । यही हो डिजिटल युगको सबैभन्दा घिनलाग्दो र कुरुप अनुहार ।
आजका डिजिटल अपराधीहरूलाई आफ्नो पहिचान लुकाउन कुनै अँध्यारो गल्ली वा नकाबको आवश्यकता छैन । तिनीहरू उज्यालो कोठामा, एसीको हावा खाँदै एउटा स्मार्टफोनको सहारामा कसैको जिन्दगी ध्वस्त पार्ने सामथ्र्य राख्छन् । वास्तवमा, साइबर बुलिङ ती कायरहरूको हतियार हो, जसले अरूको अस्तित्व मेटाउने धुनमा आफ्नै नैतिकता र विवेक पतन गराइरहेका छन् ।
विडम्बना ! सामाजिक सञ्जालका एल्गोरिदमहरू पनि यस्तै संवेदनाहीन छन्, जसले प्रेमभन्दा घृणालाई र तर्कभन्दा विवादलाई बढी मलजल गर्छन् । किनकि घृणा बिक्छ, र जुन कुरा बिक्छ, त्यसले मानिसलाई संवेदनाहीन बनाउँछ ।
अरूलाई नग्न गाली गरेर वा तुच्छ शब्दले होच्याएर प्राप्त हुने केही लाइक र रियाक्सनमा सन्तुष्टि खोज्नेहरू वास्तवमा आजको युगका सबैभन्दा ठूला मानसिक रोगी हुन् । अरूको आँसुको आहालमा आफ्नो ‘लोकप्रियताको महल’ खडा गर्नेहरूले यो सत्य बुझ्न जरुरी छ– घृणाको बीउ रोपेर कहिल्यै शान्तिको फल प्राप्त हुँदैन । अरूको घरमा आगो लगाएर आफ्नो कोठा उज्यालो पार्ने भ्रम पाल्नेहरू, एकदिन त्यही डढेलोमा आफैँ भष्म हुनेछन् ।
मनोवैज्ञानिक ऐनाबाट हेर्ने हो भने, साइबर बुलिङ गर्नेहरू कुनै शूरवीर होइनन्, ती त आफ्नै जीवनको असफलता, ईष्र्या र अन्तहीन कुण्ठाले थिचिएका मानसिक रोगी हुन् । विडम्बना के छ भने, हामीले महँगो स्मार्टफोन बोकेर आफूलाई आधुनिक त मान्यौँ, तर त्यो चलाउने न्यूनतम चेतना र संस्कार को विकास गर्न सकेनौँ ।
हिजो विष पिउँदा मात्र मृत्यु हुन्थ्यो, आजको युगमा विषालु शब्दहरूले मानिस मृत्युतुल्य भइरहेको छ । साइबर बुलिङले मानिसलाई शारीरिक रूपमा नमारे पनि, उसभित्रको बाँच्ने इच्छा, आत्मविश्वास र खुसीको हत्या गरिरहेको हुन्छ ।
तरपनि आजको समाजले साइबर बुलिङलाई निकै हलुका रूपमा लिने भुल गरिरहेको छ । कसैको शरीर, अनुहार, आवाज वा पहिरनमाथि गरिने भद्दा टिप्पणीलाई हामीले आधुनिक शब्दावली दिएका छौँ– यो त केवल ट्रोल हो ! फन हो ! कन्टेन्ट हो !
तर गम्भीर प्रश्न उठ्छ— यदि कसैको आत्मसम्मानलाई बजारको वस्तु बनाएर मनोरञ्जन लिइन्छ भने, त्यो मजाक कसरी हुन सक्छ ? यदि कसैको मानसिक स्वास्थ्य ध्वस्त पारेर भीड हाँसिरहेको छ भने, त्यो ‘फन’ कसरी हुन सक्छ ? यो त वास्तवमा समाजले आफ्नो संवेदनाको मलामी जाँदै मनाइरहेको एउटा बीभत्स उत्सव हो ।
सबैभन्दा बीभत्स दृश्य त तब देखिन्छ, जब कसैको अपमान ‘भीडको सस्तो मनोरञ्जन’ बन्न पुग्छ । एकजनाले विष वमन गर्छन् । दोस्रोले हाँस्ने इमोजीमार्फत त्यसलाई मलजल गर्छ । तेस्रोले सेयर गरेर डढेलो फैलाउँछ । चौथोले स्क्रिनसटको हतियार चलाउँछ । र, पाँचौँले थप घृणा मिसाउँछ । यसरी एउटा तुच्छ टिप्पणीले हजारौँ मनरोगी जन्माउँछ । डिजिटल हिंसाको वास्तविक डर नै यही हो– यो एकपटक भएर रोकिँदैन । यो बारम्बार दोहोरिन्छ, भाइरल हुन्छ, र इन्टरनेटको अमर बनेर पीडितलाई गिज्याइरहन्छ ।
आज पीडित आफ्नो सुरक्षित ओछ्यानमा पल्टिँदा पनि ढुक्क हुन सक्दैनन् । किनकि, हिजोका अपराधीहरू सडकका अँध्यारो गल्लीमा हुन्थे, तर आजका ‘डिजिटल अपराधी’हरू पीडितकै खल्ती र सिरानीमुनि रहेको मोबाइलभित्र अदृश्य भई लुकेर बसेका हुन्छन् । स्क्रिन खोल्यो, गालीको वर्षा । नोटिफिकेसन बज्यो, व्यङ्ग्यको बाण । म्यासेज हे¥यो, अस्तित्व मेटाउने धम्की । कमेन्ट पढ्यो, आत्मसम्मानको चीरहरण ।
मानिस आफ्नै प्रविधिसँग भयभीत हुनुपर्ने, आफ्नै नाम ‘सर्च’ गर्न हिचकिचाउनुपर्ने र आफ्नै पहिचान लुकाउनुपर्ने कस्तो विडम्बनापूर्ण युगमा हामी बाँचिरहेका छौँ ? जब एउटा स्मार्टफोनले मानिसलाई पलपल मृत्युतुल्य बनाउँछ भने हामीले बुझ्नुपर्छ– हामी आधुनिक होइन, बरु प्राविधिक दासताको सबैभन्दा कुरुप सुरुङभित्र फसिरहेका छौँ ।
साइबर बुलिङ किन यति निर्दयी छ ? यसको उत्तर इन्टरनेट वा ‘एआई’मा होइन, मानिसको भित्र लुकेको क्रूर चरित्रमा छ । धेरै मानिसहरू स्क्रिनको ओत लागेर ती विषालु शब्दहरू ओकल्छन्, जुन उनीहरूले कसैको आँखामा हेरेर भन्ने साहस कहिल्यै गर्न सक्दैनन् । समस्या इन्टरनेटमा होइन, मान्छेको इन्टनसेनमा छ ।
तर, हामी केवल गाली गर्नेलाई मात्र दोषी देखेर उम्किन पाउँदैनौँ । यो डिजिटल हिंसालाई जीवित राख्ने र मलजल गर्ने वास्तविक शक्ति भनेको ‘हेरेर रमाउने भीड’ नै हो । जब कसैको अस्मिता लुटिँदै गर्दा सयौँले ‘लाइक’ गर्छन्, हाँस्ने ‘इमोजी’ पठाउँछन् र ‘सेयर’ गरेर मनोरञ्जन लिन्छन्, तब ती सबै त्यो हिंसाका मतियार हुन् । याद राखौँ– अपराधीको साहस उसको शब्दले मात्र होइन, दर्शकको ताली र मौन समर्थनले बढ्छ ।
हाम्रो समाजको सबैभन्दा दुःखद पक्ष अझै पनि ‘पीडितलाई नै दोषी देख्ने’ प्रवृत्ति हो । कसैको फोटो दुरुपयोग भयो भने सोधिन्छ– “किन पोस्ट गरेको त?” कसैलाई गाली गरियो भने अर्ती दिइन्छ– “यस्ता कुरा त वास्ता गर्नु हुन्न।” कसैको चरित्रहत्या भयो भने भनिन्छ– “सामाजिक सञ्जाल नै नचलाउँदा भइहाल्यो नि !” क्या, सजिलो उत्तर ।
यस्ता उत्तरहरूले के प्रष्ट पार्छन् भने हामी अझै पनि अपराधीलाई होइन, पीडितलाई नै अपराधी करार गर्न अभ्यस्त छौँ । यो प्रवृत्तिले पीडकको मनोबल झन् बढाउँछ र पीडितलाई झन् ठूलो मानसिक खाडलमा जाकिदिन्छ । जबसम्म हामी अपराधलाई अपराध र अपराधीलाई अपराधी भन्न सक्दैनौँ, तबसम्म हाम्रो हातमा जतिसुकै महँगो स्मार्टफोन भए पनि हाम्रो चेतना ‘ढुङ्गे युग’मै अड्किरहनेछ ।
महिलामाथि हुने साइबर बुलिङ अझै गहिरो छ । विचार राख्दा उनको चरित्रमाथि हमला हुन्छ । फोटो राख्दा शरीरमाथि । सफल हुँदा सम्बन्धमाथि । यसले स्पष्ट देखाउँछ कि साइबर बुलिङ केवल व्यक्तिगत दुव्र्यवहार होइन, यो पितृसत्तात्मक मानसिकताको डिजिटल संस्करण पनि हो । अर्थात्, हामीले सडकमा, घरमा, संस्थामा, राजनीतिमा महिलामाथि गरेको अपमानलाई इन्टरनेटमा पनि नयाँ स्वरूपमा दोहो¥याइरहेका छौँ ।
विशेषगरी किशोरकिशोरी र युवापुस्ताका लागि यो झनै घातक छ । यो त्यो उमेर हो, जहाँ मानिसले ऐनामा आफ्नो अनुहार मात्र होइन, समाजमा आफ्नो अस्तित्व र आत्मछवि खोजिरहेको हुन्छ । यस्तो संवेदनशील समयमा जब उसलाई ‘डिजिटल बहिष्करण’ र अपमानको शिकार बनाइन्छ, उसको आत्मविश्वास खरानी हुन्छ ।
दुर्भाग्यवश, धेरै अभिभावक र शिक्षकहरू अझै पनि मध्ययुगीन चेतनामा बाँचिरहेका छन् । उनीहरू साइबर बुलिङलाई “केटाकेटीको सामान्य कुरा” वा “फेसबुकमा जिस्क्याएको त हो नि” भनेर हलुका रूपमा पन्छाइदिन्छन् । तर ती अभिभावकहरूले बुझ्नुपर्छ– उनीहरू भौतिक रूपमा सुरक्षित कोठामा भएपनि, मानसिक रूपमा डिजिटल अपराधीहरूको सामूहिक आक्रमण भोगिरहेका छन् । शरीरको चोट औषधिले निको हुन्छ, तर डिजिटल अपमानले आत्मामा लगाएको घाउ ‘अमर’ हुन्छ ।
हामीले आजको पुस्तालाई मोबाइल चलाउन त सिकायौँ, तर संवेदना सिकाउन बिर्सियौँ । सामाजिक सञ्जालको ‘अकाउन्ट’ खोल्न त सिकायौँ, तर सामाजिक ‘विवेक’ जोगाउन सिकाएनौँ । हाम्रो सबैभन्दा ठूलो असफलता नै यही हो । जबसम्म हामी ‘अभिव्यक्तिको स्वतन्त्रता’ र ‘अपमानको अराजकता’ बीचको लक्ष्मणरेखा कोर्न सक्दैनौँ, तबसम्म यो डिजिटल जङ्गलीपन रोकिने छैन ।
अन्ततः साइबर बुलिङविरुद्ध उभिनु कुनै भावुकता होइन, यो हाम्रो सभ्यता बचाउने न्यूनतम सर्त हो । हामीले सम्झिनै पर्ने एउटै सत्य के हो भने स्क्रिनपछाडि पनि एउटा धड्किरहेको मुटु हुन्छ । त्यहाँ पनि पीडा, लाज र आत्मसम्मान हुन्छ । फरक यति मात्र हो, यी घाउहरू देखिँदैनन् । तर, नदेखिने घाउहरू नै कहिलेकाहीँ सबैभन्दा घातक र ज्यानमारा हुन्छन् ।










