काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् । अध्यक्ष राईले सरकारले केही गर्ने कोसिस गरेपनि जनताले महसुस हुने गरी परिणाम दिन नसकेको दाबी गरे । उनले महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए । सरकारले सय दिनमा गरेका कामहरूको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको उनको भनाइ रहेको छ ।
उनले भने ,‘कोसिस उहाँहरूले गर्नुभएको हो । तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन । रिजल्ट भएको महसुस हुनुपर्दछ । महँगीहरू धेरै भयो । अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो । म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन । अब हेर्न पनि पाइँदैन । पेट्रोलको भाउ अलि घट्यो रे भन्ने छ ।’
अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे । उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुसी भएको पनि बताए ।














