काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ । उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका लागि बैठक बोलाएका हुन् ।

बैठक गल्फुटारस्थित खड्का निवासमा शुक्रवार दिउँसो २ बजे बस्न लागेको हो । बैठकमा समूहले सम्पन्न गरेको प्रदेशस्तरीय भेलाको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
गल्फुटार बैठकमा खड्काले नेतृत्व गरेको समूहको राष्ट्रिय भेलाबारे पनि छलफल हुने बताइएको छ ।क्रियाशील सदस्यता अद्यावधिकको विपक्षमा रहेको खड्का समूहले अन्तिम भेला १६ असारमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको थिए ।
यसैबीच देउवानिकट नेताहरूले महाराजगञ्जको चुनदेवीमा सम्पर्क कार्यालय स्थापनाको तयारी गरेका छन् । सम्पर्क कार्यालयबाट १५ औँ महाधिवेशनको तयारीका लागि कामहरू हुने नेताहरूले बताएका छन् ।














