
नायिका तथा मोडल प्रतीक्षा खड्काले आधा दर्शन फिल्म र ६ दर्जन जति म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । यसका साथै विज्ञापनहरूमा पनि उनले अभिनय गर्दै आएकी छिन् । कोभिडकालमा समेत उनले अभियानलाई निरन्तरता दिइन् । जुन कार्य अहिले पनि जारी रहेको उनी बताउँछिन् । एसएलसी दिएपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनी अहिले ब्याचलर गर्दै छिन् । फिल्महरू टिनएज, द मंगोलिएन हर्ट, बिच्छी, कोपिला, समयको माग र दुखिला जिन्दगीमा अभिनय गरिसकेकी नायिका प्रतीक्षा खड्कासँग दृष्टिको जम्काभेट ।
कलाकारिता क्षेत्रमा तपाईँको यात्रा कसरी सुरु भयो ?
म एसएलसी दिएपछि ३ महिना छुट्टीमा थिएँ । त्यो बेला मैले फेसबुकमा एउटा फोटो पोस्टाएको थिएँ । त्यो देखेर मलाई पहिलो चोटी चलचित्रमा अफर आयो । त्यसपछि चलचित्र, म्युजिक भिडियो र विज्ञापनहरूमा काम गर्दै आएको छु । मेरो सुरुवात नै चलचित्रबाट भयो ।
म्युजिक भिडियो र फिल्ममा के फरक पाउनुभयो ?
म्युजिक भिडियोमा थोरै समयमा सुटिङ सकिन्छ । एक दुई दिनमै काम सकिन्छ । रिलिज पनि छिट्टै हुन्छ । फिल्ममा चाहिँ पुरै क्यारेक्टर बुझेर दुई तीन महिनाको क्लास लिएरै काम थाल्नुपर्छ । फिल्डमा जानुअघि नै धेरै तयारी गर्नुपर्छ । सुटिङ टाइम नै २÷३ महिना जति हुन्छ ।
नायिकाको रूपमा काम गर्दा बिर्सनै नसकिने घटना कुन हो ?
बिर्सनै नसकिने घटना भनेको ‘केयरिङ सङ रिटर्न’ मुभीमा नायिकाको एग्रिमेन्ट भयो । ३ महिना रङ्गशालामा टे«निङ पनि गइयो । मैले त्यही फिल्मको लागि अरू फिल्म छाडेँ । एउटा समस्यामा भएकोले छायांकनको लास्ट आवरमा मलाई त्यो फिल्ममा राखिएन । मेरो चार महिना खेर गयो । यो घटनाले मेरो आत्मसम्मानमा ठेस पुगेको थियो । जुन घटना म बिर्सन सक्दिनँ ।
फिल्म क्षेत्रमा नायिकाहरूले कस्ता चुनौतीहरू सामना गर्नुपर्छ ?
नायिकाहरूले नेपाली फिल्मी उद्योगमा धेरै चुनौतीको सामना गर्नुपर्छ । पहिलो कुनै पनि मुभीको क्यारेक्टरमा सुटिङ हुन्छ कि नाइँ भनेर धेरै ट्रायल दिनुपर्ने हुन्छ । कतिपय अवस्थामा फिक्स भइसकेपछि पनि क्यान्सिल हुन्छ । कतिपय अवस्थामा सुटिङको क्रममा घाइते पनि भइन्छ । तर, चलचित्र निर्माण टिमले आवश्यक सहयोग नगरेको तीतो यथार्थ पनि छ । धेरैजना नायिकाले प्राक्टिसमा जाँदा अन्य मुभीको अफर गुमाउनुपरेको पनि छ । खासमा अझै पनि नातावाद नै चल्ने गरेको छ । बोल्ने र सुन्ने कोही पनि हुँदैनन् ।
तपाईँले अभिनयमा विविधता ल्याउन कस्तो तयारी गर्नुहुन्छ ?
सबैभन्दा पहिला म स्क्रिप्ट पढ्छु । अनि, सोहीअनुसारको पूर्वतयारी गर्छु । मैले धेरै नाटक मण्डला थिएटरमा पनि गरेकी छु । एउटा पात्रको चरित्रलाई कसरी बुझ्ने भन्ने विषयमा त्यहाँ धेरै कुरा सिक्न पाएँ । मैले फिल्म, म्युजिक भिडिओ र विज्ञापन गर्दा पनि पात्रलाई सक्दो न्याय दिने कोसिस गर्छू ।
नायिकाहरू सार्वजनिक रूपमा कति घुलमिल हुनुपर्छ ?
नायिकाको जीवन एउटा ऐना जस्तै हो । कलाकारलाई राष्ट्रको गहना मानिन्छ, व्यक्तिगत जीवन पनि सार्वजनिक हुनुपर्छ । कलाकारले समाजमा भएका सही र गलत दुवै देखाउने हो । त्यसैले सार्वजनिक रूपमा घुलमिल हुनै पर्छ । भ्रम फैलाउने चाहिँ हुनुहुन्न ।
तपाईँको नजरमा नेपाली सिनेमा अहिले कुन दिशातर्फ अघि बढिरहेको छ ?
नेपाली सिनेमा अहिले राम्रो दिशातर्फ नै मोडिएको छ । अहिले बक्स अफिसमा सम्पूर्ण विवरण निकालिन्छ । त्यसले गर्दा नयाँ लगानीकर्तालाई पनि आकर्षित गरेको छ । कलाकारलाई पनि सहज भएको छ । सुधार गर्नुपर्ने पक्ष के छ भने, सिनेमा क्षेत्रमा जति पनि नायक÷नायिकादेखि निर्देशक र प्राविधिकसम्म काम गर्नुहुन्छ, उहाँहरूको वृत्तिविकासमा ध्यान दिन आवश्यक छ ।
अभिनयबाहेक भविष्यमा निर्देशन, निर्माण क्षेत्रमा हात हाल्ने योजना छ ?
अभिनयबाहेक भविष्यमा निर्देशनमा हात हाल्ने लक्ष्य छ । त्यसका लागि थप अध्ययन र रिसर्चको काममा लागेकी छु ।
तपाईँको प्रेरणाको स्रोत को हो ?
मेरो प्रेरणाको स्रोत मेरो आमा हुनुहुन्छ । जसले मलाई स्कुलको सानातिना प्रतियोगितामा पनि भाग लिन उत्प्रेरित गर्नुभयो । त्यसैले आज म यो स्थानमा आइपुगेको छु ।
नायिकाहरू शोषणमा पर्छन् भन्ने पनि सुनिन्छ नि ?
पारिश्रमिकको कुरामा होस् वा अन्य कुरामा म चाहिँ अहिलेसम्म शोषणमा परेकी छैन । १४ वर्षको उमेरदेखि नै कलाकारिता क्षेत्रमा लागेँ । मेरो मिहेनत देखेर निर्माता, निर्देशकले माया गर्नुभयो । नजानेका कुरा सिकाउनुभयो । अहिलेसम्म पनि मलाई नराम्रो कुरा, नराम्रो प्रस्ताव कसैले पनि गरेको छैन । त्यही भएर शोषणको कुरा मलाई थाहा छैन ।











