
काठमाडौं। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गतेडा क्षेत्रमा बिहीबार फोर्स गाडी दुर्घटनामा भेटिएको शवको पहिचान खुलेको छ ।
शव कालीकोटको कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवाको भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहीबार बिहान साढे ११ बजेतिर सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर डुबेको थियो ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार सुरु गरेका थिए ।
उद्धारका क्रममा गाडीमा सवार एक पुरुषलाई भिरमा अड्किएको अवस्थामा उद्धार गरिएको थियो । अचेत अवस्थामा उद्धार गरिएको उनलाई नगर अस्पताल दुल्लु लगिएमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार गाडीमा कति यात्रु थिए भन्ने अझै एकिन भइसकेको छैन । प्रारम्भिक अनुसन्धानमा गाडीमा ५ देखि ६ जना यात्रु रहेको पाइएको छ ।
अन्य यात्रुको अवस्था तथा विवरण खुल्न बाँकी रहेको र खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय तथा सशस्त्र प्रहरी बलको तालिम प्राप्त ६ सदस्यीय गोताखोर टोली पनि परिचालन गरिएको छ ।














