Logo
Logo

इगोको भुंग्रोमा जलिरहेको मानवता


189
Shares


‘ख्याल–ख्यालैमा चार इन्च’ नेपाली समाजमा यो एउटा सामान्य वाक्यांश मात्र होइन । कहिलेकाहीँ आवेगमा उत्रिने हाम्रो समाजका लागि यो वाक्यांश निकै भयानक र घातक बन्ने गरेको छ । पाटनको मङ्गल बजारमा गत बुधवार यस्तै ‘ख्याल–ख्याल’ मै दुई युवाको रगतको खोलो बग्यो । एउटा सामान्य ‘रङ नम्बर’ को फोन कल पनि मृत्युको बाजा बन्यो । र, सुमित नेम्वाङ तथा सृजन नेम्वाङको अकालैमा ज्यान गयो ।

साँझ साढे सात बजेको समय । कृष्ण मन्दिरदेखि मङ्गल बजारसम्मको क्षेत्र भक्तजनको चहलपहल र सुरक्षाकर्मीको निगरानीले भरिभराउ थियो । तर, त्यही भीडभाडको बीचमा दुई युवाको बीभत्स हत्या भयो, जसले मानवीय संवेदनालाई नै स्तब्ध बनाइदियो । घटना यति आकस्मिक थियो कि नजिकै रहेको प्रहरी बिटका सुरक्षाकर्मी र उपस्थित सर्वसाधारणले पत्तै नपाइ दुई दाजुभाइमाथि छुरा प्रहार भइसकेको थियो ।

उक्त बीभत्स घटनामा प्रहरीले ललितपुर, भोलढोका निवासी ३२ वर्षीय सञ्जीव नेपाली (सञ्जु) र नवलपरासीको गैँडाकोट स्थायी घर भई हाल ललितपुर–८ मा बस्ने २२ वर्षीय गगन सुनारलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका यी आरोपितहरूमाथि प्रचलित कानुन अनुसार कारबाही होला, उनीहरूले आफ्नो अपराधको सजाय पनि पाउलान् । तर, कारबाहीले मात्रै रित्तिएका ती काखहरू र सधैँका लागि निभेका दुई आशालाग्दा जीवनको क्षतिपूर्ति पाउने छैन ।

एक ‘रङ नम्बर’को प्राविधिक त्रुटिबाट सुरु भएको भनाभन अन्ततः दुई दाजुभाइको हत्या हुनु कुनै संयोग मात्र होइन, यो त हाम्रो समाजको कुरूप ऐना पनि हो । यो दुई पक्षबीचको क्षणिक टकराब मात्र नभई हाम्रो समाजको धैर्यता र संयम कस्तो भन्ने पनि प्रस्ट हुन्छ ।

यो घटना हाम्रो समाजको गम्भीर मनोवैज्ञानिक सङ्कटको पराकाष्ठा पनि हो । आजको मानिस शब्द र संवादमा होइन, अनियन्त्रित आवेग र हिंसामा आफ्नो अस्तित्व खोज्न थालेको छ । जहाँ केही पलको अन्धो रिसले जीवन नै अन्त्य गर्ने गरेका छन् । जुन दिनप्रतिदिन थप भयावह हुँदै गइरहेको छ ।

आजको समाजमा भौतिक विकासको गति जति तीव्र छ, मानवीय सहनशीलताको क्षय त्यति नै भयानक छ । प्रविधिले भूगोलको दूरी त घटाइदियो, तर विडम्बना ! मानिसको मनको धैर्यता पनि त्यत्तिकै खुम्चाइदियो । पहिलेका विवादहरू संवाद र समयले पखाल्ने गरिन्थ्यो, तर अहिले संवाद हतियार बनेको छ र समय हिंसामा परिणत भएको छ ।

मनोविज्ञान भन्छ– “रिस केवल पाँच सेकेन्डको एउटा लहर हो ।” यदि त्यो पाँच सेकेन्डको आँधीलाई विवेकले थाम्न सकेको भए, आज झापाका ती दुई दाजुभाइ सुमित र सृजनको हत्या हुने थिएन । एउटा सामान्य ‘रङ नम्बर’ जुन केवल एउटा प्राविधिक त्रुटि मात्र थियो– त्यही त्रुटि नै दुईवटा जीवनका लागि काल बनिदियो ।

एउटा फोन कल, एउटा अपशब्द, एउटा गलत बुझाइ इगनोर गर्न सकिन्थ्यो । हाँसेर टार्न सकिन्थ्यो । तर ट्रिगर बनिदियो । हामीले सोचलाई घाटमा सेलायौँ र आवेगलाई अङ्गाल्यौँ । यही आवेगले आज हाम्रो समाजलाई असुरक्षित र क्रूर बनाउँदै लगेको छ ।

पाटनको त्यो साँझ, फोनमा विवाद भएपछि जब युवाहरू भेट्न निस्किए, त्यो न्यायको खोजी थिएन । त्यो त इगो थियो । शास्त्रले भन्छ– अरूलाई पोल्नका लागि समातिएको रिसको भुंग्रोले पहिले आफ्नै हात जलाउँछ । तर, पाटनको मङ्गल बजारमा त हात मात्र जलेन, दुई–दुईवटा युवाको जीवन नै खरानी भयो । परिवारको खुसी खोसियो ।

यस घटनाको सबैभन्दा भयावह पाटो के हो भने, हत्याराले सार्वजनिक स्थलमै निर्धक्क छुरा प्रहार गरे । यसले हाम्रो समाजमा हिंसाको मनोविज्ञान कुन हदसम्म सामान्यीकरण भइरहेको छ भन्ने कुरालाई छर्लङ्ग पार्छ । जब अपराधीले सार्वजनिक स्थललाई समेत जोखिम मान्न छाड्छ र सुरक्षा घेराभित्रै ‘रगतको होली’ खेल्न साहस गर्छ, तब राज्यको कानुनी राज्यको उपहास भएको र अपराधीमा कानुनको डर हराएको प्रस्ट हुन्छ ।

विडम्बना ! त्यहाँ उपस्थित भीड मूकदर्शक बन्यो । कसैको जीवन संकटमा पर्दा उद्धारका लागि हात अघि बढाउनुको सट्टा, ‘भिडियो खिच्ने’ र ‘तमासा हेर्ने’ संस्कारले समाजलाई मसानघाटजस्तै शान्त र संवेदनहीन बनाउँदै छ । यो केवल सुरक्षाको असफलता होइन, यो हाम्रो सामूहिकता र नैतिकताको सामूहिक अवसान हो ।

हामीलाई प्रविधिले हातमा फोन त दियो, तर मनमा शिष्टाचार र संवेदनशीलता बाँकी राखेन । जुन सबैभन्दा ठूलो मानसिक दरिद्रता हो । एकपटक सोच्नुहोस् त– यदि त्यो फोन आएको बेला ‘ब्लक’ गरिदिएको भए, ती दुई दाजुभाइको ज्यान जाने थिएनन् । ‘ब्लक’ गर्ने विकल्प हुँदाहुँदै ‘अट्याक’ रोज्नु नै विनाशको बाटो हो । हामीले स्मार्ट डिभाइस त पायौँ, तर ‘डिभाइस’ले मान्छेलाई चलाउन थालेपछि हुने परिणाम यही हो ।

हामीले यस घटनालाई केवल अपराधी र पीडितको कथा भनेर सीमित ग¥यौं भने हामी फेरि उही गल्ती दोहोर्याउनेछौं । किनकि यस्ता घटनाहरू कुनै एक व्यक्तिको आवेगबाट मात्र जन्मिँदैनन्, यी त लामो समयदेखि समाजमा जमेको असहिष्णुता, आक्रोश र अपरिपक्वताको परिणाम हुन् । जब समाजले रिसलाई सामान्य ठान्न थाल्छ, जब हिंसालाई प्रतिक्रिया मान्न थाल्छ, तब यस्ता मृत्युहरू अनिवार्य बन्छन् ।

पाटनको यो घटना हामी सबैका लागि एउटा चेतावनी हो । यसले हामीलाई सोधिरहेको छ, हामी कस्तो समाज निर्माण गर्दैछौं ? यस्तो समाज, जहाँ एउटा फोन कलले जीवन अन्त्य गर्न सक्छ ? जहाँ मानिसले केही मिनेट आफैँलाई रोक्न सक्दैन ? जहाँ संवादभन्दा टकराब छिटो हुन्छ ?

शायद समाधान धेरै जटिल छैन, तर त्यसका लागि इमानदार प्रयास चाहिन्छ । आफूभित्र उठेको रिसलाई चिन्ने, त्यसलाई तुरुन्तै प्रतिक्रिया नदिने, एकछिन रोकिने । यी साना अभ्यासहरू नै जीवन र मृत्युबीचको फरक बन्न सक्छन् । कहिलेकाहीँ एउटा फोन काट्नु, एउटा भेट टार्नु, वा केही मिनेट मौन बस्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हुन्छ ।

हामी विद्यालयमा गणित र विज्ञान त पढ्छौँ, तर ‘रिस व्यवस्थापन’ र ‘संवेगात्मक बौद्धिकता’ कहिल्यै पढ्दैनौँ । जबसम्म हामी ‘हार्नु वा मौन बस्नु पराजय होइन, बरु एउटा ठूलो युद्ध जित्नु हो’ भनेर सिकाउँदैनौँ, तबसम्म यस्ता ‘रङ नम्बर’बाट हुने मर्डरहरू रोकिनेवाला छैन ।

पाटनको त्यो साँझ अब इतिहास बनिसकेको छ, तर त्यसले छोडेको प्रश्न अझै जिउँदै छ । यदि हामीले त्यसलाई गम्भीरतापूर्वक लिएनौँ भने, भोलि अर्को ‘रङ नम्बर’ फेरि अर्को जीवनको अन्त्यको कारण बन्नेछ ।

अन्त्यमा, यो घटनाले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ भनेकै आवेगलाई कन्ट्रोल गर्न जरुरी छ । हामीले बुझ्नुपर्ने कुराः जसले रिसलाई जित्न सक्छ, उसले संसार जित्छ, जसले रिसको पछि लाग्छ, उसले आफूलाई नै गुमाउँछ । यो घटनालाई एउटा दुःखद समाचारका रूपमा मात्र नलिएर, आफ्नो जीवन परिवर्तन गर्ने एउटा कठोर शिक्षाका रूपमा ग्रहण गर्नु नै ती दिवङ्गत आत्माहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । ०००

प्रतिक्रिया दिनुहोस्